प्यूठान वाङमय केन्द्रको भेटघाट कार्यक्रम

मनु वि.क.

काठमाण्डौ । प्यूठान  वाङमय केन्द्र काठमाण्डौको भेटघाट कार्यक्रम २०८२ जेठ २२ गते काठमाण्डौको बुद्धनगरस्थित बुटवल पावर कम्पनी लिमिटेडको सभाहलमा सम्पन्न भएको छ । केन्द्रका उपाध्यक्ष जीवराज भट्टराईको अध्यक्षता र सचिव विजयराज आचार्यको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्यूठान जिल्लाबाट काठमाण्डौ आइ विभिन्न पेसा, व्यवसाय अध्ययन तथा काममा संलग्न भई कला,साहित्य तथा सिर्जनामा संलग्न पुराना तथा नयाँ पुस्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा वामपन्थी नेता तथा साहित्यकार मोहनविक्रम सिंहले पछिल्लो पिँढी गाउँ छोड्ने, शहर पस्ने ,शहर छोड्ने र विदेश पस्ने तथा उतै पलायन हुने र आफ्नो गाउँ ,समाज ,जिल्ला र देशै बिर्सने अवस्था रहेकोले यो हुनु नहुने , देश विदेश जुन ठाउँमा आफु पुगे पनि आफ्नो गाउँ, ठाउँ, जिल्ला बिर्सन नहुने ,माया गर्नु पर्ने बताउनु भयो । साहित्य संस्कृति जगेर्नाको आवश्यकता औंल्याउँदै सिंहले प्यूठानको समग्र विकासमा आफुहरु निरन्तर लागि परेको कुरा बताउनु भयो ।

कार्यक्रममा अर्का सहभागी प्रतिनिधि सभाका सांसद सूर्य थापाले कुनै पूर्वाग्रह र संकीर्ण नभइकन प्यूठानको कला, साहित्य,संस्कृतिको रक्षा, विकास र प्रचारकोलागि लाग्न सबैलाई अनुरोध गर्नु भयो । थापाले लेखनाथ पौड्याल स्वर्गद्वारीका महाप्रभुको जीवनी लेख्न प्रयास गरेका थिए तर लेखनाथले प्रभुले आफ्नो व्यक्तिगत जीवनी बताउन नचाहेकाले तरुण तपस्वी खण्डकाव्य लेखेका थिए भन्ने सन्दर्भ पनि स्मरण गर्नुभयो  ।
पूर्व राजदूत नवराज सुवेदीले साहित्यले जनजीवनको चित्रण मात्रै गर्दैन, जीवनलाई उत्साहित पनि गर्ने कुरा बताउँदै आफूले होम कार्की रचित उपन्यास सनैया पढेर खाडीमा नेपाली श्रमिकहरुले गरेको मेहनत पसिनाले कसरी समृद्धि आएको छ भन्ने कुरा थाहा पाएको बताउनु भयो । नाट्य प्रतिष्ठान पूर्व उपकूलपति हरिहरशर्माले साहित्य, कला,संस्कृति समुन्नत नभएसम्म राष्ट्र समुन्नत हुन नसक्ने उल्लेख गर्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका रामबहादुर बुढाले प्यूठानको साहित्य र संस्कृतिलाई प्रकाशमा ल्याउन र प्यूठानले गरेको योगदान उदाहरणकोलागि प्यूठानी शिक्षकहरुले वागलुङ,रोल्पा, रुकुम,जाजरकोट ,कैलाली, हुम्लासम्म ल्याएको शैक्षिक जागरण ,वामपन्थी राजनीतिको क्षेत्रमा पु¥याएको योगदानको अनुसन्धान गर्ने हो भने त्यो निकै ठूलो काम हुनेछ , हामीले गर्नु पर्ने यस्ता कैयौं कामहरु छन् भन्ने कुरा राख्नु भयो ।
कार्यक्रममा प्यूठान साहित्य परिषदका अध्यक्ष विमला खनाल,पूर्व न्यायधीश डिल्लीराज आचार्य ,प्रगतिशील लेखक संघका उपाध्यक्ष समिर सिंह, हास्य कलाकार भटभटे माहिलो,अधिवक्ता विमल पोख्रेल, साहित्यकार मनु वि.क.,सशस्त्र प्रहरीका डिएसपी अमित सिंह, विरही कान्छा,कवि रिमा केसी,मिनराज पोख्रेल ,रुद्र विष्ट,महेश आचार्य, नविन केसी ,अस्मिता केसी ,उजेला वि.क.,मुना बाहोरा,मिनराज पोख्रेल लगायतले प्यूठानको कला,साहित्य, संस्कार,संस्कृतिको विकासमा जुन ठाउँ भए पनि लाग्नु पर्ने बताउनु भयो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित