रामसिंह श्रीस, कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल •• राम सिंह श्रीस नेपालको कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो । विद्यार्थी राजनीति, शिक्षण पेशा हुँदै लामो समयदेखि उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्रीय तहको भूमिकामा रहँदै आउनु भएकोछ । उहाँले विद्यार्थी जीवनमा शिक्षक जगतमान बज्राचार्य र चित्रबहादुर के.सी.बाट राजनीतिप्रति क्रियाशील हुने प्रेरणा प्राप्त गर्नु भएको थियो ।
हालको गलकोट नगरपालिका चोराहास्थित प्राथमिक विद्यालयबाट अध्ययनको प्रारम्भ गरेका श्रीसले प्राइभेटबाट बि.ए.सम्म अध्ययन पूरा गर्नु भएको थियो । २०२७ देखि २०३५ सम्म करिब ८ वर्ष उहाँले शिक्षण पेशा अपनाउनु भएको थियो । बागलुङ गल्कोटको चोराहास्थित प्राथमिक विद्यालय ,बोबाङको ज्ञानोदय निमावि र लेखानीको लेखानी निमावि गरी तीनवटा विद्यालयमा उहाँले पढाउनु भएको थियो ।
श्रीस २०२६ सालमा बागलुङको गल्कोट मा.वि.मा भएको स्व.वि.यु. निर्वाचनमा उपसभापति निर्वाचित हुनु भएको थियो । २०२८ तिर कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका श्रीसले २०३० देखि नेपाल कम्युनिस्ट पार्टी बागलुङको जिल्ला सदस्य भएर काम गर्नु भयो। २०३६ देखि २०४२ सम्म बाग्लुङमा जिल्ला पार्टी सेक्रेटरी हुनु भयो । २०३५ देखि नेकपाको केन्द्रीय समितिमा रहेका उहाँ नेकपा (मशाल) को तेस्रो राष्ट्रिय सम्मेलन (२०४०) र मशालको पाँचौ महाधिवेशन (२०४१) बाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो । मसालको चौथो राष्ट्रिय सम्मेलन (२०४२) बाट पोलिट्ब्युरो सदस्य भएका उहाँ छैठौँ महाधिवेशन ( २०५१) बाट पनि पोलिट्ब्युरो सदस्य र आठौँ राष्ट्रिय सम्मेलन (२०५७) बाट महामन्त्री हुनु भएको थियो । उहाँ २०५७ देखि २०५९ सम्म मसालको महामन्त्री रहनु भयो ।
२०६३ मा पार्टी विभाजन भए पछि नेकपा (एकीकृत) को अध्यक्ष मण्डलको संयोजक बन्नु भयो र २०७२ मा नेकपा – माओवादी सित पार्टी एकता भई बनेको नेकपा (क्रान्तिकारी माओवादी) को उहाँ स्थायी समिति सदस्य बन्नु भयो । यसपाली नेकपा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) का बीचमा पार्टी एकता भएर बनेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालय सदस्य बन्नु भएकोछ ।
श्रीसले आफ्नो जीवनमा चर्को प्रहरी यातना पनि भोग्नु भएको थियो । २०३४ सालको पर्चा काण्डमा र २०३६ सालको फटाहा विरोधी अभियानका क्रममा प्रहरीले गिरफ्तार गरी उहाँलाई चरम यातना दिएको थियो । यसपटक पार्टी एकता र कम्युनिस्ट आन्दोलनको आगामी दिशाका बारेमा हाँक साप्ताहिकले श्रीससित अन्तरवार्ता लिएको छ । प्रस्तुत छ श्रीस सितको अन्तर्वार्ता :
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता गर्नु भयो । पार्टी एकताका आधारहरू के के हुन् ?
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा यही वैशाख १६ गते एकता अधिबेशन सम्पन्न भयो र वैशाख १८ गते ऐतिहासिक १३४ अौँ मई दिवसको अवसर पारेर पार्टी एकताको घोषणा सभा सम्पन्न भयो। हामी लामो समयदेखि पार्टी एकताका लागि प्रयासरत थियौँ ।
पहिलो कुरा, दुवै पार्टीले मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवादलाई मान्दै आएका थियौँ । दोस्रो कुरा, पार्टीको राजनीतिक कार्यदिशामा हामी एकरुपता कायम गर्न सफल भयौँ । नयाँ जनवादी क्रान्ति सम्पन गरेर वैज्ञानिक समाजवादमा जाने कार्यदिशालाई अवलम्बन गर्न दुवै पक्ष तयार भयौँ । तेस्रो कुरा, नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गसित नेपाली शोषित पीडित वर्गको प्रमुख अन्तर्विरोध छ भन्ने कुरामा हामी दुवै पक्षको सहमति रहृयो । चौथो कुरा, तत्काल सङ्घर्षको स्वरूप शान्तिपूर्ण जन सङ्घर्ष भए पनि शोषित, पीडित वर्गको सत्ता प्राप्त गर्न बल प्रयोग अर्थात सशस्त्र सङ्घर्ष अनिवार्य छ भन्ने कुरा मा हाम्रो समान धारणा रहँदै आएको थियो । पाँचौ कुरा, तत्कालको कार्यनीतिमा प्रतिकृयावादी संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्नु पर्दछ भन्ने कुरामा पनि हाम्रो समान धारणा रहृयो । छैठौँ कुरा, सर्वहारा अन्तर्राष्ट्रवादलाई हामी दुवै पक्षले स्वीकार गर्दै आएको विषय नै भयो । सातौँ कुरा, जनवादी केन्द्रीयताबाट पार्टी र सङ्गठन संचालन गर्नु पर्दछ, यो हामी दुवै पक्षलाई स्वीकार्य कुरा भयो। कम्युनिस्ट आन्दोलनका यी आधारभूत मान्यताहरूको समानता नै हाम्रो पार्टी एकताका आधारहरू हुन् । हाम्रो एकताले क्रान्तिकारी कम्युनिस्टहरूलाई उत्साहित बनाएको छ ।
समान धारणा निर्माण भए पछि पार्टी एकता भयो भन्नु भयो । असमानता पनि थिए होला नि ? यति सम्म असहमति भए पनि अहिले मिलौँ । असहमतिका बिचमा पनि पार्टी एकता गरेर जाउँ भन्ने त्यस्तो सहमति त भएको छैन ?
उल्लेख नै गर्ने प्रकारको असहमति छैन । मूलभूत कुरामा हाम्रो सहमति रहृयो । कतिपय विषयहरूमा हाम्रा असहमतिहरू छन् । तीलाई हामीले छलफल गर्दै गएर महाधिवेशनमा गएर टुङ्गाउँछौँ ।
नयाँ जनवादी क्रान्ति उद्देश्य बोकेको नेकपा (क्रान्तिकारी माओवादी) र समाजवादी क्रान्ति उद्देश्य बोकेको नेकपा (बहुमत) यी दुई फरक फरक सिद्धान्त र उद्देश्य भएका पार्टी बीच एकता भनेको सिद्धान्तहीन एकता हो भनेर तपाईहरू माथिको आलोचनालाई के भन्नू हुन्छ ?
त्यो विगतको कुरा हो । बहुमतका साथीहरूको समाजवादी क्रान्ति सम्पन्न गरेर नयाँ जनवादका अधुरा कार्यभार पूरा गर्ने भन्ने लाइन थियो । व्यापक छलफलपछि नयाँ जनवादी क्रान्तिलाई पहिलो स्टेप मान्ने र वैज्ञानिक समाजवादमा जाने भन्ने नीति हामीले तय गरेका छौ । छलफल गरेर एउटा निश्कर्षमा पुगेकाछौँ । एकता – सङ्घर्ष – रुपान्तरणको विधिबाट हामी अगाडि बढेका छौँ । त्यसैले यो एकतालाई सिद्धान्तहीन एकता भन्न मिल्दैन ।
यो एकताबाट नेपाली जनताले के आसा गर्ने ?
यो एकताबाट नेपाली जनताले क्रान्तिको आसा गर्नु पर्दछ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको अन्त्य गरेर शोषित वर्गको राज्य स्थापना हुने छ भन्ने आसा गर्नु पर्दछ । यो एकताले छरिएका क्रान्तिकारी कम्युनिस्टहरूलाई एक ढिक्का बनाउँदै जानेछ भन्ने आसा नेपाली जनताले गर्नु पर्दछ ।
पार्टी एकता पछि पार्टी सन्चालनको विधि के बनाउनु भएकोछ ? एकता महाधिवेशनसम्म पुग्नेबारे के योजना बनाउनु भएको छ ?
जनवादी केन्द्रिययताबाट पार्टीको सन्चालन गरिने छ । अब हामी स्थानीय तहसम्म पार्टी एकता गर्दछौँ । दस्तावेजलाई तलसम्म कार्यकर्ताहरूको बीचमा पुर्याउँछौँ । अध्ययन गराउँदछौँ । एकता महाधिवेशनको प्रक्रिया सुरु भए पछि असहमतिका विषयहरूलाई फोरम चलाउँछौँ ।
तपाईहरू सँगै पार्टी एकता संयोजन समितिमा नेकपा (मशाल) सहभागी थियो भन्ने कुरा संयुक्त वक्तव्यबाट सार्वजनिक भएको थियो । मशाल किन पार्टी एकतामा सामेल हुन सकेन ?
कम्युनिस्ट पार्टीको लागि राजनीतिक कार्यदिशा प्रमुख महत्त्वको विषय हो । मशाल र हाम्रो विचमा राजनीतिक कार्यदिशामा समान धारणा छ । तर केही कुराहरूमा हाम्रो एकरुप विचार हुन सकेन यसकारण मशालसित अहिले एकता हुन सकेन । जस्तै मार्गदर्शक सिद्धान्तमा हाम्रो सामान्य मतभिन्नता रहृयो । त्यो पनि मिल्नै नसक्ने विषय हैन जस्तो लाग्छ । माओका योगदानहरूलाई आत्मसात नगरिकन वर्तमानको क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउन सकिन्न भन्ने कुरामा हाम्रो समान विचार रहृयो । जनयुद्धलाई मूल्याङ्कन गर्ने विषयमा धेरै कुरा मिले पनि केही कुरा मिल्न सकेन । नेपालमा जातीय, क्षेत्रीय उत्पीडन छ भन्ने कुरा हामी सबैले स्वीकार गर्यौँ तर सङ्घीयताको विषय असहमतिको विषय रहृयो ।
कतिपय असहमतिका विचमा पनि पार्टी एकता गर्न सकिने कुरा सुन्नमा अएको थियो । तपाईको पार्टी र मशालका बीचमा त्यस्तो सम्भावना छ र ?
एकताको सम्भावना धेरै छ । वर्ग सङ्घर्षको विकास गर्दै गएर नयाँ जनवादी व्यवस्था स्थापना गर्नु पर्दछ । सशस्त्र सङ्घर्ष विना शोषित वर्गको सत्ता प्राप्त हुन सक्दैन भन्ने मूल कार्यदिशामा हाम्रो समान धारणा छ ।
पार्टी भनेको विपरीत तत्त्वहरूको एकत्व हो भन्ने कुरा मार्क्सवादले स्वीकार गर्दछ । सबै कुरा मिले पनि नयँ सन्दर्भमा नयाँ अन्तर्विरोध पार्टी भित्र जन्मन्छन् । अहिले मशालसित पार्टी एकता हुन नसके पनि हाम्रो एकताको प्रयास जारी छ । एकता हुन नसकेको अवस्थामा सहकार्य, कार्यगत एकता र संयुक्त मोर्चाको नीति अपनाउँछौँ । हाम्रो मैत्रीपूर्ण सम्बन्ध रहन्छ ।
नेपालको क्रान्तिकारी आन्दोलनको ध्रुवीकरण बारे थप तपाइको पार्टीले के सोचेको छ ?
सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एक ठाउँमा आउनै पर्दछ भन्ने हाम्रो पार्टीको मान्यता हो । त्यस सिलसिलामा क्रान्तिकारी व्यक्ति, समूह पार्टी सबैसँग सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा बनाउने हाम्रो नीति छ । त्यस सन्दर्भमा मूलभूत मान्यतामा सहमति हुने शक्तिहरू सित पार्टी एकता पनि गर्ने हाम्रो नीति छ ।
अहिलेको देशको अवस्थालाई संक्षिप्तमा कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
साम्राज्यवादी र बिस्तारवादीहरूले देशलाई पराधीन बनाउँदै लगिरहेका छन् । देशको अर्थतन्त्र तहस नहस हुँदै गैरहेकोछ । बेरोजगारी असामान्यरुपमा बढेकोछ । वैदेशिक रिण बढिरहेको छ । व्यापार घाटा बढेको बढैछ । महËीले आकाश छोएकोछ । युवा श्रम शक्ति र शिक्षित सक्षम युवा समेत विदेश पलायन भैरहेका छन् । देशको यो अधोगतिको दोषी वर्तमान प्रतिक्रियावादी संसदीय व्यवस्था र संसदवादी राजनीतिक पार्टीहरू हुन् ।
देशको यस स्थितिमा तपाईको पार्टीले के कस्ता कार्यनीतिहरू अवलम्वन गर्दैछ ?
साम्राज्यवादी र विस्तारवादीहरूले देशलाई राजनीतिक र आर्थिकरुपमा परआस्रित बनाउँदै लगिरहेको अवस्थामा राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई अगाडि बढाउनु पर्दछ । जनतामाथि शोषक वर्गको शोषण झन गहिरिँदै गैरहेकोछ । तलैबाट वर्ग सङ्घर्षको विकास गरेर जानु पर्दछ । सङ्घर्ष बाहेक अर्को विकल्प छैन ।
कम्युनिस्ट आन्दोलनको एक हिस्साले आजको वैज्ञानिक र प्रविधिको युगमा बल प्रयोगको सिद्धान्त व्यवहारिक हुन्न भनेर अहिलेकै राज्य संरचनामा समाजवाद लागू गर्ने कुरा गरिरहेको छ नि ?
यो कार्यकर्ता र जनतालाई झुक्याउने कुरा हो । बल प्रयोग विना प्रतिक्रियावादी व्यवस्थाभित्र समाजवाद कायम गर्न सकिन्छ भन्ने कुरा बर्नस्टिन र खु्रश्चेभहरूको कुरा हो । क्रान्तिकारीहरूले यस्तो भ्रमपूर्ण कुरामा विश्वास गर्दैनन् । दोस्रो अन्तर्राष्ट्रियका बेला बर्नस्टिनले त्यही कुरा गरेका थिए । लेनिन, रोजा लगायतका क्रान्तिकारीहरूले त्यसको सैद्धान्तिकरुपले र व्यवहारिकरुपले कडा प्रतिवाद गरेका थिए । आखिर व्यवहारमा बर्नस्टिनको कुरा गलत र लेनिनको कुरा सही सिद्ध भयो । आफ्नो अवसरवादी चेहरा छुपाउन संशोधनवादी दक्षिणपन्थीहरूले वर्तमान संसदीय व्यवस्था भित्र समाजवाद कायम गर्न सकिन्छ भनेका हुन् ।
हाँक साप्ताहिक मार्फत थप भन्नू केही छ कि?
हाँक साप्ताहिक मार्फत म के भन्न चाहन्छु भने सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू एक जुट हुनु पर्दछ । कम्युनिस्ट पार्टीको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा राजनीतिक कार्यदिशा हो । कार्यदिशामा समानता भए पछि झिनामसिना, सानातिना कुरामा अल्झिनु हुँदैन । एकताबद्ध भएर अगाडि बढ्नु पर्दछ ।

