कम्युनिस्ट आन्दोलनमा कार्यदिशा निरुपणको प्रश्न

–रामबहादुर बुढा
कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न निकै ठूलो सैद्धान्तिक र व्यबहारिक विषय हो । त्यस सन्दर्भमा पहिलो काम कार्यदिशा निरुपणको काम हो । नेपालको वस्तुगत परिस्थिति प्रति सही समझदारी निर्माण गर्न सकेमा नै सही कार्यदिशाको निरुपण गर्न सकिन्छ । कार्यदिशा भनेको हिड्ने बाटो र पुग्ने ठाउँको समष्टिगतरूप हो । जङ्गलमा हराए पछि दिशा कता छ भनेर थाहा पाउनु पर्दछ । त्यस्तै कम्युनिस्ट आन्दोलनमा अलमल भएमा पुग्ने ठाउँ र त्यहाँ सम्म जाने बाटो पहिल्याउन जरुरी हुन्छ । अहिले पुग्ने ठाउँ र हिड्ने बाटोको बारेमा व्यापक मन्थन हुन जरुरी छ ।

आफूलाई कम्युनिस्ट बताउने शक्तिहरूलाई अहिलेको ब्यबस्था प्रति तिनीहरूले अपनाएको दृष्टिकोणका आधारमा हेर्दा मूलतः दुई भागमा राख्न सकिन्छ – विद्यमान संसदीय पुँजीवादी प्रजातन्त्र भित्रबाट नै आफ्ना उद्देश्यमा पुग्न सकिन्छ भन्ने शक्तिहरू र अर्को यस व्यस्थाको विकल्प खोज्ने शक्तिहरू। एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी ः यी तीन वटै पार्टीले यो व्यवस्थाको बिकल्प सोचेका छैनन् । एमालेले आफ्नो उद्देश्य बहुदलीय जनवाद ,माओवादी केन्द्रले एक्काइसौं शताब्दीको समाजवाद र एकीकृत समाजवादीले नेपाली क्रान्तिको बाटो समाजावादी हुने बताएकोछ ।

शब्दावली जे जे प्रयोग गरे पनि सारमा उनीहरूले विद्यमान सामाजिक– आर्थिक प्रणाली भन्दा बाहिरको विकल्प सोचेका छैनन् । नेकप (मशाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपाल, लोकनारायण सुवेदीले नेतृत्व गरेको नेकपा, ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (मसाल), नेकपा (रातो तारा), नेकपा (मार्क्सवादी पुष्पलाल), बिप्लबले नेतृत्व गरेको नेकपा, नेमकिपा नेकपा (माले) लगायतले उनीहरूको दस्ताबेज अनुसार विद्यमान ब्यबस्थाको विकल्प आबश्यक बताएका छन् ।

विद्यमान ब्यबस्था भित्रबाट उद्देश्य हासिल गर्न खोजेका पार्टीहरूको बीचमा मतैक्यता छैन । २०७५ मा एमाले र माओवादीकेन्द्रको बीचमा पार्टी एकता हुनु भन्दा पहिले एमालेले बहुदलीय जनवाद र माओवादीले एक्काइसौं शताब्दीको जनवाद भन्थ्यो । ती दुई बीच पार्टी एकता भइ नेकपा (नेकपा) गठन भए पछि त्यो पार्टीले जनताको जनवाद भन्ने उद्देश्य÷कार्यक्रम राखेको थियो । जनताको जनवादको विस्तृत व्याख्या हुन नपाउँदै पार्टी बिभाजन भइ तीन पार्टी बन्यो ।
यो ब्यबस्था भित्रबाट नै कम्युनिस्ट उद्देश्य पूरा नहुने कुरा ब्यबहारतः स्पष्ट भैसकेकोछ । उल्लेखित तीन पार्टी मध्ये सांगठनिकरुपमा तुलनात्मकरुपले ब्यबस्थित पार्टी एमाले हो । एमालेका नेता, कार्यकर्ताहरूले २०४६ को परिवर्तन पछि चलाएको सहकारी ,निजी शिक्षण संस्था, निजी स्वास्थ्य संस्था,सहकारी, गैरसरकारी संस्था आदिका माध्यमबाट जनमतलाई आफ्नो नजिक राख्दै आएकोछ । विद्यमान ब्यबस्थामा आएको चरम संकटले एमालेको त्यो जनाधारलाई लामो समय सम्म कायम रहन दिने छैन ।

माओवादी केन्द्रको युद्धकालीन सांगठनिक संरचना धेरै पहिले ध्वस्त भैसकेकोछ । सत्ताको आडमा संगठन र जनमतलाई टिकाउने कोसिस माओवादीकेन्द्रले गर्दै आएकोछ । स्वार्थी तत्वहरूको जमघटले माओवादीकेन्द्रलाई समाप्त गर्दैछ । एकीकृत समाजवादीले बहुदलीय जनवाद भन्दा फरक पहिचान दिन खोजेकोछ तर सारमा व्यबस्थाको विकल्पको ऊ सित कार्यदिशा छैन । यदि देशमा उथलपुथलकारी परिवर्तनको आँधी चल्न थाल्यो भने संसदवादी कम्युनिस्टहरूको कथित जनआधार भताभुङ्ग हुन क्षण भर लाग्ने छैन ।

दक्षिणपन्थी कम्युनिस्टहरूले पार्टीको नाम र झण्डा फेर्ने कोसिस गर्दै आएका छन् । एमालेको २०४९ को पाचौं महाधिबेशनमा त्यो कुरा उठेको थियो । तर नेपालको कम्युनिस्ट जनमतलाई चुनावमा उपयोग गर्ने लालसाले एमालेले पार्टीको नाम र झण्डा फेर्न सकेको छैन । सन् १९९० मा शोभियत संघ बिघटन भए पछि निरास भएर युरोपका कैयौं पार्टीहरूले कम्युनिस्ट नाम फेरेर समाजवादी पार्टी बनाएका थिए । अहिले एकीकृत समाजवादीले त्यसको निम्ति परिक्षण सुरु गरेको हो कि भनेर अड्कल गर्न सकिन्छ । माधब नेपालले नेकपा (नेकपा) बाट बिभाजन भए पछि पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाएर सिधै समाजवादी पार्टी नाम राख्ने आँट गर्न सकेनन् । तर उनले पार्टीको नामका पछि “समाजवादी” झुण्डाए । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको नाम र झण्डा फेर्न सकिने बारे मुख खोलेकाछन । प्रचण्ड, बिप्लब, एकीकृत समाजवादी सहितको समाजवादी मोर्चा बनेकोछ । माधव नेपालको पार्टीको नामको पछाडि राखेको शब्द “समाजवादी”, उल्लेखित पार्टीहरूको बीचमा बनेको समाजवादी मोर्चा ,प्रचण्डले पार्टीको नाम र झण्डा फेर्ने उद्घोष यी सबै घटनाक्रमका बीचमा कही न कही सम्बन्ध छ र भविस्यमा एउटा साझा समाजवादी पार्टी बनाउने वा साझा समाजवादी चुनावी मोर्चा बनाउने उद्देश्य लुकेको छ कि भन्न सकिन्छ ।

बाबुराम भट्टराइले आफ्नो सम्पूर्ण पुरानो बिरासतलाई धुलिसात बनाएर कम्युनिस्ट सिद्धान्त काम नलाग्ने घोषणा गरिसकेका छन् । उनको विचारले पनि यो पंक्तिलाई थप अगाडि बढ्न प्रोत्साहन दिएकोछ । नेपालको कम्युनिस्ट आन्दोलनमा विदेशी शक्तिकेन्द्रहरूले पनि विचार निर्माणमा टेवा पुर्याउने गरेका छन् ।

दोस्रो संविधान सभाको निर्बाचन भन्दा पहिले प्रचण्डले २०६९ मा प्रधानन्यायाधीशको नेतृत्वमा दोस्रो संविधान निर्बाचन हुनु पर्दछ भनेर बोले । खास कसैको अर्ति उपदेशमा उनले त्यसो गरेको कुरा उति बेला नै आम चर्चा भएको थियो। ठीक त्यसै गरी अहिले प्रचण्डले पार्टीको नाम र झण्डा फेर्न गरेको प्रस्ताब वा उद्घोषलाई सामान्यरूपमा लिन सकिँदैन । बिदेशी शक्ति केन्द्रहरूले कम्युनिस्ट शब्द त्याग ,समाजवादी पार्टी बनाऊ ,अनि तिमीहरूलाई हामीले विश्वास गर्दछौं, मद्दत गर्दछौं भनेको हुन सक्छ भन्ने कुरा अड्कल गर्न सकिन्छ । त्यो जे होला, भबिष्यमा त्यसको परिणाम अबश्य पनि देखिने छ ।
व्यबस्थाको बिकल्पमा जान खोज्ने पार्टी÷समूहहरूका पनि आफ्नै प्रकारका समस्याहरू छन् । अवको बाटो पुँजीवादी क्रान्तिको÷नयाँ जनवादी क्रान्तिको हुनु पर्दछ वा समाजवादी क्रान्तिको हुनु पर्दछ भन्ने बारेमा विवाद छ । त्यसैले यो विषयमा वस्तुगत तथ्यहरूलाई अगाडि राखेर छलफल गर्न जरुरी छ । छलफल, कार्यगत एकता गर्दै जाँदा कैयौं कुराहरू स्पष्ट हुँदै जानेछन् । कामले कामको बाटो देखाउछ भने झै क्रान्तिकारी कार्यक्रम तय गर्दै जाँदा पुजीवादी क्रान्ति कि समाजवादी क्रान्ति भन्ने विवाद पनि हल हुनेछ ।

नेमकिपाकाले समाजवाद स्थापनाको उद्देश्य राख्दछ । समाजवादको प्रचार पनि गर्दछ तर समाजवादमा पुग्नका लागि क्रान्तिकारी कार्यदिशा निर्माण प्रति ध्यान दिएको देखिदैन । ऊ संसदीय गोलचक्कर भन्दा माथि उठेको छैन । बिप्लबले नेतृत्व गरेको नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको बताउँछ । उसका अनुसार नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति एकै चोटि सम्पन्न हुने छ । तर त्यो मूलतः समाजवादी क्रान्ति हुने छ । माओबादी केन्द्र सहितको समाजवादी मोर्चामा उसको संलग्नता, उसका पछिल्ला गतिविधिलाई विचार गर्दा दक्षिणपन्थ तर्फको ढल्काई बढ्दै गएकोछ । आहुतिले नेतृत्व गरेको बैज्ञानिक समाजबादी पार्टी,नेपालले अबको क्रान्ति समाजवादी क्रान्ति हुने बताउँछ । दक्षिण एशियामा जात ब्यबस्थाले वर्गको निर्माण गरेको हो, उत्पादनको साधन नै उत्पादक शक्तिको प्रमुख पक्ष हो लगायतका विचार राख्नुको साथै सर्वहारा अधिनायकत्वलाई दस्ताबेजमा उल्लेख गर्न नसकेको कुरालाई ध्यान दिनु पर्ने देखिन्छ ।

नेकपा ( मसाल) ले दस्ताबेजमा नयाँ जनवादी क्रान्तिको उद्देश्य राखेको छ । तर विद्यमान ब्यबस्थामा समाजवाद उन्मुख कार्यक्रम लागू गर्न सकिने ,एमाले ,माओवादी केन्द्रबाट त्यो सम्भव हुने, समाजवाद उन्मुख कार्यक्रम बाटै जनबादी क्रान्ति हुने जस्ता दक्षिणपन्थी विचार राखेकोछ । उसको प्रतिक्रियावादी दलहरूसित बढ्दै गएको सुमधुर सम्बन्ध , प्रतिक्रियावादी सत्ता प्रतिको लगाव आदिलाई ध्यान दिंदा त्यो पार्टीको नेतृत्व अब क्रान्तिकारी पथमा फर्कने सम्भवना करीब समाप्त भएकोछ । क्रान्तिकारी आन्दोलनको कामना गर्ने त्यो पार्टीका कार्यकर्ताहरूले बिचार गर्नु पर्ने अबस्था आएकोछ ।

नेकपा (मशाल) को विशेष महाधिवेशनले शहरीया सशस्त्र बिद्रोहको कार्य दिशा तय गरेकोथियो । मसालले मशालको बिशेश महाधिवेशनका निर्णयबारे धेरै कुरामा विरोध गरे पनि सहरीय सशस्त्र विद्रोहको कार्यदिशालाई विरोध गरेको थिएन । अब उसले के दीर्घकालीन जनयुद्धको कार्यदिशा त्याग गर्दै हो ? निकट भबिष्यमा हुने उसको नवौं महाधिबेशनपछि त्यस बारे स्पष्ट हुनेछ ।
नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सहरीया सशस्त्र बिद्रोहलाई सत्ता प्राप्तिको कार्यदिशा बनाएकाछन । जनयुद्धका कतिपय कम्पोनेन्टहरूलाई प्रयोग गर्न सकिनेछ । छापामार युद्धलाई प्रयोग गर्न सकिनेछ । आफूलाई क्रान्तिकारी बताउने शक्तिहरूले जन सम्बन्धलाई किन सुदृढ गर्न सकेका छैनन् ? यस माथि बिहङ्गम छलफल हुनु पर्दछ । सहरीया सशस्त्र बिद्रोहबाट सत्ता प्राप्तिको बिन्दुमा पुग्ने गरी अहिले देखि नै सङगठन र वर्ग संघर्षको कार्यक्रम बनाउँदै जानू पर्दछ । पुराना आन्दोलनले स्थापित गरेका मान्यता ,जनसम्बम्ध आदिलाई टेक्दै नयाँ मुद्दालाई अगाडि ल्याउने कोशिश गर्नु पर्दछ । क्रान्तिकारी शक्तिहरूको सम्बम्धलाई बलियो बनाउने तिर ध्यान दिनु पर्दछ । सच्चा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन कम्युनिस्ट चरित्र बोकेका कार्यकर्ता निर्माण मा ध्यान दिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित