काठमाडौँ ।अविरल वर्षाका कारण गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा धनजन र भौतिक संरचना क्षति भएका समाचारहरु प्राप्त भइरहेका छन्। मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने पर्वत र बाग्लुङ जिल्ला जोड्ने कालीगण्डकीको पक्की पुलको भाग नदीको बहावले क्षति पुर्याउँदा सडक मार्ग अवरुद्ध भएको छ। बाग्लुङ हुँदै पश्चिम बाग्लुङ र रुकुमसम्म पुग्ने सडक अवरुद्ध हुन पुगेको हो । गुल्मी, स्याङ्जा र पाल्पाको संगम स्थल भनेर चिनिने रिडीबजारको तल्लो भाग खोला किनारका घर टहराहरू सबै डुबानमा परेका छन्। गुल्मी, पर्वत र स्याङ्जाको संगमस्थल सेतीबेनीको झुलुङ्गे पुललाई पनि बाढीले क्षति पुर्याएको छ। मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको तालगाउँ पनि डुबानमा परेको समाचार छ। बाग्लुङको तमानखोला गाउँपालिकाको वडा नम्बर ४ मा गएको पहिरोबाट केही व्यक्तिको मृत्यु भएको खबर छ। नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा बस्ती डुबेको छ । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेको जानकारी हुन आएको छ । पर्वतको महाशिला गाउँपालिकाको कुसुण्डाँडा गाउँलाई पनि पहिरोले क्षति पुर्याएको छ। घरहरू क्षति भएका छन् तर मानवीय क्षति नभएको समाचार छ। पाल्पाको माथागढी गाउँपालिका–३ भसकाट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। गएरातिको भारी वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगर बजार बाढीको उच्च जोखिममा परेको छ।बाढीका कारण बजारका केही घरहरू डुबानमा परेका छन् भने निर्माणाधीन निसीखोला आधारभूत अस्पतालसमेत डुबानमा परेको छ।

