युवाहरु देशका लागि योगदान गर्न सक्ने नागरिक हुन् । युवाहरू मानसिक र शारीरिकरूपमा सवल हुन्छन् । उनीहरू देश विकासका खम्बा र भविष्यका कर्णधार हुन् ।
युवाहरुको क्षमतालाई बेलैमा चिन्ने र सही काममा प्रयोग गर्न जान्ने हो भने देशले उपलब्धि लिन सक्छ ।
बिडम्बनाको कुरा, नेपालमा शासकहरूले युवा शक्तिलाई चिन्न र प्रयोग गर्न सकेनन ।
एउटा जना मानिसलाई घरपरिवार, बा, आमाले निकै समय, मेहनत ,पसिना, धैर्यता,अर्थ लगानी गरेर हुर्काएको हुन्छ । उनीहरुलाई हुर्काउने, बढाउने र काम गर्न योग्य तथा क्षमतावान बनाएका हुन्छन् ।
एक बच्चालाई काम गर्न सक्ने बनाउन राज्यकै भाषामा १८ वर्ष लागेको हुन्छ । किनकि राज्यले १८ वर्ष पछि मात्रै काममा योग्य मान्दछ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार १६ देखि ४० वर्षका नेपाली युवाहरू १ करोड २४ लाख १२ हजार १ सय ७३ (४२. ५६ प्रतिशत) रहेका छन् । २०६८ को जनगणनामा ४० प्रतिशत युवाहरू थिए । भारत गएका युवाहरू छाडेर हरेक वर्ष ६ लाख बराबर युवाहरू विदेश पलायन भइरहेका छन् । युवाहरूलाई स्वदेशमै राख्ने राज्य सित योजना छैन । अचेल धेरैको बोलीमा स्वदेश भन्दा विदेश नै पहिलो प्राथमिकतामा राखेको देखिन्छ । अध्ययन र रोजागारीका लागि विदेश जाने र सकभर आजीवन उतै बस्ने, नभए उमेर छँदासम्म विदेश नै बसेर अशक्त भएपछि मात्रै देशमा फर्किनु पर्ने स्थितिमा युवाहरु रहेका छन् । देशमा केही गर्न सक्ने क्षमता दक्षता बोकेका युवाहरुको यस्तो अवस्था हुँदा समेत कसैको ध्यान जान सकेको छैन ।
युवाहरुको अमूल्य पसिना र श्रमले देशलाई भरिलो बनाउन सक्छ । तर अहिले नेपालीहरुको आँगनमा जिउँदाको जन्ती मर्दाको मलामी समेत पाउन गाह्रो पर्न थालेको छ । मर्दा पर्दालाई चाहिने युवा बल अहिले पाउन मुश्किल छ । बुढाबुढी बाआमा वा बाल बच्चा छोराछोरीले पाउनु पर्ने माया ममता, स्याहार सुसार पाउन सकेका छैनन् ।
दैनिक सयौंको संख्यामा विदेशिने युवाहरुको लर्को सिमानामा र विमानस्थलहरुमा रहेको छ । बाध्यतामा परी देश छाड्न पर्नेहरुको कहानी कम्ती कहालीलाग्दो छैन । यो अवस्थालाई बेलैमा रोक्न नसके अझै स्थिति भयावह हुने देखिन्छ । राज्यले युवाहरुलाई देश मै रोक्ने योजनाहरु ल्याउन सकेको छैन । देशमा बस्न चाहने युवाहरु पनि यात कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । यात वेरोजगार बस्न बाध्य भइरहेका छन् । केही पनि कामको व्यवस्था हुन सकेको छैन । विदेशमा उत्पादित सामानहरुले पसलहरु भरिएका छन् । आफ्नो उत्पादन नभएपछि कहाँबाट युवाले काम पाउनु कहाँ देशले युवा पाउनु ?
देशमा थोरै मात्र पनि उत्पादन हुन खोज्यो भने प्रतिस्पर्धा गर्न नसकेर ,लगानी नउठेर काम छोड्नु पर्ने अवस्था रहेको छ । राज्यले युवाहरुलाई देशमै राख्न केही योजना तथा नीति ल्याउन सकेको छैन । राज्यको नीति भनेको जतिसक्दो नेपाली युवाहरुलाई विदेश पठाएर उनीहरुले तिरेको कर र विप्रेषणले जीवन धान्नु पर्छ भन्ने खालको रहेको छ । आफ्ना देशका नागरिकलाई देशमै केही गर्न सक्ने क्षमता भएका नागरिक बनाउनु र उनीहरुलाई जोगाउनु संरक्षण गर्नुको साटो उनीहरु राज्यबाट सधै उपेक्षामा परेका छन् । नगर्नेलाई गर्ने बनाउने, देशमा सम्भावना नदेखेकालाई सम्भावना छ है भनेर विश्वास दिलाउने भनेको युवाहरुको संरक्षण र प्रोत्साहनको नीतिले नै हो ।
सरकारले विदेशी लगानी कर्ताहरुलाई आउ लगानी लगाउ नाफा कमाएर जाऊ भन्छ । लगानी मैत्री कानुन नभएको भन्दै लगानीमैत्री कानुन पनि बनाउँछ तर देशका युवाहरुको बारेमा देश मै रहन सक्ने वातावरण बनाउन कुनै योजना र नीति ल्याउन सक्दैन । यो आर्थिक वर्षमा यति रोजगार दिने । यो यो क्षेत्रमा युवाहरु परिचालन गर्ने यसरी युवाहरुलाई देशमै टिकाउने भन्ने कुनै पनि योजना रहेको छैन । देशमा चुनाव हुन्छ । राजनीतिक गतिविधि हुन्छ । पटक पटक सत्ता परिवर्तनको खेल हुन्छ । यी सबैमा आपसी सहमति मै काम हुन्छ । तर युवाहरुको बारेमा ठोस नीति बन्न सक्दैन । युवाहरुलाई देशमै रोक्ने र रोजगारको व्यवस्था गर्ने बारेमा केही पनि हुन सक्दैन । युवाहरु सँधै उपेक्षामा रहेका छन् ।उनीहरुबिना देशले उन्नति गर्न सक्दैन । युवाहरुलाई देशमै राखेर काम लगाउनु पर्दछ ।

