एकता समाजद्वारा आत्महत्याबारे डा. कपिलदेवसँग छलफल कार्यक्रम

काठमाडौं । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा २१ जनवरी २०२४ का दिन भारतमा नेपाली श्रमिकहरुको बढिरहेको आत्महत्याको सन्दर्भमा यसको कारण तथा न्यूनीकरणका उपाय के हुन सक्छ ? भन्ने विषयमा नेपालका वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायसित भर्चुअल छलफल कार्यक्रम राखेको थियो ।
करिब २ घण्टा भन्दा बढी समय लिएको सो कार्यक्रमको सभापतित्व केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेले गर्नु भयो । महासचिव महेन्द्र बस्यालले संचालन गर्नु भएको सो कार्यक्रममा बेंगलोरका रक्तिम परिवारका कलाकारहरुले स्वागत गीत गाएर सबैलाई गीतिद्वारा स्वागत गर्नु भएको थियो । केन्द्रीय सचिव नारायण शर्माले शब्दद्वारा स्वागत गर्नु भएको थियो । ज्ञात अज्ञात शहीदहरुको सम्मानमा एक मिनेट मौन धारणा गरिएको थियो । समाजद्वारा आयोजित सो भर्चुअल कार्यक्रममा नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले एकता समाजद्वारा राखिएको यसप्रकारको कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आत्महत्या विश्वव्यापी समस्या हो । नेपालमा कोभिडको कारणले र कतिपय लघुवित्त र बैंकहरुको रिणका कारण आर्थिक समस्याले खुलेआम आत्महत्या गरेका घटना पनि घटिरहेका छन् । यो समस्याबाट डराउने र भाग्ने होइन, त्यसलाई कसरी समस्या समाधान गर्न सकिन्छ भनेर निराश भएर होइन, पोजिटिभ धारणाको विकास गरेर जानुपर्छ र समाजलाई त्यो दिशामा चेतना दिनुपर्छ । त्यसमा समाजले सफलता पाओस् भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा महासचिव महेन्द्र बस्यालले सन् २०१९ देखि अहिलेसम्म दक्षिण भारतमा मात्रै २२ जनाले ट्रेनबाट हाम फालेर वा झुण्डिएर आत्महत्या गरेका घटनाको फेहरिस्त सुनाउनु भयो । फेहरिस्त सुनाउँदै गर्दा महासचिव बस्यालले नेपाली श्रमजीवीहरुको ठूलो मात्रामा आत्महत्याको घटनाले निकै डरलाग्दो रुप लिएको हुनाले यो छलफल राख्नु परेको बताउनुभयो ।

वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्यायले आफ्नो मन्तव्य राख्दै आफूले आत्महत्या सम्बन्धमा धेरै अध्ययन गरेको र रिटायर भएर पनि त्यो क्षेत्रमा अहिले पनि काम गरिरहेको बताउँदै आत्महत्याका घटना हुनुमा खास गरे ३ वटा कुराले काम गरेको बताउनु भयो । १) डिप्रेसन (२) रक्सी सेवन र (३) सिजोफ्रेडियाको मनोराग । नेपालीहरु प्रायः रक्सी सेवनले गर्दा डिप्रेसनमा जानेर एडिक्ट भएपछि त्यो छोड्न नसक्ने हुन्छ । त्यो अवस्थामा कि त आत्महत्या गर्ने कि अरुलाई हत्या गर्ने गर्छ । यसलाई मनद्वारा नियन्त्रण गर्नुुपर्छ । मनलाई नियन्त्रण गर्न धेरै विधिहरु छन् । मेडिटेशन गर्ने, सामाजिक काम गर्ने, साथी भाईहरुसित घुलमिल गर्ने र सबै भन्दा राम्रो कुरो त मनलाई कन्ट्रोल गर्नु नै हो । त्यसका लागि घर परिवारमा माया गर्नुले पनि धेरै नियन्त्रण गर्न सकिन्छ । मनलाई नियन्त्रण नै सबैभन्दा राम्रो हो । यद्यपि त्यो धेरै कठिन काम हो ।

डा. उपाध्यायले चिन्ता र डिप्रेशनबारे अन्तर गर्दै चिन्ता प्रारम्भिक अवस्था हो भने डिप्रेसन त्यसको माथिल्लो अवस्था हो । तर चिन्ताले खासै असर गर्दैन । मानिस केही न केही काममा व्यस्त हुनुपर्छ । काम भएन भने मानिसमा अनेकौं नराम्रा विचार आउँछन् । नराम्रो काम तर्फ ध्यान जान्छ । त्यसकारण सकारात्मक काम तर्फ ध्यान केन्द्रित गरियो भने धेरै हदसम्म डिप्रेशन तथा आत्महत्यालाई रोक्न सकिन्छ ।

भर्चुअल छलफलमा धेरै सहभागीहरुले प्रश्न गर्नु भएको थियो । प्रश्नको उत्तर दिंदै डा. उपाध्यायले अरुको भलाई गर्नेतिर ध्यान दिनुपर्छ भन्दै बच्चाहरुलाई कुनै विषय पढ्न जवरजस्ती गर्नु हुँदैन । बच्चाको जे रुची छ, त्यसैमा लाग्न दिनुपर्छ । बच्चाको इच्छा विपरीत कुनै विषय लाद्न कोशिश गरियो भने बच्चा निराश हुन्छ, डिप्रेशनतिर जाने खतरा हुन्छ । त्यसकारण बच्चालाई हौसला दिनुपर्छ । शिक्षकले पनि बच्चालाई प्रेसर दिनु हुँदैन । डा. उपाध्यायले धेरै सरल भाषामा जीवनका सबै पक्षबारे विश्लेषण गर्दै आत्महत्यालाई रोक्न समाजले नै ध्यान दिनुपर्छ ।

अन्तमा केन्द्रीय कोषाध्यक्ष इन्द्र भेटालले डा. उपाध्याय, अतिथि तथा सबै सहभागीहरुलाई धन्यवाद दिनुभयो । तत्पश्चात् कार्यक्रमलाई कार्य क्रमका सभापतिले समापन गर्नु भयो ।
हाँक संवाददाता

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित