सत्ताबाहिर राष्ट्रवादको गर्जन, सत्तामा पुगेपछि मौनता किन?

किसनबहादुर वि.क.

नेपालको राजनीतिक इतिहासलाई नियाल्ने हो भने एउटा विडम्बनापूर्ण प्रवृत्ति बारम्बार दोहोरिएको देखिन्छ। जब नेताहरू सत्ताबाहिर हुन्छन्, उनीहरूका भाषणमा राष्ट्रवादको ठूलो गर्जन सुनिन्छ। राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र जनताको अधिकारका पक्षमा चर्का अभिव्यक्ति दिइन्छन्। तर जब तिनै नेता सत्ताको कुर्सीमा पुग्छन्, हिजोका प्रतिबद्धता र अडानहरू किन कमजोर हुँदै जान्छछन् किन ? जनताले खोजेको जवाफ यही हो।

यसको पछिल्लो उदाहरणका रूपमा बालेनको राजनीतिक अभिव्यक्ति र अहिलेको व्यवहारलाई हेर्न सकिन्छ। सरकारमा नहुँदा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो, त्यसलाई फिर्ता लिएरै छाड्ने भन्ने दृढ अभिव्यक्ति दिइएको थियो। तर आज भारत भ्रमणका क्रममा यी संवेदनशील राष्ट्रिय मुद्दाहरूलाई कूटनीतिक रूपमा उठाउन नसकेको हो भने जनताले प्रश्न गर्नु स्वाभाविक हो। राष्ट्रवाद भाषणमा मात्र सीमित हुने विषय होइन, व्यवहार र निर्णयमा पनि देखिनुपर्छ।

अझ गम्भीर र दुःखद पक्ष प्रवासी नेपाली श्रमिकहरूप्रतिको व्यवहार हो। भारतमा लाखौँ नेपाली श्रमिकहरू आफ्नो श्रम, पसिना र जीवनको महत्त्वपूर्ण हिस्सा खर्च गरेर जीविकोपार्जन गरिरहेका छन्। उनीहरू केवल वैदेशिक रोजगारीमा रहेका नागरिक मात्र होइनन्, नेपालको अर्थतन्त्र, सामाजिक सम्बन्ध र राष्ट्रिय जीवनका महत्त्वपूर्ण हिस्सा हुन्। उनीहरूका पनि समस्या छन्, पीडा छन्, अधिकार छन् र राज्यसँग अपेक्षाहरू छन्।

निर्वाचनका बेला भारतमा रहेका नेपाली मतदातालाई नेपालसम्म पुर्‍याउन यातायातको व्यवस्था गर्नेसम्मको चासो देखाउने नेतृत्वले आज भारत भ्रमणका क्रममा त्यही प्रवासी श्रमिक समुदाय र उनीहरूका प्रतिनिधिमूलक संगठनहरूसँग भेटघाट तथा संवादको आवश्यकता किन महसुस गरेन ? मजदुरका समस्या सुन्ने, उनीहरूको अवस्था बुझ्ने र उनीहरूका प्रतिनिधिसँग छलफल गर्ने अवसरसमेत नजुटाउनु गम्भीर राजनीतिक प्रश्न हो।

हिजो भोट आवश्यक पर्दा प्रवासी नेपाली सम्झिने, तर आज सत्ताको जिम्मेवारीमा पुगेपछि तिनै श्रमिक र उनीहरूका संगठनलाई बेवास्ता गर्ने प्रवृत्ति कुनै पनि हिसाबले उचित ठहरिन सक्दैन। प्रवासी नेपालीहरू केवल निर्वाचनका बेला सम्झिने मतदाता होइनन्। उनीहरू पनि समान अधिकार, सम्मान र राज्यको अभिभावकत्व पाउनुपर्ने नेपाली नागरिक हुन्।

हामीले बुझ्नुपर्ने कुरा के हो भने राष्ट्रवाद भनेको भारतविरुद्ध चर्को भाषण गर्नु मात्र होइन। राष्ट्रवाद भनेको आफ्नो देशको राष्ट्रिय हितको रक्षा गर्नु, राष्ट्रिय स्वाभिमान कायम राख्नु, सीमासम्बन्धी समस्यालाई कूटनीतिक दृढताका साथ उठाउनु र विदेशमा पसिना बगाइरहेका आफ्ना नागरिकको सम्मान तथा अधिकारको रक्षा गर्नु पनि हो।

अर्कोतर्फ, सत्तामा पुग्नेबित्तिकै नेताको प्रशंसा गर्न हतारिने र हरेक कमजोरीलाई उपलब्धि देखाउन खोज्ने केही सञ्चारकर्मी तथा समर्थकहरूले पनि आत्मसमीक्षा गर्न जरुरी छ। पत्रकारिताको धर्म सत्ताको प्रशंसामा ताली बजाउनु होइन, सत्तालाई जनताप्रति जवाफदेही बनाउनु हो। आलोचनात्मक प्रश्न उठाउनु पत्रकारिताको कमजोरी होइन, लोकतन्त्रको सुन्दर पक्ष हो।

नेताहरूले सम्झिनुपर्छ—सत्ता स्थायी हुँदैन, पद स्थायी हुँदैन र जनताको मौनता पनि सधैँ रहिरहँदैन। आज जनताका प्रश्नलाई बेवास्ता गर्न सकिएला, आज श्रमिकका आवाजलाई नसुनेझैँ गर्न सकिएला, तर इतिहासले हरेक राजनीतिक नेतृत्वको मूल्याङ्कन उसको भाषणले होइन, व्यवहार र कर्मले गर्नेछ।हिजो जनताको मत लिन जनताकै ढोकामा पुग्नेहरू आज जनताका प्रश्न सुन्नबाट भाग्न मिल्दैन। किनकि समय सधैँ एउटै हुँदैन। आज अरूको आवाज दबाउनेहरूलाई भोलि जनताले कठघरामा उभ्याउनेछन्।

राष्ट्रवाद भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। जनताको मत माग्ने अधिकार छ भने जनताप्रति जवाफदेही हुने दायित्व पनि छ।

— सत्ता बदलिन सक्छ, तर जनताको प्रश्न बदलिँदैन।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित