किसानका समस्या समाधान गर

किसानहरू तमाम समस्याले पीडित छन् । किसानहरू बिउ, मल, सिंचाईको अभावले तड्पिरहेका छन् । उत्पादित सामान बिक्री नभएर बिचौलियाबाट ठगिएर समस्यामा परेका छन् । सरकारले फसलको मूल्य नतोकिदिँदा मर्कामा परेका छन् ।

किसानहरूलाई राज्यबाट अनुदान छैन, जे जति अनुदानको व्यबस्था छ त्यो पनि वास्तविक किसानले पाएका छैनन् । दिने भनिएको अनुदान पनि समयमा नपाएर मर्कामा परेका छन् । अहिले किसानहरू जङ्गली जनावरबाट पीडित भएका छन् । जङ्गली जनावरहरू गैंडा, हात्ती, बँदेल, नीलगाई, बाँदर, मृग जस्ता जङ्गली जनावरहरूले किसानको बालीनाली क्षणभरमै नष्ट गरिदिएका हुन्छन् ।

वर्षभरि काम गरेर पनि किसानहरूले चाहिने जति उत्पादन गर्न र स्याहार्न पाईरहेका छैनन् । नेपाली किसानहरू विदेशी सामान सँग प्रतिस्पर्धा गर्न नसकेर त्यसै उब्जनीको मूल्य पाउन सकिरहेका छैनन् । नेपाली किसानहरूको अवस्था निकै नाजुक रहेको छ । साना किसानहरू ठूला किसानहरूको मारमा रहेका छन् । साना किसानहरूको आफ्नो जग्गा नभएका कारण कसैबाट भाडामा लिएर उब्जाउने काम गर्दछन् । उनीहरूले महङ्गो शुल्क मालिकलाई बुझाउनु पर्ने हुन्छ । उनीहरूले सस्तो भाडामा कमाउने जग्गा प्राप्त गर्न सकेका छैनन् । यस्तो अवस्थामा साना किसानहरूले केहीगर्न सकिरहेका छैनन् । किसानहरू जो सँग जग्गा छ उसले काम गर्दैन । जो सँग जग्गा छैन उनीहरूले महँगो शुल्क तिरेर भाडाको जग्गामा उत्पादन गर्न परिरहेको छ ।

किसानहरूले प्राविधिक सेवा सुविधा प्राप्त गर्न सकिरेहका छैनन् । प्राविधिक सेवा सुविधा प्राप्त गर्नको लागि निकै महङ्गो हुने वा सेवा नै नपाउने अवस्था छ । किसानहरू अहिले आएको प्रविधिको प्रयोग गर्नपनि सकिरहेका छैनन् । प्रविधिमा लगानी गर्ने पैसा नहुँदा किसानहरू मर्कामा परिरहेका छन् । किसानहरूले प्रयोग गर्ने हाते ट्याक्टर वा जोत्ने ट्याक्टरको शुल्क महङ्गो हुँदै गईरहेको छ । स्याहार्ने समयमा पनि उपकरणहरूको प्रयोग गर्नुृ पर्ने हुन्छ । यी सबै निकै महङ्गा हुँदै गईरहेको छ । जब किसानहरूले पालेका गाईवस्तुहरूलाई विभिन्न रोग लाग्दछ र मृत्यु हुन पुग्दछ त्यस समयमा किसानहरूले राहत केही पनि प्राप्त गर्न सकिरहेका छैनन् । हिमाली होउन वा पहाडी वा मधेशी जतासुकै यो समस्या किसानहरूले भोग्नु परिरहेको छ ।

किसानहरूले केही उत्पादनको लागि लगानी लगाउन खोज्दा पनि उनीहरूलाई सहुलियत ऋणको अभाव रहेको छ । उनीहरूले महङ्गो व्याजमा ऋण काढेर कृषि उत्पादनको काम गर्न परिरहेको छ । केही उत्पादन गर्न भनेर ऋण लिएर कृषि फर्म दर्ता गरेका किसानहरू बैङ्कको महङ्गो व्याज तिर्दा तिर्दा हैरान भएका छन् या ऋण तिर्नको लागि विदेश पलायन हुनु परेको छ किस्तावन्दीमा लिएको ऋण तिर्नको लागि कैंयौँ किसानहरूले लालपूर्जा नै बैङ्कमा राख्नु परेको छ । सहुलियत ऋण पनि भनसुनका आधारमा वा जान पहिचानको आधारमा मात्रै दिने गरिन्छ । यसले सबै किसानहरूले बैङ्कबाट ऋण प्राप्त गर्न पनि सकेका छैनन् । किसानका छोराछोरीले कृषि कर्मलाई आफ्नै कर्म हो भन्ने पार्न सम्बन्धित पक्षले सकेको छैन । यसले गर्दा किसानका छोरा छोरी विदेशमा पुगेका छन् ।

किसानहरू एक उत्पादन गर्न, दोस्रो उत्पादित सामानको मूल्य नपाएर, तेस्रो राहत क्षतिपूर्ति नपाएर समस्या झेलिरहेका छन् । किसानले जसरी तसरी उत्पादन गरेपनि बजार नपाएर, बजार व्यवस्थापनको अभाव भएर पीडित हुनु परिरहेको छ । किसानहरूले समयमा मल नपाउने विउ नपाउने समस्या त भैहाल्यो अचेल सबै बिउहरू महङ्गो भएर आएका छन् । कैयौँ अनुदानमा लिएका बिउहरूले पनि फल नलाग्ने भएर किसानहरू मर्कामा पर्छन् । उत्पादन हुँदैन । अर्कोतिर सरकारले खरबौँको खाद्यान्न, पशुपंछी, फलफूल, तरकारी, दुध विदेशबाट मगाउँछ । किसानहरूले उब्जाई दिएकाले सबैको प्राण धानिएको छ । यसरी सबैलाई बचाउने किसानहरूलाई परेको समस्याको समाधान भने हुन सकिरहेको छैन । कसैको ध्यान पुग्न सकिरहेको छैन । देशको कुल ग्राहस्थ उत्पादनको १४ प्रतिशत योगदान कृषि क्षेत्रले पुर्याउँदै आएको छ तर कृषि क्षेत्र उपेक्षामा पर्दै आएको छ ।

किसानले यस्ता खालका समस्याहरू भोगिरहँदा किसानका समस्या समाधान गर्नको लागि सबैको ध्यान जानु पर्दछ । स्थानीय तह, नीति निर्माताहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ । किसानका समस्यालाई दीर्घकालीन रुपमा समस्या समाधान गर्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित