असोज ५ गते राजधानी काठमाण्डौको त्रिपुरेश्वरस्थित राहदानी राहदानी विभाग अगाडि रिद्धिसिद्धि नामको नं बा.ख.४२७४ नं को बसमा चालक आफैले आगलागी गरी आत्मदाह गरे । उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा दुःखद निधन हुन पुगेको छ । एक जना युवा जो जीवन बाँच्ने र बचाउने आशामा बस चालक बनेर उदाउँदै थिए ,उनको जीवन समाप्त भएको छ । घटना हुनु भन्दा अगाडि ट्राफिक प्रहरीसँग सवारी रोकेको र हर्न बजाएको विषयमा विवाद भइ जरिवाना तोकिएको र गाडीलाई रोकिएको थियो भन्ने आएको छ । विस्तृत रुपमा छानविन समिति गठन भएको छ । छानविन समितिले प्रतिवेदन ल्याएपछि नै सत्यतथ्य आउला आउला भनी आसा गरौ । तर पनि एक जना युवाको ज्यान गएको छ । त्यही स्थानमा २०८३ असार २५ गते मुगुका गणेश नेपालीले मोटरसाइकलमा महानगरीय प्रहरीले विना कारण ह्वील लक गरेको पीडा सहन नसकेर आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालमा दुःखद निधन हुन पुग्यो । एकै स्थानमा दुइ युवाहरुको निधनले सबैलाई निकै झस्काएको छ । सबैलाई दुःखित तुल्याएको छ । सवारी र सडकलाई व्यवस्थित गर्न खटिएका सुरक्षाकर्मी माथि अविश्वास सिर्जना गरेको छ ।
देखिने गरी दुरव्यवहार,अपशब्द,झर्कोफर्को,जरिवाना,ह्वील लक, धम्कीपूर्ण अभिव्यक्ति,ट्राफिक नियम मिचेको भन्दै कारवाही,सवारी चालकहरुले दिनहुँजसो भोग्नु परेको हुन्छ । नदेखिने गरी आर्थिक घुसलिने सम्मको गतिविधि हुन्छ । सडक सवारीलाई व्यवस्थित गर्नकोलागि खटाइएका ट्राफिक प्रहरी,महानगर प्रहरीको व्यवहारको कारण जीवन नै जानु भनेको निकै दुःखपूर्ण स्थिति हो । चालकको अवस्था जस्तोसुकै रहेको रहेछ भने पनि घटनाको प्रमुख कारण सवारी सुरक्षाकर्मीको क्रुर व्यवहार सहन नसकेको कारण नै ती युवाहरुको दुःखद निधन हुन पुगेको छ ।
साँगुरा सडक, सडकमा सवारीको चाँप, पार्किङ स्थलको अभाव, रुट जानकारीमा कमी, साइड बत्ति बाल्ने ,हर्नको विषय सहित चालकको विज्ञताले सवारी यात्रालाई निर्धारण गर्छ । सडकमा एक जना मात्रै हुँदैनन् । सडकमा ठूलासाना सवारीको चाँप अत्यधिक भएका कारण सडकले थेगि नसक्नुको स्थिति छ । एक जनाले राम्रो गर्दा गर्दै पनि अर्कोको कारण पनि सडक सवारी प्रभावित हुन पुग्छ । त्रिपुरेश्वरमा आत्मदाह गर्न विवश सवारी चालकहरु दुवैले नै आफ्नो केही कमी कमजोरी नभएको भनेका छन् । दुवै युवाहरु आवेशमा आउनु हुन्थेन, त्यसो नगरेको भए हुने थियो तर पनि दुर्घट्ना त भयो नै । आखिर कमजोरी कसको हो त ? यसको गम्भीर खोजविन हुनु पर्छ । आगामी दिनका लागि शिक्षा लिनु पर्छ ।
जरिवाना लगाउनु भन्दा पहिले सोध्न, सम्झाउन र अब यस्तो नगर्न भनेर सुझाव दिन सकिन्छ । यी सबै गर्दा पनि अटेर गरेमा पटक पटक सवारी नियम मिचेका घटनाहरु दोहोरिएमा पनि राम्रो बोली बचन र व्यवहार गर्न सकिन्छ । मान्छेलाई नियमहरु परिपालना गराउन जरिवाना नै प्रमुख कुरा त हुँदैन । नेपालमा सवारी चालकहरुलाई लगाउने जरिवानाबाट राज्यकोषमा रकम वार्षिक रुपमा १ अर्ब ७५ करोडभन्दा माथि रकम जम्मा हुन्छ । जरिवाना लगाएरै राज्यकोषको विकास गर्ने हो भन्ने खालको सोचाइको विकास राज्यको हुनु र अन्यन्तै निर्मम भएर जरिवाना लगाउने गर्दा ज्यान नै गुम्न पुग्यो । जरिवाना भन्दा पहिले मान्छेको जीवन पनि छ,जीवन अमूल्य छ,जीवन बचाउनका लागि सामान्य त्रुटिहरु भए पनि शिक्षा लिएर अगाडि बढ्न सकिन्छ । कसैको जीवन नै सक्ने जरिवाना कसैलाई चाहिएको छैन भन्ने कुरा राज्यका नीति नियम निर्माताहरुले ,नीति कार्यान्वयन गराउनेहरुले बुझ्नु प¥यो । राज्यले अनेक नाममा नागरिकको दोहनमा लगाउँदा नागरिकलाई निकै नै मर्का परेको छ भन्ने पनि यी घटनाहरुले देखाएका छन् । जनता कर र जरिवाना तिर्दा तिर्दा हैरान छन् । असैह्य भएपनि मान्छेले यस्तो अप्रिय निर्णय गर्न बाध्य भएको हो कि भनेर राज्यले सोच्न अबेला भइसकेको छ । जरिवाना भन्दा मान्छेको जीवन अमूल्य छ भन्ने राज्यले बुझ्नु पर्छ । सवारी चालकहरुको यसरी अकालमा ज्यान जान बाध्य पार्ने काम तुरुन्त रोकियोस् ।
जरिवाना भन्दा जीवन अमूल्य
Comments

