-लालबहादुर जाग्री
जनसम्बन्ध विस्तार अभियान २०८१÷२०८२मा देशका चार स्थान पाँचथरको चियोभन्ज्याङ्ग, झापाको काकँरभिट्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाधाटबाट एकैसाथ २०८१ चैत्र ४ गते शुरु भएर वैशाख १८ गते काठमाण्डौको कुपण्डोलमा चारवटै टोलीको सहभागिता सहित जुलुस प्रदर्शन, जनसभा सम्पन्न गर्दै मे दिवसको सन्दर्भ पारेर समापन भएको छ ।
जनसम्बन्ध विस्तार अभियानको टोली न.४ को टोली सदस्य रही अभियानमा प्रत्यक्ष सहभागी भइ अभियानका सकारात्मक पक्षहरुलाई लेखका माध्यमबाट अभिव्यक्त गर्ने प्रायः यस लेखमा गरिएको छ । जनसम्बन्ध विस्तार अभियानका क्रममा जनसभा कोणसभाहरु, भित्तेलेखन, जनभेटघाट, जुलुश प्रदर्शन, श्रम शिविर, अन्तरक्रिया, प्रशिक्षण, पर्चा वितरण, शहिद परिवारहरुसँग भेटघाट गरी सम्मान प्रकट, शहिदहरुको शालिकमा श्रद्धाञ्जली अर्पण, जिल्ला–जिल्लामा पत्रकार सम्मेलन, भेटघाट आवश्यकता अनुसार स्थानीय प्रशासन (प्रमुख जिल्ला अधिकार) र पार्टीहरुसँग पनि भेटघाट छलफल कार्यक्रम सम्पन्न भएका छन् ।
अभियानको क्रममा सरदर एक टोलीले एक दिनमा ५ वटा कार्यक्रम गर्दा पैतालिस दिनमा एक टोलीले २२५ वटा र ४ टोलीले ४५ दिनमा करिव ९ सयवटा कार्यक्रम गरेर प्रत्यक्ष रुपमा करिव ५ लाख भन्दा बढी जनतासँग सम्बन्ध कायम राख्न सफल भएको छन् । अन्य सञ्चार माध्यम पत्रकार सम्मेलन् भेटघाट , अन्तक्रिया, भित्तेलेखन, टि.भि., एफ.एम., रेडियो, सामाजिक सञ्जाल, युटुव, अनलाईन पत्रपत्रिका, प्रिण्ट पत्रिका तथा व्यक्ति–व्यक्तिका माध्यमबाट पार्टीका विचार संसारभरि छरिएर रहेका करिव चालिस लाख नेपालीहरु भन्दा बढी जनता समक्ष प्रचारात्मकरुपमा पु¥याउन अभियान सफल भएको छ । यसले आगामी दिनमा हजारौ हजार जनतालाई संगठित गर्न सकिने सम्भावनाको आधार तयार गरेको छ ।
अभियानका रुटमा परेका जिल्ला, नगरगाँउ, वडा, वस्तीको भौगोलिक वनावट त्यहाँका बासिन्दाको जीवनशैली, कला, सँस्कृति, आनीवानी, रीतिरिवाज, चालचलन, जीवनस्तर उनीहरुमाथि स्थानीय जाली फटाहा दलाल र यिनका एजेण्टहरुले गरेको शोषण, अन्याय, अत्याचारमा पिल्सिएर जनता कष्टकर एवं अन्यायपूर्ण जीवन जिउन बाध्यारहेका छन् । त्यसलाई सरकारी निकायहरु वडा कार्यालय, प्रहरी प्रशासन कानुन तथा अदालतले गरेको संरक्षण तथा दलीय सिण्डिकेटको मारमा सर्वसाधारण जनताको उठिवास कसरी भएका छन् भन्ने कैयौं वास्तविक घटना पीडितको मुखारविन्दुबाट सुन्न देख्न हेर्न पाइयो भन्ने कैयौं घटनाको प्रत्यक्ष अनुभूति गर्न पनि पाईयो । यसले अभियानको औचित्यता र आवश्यकतालाई अझ बोध गराउनुको साथै जनपरिचालन सहितको अझ उच्चस्तरको वैधानिक तथा अवैधानिक संघर्षका अभियान सञ्चालन गर्नका लागि पार्टीलाई प्रेरणा प्राप्त भयो ।
अँध्यारो सँगै उज्यालो, उकालोसँग ओरालो, अफ्ट्यारो सँगै सजिलो दुःख सँगै सुख हुन्छ भन्ने द्वन्द्वात्मक मान्य राख्ने हामी अभियानकर्ताहरुका लागि अभियानको क्रममा आएका सामान्य असजिला अफ्ट्यारा असहजताले नै अभियानलाई सफलतामा पु¥याएको छ । अभियानले आंशिकरुपमा जवस मोर्चाका नयाँ सदस्यता वितरण गरेर संगठन निर्माणका काम गरे पनि मूलतः प्रचारात्मकको काम व्यापकरुपमा भएको छ । यसले देशव्यापी व्यापक संगठन निर्माणका लागि आधार तयार गरेको छ । अभियानको क्रममा जनताले पार्टीप्रति माया, विश्वास र आशा व्यक्त गर्दै शुभइच्छा पनि प्रकट गरेका छन् । हामीहरुले पार्टी एकता गर्दा हामीसँग भएका सवल, दुर्वल कार्यशैली, तौरतरिका, आनीवानी, सोचाई बुझाई कार्यपद्धतिहरु बीच पनि सँग–सँगै एकता हुन गएको थियो । यसले हामीहरुका बीचमा रहेका फरक फरक कार्यशैली, पद्धति, तौरतरिका, आनीवानीहरु पनि थिए । अभियानले अभियान टिमका सदस्यहरु, जिल्लाबाट अभियानमा सहभागी भएका नेता कार्यकर्ताहरु सँग–सँगै खाँदा, बस्दा, सुत्दा हिंड्दा, कुराकानी वा विचार भावना आदानप्रदान गर्दा कामरेडहरु बीच एक–अर्कालाई चिन्ने, बुझ्ने, एक–दोस्रोका ज्ञान, सीप, कला , क्षमता, दक्षता अनुभव सिक्ने सिकाउने, चिन्ने चिनाउने, गरी एक आपसमा अन्तरघुलन हुने महत्वपूर्ण काम पनि अभियानले आंशिकरुपमा भएपनि गरेको छ । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी, छलफलमा स्वतन्त्रता काम कुरामा एकरुपता ल्याउनका लागि अन्तरघुलनले सकारात्मक भूमिका निर्वाह गरेको पाईन्छ ।
जिल्ला –जिल्लामा जे–जस्ता संगठनका प्रकृति र अवस्था रहेको छ मूलतः संगठन परिचालित भएको देखिन्छ । पार्टीले क्रान्ति गर्दैन भनी भ्रमित भइ निरास, निस्कृय भई पलायनको दिशामा उन्मुख कतिपय सँगठन व्यक्तिलाई अभियानले व्यवहारतः आशा विश्वास दिलाएर व्यक्ति र संगठनलाई श्वास उर्जा भरेर जीवन्त तथा चलायमान बनाउन केही हदसम्म सफल भएको छ । अभियानले पार्टीमा केन्द्रदेखि सेल कमिटीसम्म देशव्यापी रुपमा स्कुलिङ र प्रशिक्षणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकताको बोध पनि गराएको छ । पार्टीमा नयाँ सदस्य थपिने क्रम जाम भएर बसेको स्थितिमा जवस जातीय, क्षेत्रीय र वैधानिक मोर्चाका भेला सम्मेलनहरु यथाशीघ्र नगरेमा पार्टीमा नयाँ सदस्य भर्ना गर्ने काम जाम भएर बसेको अवस्थालाई तोड्न र पार्टी वरिपरी हजारौं जनतालाई गोलबन्द गर्न जवस क्षेत्रीय, जातीय र वैधानिक मोर्चाका सदस्यता वितरण संगठन निर्माण सगँ–सँगै सबै तहका भेला, सम्मेलनलाई अभियानकै रुपमा अगाडि लिएर जानुपर्ने अभियानले आवश्यकताको बोध गराएको छ ।
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, विचार भएर मात्र पुग्दैन, क्रान्तिकारी संस्कृति र चरित्र पनि पार्टीमा हुनु अति आवश्यक हुन्छ । क्रान्ति कुनै मुठ्ठीभर वीरहरुले मात्र सम्पन्न गर्न नसक्ने भएकोले हजारांै लाखांै जनतालाई पार्टी वरिपरि गोलबन्द गर्दै सचेत जनताले मात्र संघर्ष र क्रान्तिलाई साथ दिंदै सफलतामा पु¥याउन सक्छन् । क्रान्तिकारी पार्टीका लागि नेता, कार्यकर्ता कस्ता हुनुपर्छ भन्ने बारे माओले भनेका छन् –कार्यकर्ता र नेताहरु माक्र्सवाद–लेनिनवादमा पोख्त, राजनीतिक दृष्टिकोणले दूरदर्शी, काममा दक्ष, आत्म–वलिदानको भावनाले परिपूर्ण, स्वतन्त्ररुपले समस्याहरुको हल गर्न सक्ने सामर्थता, कठिनाई आइपर्दा अडिग, राष्ट्र वर्ग तथा पार्टीको सेवामा समर्पित र इमान्दार हुनपर्छ । पार्टीले यस्ता नेता कार्यकर्तामाथि भरोसा राखेर आम जनतासँग सम्बन्ध स्थापना गर्न सक्छ । आम जनताले यिनै नेता कार्यकर्ता माथि भरोसा गरेर शत्रुलाई पराजित गर्न सक्छ । नेता कार्यकर्ताले स्वार्थीपना, व्यक्तिवादी, वीरता, आडम्वर, अल्छिपना निस्क्रियता र संकीर्ण हठीपनाबाट मुक्त हुनु पर्छ भनेका छन् । (माओका छानिएको रचना भाग–२३१) कार्यकर्ताबारे माओले भनेका यी कुराहरु हामीहरुमा नगण्य मात्रामा छ कि भन्ने आशँका अभियानको क्रममा देखिएका केही घटनाले उब्जाएका छन् । यसका साथै नेता कार्यकर्ताको राजनीतिक वैचारिकस्तर उठाउन भौतिकवादी दर्शन, विश्वदृष्टिकोण, पार्टीको कार्यदिशा विधान नियमावली क्रान्तिकारी सँस्कृति र सँस्कार, चरित्र, अनुशासन लगायतका विषयमा पार्टीमा तुरुन्त देशव्यापी सेलदेखि केन्द्रीय समितिसम्म योजनाबद्ध तरिकाले स्कुलिङ र प्रशिक्षण पछि पार्टीले निश्चित मापदण्ड बनाएर पार्टी सुदृढीकरण तथा शुद्धिकरण सञ्चालन गर्नुपर्ने अभियानको क्रममा देखिएका भोगिएका वस्तुगत अवस्थाले यिनको आवश्यकता र अनिवार्यताको दिशाबोध गराएको छ । यसका साथ– साथै जनसंघर्षलाई शहर र गाउँका मुद्दाहरु अध्ययन अनुसन्धान विश्लेषण गरेर योजनाबद्धरुपमा संघर्षका सबै स्वरुपहरुलाई आवश्यकता र औचित्यताका आधारमा अवलम्वन गरेर जानुपर्ने जनसम्बन्ध अभियानले शिक्षा सिकाएको छ । अतः जनसम्बन्ध विस्तारको एउटै अभियानले पार्टी भित्र अन्तरघुलन, पार्टीका नीति, विचार, कार्यक्रम, दृष्टिकोण, दलाल संसदीय व्यवस्थाको भण्डाफोर, जनगणतन्त्रको अपरिहार्यताको प्रचार, संगठन निर्माण र निर्माणका लागि आधार तयार गर्ने काम, स्थानीय पार्टी कमिटी तथा किसान मजदुर, साना व्यापारीमा क्रान्तिप्रतिका आशा र उर्जा प्रदान गर्दै आएको छ ।
देशका फरक–फरक ठाउँ रहेका पौराणिक सम्पदा एवं विश्व सम्पदामा सुचीकृत भएका कतिपय पर्यटकीय ठाउँ तथा भारतबाट अतिक्रमित नेपाली भूमिमा पनि भ्रमण अवलोकन पनि अभियानको क्रममा गर्दै जाँदा जनताको कला सँस्कृति रीतिरिवाज, चालचलन, मनोविज्ञानको अध्ययन गर्ने अवसर प्राप्त हुनुका साथै नेपाल– भारतका सिमानमा रहेका जनताको पीडा पनि हेर्ने बुझ्ने मौका अभियानले प्रदान गरी यस्ता महत्वपूर्ण काम गर्न जनसम्बन्ध विस्तार अभियान सफल भएको छ । यसले निश्चित समयमा पार्टीले कुनै एक कामलाई मुख्यरुपमा केन्द्रित भएर तथा अन्य कामलाई सहायकरुपमा निश्चित गरेमा सफल हुन सकिन्छ भन्ने कुरालाई व्यवहारतः पुष्टि गरेको छ ।
(लेखक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा ३ न. व्युरो इञ्चार्ज हुनुहुन्छ)
जनसम्वन्ध विस्तार अभियानलाई फर्केर हेर्दा
Comments

