नवौँ अखिल भारत नेपाली एकता समाजको सम्मेलन सफल पारौँ!

 

किसनबहादुर कि.क.

प्रवासी नेपाली श्रमिकहरूको हक, अधिकार र एकताका लागि जालन्धर जाऔँ !

नवौँ अखिल भारत नेपाली एकता समाजको सम्मेलन सफल पारौँ!

मिति ः१९–२१ फेब्रुअरी २०२७
स्थान ःदेश भगत यादगार हल, जी।टी। रोड, जालन्धर, पञ्जाब, भारत।

प्रवासी नेपालीहरूको हक, हित, अधिकार र सामाजिक सुरक्षाका लागि निरन्तर संघर्ष गर्दै आएको अविभावकीय संगठन अखिल भारत नेपाली एकता समाजको नवौँ सम्मेलन आगामी १९ देखि २१ फेब्रुअरी २०२७ सम्म भारतको पञ्जाब राज्यस्थित जालन्धरको देश भगत यादगार हलमा सम्पन्न हुन गइरहेको छ।

यो सम्मेलन केवल एउटा औपचारिक संगठनात्मक कार्यक्रम मात्र होइन। यो प्रवासी नेपाली श्रमिकहरूको लामो संघर्ष, त्याग, बलिदान, एकता र सामूहिक आकांक्षाको ऐतिहासिक अभिव्यक्ति पनि हो। त्यसैले यस सम्मेलनलाई सफल पार्नु हामी सबै प्रवासी नेपालीहरूको साझा जिम्मेवारी र दायित्व हो।

गौरवशाली इतिहास र संघर्षपूर्ण यात्रा

अखिल भारत नेपाली एकता समाजको स्थापना सन् १९७९ नोभेम्बर ७ तारिखका दिन भारतको बनारसमा भएको थियो। प्रवासमा रहेका नेपाली श्रमिक, मजदुर तथा सर्वसाधारण नेपालीहरूलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार, सम्मान र सामाजिक सुरक्षाका पक्षमा आवाज उठाउने उद्देश्यका साथ स्थापना भएको यस संगठनले अनेकौँ आरोह–अवरोह पार गर्दै आफ्नो गौरवशाली यात्रा अगाडि बढाइरहेको छ।

स्थापनाको ४७ वर्षे संघर्षपूर्ण यात्रा पूरा गरी संगठन ४८औँ वर्षमा प्रवेश गरेको छ। यस अवधिमा संगठनले अनेकौँ चुनौती, कठिनाइ र प्रतिकूल परिस्थितिको सामना गरेको छ। तर पनि आफ्नो मूल उद्देश्यबाट विचलित नभई प्रवासी नेपालीहरूको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउनेदेखि भारतमा श्रम गरेर जीवन निर्वाह गरिरहेका नेपालीहरूका समस्या समाधानका लागि नेपाल सरकार र सम्बन्धित निकायसम्म आफ्ना माग तथा आवाज पुर्‍याउने काम संगठनले गर्दै आएको छ। प्रवासी नेपालीका समस्याबारे पटक–पटक ज्ञापनपत्र बुझाउने, सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र राज्यलाई आफ्नो दायित्वबोध गराउने प्रयासहरू यसै संघर्षका महत्वपूर्ण पक्ष हुन्।

अधिकारका लागि संघर्ष अझै जारी छ

आज पनि भारतलगायत विभिन्न देशमा लाखौँ नेपाली नागरिक आफ्नो श्रम, पसिना र सीप बेचेर जीवन निर्वाह गरिरहेका छन्। उनीहरूले विदेशमा श्रम गरेर आफ्नो परिवारको जीविका चलाउनुका साथै नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। तर विडम्बना, उनीहरूले आफ्नो देशको राजनीतिक तथा नागरिक अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्।

विशेषगरी प्रवासी नेपाली नागरिकले आफू बसेकै देशबाट नेपालको निर्वाचनमा मतदान गर्न पाउनुपर्छ भन्ने माग लामो समयदेखि उठ्दै आएको छ। यस विषयमा सर्वोच्च अदालतबाट समेत आवश्यक व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको भए पनि व्यवहारमा विदेशमा रहेका नेपालीले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन।

यसले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ—देशको विकासमा पसिना बगाउने, अर्थतन्त्रमा योगदान पुर्‍याउने र राष्ट्रियताको भावना बोकेर विदेशमा जीवन बिताउने नागरिकले आफ्नै देशको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन किन नपाउने ?हामीले उठाएको माग कुनै व्यक्ति वा समूह विशेषका लागि होइन। यो विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको समान नागरिक अधिकार, राजनीतिक सहभागिता र सम्मानसँग जोडिएको विषय हो।

राज्यले आफ्ना नागरिकका जायज माग र समस्याप्रति गम्भीर हुनुपर्छ। तर अधिकार मागेर मात्र प्राप्त हुँदैन। त्यसका लागि सचेतना, संगठन, एकता र निरन्तर सामूहिक संघर्ष आवश्यक हुन्छ।अब अरूको आशामा होइन, आफ्नै एकतामा विश्वास गरौँ!

हामीले बुझ्नुपर्ने कुरा के हो भने प्रवासमा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो। हामी विभिन्न जिल्ला, गाउँ, जातजाति, भाषा, संस्कृति र पृष्ठभूमिबाट भारत आएका हुन सक्छौँ। तर हाम्रो साझा समस्या, साझा पीडा र साझा अधिकार छन्।

एक्लाएक्लै हुँदा हाम्रा आवाजहरू कमजोर हुन सक्छन्, तर संगठित हुँदा ती आवाजहरू बुलन्द बन्न सक्छन्। त्यसैले व्यक्तिगत स्वार्थ, आपसी मनमुटाव, विभाजन र निराशाभन्दा माथि उठेर साझा हितका लागि एकताबद्ध हुन आजको आवश्यकता हो।

हामीले कसैको कृपा र आश्वासनमा मात्र निर्भर भएर होइन, आफ्नै श्रम, क्षमता, विवेक र सामूहिक शक्तिमा विश्वास गर्दै अगाडि बढ्नुपर्छ। संगठनलाई बलियो बनाउनु भनेको केवल एउटा संस्थालाई बलियो बनाउनु होइन, प्रवासी नेपाली श्रमिकहरूको साझा आवाज र अधिकारको आन्दोलनलाई बलियो बनाउनु हो।

नवौँ सम्मेलन हाम्रो साझा अभियान हो!

आगामी नवौँ सम्मेलनले संगठनको विगतको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्नेछ। प्रवासी नेपाली श्रमिकका वर्तमान समस्या, हकहित, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार, राजनीतिक सहभागिता तथा संगठन विस्तारका विषयमा गम्भीर छलफल गर्ने अवसर प्रदान गर्नेछ।

त्यसैले भारतका विभिन्न राज्य, सहर, नगर, बस्ती र श्रम क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन हार्दिक आह्वान गर्दछौँ।

सम्मेलन सफल पार्न हामी सबैले आफ्नो क्षमताअनुसार आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याऔँ। संगठनका गतिविधिमा सक्रिय सहभागिता जनाऔँ। नयाँ पुस्तालाई संगठनको इतिहास, उद्देश्य र संघर्षबारे परिचित गराऔँ। छरिएर रहेका नेपाली श्रमिकहरूलाई संगठित गर्ने अभियानलाई अझ व्यापक बनाऔँ।

हाम्रो एकता नै हाम्रो शक्ति हो। हाम्रो संगठन नै हाम्रो साझा आवाज हो। हाम्रो संघर्ष नै अधिकार प्राप्तिको आधार हो।

आउनुहोस्, विगतका संघर्षबाट शिक्षा लिँदै वर्तमानका चुनौतीहरूको सामना गरौँ र भविष्यको बलियो संगठन निर्माणमा योगदान पुर्‍याऔँ।

फेब्रुअरी १९–२१, २०२७ मा जालन्धर जाऔँ !

नवौँ अखिल भारत नेपाली एकता समाजको सम्मेलन सफल पारौँ!

प्रवासी नेपाली श्रमिकहरू एक हौँ !

नेपाली एकता जिन्दावाद!

अखिल भारत नेपाली एकता समाज जिन्दावाद!

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित