विमल शर्मा ••
म सुरुमा सङ्गठनसित जोडिदा राजनीतिसङ्ग जोडिएको जस्तो लाग्दैनथ्यो । राम्रो काम गर्ने र समाजमा केही न केही सहयोग गर्ने उद्देश्यले सङ्गठित भएको थिए । सङ्गठित हुने प्रेरणा २०३५÷३६ को आन्दोलनले दिएको थियो । सङ्गठित हुनुपर्ने चेतना आफैं भन्दा पनि पञ्चायती व्यवस्था वा त्यसबेलाका पञ्चहरूले गरेका गलत क्रियाकलापका विरुद्ध सङ्गठित हुनुपर्दछ भन्ने ज्ञानले प्रेरित गरेको थियो जस्तो लाग्छ ।
त्यतिबेला पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली काङ्ग्रेस र कम्युनिष्टहरूले अहिले जस्तो खुला रुपमा होइन कि प्रतिबन्धित अवस्थामा काम गर्दथे । पञ्चायती व्यवस्थाको ज्यादती जनताले सहन सक्ने अवस्थाबाट माथि गइसकेको थियो । त्यसको असर ०३५–३६ सालको जनआन्दोलनमा देखियो । त्यो जनआन्दोलनमा हामीहरू स्वतन्त्र रुपले सहभागी थियौँ । नेपाली काङ्ग्रेसका सदस्यहरूले आन्दोलनमा सहभागी हुन प्रेरणा दिन्थे । काङ्ग्रेसको सदस्यता लिन भन्थे । घर परिवारमा राजनीतिका कुरा हुँदा मेरो दाइ बासुदेव शर्मा (कान्छा बुबाका छोरा) ले “अहिले भर्खरै कसैको सदस्यता किन लिन पर्यो भाइ पछि विचार गरौँला” भनेको अहिले पनि स्मरण ताजै छ । त्यसपछि म काङ्ग्रेसभन्दा कम्युनिष्ट पार्टीका सदस्यहरूसित नजिक भए र कम्युनिष्ट पार्टीको सदस्यताको लागि निवेदन दिए ।
२०४० सालमा रोजगारीका लागि म दक्षिण भारतको पाण्डेचरी गए । त्यही नै अखिल भारत नेपाली एकता समाजमा आवद्ध भएर सक्रिय भए । मैले कम्युनिष्ट पार्टीको सदस्यता पाएको खबर पनि पाण्डेचरी मै पाए । सङ्गठनमा काम गर्दै जाँदा २०५२ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (मसाल) को केन्द्रीय सदस्य भए । खुलारुपमा जनवर्गीय सङ्गठनमा काम गर्ने भूमिगत रुपमा अन्य काम गर्ने जिम्मेवारी दिइएको थियो । त्यसै अनुसार मैले आˆनो जिम्मेवारी पूरा गर्दै गए । २०४७ साल पछि कैयौँ वर्षसम्म गोरखपुरको कार्यालयमा जिम्मा लिएर बसे ।
पार्टीमा काम गर्दै जाँदा २०५०÷५१ सालतिर होला पार्टीका महामन्त्रीद्वारा भारतको देहरादुनमा बस्ने दुवे थर भएका (उनको पूरा नाम मैले सम्झन सकिन) सित भेट्न एउटा पत्र दिएर पठाइयो । पत्र सिलबन्द थियो त्यसमा के लेखिएको थियो त्यो थाहा भएन । देहरादुन पुगेर ती व्यक्तिलाई त्यो पत्र दिएर म पुन: गोरखपुर फर्केर आए ।
ती व्यक्ति पछि भारतको पुणेमा बस्न थालेछन् । २०५२ मंसिर २७ गते मलाई पुन: उनीसित भेट गर्न पुणे पठाइयो । म पुणे जाँदा बम्बै रायगड हुँदै गएको थिए । रायगढमा स्यांजाका हिमलाल वाग्ले र गुल्मीका चेतनविक्रम प्यामीले सङ्गठनमा काम गर्नुहुन्थ्यो । त्यहाँ उहाँहरू नै सक्रिय हुनुहुन्थ्यो । उहाँहरूले मलाई पुणे पुर्याउन चेतनविक्रम प्यासीलाई पठाउनु भयो – उहाँले पुणे दुबे थरका व्यक्तिको घरमा पुर्याउनु भयो । पुर्याएर तुरुन्तै फर्किनु भयो ।
अहिले मलाई पुणे दुवे थरका व्यक्तिसित भेट्न पठाउँदा एक झोला पश्मिनाका गलबन्दी र सलहरू दिएर पुर्याउन भनिएको थियो । मैले एउटा झोलामा पश्मिनाका गलबन्दी र सलहरू लगेर गएको थिए । ती सामान दुवेलाई बुझाए । दुबे थरका व्यक्तिले ती सामानको मूल्य निर्धारण गर्न पठाएको हो भन्थे । उनले ती सामान कहाँ बेचे वा के गरे ? कति मूल्य निर्धारण भयो ? मलाई केही पनि जानकारी भएन । म पाँचदिनसम्म दुवेको घरमा नै बसें । पाँच दिनपछि दुवेले मलाई फर्कन भने म गोरखपुर फर्के । त्यो काम गरेको धेरै वर्ष भइसक्यो । अहिले वर्षौ पहिलेका घटनाहरू याद आउँदा लागिरहन्छ एकझोला पश्मिनाका गलबन्दी वा सलहरू पुणे पुर्याउनु, त्यसको मूल्य निर्धारणको कुरा गर्नु तर मूल्य नभन्नु को मुख्य उद्देश्य वा कारण के थियो होला ? के मैले पार्टी कै हितका लागि त्यो काम गरे हुँला ? मसालको केन्द्रीय सदस्य, पीवीएम, प्रवक्ता, कार्यालय सचिव भएर लामो समय काम गरिसकेपछि पनि अहिलेसम्म म त्यस विषयमा अनभिज्ञ नै छु ।

