– मनु वि.क.
ताल बहादुर ५० वर्ष माथि लागि सकेका छन् । उनका तीन भाइ छोराहरु हुर्किसकेका छन् । बेलामा छिटो जन्मिएका छोराहरु अब तालबहादुरलाई सुख दिन शुरु भएको छ । तीन भाइ जेठो राजबहादुर, माहिलो गजबहादुर र कान्छो छत्रबहादुर सर्लक्क हेर्दा बाँसका मुना जस्ता छन् । तालबहादुरकी बुढी अलिकता रोगी छन् । हुन त तालबहादुरले माया नगर्ने होइन तर पनि रोगले च्याँपिरहेको छ । औषधी उपचारमा पनि आफूले सकेको ध्यान दिएका छन् । तर पनि तालबहादुरकी बुढी ऐया,ऐया,गर्न छोडेकी छैनन् । भर्खर वर्षा सकिएर असोज महिना आकाश उज्यालो हुन खोज्दै छ । तालबहादुरको खेतमा धानका रोपोहरु पसाउनलाई डोलाइरहेका छन् । भर्खर कोदो ,धान गोडेर सकिएको छ । कोदो रोप्दा तालबहादुरकी बुढी जान पाइनन् बिरामीले गर्दा ।
तालबहादुरले छोराहरु र पल्लो गाउँका ३ जना युवतीहरुलाई पाँच दिन लगाएर रोपेका थिए कोदो । धान रोप्दा त तालबहादुरकी बुढी खेताहारलाई खाजा लिएर गएकी थिएन् । त्यही दिन देखि अझै नसक्ने भएकी छन् । कोदो रोप्दा ताल बहादुरले अगाडि नै छिटो छिटो झार गोड्ने,खन्ने,मेलो सम्याउने गरे ।तालबहादुरको जेठो छोरो राजबहादुर र ३ जना युवती मध्येकी एक जना मंगली कोदो रोप्दा रोप्दै आपसमा हेराहेर गरेको ताल बहादुरले देखे । ताल बहादुरले देखे पनि नदेखे जस्तै गरी उनले खुरु खुरु गरिरहे । उनको डरले पनि हो, उनका अरु छोराहरु र युवतीहरु पनि खुरु खुरु रोपिरहे । कहिले मेलो पुग्दैनथ्यो । कहिले बिउ । बिउ नपुग्दा मेला नपुग्दा राजबहादुरले नै सबै पु¥याइदिन्थे । बिउ हातमा नै थमाइदिन्थे । पानी तिर्खा लाग्यो भनेर मंगलीले भनिन् भने राजबहादुर आफै नै पानी दिन हतारिन्थे, मंगली र राजबहादुरको व्यवहार दुइ जना युवती अलि अक्क न बक्क पर्दथे। काम गर्दा गर्दा थकाइ लागेर यसो आराम गर्दा पनि मंगली बसेकै ठाउँतिर राजबहादुर बस्दथे । खाजा खाने बेलामा राजबहादुरले अलिकता भए पनि बचाएर मंगलीलाई दिन्थे ।कोदो रोप अति घामले पोलेर छहारीमा बस्दा मंगलीको गालामा लामखुट्टेले टोक्यो । राजबहादुरले प्याट्ट मंगलीको गालामा हाने । मंगली एैया भन्दै घोप्टो मुन्टो लाइन् । मंगलीका २ जना साथीहरु मंगलीलाई हेरिरहे । साउनको महिना घाम पानी भइरहरने । कोदो रोप्दा पानी पर्दा राजबहादुर मंगली कै पछ्यौरीमा ओतिन खोज्दथे । तर मंगली तर्किइ रहन्थिईन । पाँच दिनसम्म यस्तै चल्यो । तालबहादुरको कोदो रोप्ने सबै मेलो सकियो र रोप्दा रोप्दै कोदोको रोपोहरु हरिया भएर उठे । कोदोका रोपो मात्रै हैन झारहरु पनि मलमलाउँदै बढे ।
झार फाल्ने बेला भयो । तालबहादुरले मंगली र उसका साथीहरु नै बोलाउन खोजेका थिए तर उनीहरु अर्कै तिरको मेला बोलिसकेका रहेछन् । झार गोड्न भने उनीहरु आउन पाएनन् तालबहादुरले अरु नै खेतरा ल्याए। ती मध्येकी एउटीले राजबहादुर र मंगलीको यसो चक्कर सुनेकी रहिछन् । तालबहादुरलाई कोदो गोड्दा गोड्दै भनिन् –“ हे तालबहादुर दाई ! अब घरमा भाउजु पनि सँधै बिरामी छन् । राजबहादुरको उमेर पनि बढि नै हुन आँटिसकेको छ ,विवाह गरिदिनुस् ,अलिकता सजिलो हुन्छ ।” तालबहादुरले विस्तारै भने– ‘अँ हो क्यारे ।’ र फेरि थपे ‘अब अचेलको जमाना बाआमा इष्टमित्रले हेरिदिएका भन्दा पनि आफै नै रोज्ने चलन छ,। म त के भन्नु ?’ त्यति नै बेला राजबहादुर मुसुक्क हाँसे केही बालेनन् । फेरि तिनैले कुरा थपिन् –‘कोदो रोप्दा मंगली र उनका साथीहरु आएका थिए रे त ,मैले कताकति सुनेको राजबहादुरको मन त मंगलीमाथि नै छ जस्तो छ रे नि । तालबहादुरले कुरा खोल्न नचाहे जस्तै गरी भने –‘खै थाहा भएन ,नानी अब कोसँग लेख्या छ ?देखेकाले हुन्न’ कोदो गोड्दाका कुरा राजबहादुरको आँखामा आयो तर पनि नबोलेर बसे ।
कोदो गोडेर सकियो । सबै कोदो हरिया बन्दै उठे । असोज महिना लाग्यो ,असोज महिना आफैमा रमाइलो महिना हो । कहिलेकाहीं बाहेक असोज महिनामा झरी पर्दैन । घाम पनि चर्को नहुने ,त्यति जाडो पनि हुँदैन ,गर्मी पनि हुँदैन । उच्छारिलो र रमाइलो हुन्छ । कामको माचामाच पनि सकिएको गोडमेल सबै सकिएको किसानहरु रमाइलो गर्ने बेला जस्तै भएको दशैको आगमन हुनै लागेको, एक अर्कासँग कुराकानी गर्ने फुर्सद पनि भएको ।
शुक्लपक्षको जुनमाथि आधा देखिएकै थियो । राजबहादुरको मनमा मंगली नै नाँचिरहेकी थिइन् । सपना विपनामा मंगली कै अनुहार देख्दा देख्दै महिना भन्दा माथि भैसक्यो । मंगली नभए त एक पाइला पनि हिड्न गाह्रो भएको थियो। खाना खाँदा पनि उठ्दा बस्दा सबै बेलामा कोदो रोप्दा कै दिन सम्झना आइरह्यो । कोदो रोप्दाको बेलादेखि राजबहादुर एकान्तमा बसिरहने,धेरै नबोल्ने काम गर्दा पनि अलि विस्तारै गर्ने भए । तालबहादुरलाई उनको फेरिएको आनीबानीको ख्याल नभएको होइन तर केही भनेनन् ।
दिउँसो दाउरा खोज्न मंगली वनतिर गएकी थिइन् । मंगली वनमा गएको चाल पाएर त होइन राजबहादुर पनि उही जंगल पाखा मै पुगे । राजबहादुरलाई देखेर मंगली पानी पानी भइन् । मंगलीलाई नाम्लो र हँसियासँगै देखेर राजबहादुरले सोधे किन ? एक्लै आएकी ? मंगली केही नबोली बसिरहिन् । जति गर्दा पनि मंगलीको बोली फुट्नेवाला थिएन । राजबहादुरले भने – तिमीलाई दाउरा खोज्न गाह्रो भयो ? मंगली केही नबोलिकन ट्वाक ट्वाक दाउरा हानिरहिन् तर राजबहादुरको बोली मंगलीलाई नराम्रो लागेको छैन । राजबहादुरले वनमा एक्लै भएको मौका छोपी एउटा गीत गाए –
तिम्रो मायाँ पाउन मैले भन के के गरु ?
ज्यानै तिम्रो लागि भयो के माग्छ्यौ र अरु ?
तिम्रो कोमल ज्यान देख्दा भएँ पानी पानी
जीवनसँगै कटाउँला ,माया लाउँछ्यौ कि त नानी ?
मेरो मन तिमी माथि तिम्रो कतातिर
एउटा ज्यान पागल भाछ हेर यतातिर
नफाल न मेरो माया पोल्टाभरि राख
मेरो माया सँधैभरि तिमी बचाइराख ।
राजबहादुरको यो गीत मंगलीलाई अति राम्रो लाग्यो तर पनि केही भन्न सकिनन् । केवल राजबहादुरले गीत गाउँदाको भित्री महत्व मात्र ध्यान दिइन् । दिन लामो भैसक्यो ,भारी पु¥याउन अझै बाँकी छ । राजबहादुरलाई मंगलीको छाया छोड्नै मन छैन । मंगली भने माया भित्र भए पनि देखाउन चाहदिनन् । छिटो छिटो दाउरा खोज्दा दाउराको भारी पुग्ला जस्तो भयो । मंगलीले आफ्नो भारी बनाउन खोजेकी थिइन् तर राजबहादुरले आफै बनाइदिए । राजबहादुरले आफ्नो भारी आफै बनाए । भारी बोक्न लाग्दा मंगलीको भारी घुचट्दिनु प¥यो । राजबहादुरले आफै भारी घुचटिदिए । राजबहादुरले पनि टाउकामा नाम्लो लगाए, राजबहादुरले ताने भारी तानिँदै तानिएन । मंगलीले भारी घुचेटिदिएन् र राजबहादुरले भारी बोके । अलिकता बाटो हिँडिसकेपछि पनि राजबहादुर र मंगली केही बोल्न सकेनन् । हेराहेर गरेर छुट्टिए ,आ–आफ्नो बाटो जानु त थियो नै ।
त्यो दिन दाउराको भारी बिसाए । राजबहादुरले र मंगली पुगिन कि पुगिनन् भनेर सोचिरहे । मंगलीले भारी बिसाएर राजबहादुर घर पुगे कि पुगेनन् भनेर भुइतिर नै हेरिरहिन्
अब रात पर्न थाल्यो । राजबहादुरले बाबा तालबहादुरसँग सोधे । मत मंगलीलाई ल्याउँछु ।
तालबहादुर – मान्छिन् र ?
राजबहादुर – नमाने पनि ल्याउँछु ।
तालबहादुर – नमाने कसरी ल्याउने ?
राजबहादुर- तानेर, फकाएर जसरी भए पनि ल्याउने ।
तालबहादुर- जबरजस्ती गर्नु हुँदैन । जीवन बिताउने जो कुरा छ । तँलाई राम्रो लाग्या छर ? सबै राम्रो मात्र लागेर भएन । सबै कुरा मिल्नु प¥यो ।
राजबहादुर- मन मिलेपछि त भयो नि अरु के मिल्नु ?
तालबहादुर- कसरी ल्याउने त ?
राजबहादुर – आजै भगाएर ल्याउने ।
तालबहादुर- त्यसो “तातै खाउँ जल्दै मरु” गरेर हुँदैन । बरु केटीका बाआमालाई सोध्नुप¥यो । बरु सोध्ने कसले सोध्ने सल्लाह गरौं ।
राजबहादुर-केटीका बा आमाले मलाई दिँदैनन् होला, मत आजै फकाएर ल्याउँछु ।]
(यतिकैमा बाउ छोराको कुरा सकियो । तालबहादुर सोचमग्न हुन पुगे । )
साँझको चार बज्न लागिसक्यो । त्यसै त दाउरा खोजेर आउँदा ढिलो भएको थियो । राजबहादुर त उतै मंगलीको घरतिरै लागे । राजबहादुरले मंगलीलाई भेटेनन् । मंगली बरु घाँस काट्न ख¥यानमा गइसकेकी थिइन् । त्यही भेट्न गए । मंगलीको घरमा कोही थिएनन् । राजबहादुरले मंगलीलाई भेटेपछि लिएर नै जाने मनशाय राखे । मंगलीले घरमा घाँस छैन, घाँस बनाएर साँझ घाँस दिए पछि जाने मनशाय राखिन् । रुखको घाँस छिटो छिटो काटेर भारी बोकेर घरमा आइन् । घरमा कोही पनि थिइनन् । घाँसको भारी बिसाएर अलिकता घाँस गाइ भैंसीलाई दिएर मंगली राजबहादुरको घरतिर आइन् । राजबहादुरले बाटामा मंगलीलाई कुरेर बसेका थिए । त्यतिबेला सम्म झमक्क अँध्यारो भएको थियो । (मंगलीलाई घर छोड्दा निकै नरमाइलो लागेको थियो । मन निकै अमिलो भएको थियो । तर के गर्नु नछोड्ने हो भने राजबहादुरले छोड्दैनन् । मंगलीलाई पनि राजबहादुर छोड्न मन छैन ।) राजबहादुरले मंगलीलाई लिएर आए । छोराले आफ्नो मन परेको बुहारी ल्यायो भनेर तालबहादुर खुशी नै भए । उता मंगलीको माइतमा मंगलीको खोजी हुन थाल्यो । मंगलीले मोबाइलमा फोन गरेर भनिन् –“ म राजबहादुरसँग आएँ ।” माइतमा आमा, बा र साना भाइ थिए । “बढेकी छोरी , जाने जात हो गइछ” भन्दै बा बोले । मंगलीको आमा भने आँखाभरि आँसु पार्दै रोइरहिन् । त्यो दिन खाना पनि मंगलीका बाले नै पकाए । यता मंगली भने राजबहादुरसँग आएको घरमा भित्र्याउनु पर्ने घर छिमेक वरपरकाले टीका टालो गर्नु पर्ने संस्कार छ । तालबहादुरले छोराले बुहारी ल्याएको र टीका लगाइदिन भनेर सबैलाई नजिकका नातापातलाई बोलाए । सबै जनाको फुर्सद कै समय भएकाले मान्यजन, इष्ट्रमित्रहरुलाई निम्तो गरेपछि सबै आए । तालबहादुरको जेठो छोरोको बिहे भएकाले भित्र भित्रै खुशी पनि भएका थिए । तालबहादुरकी श्रीमती राजबहादुरकी आमा अलि बिरामी भए पनि बिरामीलाई बिर्सेर रोगलाई बिर्सेर भए पनि भित्र बाहिर गरिरहिन् । सामानको राखनधरन कहाँ कहाँ छ ? के छ अह्राउने सिकाउने गरिन् ।कामको बेलामा त्यो पनि ठूलो काम हो । तालबहादुरको पिँढी, भित्र, बाहिर, आँगनमा इष्ट्रमित्रले भरिए । मंगलीलाई भित्र नपसाल्दासम्म अर्को कोठीमा बसिरहिन् । भित्र लगेपछि सबै जनाले मंगली र राजबहादुरलाई अक्षता टीका लगाइएदिए आर्शिवाद दिए । वैवाहिक जीवनको शुभकामना दिए । टीका, अक्षता लगाइदिने समय सकिएपछि सबैलाई खानाको व्यवस्था भयो । सबैले खाना खाएपछि कति जना त आ–आफ्नो घरतिर लागे तर कति जना भने विवाहको खुशीयालीमा गीत गाएर मादल बजाएर रात भरी बसे । रातभरि गीत र बाजा बजिर¥यो । इष्ट्रमित्रहरु तालबहादुरको आँगनमा नाँचेर बसिरहे । तालबहादुरको आँगन अति रमाइलो भयो । राजबहादुर र मंगलीको विवाहको शुभकामना आदन प्रदान सकियो । इष्ट्रमित्रहरु गीत नाँचमा बस्दा बस्दै बिहान भयो । घाम झलमल्ल लाग्यो । तालबहादुरले सबै इष्ट्रमित्रहरुलाई चिया नास्ता खुवाएर विदा गर्ने इन्तजाम गर्दै थिए । इष्ट्रमित्रहरुले गीत नाँच गरिरहेका थिए । तालबहादुरको नजिकको छिमेकीकी बुहारी मनकली नजिकै भए पनि बिहे कार्यक्रममा सहभागी भएकी थिएनन् । उनी बिहानमा तालबहादुरको आँगनमा रहेको धारामा पानी लिन आइकी थिइन् । धारामा पानी भर्दै तालबहादुरको घरको आँगनतिर यसो नजर लगाएर उभिँदै थिइन् । उनको श्रीमानले घरबाट देख्यो । मनकलीलाई यो कुरा थाहै भएन । धारामा भरिराखेको गाग्रीमा पानी भरिनलाई अलि अलि चर्को आवाज आउँदै थियो । धारामा गएकी श्रीमतीले थाहै नपाउने गरी उनका श्रीमान मनबहादुरले कपालमा झम्टिन पुग्यो । मनकली आकुलव्याकुल भइन् । मनबहादुरले बाटिएको चुल्ठोमा समातेर धारमा लछारपछार पा¥यो । तँ…… तँलाई …. तरुनी भएकी … तँलाइ रमाइलो आयो … तलाइँ यही मारिदिन्छु …. पानी भर्न आएकी होस र तँ? त यही नाँचगान हेर्न आएकी होस भन्दै धारामा पछा¥यो । त्यतिमा नै हैन गालामा कैयौं झापड हान्यो । मनकली अब नबाँच्ने भएँ भन्दै रोइ कराइ गरिन् तर मनबहादुरको अगाडि कोही पर्ने भएनन् । उसको रीस कालो छ ,उसको श्रीमती यसरी यताउता हिँडेकी मन पर्दैन । जहिले यसरी नै पिटिराख्छ भन्दै थिए ,तालबहादुरको आँगनमा । कसैले बोली फुटाउन सकेनन् । मनबहादुरले धारामा नै गाग्रीको पानी मनकलीको टाउकामा खन्यायो । मनकली निथु्रक्क भिजिन् । त्यतिले पनि मनबहादुरको रीस मरेन । मनकलीलाई पिट्दै घिसार्दै घरमा ल्यायो । घरमा ल्याएर पनि पिटीरह्यो । मनकलीले दुःखेर चिच्याइन् । –“ आमा हौं, मरेनी ।” “अझै मरेनी भन्छेस् , तँलाई यही मारिदिन्छु ” भन्दै अझै दाउराले पिट्यो । मनकली बेहोस भईन् । त्यतिले पनि मनबहादुरको रीस नमरेर मुरमुररिँदै थियो ।
उता तालबहादुरको आँगनमा नाँच सकियो । सबै जना आ– आफ्नो घरतिर लागे । मंगली र राजबहादुर पनि घाँस दाउरा गर्न जंगलतिर लागे । जंगलमा एकान्त पारेर मंगलीले राजबहादुरलाई सोधी – बिहान धारामा एक जनाले श्रीमती पिट्दै थिए ,किन पिटेको रहेछ ? राजु ? (राजबहादुरको मंगलीले नयाँ मायालु नाम राखेको राजु ) तर राजबहादुरले उत्तर फर्काएनन् । घाँसको घारीतिर लागे । मंगलीले जंगलमा सुरिलो भाकामा गीत गाइन्
माइती घर छोडेर पराइघर
चलन यस्तै पर्नु छ उतै भर
माया यस्तै हो
यही मायाले हसाउँछ रुवाउँछ
वादल जस्तै हो ।
मंगलीको गीत राजबहादुरले सुनेर एकछिन् घोरिए । हैन यो के गीत गाउँछे ? फेरि सोचे मंगलीले धारामा पिटाइ खाने को हो भन्दै थिइ । यसलाई त भन्नै पर्ने भो । मंगलीले एकातिर घाँस काटिन् । राजबहादुरले अर्कैतिर घाँस काटे । असोज महिना घाँसको खासै अभाव हुने महिना होइन । उनीहरुले भारी पु¥याए । भारी पु¥याए पछि एकछिन विश्राम गर्दै दुवैले कुरा गरे – अघिन तिमीले कुरा गरेकी थियौ नि,को पिटाइ खाने महिला भनेर ,हो त्यो कुराको बारेमा मैले भन्न चाहन्छु –मनकली निकै नै राम्री महिला हुन् । हामी त नजिकै छौ नित उनको सबै बानी व्यहोरा राम्रो छ । राम्रो बानी व्यहोरा भएको भए पनि उनको श्रीमानले यता उता हिँडेको ,कोहीसँग बोलेको वा कुरा गरेर बसेको केही पनि मन पराउँदैनन् । अझै भन्ने हो भने उनी त श्रीमतीलाई कतै हिँडेको चलेको पनि मन पराउँदैनन् । आज त उनी हाम्रो घरको नाँच गान हेर्न त आएकी होइनन् नि, पानी भर्न आएकी हुन् तर उनलाई रिस उठ्यो । त्यहाँ गीत नाँचमा केटाहरु पनि थिए नि त । ति केटाहरुले उनीलाई आँखा लगाउँछन् भन्ने भ्रम छ खासमा भन्दा “वनको बाघले खाओस कि नखाओस मनको बाघले खाने”भने जस्तै उनले केटाहरुमाथि शंका गर्छन् । त्यही भएर उनको बानी जानेको कारण त्यहाँका चिने जानेकाहरु उनलाई पिट्दा पनि केही नबोलेको देख्यौ नि त । अर्काको जहान बोल्ने हो भने त जो लाई देख्यो उसैसँग लागेकी भनेर उसैसँग झगडा गरेर हैरान हुन्छ । उसको बानी जानेकाले मनकलीलाई पिट्दा पनि मानिसहरु नबोलेर बसे । “जो बोल्यो उही पोल्यो”भन्दा झै बोल्यो भने तँ हैछन् यो सित लागेको तैले नै लैजा भनेर खत थापे के गर्नु । हत्तपत्त मान्छेहरु अर्काको मामिलामा पर्न चाहँदैनन् नि त । के भयो कसो भयो ? किन गरिस भनेर दुनिया सोध्न थाल्ने हो भने के के लफडा आउने होला भनेर “मुर्ख देखि दैव डराइ” जस्तै हुन्छन् । नत्र त उसलाई तह लगाउन सक्ने त्यहाँ सबै थिए ।
राजबहादुरको कुरा सुनेर मंगलीले भनिन् । ए त्यस्तो हो ? म त किन पिटेको होला भनेर निकै मन दुख्यो । त्यही भएर अघि नै पनि हजुरलाई सोधेको । हजुर किन नबोलेको होला भनेर मलाई त पीर परेको । हो, म नबोल्दा तिमीलाई झनै पीर परेको होला भनेर त मैले यो कुरा सुनाएँ भनेर राजबहादुरले भनेँ ।
मैले हजुरको कुरा त सुनेँ । मनकलीको लोग्ने मनबहादुरलाई पनि यस्तो गर्नु हुँदैन । श्रीमान श्रीमतीमा विश्वास भए पछि केही हुँदैन । रिस गरेर केही हुँदैन । रिस नगर्दा नगर्दै पनि माया नभएमा छोडेर जान्छन् ,माया छ भने कसैले छोड्दैन । शंकाले लंका जलाउँछ । शंकाले भएको चलेको घरबार पनि बिगार्दछ । शंका गर्नु हुँदैन भनेर कसले सिकाउने होला ? भनेर मंगलीले राजबहादुरलाई सोधिन् ।
राजबहादुरले भने – सिकाउने त हामीले नै हो । सिकाएर सिक्नु पनि त प¥यो । त्यत्रो जान्ने मान्छे के यति कुरा पनि नजानेको होला त जाने कै त होलानि तर व्यवहार त्यस्तो छ । लोग्ने स्वास्नीको झगडामा पर्नु पनि त निकै गाह्रो हुन्छ । भोलि अनेक कुरा आफैमाथि आए के गर्ने ?
मंगलीले भनिन् कस्तो के गर्ने ? यहाँ मनबहादुरले जसरी श्रीमतीहरुलाई राखेका छन् कति मान्छे होलान् ? त्यस्तै पिटाइ , लछारपछार कति श्रीमतीले सहेका होलान् ? के श्रीमतीलाई कुट्नु ,पिट्नु जे गर्न पनि हुन्छ ? अहिले त त्यसो गर्न पाहिँदैन नि त । समानताको कुरा छ । नियम छ ,कानुन छ । नियम कानुन केही नभए पनि आफ्नो श्रीमती भनेको कति महत्वपूर्ण कुरा हो ? श्रीमती नभएकाहरु कति रोएर हिँडेका छन् ? श्रीमती नभएकाहरुको जीवन कति कष्टपूर्ण छ ? बाँच्न त उनीहरु बाँचेका छन् नि तर पनि जिउँदी श्रीमतीलाई जिउँदै मारेजस्तो गर्नु त हुन्न नि ।
हो नि त अब हामीले समाजमा सबैलाई सिकाउनु पर्छ । श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई नराम्रो गर्ने ,सोच्ने गर्नु हुँदैन, सिँगो जीवन कटाउन सजिलो हुन्छ , “बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई काठ”, राजबहादुरले भने ।
“अचेल त शंकै शंकाले कतिको घरबार बिग्रेको छ । कति त साँच्चिमा छोडेर पनि गएका हुन्छन् कतिले त बाहिरतिर पनि माया प्रेम चलाएका हुन्छन् । बाहिरका प्रेमीलाई माया गर्ने घरमा वास्ता नगर्ने पनि भएको हुन्छ । घरमा श्रीमान होस या श्रीमती, श्रीमती होस र श्रीमान हुँदासम्म त बाहिरतिर नलाग्नु नि तर अचेल त त्यस्तै भएको मात्रै कुरा आउँछ । अझै शंकाको कुरा त निकै गम्भीर कुरा छ । हामीहरुले त कहिल्यै त्यस्तो गर्नु हुन्न है राजु ” मंगलीले मिठो स्वरमा भनिन् ।
उनीहरु बोल्दा बोल्दै झल्याँस्स भए । अबेला हुन थालिसकेछ । उनीहरुको कुरा कुरामा त अलि धेरै समय बितिसकेछ । उनीहरुले भनेँ – “लौ अबेला भयो । घर जान ढिला भयो ।” उनीहरु दुवैले घाँसको भारी बोकेर अघि पछि हुँदै खुरु खुरु घरतिर लागे । गह्रुंगो भारी बोकेर कहिले मंगली राजबहादुरको अघि हिँडिन् । कहिले राजबहादुर मंगलीको अघि हिँडे । दुवै जनाको पाइला समान थियो । समान पाइलाहरुमा एक अर्का रमाउँदै हिँडेको तालबहादुरले आँगनबाट देखे । भारीमा रहेका अग्ला अग्ला घाँसहरु समान हल्लिरहेका थिए । हल्लिरहेको अग्ला घाँसहरु तालबहादुरले हेर्दाहेर्दै आँगनमा बिसियो । तालबहादुर छोरा बुहारीलाई हेरेर मख्ख परे ।
२०७८ असोज ७ काठमाण्डौ ।

