शिक्षालय, विद्यालय र उद्योगीबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न 

बुटवल,०८ असोज ।
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा दक्ष श्रमशक्ति उत्पादन, व्यवहारिक शिक्षा र रोजगारीको सुरक्षा सन्दर्भमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नुहुँदै वहाँले शिक्षालयमा प्राप्त ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्रै दक्ष तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । विद्यार्थीलाई अध्ययनसँगै उद्योगको वास्तविक कार्य वातावरण, प्रविधि र कार्यप्रणालीबारे जानकारी गराउन सके उनीहरूको व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । शिक्षालय र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई सीप, अनुभव र रोजगारीको अवसरसँग जोड्न रूपन्देही उद्योग संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहकार्यलाई थप विस्तार गरिने बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक अम्बिका प्रसाद तिमिल्सिनाले कार्यक्रमको पृष्ठभूमि तथा विद्यालय र उद्योगबीच हुने समझदारी पत्रको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । मस्यौदा प्रस्तुत गर्दै तिमिल्सिनाले उद्योग क्षेत्रको आवश्यकता पहिचान गरी त्यसअनुसार विद्यार्थीमा आवश्यक ज्ञान, सीप र व्यवहारिक क्षमता विकास गर्न विद्यालय तथा उद्योगबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
वहाँले शिक्षालय, विद्यालय र उद्योगीबीच नियमित समन्वय कायम गरी सीप विकास, औद्योगिक भ्रमण, प्रयोगात्मक सिकाइ, कार्यस्थलमा आधारित सिकाइ तथा रोजगारीका सम्भावनासँग विद्यार्थीलाई जोड्ने वातावरण निर्माण गर्न समझदारी पत्रले आधार तयार गर्ने बताउनुभयो।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले विद्यालय तथा उद्योगबीच सहकार्य, समझदारी र साझेदारी विकास गर्न संघले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै शिक्षालयमा सिकेको ज्ञानलाई उद्योगको व्यवहारिक आवश्यकतासँग जोड्न सके मात्र सीपयुक्त र उत्पादनशील जनशक्ति तयार गर्न सकिने बताउनुभयो । वहाँले विद्यार्थीलाई भविष्यको रोजगारी तथा उद्यमशीलताका लागि तयार पार्न उद्योग र शिक्षालय दुवैले साझा जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रस्तुत गरिएको समझदारी पत्रको मस्यौदामाथि सहभागी उद्योग तथा शिक्षालयका प्रतिनिधिहरूबीच खुला छलफल समेत गरिएको थियो। छलफलका क्रममा विद्यालयले उत्पादन गर्ने जनशक्ति र उद्योगको आवश्यकताबीचको अन्तर घटाउने, विद्यार्थीलाई व्यवहारिक सीप प्रदान गर्ने तथा उद्योग–शिक्षालय सहकार्यलाई संस्थागत बनाउने विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।

मस्यौदा सम्बन्धी सुझाव संकलन तथा प्रतिबद्धता र हस्ताक्षरसम्बन्धी सहजीकरण लुम्बिनी प्रदेशका टिभेट कोर्डिनेटर नेपालु राम चौधरी र सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न शिक्षालय, विद्यालय रउद्योगका प्रतिनिधि, सीटीईभीटीकी आईटी अफिसर रोदिता शाक्यसहित ४६ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघका सचिव अशोक कुँवरले गर्नुभएको थियो।
शिक्षालय, विद्यालय र उद्योगीबीच भएको यस्तो सहकार्यले विद्यार्थीलाई सीप, अनुभव र रोजगारीको अवसरसँग जोड्नुका साथै उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित