मसाल समूह मनोगतवाद, फुटवाद र सङ्कीर्णवादबाट थलिएको छ

बाबुराम आचार्य •• २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापना सँगै नेपालमा नौलो जनवादी व्यवस्था प्राप्त गर्ने लक्ष्य राखिएको थियो । त्यसबेलाका मुख्य नेता पुष्पलाल श्रेष्ठ हुन् । उनको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको सुरुवात नभए पनि मृत्युसम्म नै उनी आफ्नो लक्ष्यमा दृढ रहे । नेपाली कम्युनिस्ट आन्दोलनका दिग्गज हस्तीहरू नै आफ्नो लक्ष्यबाट च्युत भएका बग्रेल्ती उदाहरणका बीच उनी उच्च प्रकारको नैतिकता, आदर्श र संस्कृतिमा कम्युनिस्ट भएरै आफ्नो जीवन व्यतित गरे । नयाँ जनवादी क्रान्तिको कार्यदिशा लागू गर्ने सवालमा अनेकौँ अलमलहरू उनकै जीवनकालमा पैदा भए । विभिन्न टुटफुटहरू देखा परे ।

केशरजङ्ग रायमाझी, कमलराज रेग्मी, भरतमोहन, मनमोहन, तुलशीलाल, मोहन विक्रम र वैद्यहरू लगायतका तात्कालिक नेतृत्वकर्ताहरूमा कही न कही वैचारिक समस्या देखिँदै जान थाल्यो । तर पुष्पलाल ती सबै विचलनको सामना गर्दै सती साल झैं खडा भए । उनले वर्तमानका नेतृत्व, नेताजस्ता अवसरवादी र धोकेबाज चरित्रको सहारा लिएनन् । पुष्पलालले अनुशरण गरेको जनवादी क्रान्तिको बाटोबाट नेपाली कम्युनिस्ट आन्दोलन चिप्लिन पुगेको छ । अहिले नेपाली कम्युनिस्ट आन्दोलन उग्रवामपन्थी भड्कावको खाडलबाट अवतरण भएर पुन: संशोधनवादी झण्डा छोपेर ठिङ्ग उभिएको छ । मुलत: नेपालमा मदन भण्डारीको सक्रियता र नेतृत्वमा नेकपा (माक्र्सवादी) सँग एकता गरी नेकपा (एमाले) गठन भएबाट तत्कालको कार्यदिशाको रूपमा बहुदलीय जनवाद मार्काको विचार अगाडि आयो । वैदेशिक साम्राज्यवाद, दलाल पुँजीवाद र व्यवहारिक वामपन्थीको अप्राकृतिक गठबन्धनबाट जन्मेको खच्चड विचार बहुदलीय जनवादले संसदीय भारी त बोक्ने नै भयो । त्यसका साथै उक्त समूह वा पार्टीले नौलो जनवादी क्रान्तिको पुष्पलालको सपनामाथि कुठाराघात गर्‍यो । यतिबेलाका माओवादी केन्द्र वा एमाले दुवै शक्तिले कम्युनिस्ट आन्दोलनमा बिषवमन मात्रै गरेका छैनन् बरु जवज र २१ अौँ शताब्दीको जनवाद/समाजवादको नाममा क्रान्तिकारी विचारमाथि बलात्कार गरेका छन् । अब उनीहरूकोबारे कुनै दुविधा छैन कि यिनीहरू कम्युनिस्ट हुन वा दलाल राजनैतिक शक्ति हुन ? यिनीहरूका क्रियाकलाप देखेर अचम्मित हुन पनि पर्दैन ।

बरु अचम्मित त एमवि समूहसँग हुनुपर्छ जसले नारा क्रान्तिको दिन्छ सेवा सधै प्रतिक्रियावादीको गर्छ । कुनै समय नेपालका माओ र चाओ भनेर चिनिने नेता हुन मोहनविक्रम र निर्मल लामा । नेपालको कम्युनिस्ट आन्दोलनमा एक आधारभूत वर्गका नेताका रुपमा आˆनो परिचय बनाएका लामा अहिले उपलब्ध छैनन् । आफ्नो सातौँ महाधिवेशनसम्म जनवादी क्रान्तिको नारा दिँदै आएका नेता मोहन विक्रम अझैसम्म क्रियाशील त छन् तर उनको पनि यात्रा उल्टोतर्फ अगाडि बढेको वर्तमानको यथार्थता हो । संशोधनवाद एउटा समाजवादको आवरणमा लुकी बसेको जवर्जस्त पुँजीवादी विचार नै हो । आज नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो संशोधनवादको नेतृत्व एमविले गर्दै आएका छन् । एउटा सानो झुण्डमा रमाउन मन पार्ने मोहन विक्रमको मसालसमुह आन्तरिक रूपमा मनोगतवाद, फुटवाद र सङ्कीर्णवादबाट थलिएको छ । क्रान्तिका कुरा गर्ने तर क्रान्तिको निर्णयक बिन्दुमा भाग्ने उनको बिशेशता नै हो ।

आफू क्रान्तिकारी देखिन माओ, लेनिन, माक्र्सका अनेकौँ उदाहरणहरूको सहारा लिने गरेका उनले, अन्तर्राष्ट्रिय परिस्थिति, आन्तरिक स्थिति भन्दै क्रान्तिबाट पन्छिने र झन् सानो हुँदै जाने मात्रै होइन कि पछिल्लो समय त उनले क्रान्तिकारी विचार समुहबाट माओवादी केन्द्रमा जानेहरूको प्रशंसा गर्दै वक्तव्य नै जारी गरेर भने “(तपाईहरू लाई बधाई, यस प्रकार पार्टीका कार्यकर्ता जति बाहिरिन्छन त्यति नै पार्टी मजबुद हुँदै जान्छ!)। पन्चायतको दबदबाबाट देशलाई मुक्त पार्ने सन्दर्भमा कमरेड पिएलले नेपाली कांग्रेससित मिलेर संयुक्त मोर्चा मार्फत अगाडि बढनु पर्ने विचार राखे । त्यसैको आधारमा चौमको नेतृत्व गरेका एमवि सिंहले पुष्पलाललाई गद्दार घोषणा गरेको इतिहास छ । आज जब परिस्थिति बदलिएको छ, गणतन्त्र आएको छ, अहिले देशमा निरङ्कुश शासन छैन, क्रान्तिकारी आन्दोलनको विकास र नेतृत्व गर्ने र यो सडेगलेको फोहोरी प्रतिक्रियावादी राज्य व्यवस्थाका विरुद्धमा मोर्चाबन्दी गर्नुपर्ने हो । तर उनी कठिन परिस्थितिबाट देशलाई मुक्त गर्ने मनसायले एउटा प्रतिक्रियावादी पार्टीसँग पनि मोर्चा बनाएर जानुपर्ने विचार राखेको नेतालाई गद्दार बताउँदै आएका उनले अहिले सहज परिस्थितिमा आफू चाहिँ अप्राकृतिक, गठबन्धनको टेकोमा उभिएका छन् ।

यही गठबन्धनको टेकोमा चडेर क्रान्तिकारीहरूको फडानी गर्न तल्लीन छन् । सङ्कीर्णवाद, ‘रअ’ का एजेन्ट जस्ता सयौँ शब्दको सहाराले अरुमाथि प्रहार गर्ने उनले स्वयं बताउँछन् “हामी गाली गलौजको राजनीति गर्दैनाँै ।” सङ्कीर्णताको एउटा नमुना इतिहासमा जीवित नै छ । चौमको नेतृत्वमा छदा मनमोहन अधिकारी र विष्णु बहादुर मानन्धर लगायतका दलहरूसँग समेत पन्चायतका विरुद्धमा केन्द्रीयस्तरमा कार्यगत एकता नगर्ने नीति लिएको । अहिले केही संवैधानिक पदहरूबाट लाभ उठाउन तल्लीन एमवी सिंहले आˆना कार्यकर्तालाई नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखबाट उम्मेदवारी दिन लगाएर निर्वाचित गराए । पंचायतकाल भरि गणतन्त्रको वकालत गर्दै आएका उनले बहुदल आएपछि गणतन्त्रको मुद्दा कमजोर पार्न सुरु गरे । ०६२/०६३ को जनआन्दोलनले सडकमा गणतन्त्रको नारा लाउन थाल्यो उनको स्वर बदलिएर आयो “अहिले गणतन्त्रको नारा क्रियात्मक होइन प्रचारात्मक बनाइनुपर्छ ।” नारायणकाजी सँगको विवाद नै यत्ति थियो कि अहिले गणतन्त्रको नारालाई प्रचारात्मक बनाउनु पर्छ भन्ने एमवी र क्रियात्मक बनाउनुपर्छ भन्ने नारायण काजी । संयुक्त जनआन्दोलन २०४६ मा बाध्य भएर आन्दोलनमा गए । बहुदल आयो संविधान ४७ जारी भयो, उनले संविधान कालो बताए र चुनाव बहिष्कार गरे । एक वर्ष पछि संविधान कालो वा सेतो के भयो ? बताएनन् तर चुनावमा भाग लिने निर्णय लिदै संसदीय व्यवस्थाको भण्डाफोरको नीति लिएको बताए । उक्त पार्टीको कार्यदिशा दीघकालीन जनयुद्धमार्फत् नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने नै थियो । २०५२ बाट माओवादीको उदय भयो । माओवादी आन्दोलनको निरन्तर निन्दा गर्दै गए । राणा विरोधी टङ्क प्रसाद आचार्यलाई दरवारका दलालको आरोप लगाए ।

निर्मल लामा जस्तो आधारभूत वर्गको नेतालाई सिआइडीको आरोप । आफू राजपरिवार स्थायी समितिको सदस्य र पनि सिआइडी अरु नै। इतिहासमा उनले सधै प्रमुख दुश्मन लाई गौण बनाउने र गौण दुश्मनलाई कडा प्रहार गर्दै आएका छन् । आˆनो समुहबाट छुट्ने वा जानेहरू क्रान्तिकारी व्यक्तिको पनि उछितो काड्ने र आफुलाई प्रशंसा गर्ने आर्थिक लाभ दिने राजावादीहरूको पनि सम्मान र प्रशंसा गर्दै हिँड्ने गरेको तथ्य कमलराज रेग्मीको प्रकरणबाट प्रष्ट हुन्छ । उनले अरुलाई आरोप लगाइ हाल्छन तर पुष्टि कहिलै र कतै हुँदैनन् ।

आठौँ महाधिवेशनमा देखिएको वैचारिक मतभेदलाई साम्य पार्न सन्तबहादुर नेपाली, कृष्ण पौडेल, राम बहादुर बुढा वा बिमल शर्मा लगायतलाई ‘रअ’ का एजेन्ट बताउँदै आए । उनको त्यो आरोपले त्यतिबेला हावा खायो जतिबेला उनी गोविन्द पोख्रेलको घरमा नेपालका लागि भारतीय राजदुत मन्जित पुरीलाई स्वयंले भेटेर आठौँ महाधिवेशनको रिपोर्टिङ गरे ।

अहिले उनी साम्राज्यवादका प्रमाणित र बलियो भरपर्दो प्रतिनिधि देउवा, प्रचण्ड सरकारको पाटर्नर ( साझेदार ) छन् । प्रोअमेरिकन देउवाको काखमा बसेर उनले अहिले काग्रेसका शेखर कोइराला र रास्वपाको सभापति रवि लामिछानेका विरुद्धमा विभिन्न आरोप जस्तै अमेरिकी साम्राज्यवादका एजेन्ट, ‘रअ’ का एजेण्ट आदि लगाउँदै आएका छन् ।

रविका विरुद्धमा त व्यानर नै लगाएर कराउँदै छन् भने शेखर कोइराला समुहका विरुद्धमा लेख, वक्तव्य मार्फत विरोध गर्दै आएका छन् । उनीहरू कसका एजेण्ट हुन वा होइन ? भविष्यमा प्रमाणित हँुदै जाला तर उनले पेश गरेको तर्क कति जायज छ ?

अचम्मित हुने विषय यो हो। जस्तो कि प्युठानमा ‘रअ’ को योजनामा शेखर समुहले आफ्नी श्रीमती दुर्गा पौडेललाई हराएको उदाहरण । शक्ति केन्द्रहरूले आफू अनुकूलका काम गराउन पर्ने भएमा कमजोर पक्षको सहारा लिन्छ कि बलियो पक्षको ? निश्चित रुपले बलियो मजबुत र व्यवस्थित शक्तिको सहयोगमा नै आफ्नो काम फत्ते पार्ने गरेको हुन्छ र त्यस्तो शक्तिलाई हात लिएर नै काम गर्ने गर्दछन् ।

यसरी हेर्दा पार्टीभित्र देउवाको तुलनामा शेखर समुह कमजोर छ सत्तामा पनि उसको झिनो पहुँच छ । देउवा पार्टी सत्ता, राज्यसत्ता सांसद सङ्ख्या, उसको उठबस, दिनचर्या आदिलाई हेर्दा सम्पूर्ण शक्ति केन्द्र देउवासँगै छ । नागरिकता विधेयक, एमसीसी कार्यक्रम, मुस्ताङमा कलेज खोल्न भारतलाई अनुमति प्रदान गर्ने, एसपीपी कार्यक्रम र अब करिब १८ हजार तिब्बतीहरूलाई नागरिकता प्रदान गर्ने तयारीमा देउवा प्रचण्ड सरकार छन् । यस्तो दर्दनाक अवस्था सामुन्ने हुँदा हुँदै र आफू दश दलीय गठबन्धन दल मध्येको एउटा दलको प्रतिनिधिको हैसियतले संवैधानिक पदहरूमा बसेर लाभ लिने अनि सरकारमा सामेल दल मध्येको पनि कमजोर पक्षलाई, अप्रमाणित कुनै एउटा शक्तिलाई अमेरिकी साम्राज्यवाद वा भारतीय खुफिया एजेन्सी ‘रअ’ को प्रतिनिधि देख्नु भनेको प्रकारान्तरले साम्राज्यवादको सेवामा स्वयं सरिक हुनु हो ।

देशको शासन राजा ज्ञानेन्द्रले २०६१ मा हात लिदा उहाँ ज्यान जोगाउन भारत पस्नु भयो । यहाँ ज्ञानेन्द्रको शासन अन्त्यको लागि जुरुक्क उठनु पर्ने आवश्यकता थियो । पछि संयुक्त आन्दोलनको विकास हुँदै गयो । संयुक्त आन्दोलन बिना यसको अन्त्य सम्भव थिएन तर एमवी समूहले एकल यात्रा तय गर्‍यो मेची महाकाली अभियान ! त्यसकारण माओवादीहरूले २०६२–६३ को आन्दोलनको बेला भागेको भन्ने गर्दछन् ।

आन्दोलनले गणतन्त्र ल्यायो, संविधान निर्माण भयो र लागु भैसकेको अवस्था छ । उनै एमवि अहिले यो प्रतिक्रियावादी व्यवस्थाको सबैभन्दा बढी रक्षक बन्नु कम्युनिस्ट आन्दोलनका लागि निकै पीडादायक कुरा हो । अहिले क्रान्तिकारी शक्तिहरू एकजुट हुने र वैकल्पिक सत्ता, राज्यव्यवस्थाको तयारीमा लाग्नुपर्ने आवश्यकता छ । मोहनविक्रमले गणतन्त्रको रक्षाको जुन कुरा गर्दछन् । त्यो पनि व्यर्थको नाटक हो । उनी यथास्थितिवादी दक्षिणपन्थी पक्का हुन् तर असली वुर्जुवा गणतन्त्रवादी पनि हैनन् ।

०६२-६३ को जनआन्दोलनका बेला सडकमा कार्यकर्ताहरूले गणतन्त्रको नारा लगाइएको बेला मोहनविक्रम सिंहले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहेका थिए । जसलाई वुर्जुवा गणतन्त्रसम्म पनि चाहिएको थिएन । जसको गणतन्त्र ल्याउने नउद्देश्य थियो, न कार्यक्रम थियो, जो संवैधानिक राजतन्त्रको वक्ता थियो उसलाई अहिले गणतन्त्र खोसिन्छ कि भन्ने यति ठूलो चिन्ता ? यो भन्दा बढी अशोभनीय प्रहसन खोज्न कतै जानु पर्दैन । त्यो मोहनविक्रम सिंह नेतृत्वको मसालमा देख्न सकिन्छ । (नोट : यदि यो कुरा विश्वास नलाग्नेहरूले मोहनविक्रम सिंहले संवैधानिक राजतन्त्रको आवश्यकतामा जोड दिंदै “लोकतान्त्रिक गणतन्त्र र सेरेमोनियल किङबीचको अन्तरर्सम्बन्ध” शीर्षकमा लेखेको लेख हेर्नुहोला )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित