समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

—लोकनारायण सुवेदी
नयाँ जनबाद सामन्तवाद विरोधी तथा साम्राज्यवाद बिरोधी जनताको जनवादी अधिनायकत्व भएको समाजवादमा संक्रमण गर्ने एउटा संक्रमणकालीन महत्वपूर्ण अर्थ–राजनीतिक व्यवस्था हो ।माक्र्सवाद लेनिनवादका आधारमा चीनमा अध्यक्ष माओले प्रतिपादन गर्नु भएको यो नयाँ जनवादको विशद व्याख्याले सबै किसिमका बाह्य हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा र सामन्तबादका विरुद्ध मजदुर, किसान लगायत आम श्रमजवी जनताको जनतन्त्र सुनिश्चित भएको व्यवस्था हो भन्ने प्रष्ट पारेको छ ।
१. समाजवादको ऐतिहासिक आवश्यकता र आजको मूल प्रश्न
समाजवाद कुनै काल्पनिक आदर्श, भावनात्मक आकांक्षा वा राजनीतिक नाराको विषय होइन; यो पुँजीवादी उत्पादन प्रणालीभित्र विकसित हुने अन्तर्विरोधहरूको ऐतिहासिक समाधानको प्रश्न हो। पुँजीवादी व्यवस्थाले उत्पादन शक्ति, विज्ञान, प्रविधि र सामाजिक श्रमको अभूतपूर्व विकास गरे पनि उत्पादनका साधन तथा सम्पत्तिमाथिको निजी स्वामित्व र नाफाकेन्द्रित वितरण प्रणालीका कारण आर्थिक असमानता, श्रमशोषण, बेरोजगारी, सम्पत्तिको केन्द्रीकरण र आर्थिक सङ्कटलाई निरन्तर पुनरुत्पादन गरिरहेको छ । वित्तीय पुँजी, बहुराष्ट्रिय एकाधिकार, डिजिटल प्लेटफर्म र कृत्रिम बुद्धिमत्तामाथिको सीमित स्वामित्वले यी अन्तर्विरोधलाई आज अझ जटिल बनाएका छन्। पर्यावरणीय सङ्कटले त वर्तमान उत्पादन र उपभोग प्रणालीको दिगोपनमाथि नै गम्भीरतम प्रश्न उठाएको छ।
त्यसैले आजको मूल प्रश्न समाजवाद आवश्यक छ कि छैन भन्ने होइन, समाजवाद निर्माणका वस्तुगत आधार कति विकसित भएका छन्, त्यसका बाधक संरचना के के हुन् र तिनलाई रूपान्तरण गर्ने ऐतिहासिक, राजनीतिक तथा सामाजिक शर्त के के हुन् भन्ने हो।
समाजवादको आवश्यकता पुँजीवादको सङ्कटबाट स्वतः पूरा हुँदैन। पुँजीवादका अन्तर्विरोधले समाजवादी रूपान्तरणको वस्तुगत सम्भावना र आवश्यकता पैदा गर्छन् तर त्यसलाई वास्तविकतामा बदल्न सचेत वर्गीय सङ्घर्ष, संगठित जनशक्ति, वैज्ञानिक राजनीतिक नेतृत्व तथा उपयुक्त क्रान्तिकारी कार्यदिशा आवश्यक हुन्छ। वस्तुगत परिस्थिति र आत्मगत तयारीबीचको यही सम्बन्ध समाजवादी रूपान्तरणको केन्द्रीय प्रश्न हो।
२. समाजवाद निर्माणका वस्तुगत पूर्वाधारहरु
समाजवाद निर्माणका लागि पहिलो आधार विकसित सामाजिक उत्पादन शक्ति हो। कृषि, उद्योग, ऊर्जा, यातायात, सञ्चार, विज्ञान, प्रविधि र अनुसन्धानको पर्याप्त विकासविना समाजको समग्र आवश्यकता पूरा गर्ने उत्पादन क्षमता निर्माण हुन सक्दैन। अभाव, न्यून उत्पादकत्व र व्यापक बेरोजगारी कायम रहेको अवस्थामा केवल सम्पत्तिको पुनर्वितरणले मात्र समाजवादी अर्थतन्त्रको स्थायित्व सुनिश्चित गर्न सक्दैन।
दोस्रो आधार उत्पादन सम्बन्धको रूपान्तरण हो। उत्पादनका साधनमाथि कसको स्वामित्व छ, उत्पादनको निर्णय कसले गर्छ, श्रमबाट सिर्जित अतिरिक्त मूल्य कसरी वितरण हुन्छ र उत्पादनको उद्देश्य सामाजिक आवश्यकता हो कि निजी नाफा भन्ने प्रश्न समाजवादको केन्द्रमा रहन्छ। उत्पादन शक्ति सामाजिक हुँदै जाने तर त्यसको स्वामित्व र प्रतिफल सीमित पुँजीपति वर्गमा केन्द्रित रहने पुँजीवादी अन्तर्विरोधको समाधान सामाजिक स्वामित्व र न्यायपूर्ण वितरणको विकासबाट मात्र सम्भव हुन्छ।
तर सामाजिक स्वामित्व भन्नाले सबै सम्पत्ति राज्यको प्रशासनिक नियन्त्रणमा राख्नु मात्र बुझ्नु हुँदैन। राष्ट्रियकरण, सार्वजनिक स्वामित्व, सहकारी स्वामित्व, सामुदायिक स्वामित्व र श्रमिकको सहभागितामूलक व्यवस्थापनलाई वस्तुगत क्षेत्र र उत्पादनको प्रकृतिअनुसार विकसित गर्नुपर्छ। स्वामित्वको कानुनी स्वरूपसँगै वास्तविक नियन्त्रण, निर्णय प्रक्रिया र उत्पादनको प्रतिफलमाथिको सामाजिक अधिकार पनि परिवर्तन हुनुपर्छ।
तेस्रो आधार वर्गीय संरचनामा आउने परिवर्तन हो। श्रमिक वर्ग, किसान, श्रमजीवी बुद्धिजीवी, साना उत्पादक तथा उत्पीडित समुदायको आर्थिक र राजनीतिक हितबीचको एकता समाजवादी रूपान्तरणको सामाजिक शक्ति हो। तर यो एकता स्वतः निर्माण हुँदैन। वर्गीय चेतना, साझा हितको पहिचान, संगठन र संयुक्त सङ्घर्षको प्रक्रियाबाट मात्र त्यसलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्न सकिन्छ।
यस अर्थमा उत्पादन शक्तिको विकास, उत्पादन सम्बन्धको रूपान्तरण र जनताको संगठित राजनीतिक चेतना समाजवाद निर्माणका परस्पर सम्बन्धित तीन आधार हुन्।
३. समाजवादमा पुग्ने राजनीतिक र वैचारिक शर्त
वस्तुगत आधारको विकाससँगै समाजवादका लागि उपयुक्त राजनीतिक परिस्थिति र आत्मगत तयारी अनिवार्य हुन्छ। समाजवाद केवल आर्थिक कार्यक्रम होइन; यो राज्यसत्ता, वर्गीय शक्ति सम्बन्ध, राजनीतिक अधिकार र सामाजिक संस्थाहरूको पुनर्संरचनासँग सम्बन्धित गम्भीर महत्वको अनिवार्य ऐतिहासिक प्रक्रिया हो।
यसका लागि श्रमिक तथा उत्पीडित जनताको राजनीतिक चेतना र संगठनात्मक शक्ति विकसित हुनुपर्छ। राजनीतिक दल वा क्रान्तिकारी संगठन जनताबाट अलग, आदेशमुखी र पदकेन्द्रित संरचना भएर होइन, जनताको वास्तविक जीवन, उत्पादन, श्रम, सङ्घर्ष र आकाङ्क्षासँग जोडिएको लोकतान्त्रिक तथा उत्तरदायी संगठनका रूपमा विकसित हुनुपर्छ।
वैज्ञानिक विचारधारा र वस्तुगत विश्लेषणबीच एकता आवश्यक छ। सिद्धान्तलाई यान्त्रिक रूपमा दोहो¥याउनु, पुराना क्रान्तिका अनुभवलाई जस्ताको तस्तै वर्तमानमा लागू गर्नु वा परिस्थितिको विश्लेषणविना एउटै राजनीतिक विधिलाई सार्वभौम ठान्नु वैज्ञानिक दृष्टिकोण होइन। त्यस्तै, वर्गीय विश्लेषण र दीर्घकालीन रूपान्तरणको लक्ष्य त्यागेर तत्कालीन सत्ता, चुनावी सफलता वा संसदीय पदलाई नै राजनीतिक उपलब्धिको अन्तिम मापदण्ड बनाउनु पनि विल्कुलै सही हुँदैन।
राजनीतिक परिवर्तनका विधि र रूपहरू देशको सामाजिक संरचना, वर्गीय शक्ति सन्तुलन, राज्यको चरित्र, जनताको चेतना र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको ठोस अध्ययनबाट निर्धारण हुनुपर्छ। वैधानिक, शान्तिपूर्ण, जनआन्दोलनमूलक वा अन्य राजनीतिक सङ्घर्षका रूपबारे निर्णय पनि यही वस्तुगत विश्लेषणमा आधारित हुनुपर्छ। कुनै विधिलाई सिद्धान्ततः निरपेक्ष बनाउनुको सट्टा त्यसको ऐतिहासिक उपयुक्तता र जनताको हितमा पर्ने प्रभाव परीक्षण गर्नुपर्छ । निर्णायक स्तरको आमूल परिबर्तनको स्वरुप पनि स्वभावतः निर्णायक नै हुने कुरा भने निश्चित छ ।

४. नेपालको वस्तुगत अवस्था र समाजवादी रूपान्तरणको प्रश्न
नेपालको समाजवादी कार्यदिशा निर्धारण गर्दा यहाँको वास्तविक उत्पादन सम्बन्ध, वर्गीय संरचना र राष्ट्रिय अर्थतन्त्रको चरित्रको वैज्ञानिक विश्लेषण अपरिहार्य हुन्छ।
नेपालमा सामन्ती उत्पादन सम्बन्धका अवशेष, भूमिको असमान वितरण, कृषिमा न्यून उत्पादकत्व, कमजोर औद्योगिक आधार, आयातमुखी अर्थतन्त्र, वैदेशिक ऋण तथा सहायतामा निर्भरता, विप्रेषणमाथिको अत्यधिक निर्भरता र दलाल तथा एकाधिकार पुँजीको प्रभाव अझै गम्भीर चुनौतीका रूपमा छन्। राष्ट्रिय उत्पादन र रोजगारीको पर्याप्त आधार निर्माण हुन नसक्दा श्रमशक्ति विदेशिन बाध्य छ। उत्पादनशील पुँजी निर्माणभन्दा व्यापार, बिचौलियापन, जग्गा कारोबार, वित्तीय सट्टेबाजी र अनुत्पादक क्षेत्रमा पुँजी केन्द्रित हुने प्रवृत्ति पनि विद्यमान छ।
यससँगै भूमण्डलीकृत वित्तीय पुँजी, बहुराष्ट्रिय कम्पनी र बाह्य आर्थिक–राजनीतिक प्रभावले राष्ट्रिय नीतिनिर्माण तथा आर्थिक स्वाधीनतामाथि दबाब सिर्जना गरेका छन्। तर नेपालको अर्थतन्त्रलाई पुरानो अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थाको एउटै सूत्रमा सीमित गरेर बुझ्नु पनि पर्याप्त हुँदैन। सामन्ती अवशेष, आश्रित पुँजीवाद, दलाल पुँजी र वित्तीय पुँजीबीचको वर्तमान सम्बन्ध तथा तिनले उत्पादन र वर्गीय संरचनामा पारेको प्रभावको ठोस अध्ययन आवश्यक छ।
नेपालमा भएका राजनीतिक परिवर्तनले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, सङ्घीयता, धर्मनिरपेक्षता र राजनीतिक अधिकारको विस्तारजस्ता महत्वपूर्ण उपलब्धि दिएका छन्। तर राजनीतिक व्यवस्थामा आएको परिवर्तन आफैँमा उत्पादन सम्बन्धको आमूल परिवर्तन होइन। राज्यको स्वरूप परिवर्तन भए पनि अर्थतन्त्रको स्वामित्व संरचना, उत्पादन प्रणाली, वर्गीय शक्ति सम्बन्ध र जनताको जीवनस्तरमा अपेक्षित रूपान्तरण हुन नसके राजनीतिक परिवर्तन अधुरै रहन्छ।
त्यसैले नेपालको आजको मुख्य प्रश्न राजनीतिक उपलब्धिको रक्षा र विस्तारसँगै तिनलाई आर्थिक तथा सामाजिक रूपान्तरणमा कसरी बदल्ने भन्ने हो।
५. नयाँ जनवाद र समाजवादबीचको ऐतिहासिक सम्बन्ध
नेपालजस्तो ऐतिहासिक रूपमा सामन्ती शोषण, बाह्य निर्भरता र कमजोर राष्ट्रिय उत्पादन आधारबाट प्रभावित समाजमा नयाँ जनवादी रूपान्तरण र समाजवादबीचको सम्बन्धलाई यान्त्रिक होइन, ऐतिहासिक तथा वस्तुगत दृष्टिले बुझ्नुपर्छ।
नयाँ जनवादी रूपान्तरणको ऐतिहासिक औचित्य सामन्ती शोषणका अवशेषको अन्त्य, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण, भूमिसम्बन्धको परिवर्तन, राष्ट्रिय पुँजी र उत्पादन शक्तिको विकास तथा व्यापक जनताको राजनीतिक–आर्थिक अधिकार सुनिश्चित गर्नुमा निहित हुन्छ। यसको सार उत्पादन शक्ति विकासका बाधक सम्बन्ध हटाउनु र समाजको लोकतान्त्रिक तथा राष्ट्रिय पुनर्संरचनाको आधार निर्माण गर्नु हो।
तर आजको नेपालमा नयाँ जनवादी कार्यक्रमका कुन कार्यभार पूरा भएका छन्, कुन अधुरा छन् र कुन नयाँ स्वरूपमा विकसित भएका छन् भन्ने प्रश्नको पुनर्मूल्याङ्कन आवश्यक छ। सबै समस्यालाई पुरानो अर्धसामन्ती संरचनाको निरन्तरताका रूपमा बुझ्नु वा राजनीतिक परिवर्तन भइसकेकाले नयाँ जनवादी कार्यभार पूर्ण भएको निष्कर्ष निकाल्नु दुवै एकाङ्गी कुरा हुन्छन्।
नयाँ जनवादी कार्यभार र समाजवादी रूपान्तरणबीचको सम्बन्धलाई नेपालको वास्तविक वर्गीय संरचना, उत्पादन सम्बन्ध र राष्ट्रिय अर्थतन्त्रको अवस्थाका आधारमा स्पष्ट पार्नुपर्छ। समाजवादतर्फको संक्रमण कुनै क्यालेन्डर, घोषणापत्र वा राजनीतिक इच्छाको विषय होइन; यो उत्पादन शक्ति, स्वामित्व संरचना, वर्गीय शक्ति र जनताको राजनीतिक चेतनामा आउने क्रमिक तथा गुणात्मक परिवर्तनको ऐतिहासिक प्रक्रिया हो।
६. राष्ट्रिय उत्पादन र आर्थिक आत्मनिर्भरता समाजवादको भौतिक आधार
समाजवादी अर्थतन्त्रको आधार राष्ट्रिय उत्पादन क्षमता र सामाजिक आवश्यकताको योजनाबद्ध परिपूर्तिको क्षमता हो। कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, विज्ञान तथा प्रविधिको एकीकृत विकासविना आर्थिक आत्मनिर्भरता सम्भव हुँदैन।
नेपालमा वैज्ञानिक भूमिसुधार, भूमिहीन तथा साना किसानको अधिकार, कृषिको आधुनिकीकरण, सिँचाइ, बीउ, मल, कृषि अनुसन्धान, भण्डारण, प्रशोधन र बजार व्यवस्थाको विकासलाई प्राथमिकता दिनुपर्छ। कृषिलाई निर्वाहमुखी अवस्थाबाट उत्पादनशील, आधुनिक र सम्मानजनक पेसामा रूपान्तरण गर्नुपर्छ।
त्यसैगरी, राष्ट्रिय उद्योगको विकास, सार्वजनिक तथा सहकारी क्षेत्रको सुदृढीकरण, साना तथा मझौला उत्पादनको संरक्षण, ऊर्जा उत्पादन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जना राष्ट्रिय अर्थतन्त्रका आधारभूत कार्यभार हुन्। शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र सामाजिक सुरक्षालाई बजारको क्रयशक्तिमा निर्भर नराखी नागरिकको आधारभूत अधिकारका रूपमा स्थापित गर्नुपर्छ।
आर्थिक आत्मनिर्भरता भनेको अन्तर्राष्ट्रिय व्यापार र सहकार्यबाट अलग हुनु होइन। यसको अर्थ राष्ट्रिय आवश्यकता र हितअनुसार उत्पादन क्षमता विकास गर्नु, बाह्य निर्भरता घटाउनु, राष्ट्रिय स्रोतसाधनमाथि स्वनिर्णयको अधिकार कायम गर्नु र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धलाई समानता तथा पारस्परिक लाभका आधारमा सञ्चालन गर्नु हो।
७. विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र श्रमको भविष्य
एक्काइसौँ शताब्दीको समाजवादले विज्ञान, प्रविधि, स्वचालन, डिजिटल अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न नयाँ उत्पादन सम्बन्धको प्रश्नलाई केन्द्रमा राख्नुपर्छ।
कृत्रिम बुद्धिमत्ता र स्वचालनले उत्पादन क्षमता बढाउने, श्रमको प्रकृति बदल्ने र मानव जीवनलाई सहज बनाउने ठूलो सम्भावना बोकेका छन्। तर यी प्रविधिमाथिको स्वामित्व केही बहुराष्ट्रिय कम्पनी र वित्तीय एकाधिकारमा सीमित हुँदा श्रम विस्थापन, निगरानी, डाटा शोषण, डिजिटल विभाजन र सम्पत्तिको थप केन्द्रीकरणको जोखिम पनि बढ्छ।
त्यसैले प्रविधिको विकासलाई निजी नाफाको एकाधिकारबाट मुक्त गर्दै सामाजिक आवश्यकता, श्रमजीवी जनताको हित र सार्वजनिक कल्याणमा उपयोग गर्नुपर्छ। वैज्ञानिक अनुसन्धान, प्राविधिक शिक्षा, डिजिटल पूर्वाधार, डाटा सार्वभौमिकता तथा प्रविधिमा सार्वजनिक पहुँचलाई समाजवादी विकासको अभिन्न अङ्ग बनाउनुपर्छ।
समाजवादको लक्ष्य प्रविधिलाई रोक्नु होइन, प्रविधिमाथिको सामाजिक नियन्त्रण स्थापित गर्नु र त्यसबाट सिर्जित उत्पादकत्वको लाभ समग्र समाजमा न्यायपूर्ण रूपमा वितरण गर्नु हो।
८. आर्थिक न्याय र पर्यावरणीय न्यायको एकता
समाजवादले उत्पादन र वितरणको प्रश्नलाई प्रकृति तथा पर्यावरणसँगको सम्बन्धबाट अलग राख्न सक्दैन। प्राकृतिक स्रोतको असीमित दोहन, अत्यधिक उपभोग, प्रदूषण र नाफाकेन्द्रित विकासले जलवायु सङ्कट, जैविक विविधताको विनाश र प्राकृतिक विपद्को जोखिम बढाएका छन्।
