नेपालको संघीय संसदमा हाजिरी गरेर बैठकमा नबसी हिंड्ने चलन नयाँ होइन । हाजिर गरेर टाप कस्ने अर्थात् हाटा प्रवृत्ति भनेर नेपाली राजनीतिमा संसदको बदनाम भएको छ । संसदमा भएका सांसदहरु संसद चलिरहेको बेलामा हाजिरीमा हाजिर गर्ने र अन्तिम समयसम्म नबस्ने अर्थात हाटा चलनको अन्त्य कहिले होला ? भन्ने सबैलाई परेको छ । संविधानमा हाजिरी गरी हिँड्ने चलनले गर्दा बैठक नै स्थगित हुन पुग्ने, निर्णयहरु छिटो छरितो नहुने, ऐन नियमहरु निर्माणका कामहरु प्रभावित हुने भइरहेका छन् । प्रतिनिधि सभाको गत फाल्गुण चार गतेको बैठकमा यस्तै भयो । सभाको बैठकको शुरु हुँदा २२० जना सांसदहरुले हाजिरी गरेका थिए तर बैठकमा विधेयक निर्णयार्थ पेस गर्दा सांसदहरुको संख्या जम्मा ६८ जना मात्रै बाँकी रहेका थिए । गृहमन्त्रीले नेपाल नागरिकता दोस्रो संशोधन ऐन २०८१ लाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सांसदको एक चौथाई पनि सांसदहरु नरहेकाले प्रस्तुत हुन सकेन । संविधानको धारा ९४ मा गणपूरक संख्या सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित हुन आवश्यक छ । तर आइतबारको बैठकमा उपस्थिति पुगेको हाजिरी भएपनि सांसदहरु हाजिर गरेर हिँडेका कारण गणपूरक संख्या पुगेन ।
अहिले संसदको हिउँदे अधिवेशन चलिरहेको छ ।संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन भनेर पनि चिनिन्छ । विधेयक के के आउँछन् ? कुन समयमा केके विधेयकहरु प्रस्तुत हुँदैछन् ? के के कुरा समावेश गर्नु पर्दछ ? के के बुँदाहरु हटाउनु पर्दछ भनेर गहन अध्ययन , विचार, विमर्श हुनु पर्दछ । सांसदहरुले जिम्मेवारी पूर्वक अध्ययन गरी समावेश गर्नु पर्ने विषयहरु र हटाउनु पर्ने विषयहरुका बारेमा प्रस्तुत विधेयकहरुमा धारणाहरु राख्नु पर्दछ ।
संसद नीति निर्माणको माथिल्लो निकाय हो । देशको सर्वोच्च निकाय जसले देशको नीति निर्माणको काम गर्दछ, उसले बनेका नीतिहरुको पनि लागु गर्नु पर्दछ । संसदमा रित्ता कुर्चीहरु देखिँदा देश विदेशमा के सन्देश गइरहेको होला? आफूले निकै उत्साह पूर्वक जिताएर पठाएका सांसदहरुले के के राम्रो काम गर्लान्? के के नयाँ योजनाहरु ल्याउँछन् भनेर आस मानिरहेका जनतालाई के सन्देश दिन्छ होला ?
संसदमा जसले नीति आफै बनाउँछ उसले नै नीतिहरु मान्नु नपर्ने चलन जस्तो भएको छ । आफैले बनाएको नीति नियम नमाने पछि अरु कसले मानिदिने हो ? आयो हाजिरी ग¥यो गयो । बैठक भत्ता, सवारी भत्ता त छँदैछ बैठकमा हाजिरी मात्रै गरेपछि सुविधा प्राप्त भइहाल्ने तर संसद खाली हुने चलनले सांसदहरु देश र जनताप्रति गैरजिम्मेवार बनेको प्रष्ट भएको छ ।
संसद पूँजीपतिको गफ गर्ने थलो हो भनेर आलोचना हुने गर्दछ । संसदले केही गर्न सक्दैन भनेर संसदीय प्रणाली नै गलत छ भन्ने मान्यता राख्ने दलहरु पनि नेपालमा छन् । संसदमा हाटा प्रवृति हुँदा संसद विगतमा भनिएको जस्तो गफ गर्ने थलो पनि नरहेको देखाउँछ । गफ गर्नलाई त उपस्थित हुनु पर्दछ । बैठकमा बस्नु पर्दछ । उपस्थि नहुने भएकाहरु पनि अन्तिम समयसम्म नबस्ने हुँदा संसद खाने र जाने थलो मात्रै भएको छ । सांसदहरुको यो प्रवृतिले गर्दा संसदीय व्यवस्थाको अन्त्य नै आवश्यक हुँदै गइरहेको आवाज पनि बलियो बन्न थालेको छ ।
जननिर्वाचित संस्थाहरु जनताको दैनिक कामसँग जोडिएका हुन्छन् काम प्रति आफै जवाफदेही हुनु पर्ने हो तर त्यस्तो हुन सकेको छैन । सांसदहरु संसदप्रति जवाफदेही नभएको यसले देखाउँछ । सांसदहरु बैठक छाडेर अन्य कार्यक्रमहरुमा सहभागी हुन जाने,एनजिओ आइ. एन. जि.ओ.हरुको कार्यक्रममा सहभागी हुने गरिरहेका हुन्छन् ।

