मनु वि.क.
वर्षौं भयो आएको छैन तिहार
पुगेको छैन दाइ भाइको निधारमा हात
पर्खालको चौघेरा भन्दा पर हेर्न खोजिरहेछ आँखाले
भेट्न चाहिरहेको छ मनले
हिमाल ,पहाड र तराइँको घामलाई ।
आकाश निलो देखिन्छ ,
झ्यालको सिसाभित्रैबाट देख्छु दाइभाइको निधारमा सप्तरङ्गी टीका
मनभरि फुल्दछ मखमली र हजारी फूलहरु ।
जब सुघ्न खोज्छु बासना कल्पनाका फूलहरुमा
र गाँस्न खोज्छु बासना कल्पनाका पूmलहरुमा
गाँस्न खोज्छु फूलहरु एक एक गर्दै मालाहरुमा
यति नै बेला ढोका ढप्काउँदै
भित्र पस्छ एउटा राक्षस
र क्षत विक्षत पारिदिन्छ मेरो कल्पनाका फूलहरुलाई
टुक्रा टुक्रा पारिदिन्छ ,मेरो मालालाई
भर्खरै फूलेका फूलहरु भर्खरै उनेका मालाहरु
खस्छन् ,आँसुका ढिका बनेर उसको फिर्ती पछि अरु चिच्याएर रुन्छु
रआफूले आफैलाई भन्छु
तिमी बेचिएकी छौ कसैको हातमा
तिमी थुनिएकी छौ कसैको कोठीमा।
जब तिहारको मौसम आउँछ
मनभरि उम्लिन्छन् सम्झनाहरु
झिलीमिली बत्ती र सेलरोटीको
भैलिनी र देउसिरेको
भैलिनी र देउसिरेलाई सम्झँदै
नाँच पुग्छु उही कोठीभित्र
कान खान आउँछ
मालिक्नीको कर्कश आवाज
बौलाही ,अनि केके हो केके
मालिक्नीको निर्दयी हातहरुले खान पुग्छु
पटक पटक थप्पड ,
लातहरु बज्रिन्छन निर्दोष मेरो शरिरमाथि ।
सम्झँना आउँछ भुन्टी र चमेलीको
उनीहरु डुल्दै होलान्
वारिपारी फूलका थुङगाहरु खोज्न
पल्ला घरकी काकीको ढकमक्कफूलेको
फूलबारी खोजिरहेछ आँखाहरुले
तर कुरा बुझ्दैन क्यारे !
निर्जीव यो पर्खालले ।
चाडवाड र तिहारमा
नरुनु है दाई, नरुनु है भाई
बेखबर यो बहिनीलाई सम्झेर
बेचिएकी यो दिदी खोजेर
म तिम्री दिदी,म तिम्रो बहिनी
बिताउँदैछु नाटकीय चोला
लुछिँदैछु ,मानवरुपी दानवहरुबाट
मलाई आजभोलि कुन्नि किन हो
मान्छे रुप पनि मान्छे नै लाग्दैन ।
हे ! मेरो दाइ
हे ! मेरो भाइ
म आतुर छु मेरै आँगन टेक्न
मेरो नालनाता र इष्टमित्र भेट्न
आफ्नै हिमालका लाल किरणसँग रमाउँन
र सम्झिरहन्छु ,फूल फूलमा उड्ने पुतलीहरुलाई
ए ! मलाई छोएर जाने हावा
ए! मलाई देखेर उड्ने चरी
पु¥याइदेन मेरो सन्देश
मेरो दाइ भाइ आफन्तीकहाँ
तिम्रो दिदी,तिम्रो बहिनी
बाँचिरहेकी छ कालकोठरीमा
पटक पटक मरिरहेछ
तर मुक्त हुन चाहन्छे
कालकोठरीबाट
गाँस्न चाहन्छे सुगन्धित फूलहरु
रमाउन चाहन्छे फूलका बास्नाहरुसँग
र हेर्न चाहन्छे आफूलाई भेट्दा रमाउने अनुहारहरु ।
रातो लालटिन वर्ष २२ ,अंक ३ , पूर्णाङक ८०,२०७८