यसको समाधान उत्पादन र विकासलाई प्रकृतिको वहन क्षमतासँग सन्तुलित बनाउनु हो। जल, जमिन, जंगल, जडिबुटी, खनिज र जैविक सम्पदाको उपयोग राष्ट्रिय हित, सार्वजनिक उत्तरदायित्व र स्थानीय समुदायको अधिकार सुनिश्चित हुने गरी गर्नुपर्छ।
पर्यावरणीय सङ्कटको भार गरिब तथा श्रमजीवी जनतामाथि थोपर्नु अन्यायपूर्ण हुन्छ। अत्यधिक स्रोत दोहन, प्रदूषण र असमान उपभोगबाट लाभ लिने वर्ग तथा संस्थालाई जिम्मेवार बनाउँदै न्यायपूर्ण संक्रमणको नीति अपनाउनुपर्छ। ऊर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई पर्यावरणमैत्री दिशामा रूपान्तरण गर्नु समाजवादी कार्यक्रमको अनिवार्य हिस्सा हुनुपर्छ।
९. राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय सम्बन्ध
राजनीतिक सार्वभौमिकता मात्र पर्याप्त हुँदैन; आर्थिक, वित्तीय, प्राविधिक र नीतिगत स्वाधीनता पनि आवश्यक हुन्छ। ऋण, लगानी, व्यापार, प्रविधि र प्राकृतिक स्रोतको उपयोगसम्बन्धी निर्णय राष्ट्रिय हित र जनताको दीर्घकालीन आवश्यकताका आधारमा हुनुपर्छ।
नेपालको विदेश नीति सार्वभौमिक समानता, अहस्तक्षेप, राष्ट्रिय स्वाधीनता, पारस्परिक लाभ, शान्तिपूर्ण सहअस्तित्व र असंलग्नताको सिद्धान्तमा आधारित हुनुपर्छ। कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थको अनुयायी बन्नुभन्दा सबै देशसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध विकास गर्नुपर्छ।

बहुध्रुवीय विश्वको विकास, दक्षिण–दक्षिण सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका सम्भावनालाई राष्ट्रिय उत्पादन र विकासको हितमा उपयोग गर्न सकिन्छ। तर कुनै पनि अन्तर्राष्ट्रिय गठबन्धन वा शक्ति केन्द्रलाई स्वतः प्रगतिशील वा समाजवादी ठान्नु हुँदैन। तिनको वास्तविक आर्थिक चरित्र, शक्ति सम्बन्ध र राष्ट्रिय हितमा पर्ने प्रभावको वस्तुगत परीक्षण आवश्यक हुन्छ।
१०. जनतन्त्र, जननियन्त्रण र समाजवादी राज्यको चरित्र
समाजवादको सफलता राज्यको स्वामित्व विस्तारबाट मात्र सुनिश्चित हुँदैन। राज्यको चरित्र, जनताको वास्तविक अधिकार र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता निर्णायक हुन्छ।
समाजवादी राज्य मजदुर, किसान र आम जनताको हितको प्रतिनिधित्व गर्ने, उनीहरूप्रति उत्तरदायी र उनीहरूको नियन्त्रणमा सञ्चालन हुने राज्य हुनुपर्छ। राज्यका स्रोतसाधनमाथि सीमित राजनीतिक नेतृत्व, नोकरशाही वा विशेषाधिकार प्राप्त समूहको एकाधिकार स्थापित हुनु समाजवादी उद्देश्यविपरीत हुन्छ।
यसका लागि जनताको राजनीतिक सहभागिता, अभिव्यक्ति तथा आलोचनाको स्वतन्त्रता, संगठनको अधिकार, पारदर्शिता, कानुनी समानता, सार्वजनिक जवाफदेहिता र भ्रष्टाचार नियन्त्रण सुनिश्चित हुनुपर्छ। श्रमिकको कार्यस्थलमा सहभागिता, स्थानीय समुदायको निर्णय अधिकार र सार्वजनिक संस्थाहरूको लोकतान्त्रिक निगरानीलाई संस्थागत गर्नुपर्छ।
समाजवादको नाममा नयाँ शासक वर्ग, नोकरशाही विशेषाधिकार र शक्ति केन्द्रीकरण जन्मन नदिनु यसको दीर्घकालीन स्थायित्वको अनिवार्य सर्त हो। आर्थिक लोकतन्त्र र राजनीतिक लोकतन्त्रबीचको एकता कायम नगरी समाजवादको वास्तविक सार प्राप्त हुन सक्दैन।
११. विगतका समाजवादी प्रयोगबाट शिक्षा
विगतका समाजवादी प्रयोगहरूले सामन्तवादको अन्त्य, तीव्र औद्योगिकीकरण, शिक्षा तथा स्वास्थ्यको विस्तार, सामाजिक सुरक्षाको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेका छन्। साथै, कतिपय प्रयोगमा अत्यधिक प्रशासनिक केन्द्रीकरण, नोकरशाहीकरण, जनसहभागिताको कमजोरी, आर्थिक प्रोत्साहन र उत्पादन व्यवस्थापनका समस्या तथा राजनीतिक आलोचनाको सीमितताजस्ता कमजोरी पनि देखिएका छन्।
यी उपलब्धि र कमजोरी दुवैको वस्तुनिष्ठ अध्ययन आवश्यक छ। विगतका कमजोरीका आधारमा समाजवादको ऐतिहासिक आवश्यकतालाई अस्वीकार गर्नु गलत हुन्छ; त्यस्तै, विगतका उपलब्धिका नाममा कमजोरीलाई ढाकछोप गर्नु पनि वैज्ञानिक दृष्टिकोण होइन।

माक्र्सवादको जीवन्तता यसको जडसूत्रीय पुनरावृत्तिमा होइन, बदलिँदो वस्तुगत परिस्थितिको वैज्ञानिक अध्ययन, अनुभवको आलोचनात्मक मूल्याङ्कन र सिद्धान्त तथा व्यवहारको निरन्तर विकासमा निहित हुन्छ।
१२. नेपालको समाजवादी रूपान्तरणका तत्कालीन प्राथमिकता
नेपालको वास्तविक परिस्थितिलाई ध्यानमा राख्दा समाजवादतर्फको ऐतिहासिक तयारीका लागि निम्न कार्यभारलाई प्राथमिकता दिनुपर्छः
१. भूमिको असमान स्वामित्व र सामन्ती शोषणका अवशेष अन्त्य गर्ने वैज्ञानिक भूमिसुधार।
२. कृषि उत्पादन, उत्पादकत्व र किसानको आर्थिक–सामाजिक स्थिति सुधार्ने कृषि रूपान्तरण।
३. राष्ट्रिय औद्योगिकीकरण, ऊर्जा विकास र उत्पादनशील रोजगारी विस्तार।
४. दलाल, एकाधिकार र सट्टेबाजीमुखी पुँजीको प्रभाव नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पुँजीको विकास।
५. शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र सामाजिक सुरक्षामा सार्वभौमिक पहुँच।
६. वैदेशिक ऋण, आयात र विप्रेषणमाथिको असन्तुलित निर्भरता घटाउँदै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण।
७. प्राकृतिक स्रोत, जलविद्युत्, वन, खनिज र जैविक सम्पदाको राष्ट्रिय हितअनुकूल तथा पर्यावरणमैत्री उपयोग।
८. विज्ञान, अनुसन्धान, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको सामाजिक उपयोग तथा सार्वजनिक पहुँच विस्तार।
९. मजदुर, किसान, महिला, युवा र उत्पीडित समुदायको आर्थिक तथा राजनीतिक अधिकार सुनिश्चित।
१०. भ्रष्टाचार, कमिसनतन्त्र, बिचौलियापन र सार्वजनिक सम्पत्तिको दोहन अन्त्य गर्दै जनउत्तरदायी जनतान्त्रिक राज्य निर्माण।
११. राष्ट्रिय स्वाधीनता, सार्वभौमिक समानता र पारस्परिक लाभमा आधारित स्वतन्त्र परराष्ट्र नीति।
१२. वैज्ञानिक विचार, जनमुखी संगठन, सक्षम नेतृत्व र आलोचना–आत्मालोचनामा आधारित राजनीतिक संस्कृतिको विकास।
निश्कर्ष ः समाजवाद नाराबाट होइन, उत्पादन सम्बन्धको रूपान्तरणबाट
समाजवादको ऐतिहासिक आवश्यकता पुँजीवादका अन्तर्विरोधबाट उत्पन्न हुन्छ, तर यसको निर्माण स्वतः हुँदैन। विकसित उत्पादन शक्ति, सामाजिक स्वामित्व, न्यायपूर्ण वितरण, श्रमिक–किसानको संगठित राजनीतिक शक्ति, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक जननियन्त्रण र पर्यावरणीय सन्तुलन यसको आधारभूत सर्त हुन्।
नेपालको सन्दर्भमा समाजवादको बाटो निर्धारण गर्दा पुराना ऐतिहासिक निष्कर्षको यान्त्रिक पुनरावृत्ति वा राजनीतिक परिवर्तनलाई नै पूर्ण क्रान्ति ठान्ने दुवै अतिवादबाट मुक्त हुनुपर्छ। नेपालको वर्तमान उत्पादन सम्बन्ध, वर्गीय संरचना, राष्ट्रिय अर्थतन्त्र र अन्तर्राष्ट्रिय निर्भरताको ठोस विश्लेषणबाट मात्र उपयुक्त राजनीतिक कार्यदिशा र रूपान्तरणको कार्यक्रम तय गर्न सकिन्छ।
समाजवादको वास्तविक परीक्षा राज्यले आफूलाई समाजवादी घोषणा गर्छ कि गर्दैन भन्ने होइन; उत्पादनका साधनमाथि वास्तबिक श्रमजीवी जनताको वास्तविक अधिकार कति स्थापित भयो, श्रमबाट सिर्जित सम्पत्तिको वितरण कति न्यायपूर्ण भयो, शोषण र असमानता कति घटे, राष्ट्रिय अर्थतन्त्र कति आत्मनिर्भर बन्यो र राज्यसत्ता कति जनउत्तरदायी तथा जनतान्त्रिक भयो भन्ने हो।
समाजवादको सार उत्पादन र सम्पत्तिमाथिको सामाजिक अधिकार, श्रमको मुक्ति, आर्थिक तथा सामाजिक न्याय र मानव तथा प्रकृतिबीचको सन्तुलित सम्बन्ध हो। यसको निर्माण सत्ता परिवर्तनको एउटा घटना होइन, उत्पादन सम्बन्ध, वर्गीय शक्ति र सामाजिक जीवनको आमूल रूपान्तरणसहित अघि बढ्ने अपरिहार्य ऐतिहासिक प्रक्रिया हो। त्यसैले समाजवादमा पुग्ने सही बाटो पहिल्याउन वस्तुगत परिस्थितिको वैज्ञानिक अध्ययन, जनताको संगठित शक्ति र सिद्धान्त तथा व्यवहारको निरन्तर एकता अनिवार्य छ । कम्युनिष्ट आन्दोलनको एकताको खोज गर्नुको अन्तर्य र सार्थकता पनि यही नै हो । अन्यत्र कतै भड्किनुको कुनै अर्थ छैन । त्यो केवल अल्मल्याउने कुरा मात्र हो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित