फूलको उत्पादन र व्यापार

तिहारलाई फूलै फूलको पर्व भनिन्छ । वर्षा याम सकिएर सुरु हुने दशै ,तिहारको बेला नेपालीहरूको घर आँगनी ,बगैंचामा गुरधौली, सयपत्री लगायतका फूलहरू ढकमक्क फुलेका छन् । तिहारमा फूलको प्रयोग धेरै हुन्छ तर मानव जीवनमा जहिलेसुकै फूलको प्रयोग आउँदछ । जन्म ,विवाह ,मृत्यु, धर्म,सुख,दुःख, उत्सव,चाडपर्व,मेला ,महोत्सवमा फूलको प्रयोग हुन्छ ।
फूल सुन्दरताको प्रतिक हो । फूलले वातावरणलाई आनन्दित तुल्याउँछ । तिहार पर्व भनेको फूल व्यवसायीहरूको लागि आम्दानी गर्ने अवसर हो ।
फ्लोरिकल्चर एशोशियशन अफ नेपाल (नेपाल पुष्प ब्यबसायी संघ), नेपाल नर्सरी संघ जस्ता फूल व्यावसायीहरूको संगठनले फूल व्यवसायलाई विकास र विस्तार गर्न प्रयत्न गरेका छन् । २०४९ सालमा स्थापना भएको फ्लोरिकल्चर एशोशियशन अफ नेपालले समय समयमा पुष्प मेला लगाएर फूल व्यवसायलाई प्रचारमा ल्याउने र किसानहरूलाई फूल व्यबसाय तर्फ आकर्षित गर्ने काम पनि गर्दै आएको छ । यस संस्थाले गत कार्तिक ८– १० सम्म ललितपुरको जावलाखेलमा १७ औं गोदावरी फूल एक्स्पोको आयोजना गरेकोथियो । त्यहाँ एक करोड भन्दा बढी फूलको बिक्रि भएको थियो ।
फूल व्यवसायीहरूका आफ्नै प्रकारका समस्याहरू छन् । नेपाल सरकारले पुष्प प्रवर्धन नीति – २०६९ जारी गरेको थियो । त्यो नीति निष्क्रिय रहेकोमा पुष्प कृषकहरूको गुनासो छ र त्यस नीतिलाई सक्रिय पार्न कृषकहरूको माग छ । सहरीय क्षेत्रमा फूल खेती गर्ने जग्गा सकिदै गएकाले सरकारले फूल खेती गर्ने किसानहरूलाई जग्गाको व्यवस्था गराइदिन आबश्यक छ ।तरकारी पसलको जस्तै फूल व्यापारका लागि एकीकृत फूल बजारको व्यवस्था गरिदिन जरुरी छ जसले गर्दा कृषकलाई बेच्ने ठाउँ र ग्राहकलाई किन्ने पसलको अभाव नहोस् । फूल किसानहरूलाई सरकारले फूल उत्पादन सम्बन्धी उच्चस्तरको तालिम गराइदिने ब्यबस्था मिलाउनुपर्दछ । फूल कृषकलाई बैंक वा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण उपलब्ध गराउने यबस्था हुनु पर्दछ । विदेशबाट आउने फूलहरूलाई सरकारले नियमन गर्न जरुरी छ ।
केही वर्ष पहिले बीबीसी नेपाली सेवाले तिहारको बेला पूर्वी नेपालको धरान बजार तिहारको समयमा फूलमा स्थानीय गाउँका फूलबाट नै आत्मनिर्भर रहेको र भारतबाट फूल खरिद गर्न नपरेको तर पश्चिम नेपालको नेपालगन्ज आसपासमा फूल खेती नगरेकाले तिहारका बेलामा भारतबाट आएको लाखौं झिल्झिले प्लाष्टिकको फूल विक्री भएको समाचार प्रसारण गरेको थियो । प्लास्टिकका झिलझिले फूल स्वाथ्यका लागि समेत हानिकारक हुने भएकाले नेपाल पुष्प व्यबसायी संघले प्लाष्टिक फूल रोक्न माग गरे पछि दुई वर्ष देखि भारतबाट त्यस खालको फूल आउन बन्द भएको छ । सीमामा क्वारेन्टाइनको मापदण्ड पूरा नगरी लुकिछिपी ल्याएका फूलहरूलाई प्रहरीले बरामद गरी नष्ट गर्ने काम गरेकोछ । तैपनि लुकिछीपी विदेशबाट अबैध ढङ्गले फूल लिन नदिन प्रशासन देखि जनता सम्म सचेत हुनु पर्दछ ।
विस्तारै व्यावसायिक चेतना र संस्कृति नेपाली समाजमा विकास हुँदै जान थालेको छ । यसलाई सकारात्मक रूपमा लिनु पर्दछ । भक्तपुरको गुण्डु गाउँमा २० वर्ष देखि किसानहरुले व्यावसायिक फूल खेती गर्दै आएका छन् । चागुनारायण नगरपालिकालेत्यस गाउँ,लाई उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ र किसानहरूलाई पालिकाले अनुदान समेत उपलब्ध गराएको छ । अहिले नेपालमा ५२ जिल्लामा व्यावसायिक फूल खेती गरिन्छ । नेपाल अहिले करीव ७० प्रतिशत फूलमा आत्मनिर्भर भएकोछ । नेपाललाई फूलमा पूरै आत्मनिभर बनाउन र फूललाई व्यावसायिकरण तर्फ ध्यान देऔं । नेपालका पाखा पखेरा बाँझै छन । त्यस्ता जमीनको सदुपयोग गर्ने र स्थानीय आय आर्जनको स्रोत बनाउने तिर ध्यान दिऔं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित