नेपाल सरकारको परराष्ट्र सम्बन्धमा बारम्बार कुटनीतिक असफलता दोहोरिने गरेको छ । भर्खरै परराष्ट्रमन्त्री आरजु राणा देउवाको दिल्ली भ्रमणमा पनि कुटनीतिक असफलता प्रदर्शन भएको छ । कुनै पनि देशको परराष्ट्रमन्त्री अर्को देशमा जाँदा त्यहाँको सरकारसित हिंडाई, बसाई, भेटघाटको तालिका मिलाएर मात्र भ्रमणमा जाने गरिन्छ । यो नै कुटनीतिक मर्यादाको आम प्रचलन हो ।
चार महिना अगाडि भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भव्य स्वागत प्राप्त गरेकी थिइन । त्यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारत सरकारका उच्च पदस्थ अधिकारीहरुसित उनले भेट गरेकी थिइन । तर यसपटक भारत सरकारका मन्त्रीहरु सित राजनीतिक भेटघाट गर्ने अनेकौं प्रयास गर्दा पनि परराष्ट्रमन्त्री देउवाले भेट गर्न सम्भव भएन । पूर्व तयारी विना नै भ्रमणमा जानु, भ्रमणका क्रममा त्यो देशका मन्त्रीहरुलाई भेट्ने प्रयास गर्नु, अनेक प्रयास गर्दा पनि भेटघाट हुन नसक्नु साह्रै नै लज्जास्पद घटना हो । यो घटनाले सार्वभौम देश नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको छ । नेपाल र नेपालीहरुको शिर झुकाउने काम भएको छ । हामी सरकारको यसप्रकारको अपरिपक्व, गैरजिम्मेवार र न्यूनतम कुटनीतिक मर्यादाको पालना गर्न नसक्ने तौरतरिकाको निन्दा गर्दछौं ।
परराष्ट्रमन्त्री देउवा चीन भ्रमणबाट फर्किएपछि नेदरल्याण्डको हेग गएकी थिइन । हेगमा उनी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व विषयक ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन ।
हेगको कार्यक्रम सम्पन्न भएपछि उनले यूरोपका विभिन्न देशहरु भ्रमण गर्दै गत पौष ४ गते (डिसेम्बर १९ ) मा काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउण्डेशन अफ इकोनोमिक ग्रोथ एण्ड वेलफेयरले आयोजना गरेको भारतको दिल्लीस्थित आर्थिक विषयको एक कार्यक्रममा सहभागी भएकी थिइन । त्यो कार्यक्रममा भारतीय परराष्ट्रमन्त्री एस. जयशंकर पनि उपस्थित हुने बताइएको थियो तर उनी त्यस कार्यक्रममा उपस्थित भएनन् । दिल्लीमा रहँदा राजनीतिक भेटघाटका लाग निकै प्रयास गरिन् तर उनी सफल हुन सकिनन् । अन्त्यमा भारतीय जनता पार्टीका पूर्व महासचिव राममाधवसित भेट गरेर चित्त बुझाइन । उल्लेखित घटना विवरणबाट नेपालप्रति साँच्चै नै अपमानित व्यवहार भएको र त्यस्तो अपहेलित हुने स्थिति स्वयं नेपाल सरकार र परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिर्जना गरेकी हुन् भन्ने कुरा प्रष्ट छ ।
चार महिना पहिले आरजुले दिल्ली भ्रमण गर्दा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । न त मोदीले नेपाल भ्रमण गरे , न त ओलीलाई उनले भ्रमणको निम्तो दिए । भारत भ्रमणको कुनै साइत नजुरेपछि ओली चीन भ्रमणमा गए । चिनियाँ प्रोजेक्ट वि.आइ.आई. कार्यान्वयन प्रति नेपाल सरकारले सहमति जनाएकोमा भारत असन्तुष्ट छ र भारतले ओलीलाई भ्रमणको निम्तो दिन्छ वा दिंदैन, यसै भन्न सकिन्न ।
वि.आर.आई. (वेल्ट रोड एण्ड इन्इसियटिभ) चीनको विश्वव्यापी यातायात संजाल निर्माण गर्ने दीर्घकालीन उद्देश्य सहितको कार्यक्रम हो । यस कार्यक्रम प्रति नेपाल सहमत हुनुलाई भारत र अमेरिकाले राम्रो मानेका छैनन् । अहिले भर्खरै नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली चीन भ्रमण गरेर वि.आर. आई. कार्यान्वयन प्रति सहमति जनाएर फर्किएका छन् । आरजुले भारतमा अहिले खेप्नु परेको त्यो अपमान वि.आर.आई कै कारण हो । त्यसबाहेक, प्रधानमन्त्री भएपछि ओलीले सार्वजनिक मञ्चबाट चुच्चे नक्साको कुरा पनि आफूले उठाउने बताएका थिए । भारतीय प्रधानमन्त्रीसित प्रत्यक्ष भेटघाट गर्ने चाँजोपाँजो मिलाएर कालापानी क्षेत्र नेपालको हो भनेर दावी गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि ओलीले चुच्चे नक्साको भाषण गर्दै हिंडे । यस्ता विषयहरुबाट भारत चिढिएको छ ।
सबै वस्तुगत परिस्थितिको अध्ययन गरेर कर्मचारी र कुटनीतिक तहबाट भ्रमणको तालिका मिलाएर मात्र विदेश भ्रमण जाँदा देशको इज्जत रहने हो । विना तयारी विना योजना बाटाबाटामा भ्रमणको तालिका बनाउन खोज्दा फेरि पनि आरजु राणा देउवाले जस्तै अपमान खेप्नु पर्ने हुन सक्छ । आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन परराष्ट्र सरकारी संयन्त्रहरुले विशेष ध्यान दिन जरुरी छ ।

