राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको गत भदौ पाँच गते गठन भई भदौ १९ गते घोषणा भएको थियो । मोर्चा घोषणा हुनु निकै आवश्यक रहेको थियो । मोर्चाले प्रदेश तथा जिल्ला स्तरसम्म समिति निर्माण गर्ने बताएको थियो । अहिले देशभरी राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका प्रदेश स्तरीय समितिहरुको गठन भइरहेकोे छ र जिल्ला स्तरीय समितिहरु पनि केही जिल्लामा गठन भएको समाचार आएको छ ।
प्रदेश स्तरमा यो मोर्चाको घोषणा प्रदेश न १ ,प्रदेश न ३ प्रदेश न. ५ मा गठन भईसकेको छ । प्रदेश नं. २, ४ र ६ मा पनि गठन हुने कुरा आयोजकले बताएका छन् । यो राष्ट्रिय क्रान्तिकारी मोर्चामा देशमा क्रियाशील वामपन्थी पार्टी ,संघ संस्था तथा व्यक्तिहरु आवद्ध रहेका छन् । यो मोर्चामा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको सहभागिता रहेको छ ।
राष्ट्रिय क्रान्तिकारी मोर्चाको उद्देश्य देशमा बढ्दै गईरहेको अव्यवस्थाका विरुद्धमा सघर्ष गर्ने रहेको छ । मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने, जनताको अधिकार स्थापित गर्ने देशीय तथा विदेशी शोषण उत्पीडनका विरुद्ध संघर्ष गर्ने,सामन्तवाद तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने जस्ता कार्यक्रमहरु राखेको छ । यही नीति अनुसार कार्यक्रमहरु अगाडि बढाईरहेको छ ।
अहिले यो मोर्चाले देशैभरी आफ्ना कार्यक्रम अन्र्तक्रिया, गोष्ठी तथा संघर्षका कार्यक्रम अगाडि बढाईरहेको छ । देशमा किसानका समस्या, मजदुरका समस्या तथा महंगी, भ्रष्टाचारको विषयलाई लिएर जनचेतना जगाउने कार्यक्रम गरिरहेको छ । मोर्चाले एमसीसी विरुद्धपनि आफ्ना कार्यक्रम अगाडि बढाएर राष्ट्रिय स्वाधीन्ताका निम्ति संघर्ष गरिरहेको छ ।
अहिले देश निकै विकराल अवस्थामा गुज्रेको छ । केही गर्छन् कि ? भनी जनताले पत्याएका तथा विगतमा विश्वास गरेका पार्टी नेताहरुले आफ्ना मतदातासँग गरेका बाचा कसम भूलेका छन् । आफूलाई कम्युनिष्ट पार्टी बताउनेहरु पनि निकै नै भ्रष्ट तथा बदनाम भईरहेका छन् । उनीहरुले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा तथा देशमा हुने गरेका राष्ट्रघात तथा जनघातको विरोधमा एक शब्दसमेत बोल्न सकिरहेका छैनन् । उल्टो उनीहरुको पनि सहभागितामा राष्ट्रघात, जनघात भईरहेको देखिएको छ । जनताका अगाडि गरेका बाचाकसम उनीहरुले भूलेका छन् ।तात्कालिक रुपमा उनीहरुले के गर्ने ? कसरी जनताको पक्षमा कामलार्ई अगाडि बढाउन सकिन्छ भन्ने भन्दा पनि आफूलाई के फाईदा हुन्छ भनी फाईदा हेरिरहेका छन् । आफ्नो फाईदाको लागि जे पनि गर्न तयार भएर बसेका छन् ।
उनीहरु शासक बनेपछि जनता प्रतिको जिम्मेवारीलाई नै भुलेका छन् । मुलुकमा व्यापक मात्रामा भ्रष्टाचार छ ,अभाव छ, गरिबी र भोकमरी छ , देश विदेशीहरुको क्रीडास्थल बन्ने स्थिति भएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ । यस्तो अवस्थामा आफूलाई परिवर्तनको पक्षधर भन्नेहरु जनताको हितमा कुनै कार्यक्रम ल्याउन सकिरहेका छैनन् । अर्कोतिर उनीहरु संसदीय व्यवस्थाबाट नै सबै कुरा प्राप्त गर्न सकिन्छ । यो संसदीय व्यवस्थाको कुनै विकल्प छैन भनेर जनतालाई जति रटाउने काम गरे पनि नयाँ पुस्तामा यो व्यवस्थाप्रति अविश्वास र आक्रोश रहेको छ । यो व्यवस्थाको पक्षमा संगठित हुने र संघर्ष गर्नेमा वेवास्ता रहेको छ । जनताले संसदीय व्यवस्थाको विकल्प खोजिरहेको यो अवस्थामा राष्ट्रिय क्रान्तिकारी मोर्चा गठन भएको छ । यसको काँधमा जनताको पक्षबाट आवाज उठाउने ठूलो जिम्मेवारी आएको छ ।
यसको काँधमा देशको सच्चा जनतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने तथा राष्ट्र, राष्ट्रियता र जनतन्त्रको पक्षमा आवाज उठाउने र वैदेशिक हस्तक्षेपको विरोध गर्ने जिम्मेवारी आएको छ । यो अवस्थामा झिना मसिना विवादहरुमा ध्यान नदिएर अगाडि बढ्नु पर्ने जिम्मेवारी राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका नेता कार्यकर्ताहरुको रहेको छ ।उनीहरुलाई इतिहासले एक गहन जिम्मेवारी सुम्पेको छ । यो जिम्मेवारी पूरा गर्न सबैले आ आफ्नो स्थानबाट डट्नु पर्ने ,खट्नु पर्ने देखिन्छ ।
जनताले क्रान्तिकारी मोर्चाबाट त्यही आशा गरेका छन् । विगतमा जस्तै अनेक थरीका मोर्चा बन्ने, तर केही काम अगाडि नबढाई दिशाविहीन भएर मोर्चा नै मासिने जस्तो अवस्था अहिले आउन दिनु हँुदैन । मोर्चाले जति सक्दो यो व्यवस्थाको विकृतिको विरोधमा संघर्ष गर्नुपर्ने र जनतालाई हरेक प्रकारका शोषण दमनबाट मुक्त गर्नुपर्ने दायित्व आएको छ ।मोर्चाले आफ्नो उद्देश्य र कार्यक्रममा अविचलित रही काम गर्नु पर्ने र छरिएर रहेका वामपन्थी तथा कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याई विशाल शक्ति निर्माण गर्नेछ भन्ने हाम्रो आशा छ ।

