अपाङ्गहरूलाई राज्यले आत्मनिर्भर बन्ने वातावरण बनाइदिनु पर्दछ

– धनपति ज्ञवाली (शर्मा)
केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन मङ्सिर १३ देखि २३ सम्म सम्पन्न भयो । राष्ट्रिय एकता महाधिबेशनमा नवलपुर जिल्ला समितिको भूमिका कस्तो रह्यो ?
– समग्रमा कतिपय कमजोरीका बाबजुद नवलपुर जिल्लाको भूमिका संतोषजनक रह्यो । यो जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पछि सदस्यता अपडेट गर्ने , जिल्लामा फोरम र जिल्ला सम्मेलन सम्पन्न गर्ने ,प्रतिनिधि पर्यवेक्षक छनोट गर्ने, जिल्लाब्यापी महाधिवेशनको प्रचार प्रसार गर्ने लगायतका काम सम्पन्न भए । महाधिवेशनका लागि तोकिएका दुई जना कामरेड विशेष कारणवस उपस्थित हुन सक्नु भएन । महाधिवेशनमा गएका कामरेडहरूले उत्साहका साथ छलफलमा भाग लिनु भयो ।
० राष्ट्रिय एकता महाधिवेशनको समग्र मूल्यांकन गर्नु पर्दा के भन्नू हुन्छ?
– पार्टी बाहिर केही मानिसहरू महाधिवेशनमा यो पक्षले जित्यो ,त्यो पक्षले हार्यो भनेर हल्ला गरेका छन् । पार्टीमा लागे पछि सबै आफूले भने जस्तो हुँदैन । तीन वटा पार्टीका बीच एकता भएकाले मत मतान्तरण हुनु स्वभाविक थियो । तर मतभिन्नताहरूलाई मिलाएर वा व्यवस्थापन गरेर जान महाधिवेशन सफल भएकोछ । यहाँ कसैले जित्ने र कसैले हार्ने भन्दा पनि समग्रमा पार्टीले जितेकोछ । यो महाधिवेशन शोषित पीडित जनताको भविष्यको विजयको यात्रामा अगाडि बढ्न महत्वपूर्ण प्रस्थान विन्दु हुनेछ भन्ने हामीलाई विश्वास छ ।
० महाधिबेशन पछि पार्टी कसरी अगाडि बढ्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
– समाजमा तमाम अन्तरविरोधहरू छन् । जनताका समस्याहरू छन् ।ती समस्याहरूलाई उठाएर संघर्ष मा जानु पर्दछ । जनताका बीचमा जाने कार्यक्रम बनाउनु पर्दछ । जनताका बीचबाट नै संगठन बनाउँदै जानू पर्दछ ।
० नवलपुर जिल्लाका स्थानीय समस्याहरू के के छन् ?
– नेपालको राष्ट्रिय समस्या बेरोजगारी,गरिबी, अभाव,भ्रष्टाचार,महङ्गीको मार जे छन् ,ती सबैबाट नवलपुर जिल्ला पनि आक्रान्त छ । नवलपुर भारत सित सिमाना जोडिएको जिल्ला भएकाले यहाँका किसानहरू सीमा पारीबाट हुने अवैध आयातबाट समस्यामा परेका छन् । नवलपुरमा थुप्रै किसानहरू कुखुराको मासु,अण्डा ,माछा ,तरकारी उत्पादन गर्दछन । दलाल र बिचौलियाले सीमा पारीबाट अवैधरूपमा वा भन्सार छलेर ल्याएको मासु,अण्डा,तरकारीले नेपालको बजार लिए पछि यहाँका किसानहरूको माल बिक्री हुँदैन । बिक्री भए पनि यथोचित मूल्य पाउँदैनन् । सीमा पारीबाट आउने अवैध सामग्री रोक्न जनस्तरबाटै पहल गर्न जरुरी छ । सुस्ताका जनता भारतीयहरूको उत्पीडनमा छन। त्यहाँका जग्गा भारतीयहरूले मिचिरहेकाछन। गण्डक नहरबाट पनि यहाँका जनता समस्यामा पर्ने गर्दछन। चितवन राष्ट्रिय निकुन्ज नजिल भएकाले वन्य जन्तुबाट पनि बेलाबखतमा पीडितहुनु पर्दछ ।
० नवलपुरमा तपाईहरूले आफ्नै भवनबाट पार्टी कार्यालय सन्चालन गरिरहनु भएकोछ । यसको कथा सुनाउनु न ।
– नेकपा (मसाल) बाट विद्रोह गरेको दुई वर्षमा नै नवलपुर जिल्ला पार्टीले आफ्नो भवन बनाएको थियो । तीन पार्टीका बीचमा पार्टी एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला कार्यालय यही भवनबाट नै सन्चालन गरिएकोछ । बैठक ,सानातिना भेला,यही कार्यालयबाट नै सम्पन्न गर्न सम्भब भएकोछ । भौतिक सामग्रीहरू जम्मा गर्न र यसलाई व्यवस्थित गर्न अझ बाँकी नै छ ।
० अब अलिक व्यक्तिगत कुरा गरौं । तपाई कसरी अपाङ्ग बन्नु भयो?
– मैले लामो समय भारतमा अखिल भारत नेपाली एकता समाजमा काम गरें । भारतबाट फर्किए पछि मैले २०५६ साल देखि गैंडाकोट १४ मा कुटानी,पिसानी पेलानीको मिल सन्चालन गर्न थाले ।२०५९ माघ ५ गते म मिलमा दुर्घटनामा परेँ। मेरो दाहिने हात कुम देखि नै चुड्यो। म अपाङ्ग भएँ।
० अपाङ्ग सुविधा पनि लिनु भएकोछ कि?
– मलाई ग वर्गमा राखेर पहेँलो कार्ड दिइएकोथियो । मलाई केही सुविधा दिइएको थिएन । तर मलाई करीव दुई वर्ष पहिले ख वर्गमा राखेर निलो कार्ड दिएकोछ । त्यो कार्डबाट मैले मासिक करीव २१०० भत्ता लिन्छु ।
० राज्यले अपाङ्गहरूको समस्या समाधान गर्न के गर्नु पर्दछ ?
– अपाङ्गहरूलाई राज्यले भत्ता मात्र दिएर हुँदैन ।त्यतिले पुग्दैन । उनीहरूलाई राज्यले आत्मनिर्भर बन्ने वातावरण बनाइदिनु पर्दछ । सस्तो व्याजमा ऋण उपलब्ध गराएर , व्यवसायिक तालिम दिएर ,उनीहरूका उत्पादित सामान बिक्रीको व्यवस्था गरिदिएर वा अन्य विधि अबलम्बन गरेर उनीहरूलाई आत्मनिर्भरताको बाटोमा डोर्याउनु पर्दछ ।
० हाँक साप्ताहिक मार्फत थप भन्नू केही छ कि?
– विचार प्रकट गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद । हाँकको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित