प्राकृतिक प्रकोप प्रति सतर्कता अपनाऔँ

अहिले देशमा चरम खडेरी पश्चात मनसुन शुरु भएको छ । देशका पूर्वी र मध्य भागका अधिकांश स्थानमा वर्षात् भइरहेको छ । मनसुन देशभरि सक्रिय हुँदैछ । वर्षायामको समय नेपालको हरेक स्थानमा वर्षात् हुने गर्दछ । वर्षात्का कारण बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक प्रकोपले जनताको ज्यान जाने, विस्थापित हुने, घरबार बिहीन हुने, घर, जग्गा, सम्पत्ति बगाउने तथा क्षति पुर्‍याउने समय मै राहत र उद्धार नहुने, समय मै स्वास्थ्य उपचार तथा औषधि उपचारको अभाव हुने जीवन जीउने खाना, नाना छानाको अभावमा हुने अवस्था आउन सक्छ । विगतका प्राकृतिक प्रकोपको अवस्थामा पनि यस्ता समस्याहरू आएका थिए । विगतमा समस्या भइसकेपछि मात्र राज्यका संयन्त्र सक्रिय हुने, समयमै राहत र उद्धार नहुने, राहत पहँुचवालाले मात्र प्राप्त गर्ने जस्ता समस्या रहेका थिए ।

प्राकृतिक प्रकोपले हिमाल, पहाड, तराई, पूर्व, पश्चिम, उत्तर दक्षिण जतासुकै बस्ने जनता प्रभावित हुन्छन् । पहाड तथा हिमालमा बाढी, पहिरो तथा कटानको जोखिम र तराई र सम्म परेका स्थानमा डुबानको समस्या जनताले भोग्दै आएका छन् । अहिले मनसुन शुरु भएको केही दिन मात्र भएको छ । छोटै अवधिमा पूर्वका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभाजस्ता पहाडी जिल्लाहरूमा बाढी पहिरोले जीउ धनको क्षति भएको छ । कैयौँको अकालमै ज्यान गएको छ । कैयौँ घाइते तथा घरबार बिहीन भएका छन् । आज भोलि नै यस्तो विपत्ति आउला भन्ने कसैले सोचेका थिएनन् ।

देशमा पछिल्लो समय पहाडहरू अनियन्त्रित तथा अवैज्ञानिक तरिकाले खनी खोली छिया छिया भएका छन् । चाहे सडक सञ्जाल विस्तारको नाममा होस् या भौतिक संरचना विस्तारको नाममा होस् खनिएका, खोलिएका पहाड पाखाहरू वर्षाको कारण उत्तिखेरै भत्किन वा पहिरो जान सक्छन् । वस्तीहरू अव्यवस्थित भौगोलिक अध्ययन विना बसाइएका छन् । खोला, नदी, किनार, ताल तलैया वरिपरी जोखिम युक्त स्थानमा मानव वस्ती बढ्दो छ । तराईमा पानीको बहाबलाई थुन्ने, छेक्ने वा जलधारा परिवर्तन गर्ने, अवरोध गर्ने किसिमले भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । मानव वस्तीले कतिबेला बाढी आउने हो ? कतिबेला बाढीमा परिने हो ? वा कतिबेला डुबानमा परिने हो ? भन्ने संत्रासमा दिन बिताउनु पर्ने स्थिति छ । बाढी, पहिरो डुबान कटान जस्ता प्राकृतिक प्रकोपहरूलाई मान्छेले रोक्न सक्ने कुरा त भएन । प्रभाव पर्न सक्ने जोखिमयुक्त स्थानका जनतालाई जोगाउन र विपत्ति आइसकेपछि जनतालाई जोगाउन राज्यको ध्यान जानु पर्दछ ।

राज्यले अग्रिम सतर्कता अपनाएर, स्थानान्तरण गरेर जनताको जिउ धनको सुरक्षा गर्न सक्दछ । बाढी, पहिरो, डुबान कटान भइसकेपछि पनि जनतालाई उद्धार र राहतको कार्यलाई व्यवस्थित, छिटो छरितो गरेमा पीडितलाई सजिलो हुन्छ । बाढी, पहिरो, डुबान, कटान भइसकेपछि घरबार बिहीनताको अवस्था आउन सक्छ । उनीहरूलाई अस्थायी वा स्थायी किसिमले पुनस्र्थापना गर्नु पर्ने हुन सक्छ प्राकृतिक प्रकोपबाट जोगाउन राज्यका सबै संयन्त्रहरू सतर्क रहनु पर्दछ । उद्धार कार्यका लागि प्रयोग हुने साधन स्रोतहरू, मानवीय संशाधनहरू, दक्ष जनशक्ति, सतर्क अवस्थामा रहनु पर्दछ । नीति निर्माताहरू र निर्देशन दिनेहरूले सही नीति बनाउने र सही निर्देशन दिने गर्नु पर्दछ । कार्यान्वयनमा खटिनेहरूले तत्कालको आवश्यकता अनुसार कार्यान्वयनमा ध्यान दिनु पर्दछ । यसो गरेमा जनतालाई प्राकृतिक प्रकोपबाट बचाउन सजिलो हुन्छ । जोखिमयुक्त स्थानका पीडित जनताले राहत महसुश गर्न सक्छन् ।

प्राकृतिक प्रकोप र उद्धार सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयस्तरमा संरचना निर्माण गर्ने कानुनी व्यवस्था छ । विपत्ति आइसकेपछि मात्र संरचना खोज्ने नेपालीहरूको गलत तरिका विगतमा देखिएका थिए । प्राकृतिक विपत्ति नआउँदै सम्भावित खतरा प्रति सतर्कता अपनाउनु पर्दछ । स्थानीय संयन्त्रको बैठक बसी छलफल गरी आवश्यक योजना बनाउनु पर्दछ । स्थानीय तहहरूले पनि अहिलेदेखि नै त्यसप्रति ध्यान दिनु पर्दछ । स्थानीय राजनीतिक दल, सङ्घसंस्थाले पनि बेलैमा सम्भावित प्राकृतिक प्रकोपप्रति आवश्यक सतर्कता अपनाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित