गुणनिधी भुसाल, वामपन्थी नेता ••
यहाँ अर्घाखाँचीमा लामो समयसम्म कम्युनिस्ट आन्दोलनको लागि योगदान पुर्याउनु भएको व्यक्ति हुनुहुन्छ । अर्घाखाँचीमा कम्युनिस्ट आन्दोलनको प्रारम्भ कसरी भयो ?
२०१५ सालको संसदीय चुनावमा गुल्मी जिल्लाको एउटा क्षेत्रबाट नेपाली काङ्ग्रेसका सुवर्ण शमसेर जवराले चुनाव जितेका थिए । त्यतिबेला अर्घाखाँची गुल्मी जिल्लामा पर्दथ्यो । २०१८ सालमा मात्र अर्घाखाँची र गुल्मी जिल्ला विभाजन भएको हो । सुवर्ण शमसेर अर्घाखाँची बाहेक नेपालको अन्य ठाउँबाट पनि २०१५ को निर्वाचनमा उम्मेदवार बनेका थिए । के भनिएको थियो भने सुवर्णले गुल्मी र अर्को ठाउँबाट पनि चुनाव जित्ने छन् । २०१५ को आम चुनावमा खुविराम आचार्य सुवर्णको प्रमुख निर्वाचन प्रतिनिधि बनेर काम गर्ने र सुवर्णले गुल्मीको निर्वाचन क्षेत्र छाडेपछि २०१६ को उपचुनावमा खुविराम आचार्य नेपाली काङ्ग्रेसकातर्फबाट उम्मेदवार बन्ने छन् । तर काङ्ग्रेसले आफ्नो भनाईमा इमान्दारिता देखाएन । काङ्ग्रेसका केन्द्रीय नेता काशिनाथ गौतमले खुविराम आचार्यलाई टिकट नदिई उनका मन परेका व्यक्ति पुष्करनाथ पोख्रेललाई टिकट दिलाए ।
काङ्ग्रेसबाट बेइमानी भएको महशुस गरेका खुविराम आचार्य लगायतले पाल्पाबाट कम्युनिस्ट पार्टीकोतर्फबाट निर्वाचित सांसद कमलराज रेग्मीलाई सम्पर्क गरे र उनकै सम्पर्कका आधारमा खुविराम आचार्यले गुल्मीमा कम्युनिस्ट पार्टी स्थापना गरेका हुन् । उनी गुल्मी जिल्लाको कम्युनिस्ट पार्टीको पहिलो सेक्रेटरी हुन् । २०१६ सालको उपनिर्वाचनमा खुविराम आचार्य कम्युनिस्ट पार्टीकोतर्फबाट उम्मेदवार बनेका थिए । डा. के.आइ.सिंहको पार्टी संयुक्त प्रजातन्त्र पार्टीले हामीले उपनिर्वाचनमा उम्मेदवार उठाउँदैनौ । काङ्ग्रेस विरोधी उम्मेदवारलाई मत हाल्ने भनेर उम्मेदवार उठाएन र तिनीहरूको मत पनि कम्युनिस्ट पार्टीलाई नै परेको थियो । जित्ने स्थिति थिएन । तैपनि उपनिर्वाचनमा कम्युनिस्ट पार्टीको प्रचार भयो । अर्घाखाँची र गुल्मी जिल्ला छुट्टिए पछि पनि संयुक्त जिल्ला समितिको रुपमा पार्टी संचालित भएको थियो पछि सम्म ।
अर्घाखाँचीमा पार्टीमा सबैभन्दा पहिले विभाजन कहिले आयो ?
२०२४ सालसम्म अर्घाखाँचीको जिल्ला पार्टी विभाजन भएको थिएन । केन्द्रमा तुल्सीलाल र पुष्पलालको विवाद थियो । तैपनि विभाजन भएको थिएन । प्यूठानको ओडारको बैठकबाट अर्घाखाँचीको पार्टीमा विभाजन आयो । तौलिहवा जेलबाट मोहनविक्रम सिंहले पठाएको पत्रले अर्घाखाँचीको पार्टीलाई विभाजन गर्यो । मोहनविक्रमले पुष्पलालको पार्टीमा लाग्न सकिंदैन भनेर पत्र पठाएका थिए । प्यूठानको एउटा ओडारको बैठकमा मोहनविक्रमको चिठीको पक्षमा र पुष्पलालको पक्षमा गरी साथीहरू बैठकबाट फर्केर आउँदा विभाजित भएर आए । म त्यो बैठकमा जान सकिन । विष्णु प्रदिपलाई जेलमा भेट्न गएँ त्यसैले प्यूठानको ओडारको बैठकमा जान सकिन ।
अर्घाखाँचीको कम्युनिस्ट आन्दोलनको विकासबारे थप केही भन्नु हुन्छ कि ?
अर्घाखाँचीमा कम्युनिस्ट पार्टीको जग बसाल्ने कार्यमा महत्त्वपूर्ण भूमिका खुविराम आचार्यको नै हो । मैले २०२३ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरें । २०२४ सालदेखि लगातार २६ वर्षसम्म म पुष्पलालको पार्टी, माले हुँदै एमालेसम्म जिल्ला कमिटीमा बसेर काम गरें । २०३५ मा पुष्पलालजीको मृत्यु भएपछि एकप्रकारले पार्टी समाप्त भए जस्तै थियो । हामी अर्घाखाँचीका मालेतिर लाग्यौँ । मोदनाथजीहरू पहिलै मालेतिर लागि सक्नु भएको थियो । चौथो महाधिवेशन धारको पनि हामीले दस्तावेज मगाएर लुकिछिपी पढेका थियौँ । तर धेरैजसो साथीहरू जेल बसेका, सङ्घर्षमा लागेका मालेतिर नै भएकाले मालेतिर हामी आबद्ध भयौँ ।
कम्युनिस्ट पार्टी अर्घाखाँचीमा कमजोर नै थियो । गुल्मी पराल्मीका केशरमणि पोखरेल बल्कोट हाइस्कूलको हेडमास्टर भएर आएपछि कम्युनिस्ट पार्टीको विकास भयो । मसाल धार र मालेधार नै अर्घाखाँचीका मुख्य वामघटकहरू थिए । यी दुई धारका बीचमा हाम्रो सम्बन्ध नराम्रो रहेन । प्राय: सौहार्द नै रह्यो ।
अर्घाखाँचीको बचत विरोधी आन्दोलनबारे के भन्नुहुन्छ ?
पंचायती व्यवस्थाले बचत घर गाउँगाउँमा बनाउन लगाएको हुन्थ्यो । त्यो वचत घरमा किसानहरूले उब्जाएको अन्नबाट छुट्टाएर सङ्कलन गर्नुपर्दथ्यो । बचत घर नबनाएको ठाउँमा कसैको घरमा भकारी आदिमा पनि अन्न जम्मा गर्ने गरिन्थ्यो । अन्न अभाव भएमा वा भोकमरी परेमा त्यो अन्न प्रयोग गर्नु पर्छ भनिन्थ्यो । कुरा त राम्रो हो, उद्देश्य राम्रो हो तर सङ्कलित अन्न फटाहाहरूले मनोमानी गर्छन् । जनताले पाउँदैनन् भनेर हामीले आन्दोलन उठायौँ । गाउँगाउँमा बचत बहिष्कार आन्दोलन चलायौँ । त्यो आन्दोलनका बेला केशरमणि पोख्रेल आफै पोलिट्व्याूरो सदस्य, पश्चिमाञ्चल इन्चार्ज भएको व्यक्ति आफै अञ्चल कमिटीको सचिव पनि थिए । अर्घाखाँचीमा वर्गसङ्घर्ष अगाडि बढाउनु पर्दछ भनेर माथिदेखि तल्लो कमिटीसम्म आफै बसेको होला भन्ने मेरो बुझाई छ । वचत विरोधी आन्दोलनले जनतामा राम्रै लोकप्रियता हासिल गर्यो । कम्युनिस्ट पार्टीले आन्दोलन चलाएको भए पनि हामीले त्यसलाई किसान आन्दोलन भनेका थियौँ । त्यतिबेला अर्घाखाँचीको सदरमुकाम नरपानी थियो । २०३० सालमा नरपानी सदरमुकाममा ३ हजारदेखि ३५ सय वरपर जनता जम्मा भएर प्रदर्शन गरेका थिए । पंचायतकालमा त्यति ठूलो वचत विरोधी आन्दोलन हुनु ठूलो कुरा थियो । त्यो जुलु्श माथि पञ्च र प्रशासनले आक्रमण गर्न सकेनन् । त्यो बेला म शान्ति सुरक्षा अन्तर्गत तौलिहवा जेलमा थिएँ ।
बर्रे सङ्घर्षबारे पनि तपाईलार्ई थाहा छ कि ?
भन्दाखेरी मान्छेहरूले हर्रेबर्रे भन्छन् । हर्रेबर्रे हैन वर्रे सङ्घर्ष हो । अर्घाखाँचीको बलकोटमा खेमराज खनालको घरमा २०३० सालतिर नेकपा पुष्पलाल पक्षको अञ्चल सम्मेलन भएको थियो । त्यो सम्मेलनमा केशरमणि पोख्रेल, मोहनलाल लगायतले फटाहाहरूको मोनी एक्सन गर्नुपर्दछ भन्दथे । सिद्धिनाथ ज्ञवाली लगायतले त्यसो गर्नु हुन्न भन्थे । पुष्पलाल क्रान्तिको पक्षमा भएनन् भनेर त्यो सङ्घर्ष अगाडि बढाउनु पर्दछ भनियो । म पनि मोनी एक्सनको पक्षमा थिएन र एक्सनमा पनि गईन । तर त्यही पार्टीमा भएकाले मलाई मुद्दा लाग्यो । म जस्तै धेरैलाई मुद्दा लाग्यो ।
तत्कालीन सिद्धारा गाउँ पंचायत र हाल शितगङ्गा नगरपालिका अन्तर्गतको बर्रे गाउँमा बुबा रविलाल बेल्बासे र छोरा शोभाखर बेलबासेको घर कब्जा गर्ने काम भयो । पूरै परिवारलाई नियन्त्रणमा लिएर उनीहरूको तमसुक जलाउने काम भयो । मोनी एक्सन पनि भयो । नगद र जिनिस गरेर २४ हजार कब्जा गरिएको थियो । बसेर हिसाब गर्दा त्यही हो । बीचबाटोमा पैसा बोक्नेले हात पारेको भए म जान्दैन तर हिसाब २४ हजार नै भएको थियो । तर शोभाखर बेलबासेले १ लाख १८ हजार ८ सय ५२ विगो दावी सहित हामीमाथि मुद्दा हाले । पिताम्बर भूसाल, मिनराज र म लगायतले इन्कारी बयान दियौँ । म त्यो एक्शनमा सहभागी थिइन । केशरमणि, बेदुराम भूसाल लगायतले साविती वयान दिनुभयो । केशरमणि राजालाई विन्तिपत्र पठाएर ७ वर्षमा छुटे । अरु १२/१४ वर्ष बसे ।
तपाईहरूलाई त अर्घाको मन्दिरको मूर्ति चोर भनेर पनि आरोप लाग्यो नि ?
हेर्नुस ! चुत्रावेसीको गुठीको जग्गामा जनतालाई बस्ने वातावरण बनाउने कामको अगुवाई मैले गरें । त्यो खोलाको बगर अर्घाको मन्दिरको गुठीको जग्गाको रुपमा नै रहनु पर्छ भन्नेहरूले रिस र पूर्वाग्रह राखेर हामीहरूलाई अर्घाको मूर्ति चोर्यो भनेर आरोप लगाए । आरोप मात्र हैन । हामी माथि मुद्दा नै लाग्यो । अर्घाखाँची जिल्ला अदालतले हामीलाई हरायो । जेल हाले । पोखरा पुनरावेदन अदालतमा पुनरावेदन गरेपछि हामीले झुट्टा मुद्दाबाट सफाई पायौँ ।
खाली बगरमा जनता बसेका हुन् । स्याल कराउने, खाली बगरमा जनता बस्न आउन मान्दैनथे । नरपानीको सदरमुकाम चुत्रावेशी झार्नेका लागि पनि त्यहाँ मान्छेहरूको बस्ती बस्न जरुरी थियो । १३५ जनालाई बगरमा लालपुर्जा दिलाइयो । इतिहासलाई अनावश्यक बंग्याउने काम राम्रो हैन । कतिपय पत्रकारहरूले ठाडामा दुई वर्ष अर्घाखाँचीको सदरमुकाम बसेको थियो भन्छन् । त्यस्तो हैन, पहिले ठाडामा ६ वर्ष, नरपानीमा ६ वर्ष, खाँचीकोटमा २०१८मा २÷४ महिना मात्र बसेको हो । काङ्ग्रेसको आन्दोलनले त्यहाँबाट सदरमुकाम तमघास गएको थियो । पछि २०३२ सालमा सन्धिखर्क÷चुत्रावेशी सदरमुकाम आएको हो । जेवी दर्लामी भन्ने व्यक्तिले मलार्ई अर्घाको मुर्ति चोरेको भनेर लेखेका छन् । त्यो गलत लेखेका छन् । लेखकले त्यो लेख्दा मलाई सोधेको भए पनि हुन्थ्यो । त्यो एमाले भित्रकै केही मान्छेले भनेका आधारमा उनले त्यो लेखे भन्ने लाग्छ ।
०४६ को जनआन्दोलनको स्मरण कसरी गर्नु हुन्छ ?
तत्कालीन मालेका जनपक्षीय उम्मेदवारहरू स्थानीयस्तरमा ०४३/०४४ मा धादिङका राजेन्द्र पाण्डे सभापति, म सहित ९ जना उपसभापति र अर्घाखाँचीमा ४ जना गाउँ पञ्चायतका प्रधानपञ्च थियौँ । आन्दोलन शुरु भयो । प्रहरीले पक्रिएर डिएसपी कार्यालयमा लग्यो । कुरा गर्दा अब म आन्दोलनमा जान्छु भनेको उनले तपाईको आस्था हुन सक्छ, जे भए पनि जनप्रतिनिधि हो, त्यसो नगर्नुस भन्दै थिए । डिएसपी साहेव तपाईले जे गर्ने हो गर्नुस् । हत्कडी लगाउने भए पनि लगाउनुस् । तर मेरो समय आयो । अब म रोकिन सक्दैन भनेर पञ्चायतको उपसभापति भए पनि पंचायत विरुद्धको आन्दोलनमा होमिएँ । अनि तौलिहवा जेलमा लगेर राख्यो । अरुसितै २०४६ चैत्र २७ गते विहान छाडियो । पार्टीले गरेको निर्णय अनुसार हामी त्यहाँ गएका थियौँ । पंचायत ढलेपछि सन्धिखर्कमा आयोजित एउटा सभामा मैले म उपसभापति पदबाट राजीनामा दिइसके भनेपछि चित्रबहादुर केसीले पहिले पंचायतमा जानेको लर्को, अहिले पंचायत छोड्नेको लर्को भनेर व्यंग्य गरे । हामी आफू खुशी सभापति, उपसभापति हुन गएका थिएनौँ ।
सिङ्गो जीवन माले एमालेमा खर्च गर्नुभयो, तर एमाले किन छोड्नु भयो ?
मदन भण्डारीको जनताको बहुदलीय जनवाद कम्युनिस्ट कार्यक्रम हैन । त्यो प्रजातान्त्रिक कार्यक्रम मात्र हो । मदन भण्डारी राष्ट्रवादी व्यक्ति हुन् । विष्णु पौडेललाई वैकल्पिक सदस्य बनाएर कञ्चनपुर पठाइएको थियो । कञ्चपुरमा राष्ट्रघात भयो भनेर आन्दोलन उठ्यो । पछि त्यसले देशव्यापी रुप लियो । तर एमाले पछि बिग्रिँदै गयो । मैले एमाले छाड्दा (१) सिद्धान्तहीन, (२) द्रव्य पिचास र (३) नैतिक पतन भएको पार्टी भनेर पार्टी परित्याग गरेको हुँ ।
माओवादीले सन्धिखर्कको घरमा बम हानिदिए तर फेरि माओवादीमै जानु भयो ?
लेनिनले आफ्ना कार्यकर्ता डुमामा पठाएका थिए । माओले सनयान सेन सित सहकार्य गरेका थिए । माओका पनि त कमजोरी थिए होला नि भनेर सोंच्दा माओवादीले मेरो घरमा बम हाने पनि, कमजोरी भएपनि क्रान्तिको लागि अरु काम त ठीकै गरे होलान् जस्तो लाग्यो । त्यसकारण माओवादीमा गएँ । टोपबहादुर र पम्फाहरूसित त मेरो सम्पर्क पहिलेदेखि नै थियो । २०७१ मा वैद्य र चन्द फुट्दा ४ दिनसम्म आँखा चिमिक्क नगरी तिनको झगडा सुने । व्यर्थ झैं लाग्यो ।
अहिलेको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
काङ्ग्रेस राष्ट्रघाती, जनघाती हो । उसको कुरो गर्नै परेन । एमाले, माओवादी केन्द्र भनेका कम्युनिस्टहरू भन्छन् । तर आफ्ना सबै आस्था, निष्ठा त्यागेर बदनाम भइसके । जनतामा अत्यन्तै अलोकप्रिय भइसके । नयाँ स्वतन्त्र भन्नेहरू पनि केही होइनन् । साम्राज्यवादीहरूले बुढो गोरुले जोत्न नसकेपछि नयाँ बाच्छो लिएर बाँधेका छन् । रविले भनेको सुन्नु भएन र ? अहिले तीन ठूला पार्टी एमाले, काङ्ग्रेस, माओवादी केन्द्रका टाउकाहरू बैठक बसिरहेका छन् । रविले भनेका छन्– किन तीन जना मात्र बस्नुहुन्छ मलाई राख्नुस् । कुरा प्रष्ट छैन र ?
अब के गर्दै हुुनुहुन्छ ?
मेरो कम्युनिस्ट सिद्धान्तप्रति कुनै विरोध छैन । कार्यकारिणी काम हुनु पर्यो । एउटा असल प्रजातन्त्रवादी पार्टी यो देशलाई चाहिएको छ । सनयातसेन र अब्राहमलिङ्कनको जस्तो प्रजातान्त्रिक पार्टी आवश्यक भएको महशुस गरेको छु ।
अन्त्यमा भन्नु पर्ने थप केही छ कि ?
हाँक पत्रिका सच्चा कम्युनिस्ट विचार मान्नेहरूको राजनीतिक विचार बोक्ने पत्रिका हो भन्ने लाग्छ । यसलाई अझ दैनिक बनाउन सके सही विचार जनतामा लान सजिलो हुने थियो भन्ने लाग्छ ।

