–डा. केशव देवकोटा
पत्रकार, लेखक तथा सञ्चार विज्ञ
० यहाँले जीवनको अधिकांश अवधि पत्रकारिता क्षेत्रमा व्यतित गर्नुभएको छ । सबैभन्दा पहिले तपाई जोडिएको वा समाचार लेखेको पत्रिका कुन हो ?
–योजना साप्ताहिक । काठमाडौंमा पढ्ने बेला विभिन्न आन्दोलनका कार्यक्रम हुन्थे । ती कार्यक्रमहरुको समाचार पत्रिकाहरुलाई दिनुपर्दछ भनेर हामीले पत्रिकाका कार्यालयहरुमा समाचार लेखेर दिने गर्दथ्यौं । शक्ति लम्सालजीले चलाएको योजना साप्ताहिक थियो । अरुले समाचारदिंदा काँटछाँट गर्नुपर्दछ तर तपाईले समाचार लेख्नुभयोभने काँटछाँट गर्नुपर्ने दुःखनै गर्नुपर्दैन भनेर मलाई समाचार लेख्न साथीहरुले पे्ररित गर्नुभयो । शक्ति लम्सालजीले देवकोटाजी लौ न यो विषयमा यो लेख्नुुस्, त्यो लेख्नुस् भन्नुहुन्थ्यो । विस्तारै अन्य पत्रिकामा लेख्न थालेँ । पञ्चायतकालमा योजना साप्ताहिक नेकपा (चौम) धारको मुखपत्र जस्तै थियो । म २०३७ सालको जनमत संग्रह भन्दा पहिले पत्रकारिता क्षेत्रमा प्रवेश गरेको हुँ ।
० पत्रकारिता यहाँको पेशा भयो । पत्रकारितासम्बन्धी यहाँले औपचारिक शिक्षा कसरी प्राप्त गर्नुभयो ?
–पब्लिक क्याम्पसबाट मैले जन प्रशासन विषयमा स्नातक र स्नात्तकोत्तर पढेको २० वर्षपछि फेरी पत्रकारिता बिषयमा स्नात्तकोत्तर बढेँ । त्यसैले मलाई विद्यावारिधि गर्न प्रेरित गरेको हो । मैले पत्रकारिता विषयमा डिग्री लिएँ र ०७० मा “रेडियो” का विषयमा विद्यावारिधी गरें । रेडियोसम्बन्धी जनताको बुझाई के छ, जनताले रेडियोको कुन कुन ठाउँमा कुनकुन कार्यक्रम सुन्छन् ? रेडियोसँग सम्बन्धित विभिन्न प्रश्न बनाएर रौतहट, भक्तपुर र रसुवामा सर्भेगरेको थिएँ ।
० अहिले कुन कुन पत्रिका चलाउनु भएको छ ?
–म अहिले देशप्रेम साप्ताहिक र सन्ध्याकालीन डट्कमको प्रधान सम्पादक हुँ । अरु विभिन्न पत्रपत्रिकाहरुमा पनि लेख लेख्छु ।
० तपाईलाई पत्रकारिता क्षेत्रमा लाग्न के चीजले प्रेरित ग¥यो ?
–अध्ययन लेखन गर्ने मेरो शुरुदेखिको जुन स्वभाव थियो । त्यसले मलाई यो क्षेत्रमा लाग्न र त्यसमा निरन्तर रहन बल पु¥यायो । सानो छँदै मैले स्कूल पढ्दा कविता लेख्ने गर्थें । २०३६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनका समाचार लेख्थें ÷ त्यतिखेर कार्वन राखेर समाचार लेख्नु पर्दथ्यो । समाचार लेखेर विभिन्न पत्रिका कार्यालयमा पु¥याउने गरिन्थ्यो । अरुले लेखेको समाचार पुनर्लेखन वा काँटछाँट गर्नुपर्ने तर मेरो समाचार काँटछाँटगर्न नपर्ने भएपछि पत्रिकाका सम्पादक वा संचालकहरुका लागि म प्यारो बनेँ । मलाई समाचार बनाइदिनुन, लेख लेख्नु न भनेर भन्न थाले । समाचार लेखे वापत वा पत्रिकालाई मद्दत गरे वापत पैसा पनि आउन थाल्यो । त्यसरी मेरो पहिचान पत्रकार बन्दै गयो ।
० पत्रकार बन्दा वा लेखेवापत अप्ठ्यारो परेका घटना अर्थात् अविस्मरणीय घटनाहरु पनि सुनाउनु न ।
–जीवनमा पत्रकारिता गर्दाका कैयौं अविस्मरणीय घटनाहरु छन् । तर मैले यहाँ तपाईलाई पाँचवटा घटना संक्षिप्तमा सुनाउँछु …
१) ललितपुरको गोदावरीमा आइसवर्ग विअरको फ्याक्ट्री थियो । त्यो विअर फयाक्ट्रीको वरपरका छिमेकी १०÷१२ जना कृषकहरु मैले कामगर्ने चर्चा साप्ताहिकको कार्यालय क्षेत्रपाटीमा आए । विअर फ्याक्ट्रीबाट निस्केको जौंको छोक्रा खाएर हामी किसानहरुको भैंसी मरे । विअर फ्याक्ट्रीबाट निस्केको छोक्रा विषालु रहेछ भनेर समाचार बनाइदिनु प¥यो भने । आइसवर्ग विअर फ्याक्ट्रीको विषालु छोक्रा खाएर किसानका भैंसी मरे भनेर मैले समाचार लेखें । यो कुरा मैले २०४० सालतिर चर्चा साप्ताहिकमा लेखेको कुरा हो । त्यसपछि एक जना युवा राजदरबारबाट मलाई भेट्न आए । तपाईले लेखेको समाचार पढेर मान्छेले विअर खान छाडे । विअर विक्री भएन । आइसवर्ग विअरको फ्याक्ट्रीको मालिकको हो तपाईलाई थाहा छ ? भनेर सोधें । मैले भने मलाई थाहा छैन । उनले भने–त्यो विअर फ्याक्ट्री राजा वीरेन्द्रको भिनाजुको हो । तपाईलाई थाहा छ कि छैन नेपालमा राजा र राजपरिवारलाई असर हुने कुनै समाचार लेख्नुहुन्न । त्यही भएर तपाईले गल्ती भयो भनेर क्षमा मागेर समाचार छाप्नुस् । यदि तपाईले समाचारको खण्डन गर्दै क्षमा मागेर समाचार लेख्नु हुन्न भने तपाईलाई १८ महिनादेखि ६ वर्षसम्म जेल जानुपर्दछ । राजाको जगजगी भएका बेला मैले “भूलवस छापिएको समाचार खण्डन गरिएको छ ।…. क्षमा प्रार्थी छु ।” भनेर समाचार छापें । समाचार छापेपछि ती युवा फेरि आएर मलाई भेटे । “राजाको भिनाजुबाट धन्यवाद वक्स भएको छ ।” भन्ने सुनाउन तिनी मलाई भेट्न आएका रहेछन् ।
२) ०२०४३ तिर मनाङमा एकजना गुरुङले राष्ट्रिय पञ्चायतको चुनाव जिते । मैले राम्रैसँग चिनेको व्यक्तिले उसले पैसा बाँडेर चुनाव जित्योभन्ने खबर दिए । मैले चर्चा साप्ताहिकमा फलानाले पैसा बाँडेर चुनाव जित्यो भन्ने समाचार छापँे । त्यतिबेला चर्चा साप्ताहिकमा नै मैले काम गर्थे । चर्चा साप्ताहिकको कार्यालय क्षेत्रपाटीमा थियो । म क्षेत्रपाटीचोकमा हिंड्दै थिएँ । एक जना युवकले आएर मलाई अचानक भौतिक आक्रमण गरे । मैले कुनै प्रतिवाद गरिन । मात्र ए भाई किन हानेको भनेर सोधें । रिसाएर उसले भन्यो किन फलाना माननीयको बेइज्जत गरिस् ? तैंले पैसा बाँडेको कहाँ देखिस् ? भनेर निकै करायो । निकै रिसायो । त्यहाँ क्षेत्रपाटी चोकमा मलाई सबैले पत्रकार भनेर चिन्थे । ममाथि आक्रमण भएको देखेर स्थानीयहरु आएर मलाई जोगाए । केही स्थानीयले उसलाई उल्टो कुटे पनि । त्यो मान्छे त्यही रापसको भाई यस्तै नाता पर्ने व्यक्ति रहेछ । अर्को दिन त्यो व्यक्ति आफै फेरि कार्यालयमा आयो र भन्यो, “हिजो मैले गल्ती गरेछु माफ गर्नुस् दाई” भन्यो । त्यसपछि सँगै चिया नास्ता खाने, गफगर्ने, ऊ लामो समयसम्म साथी बन्यो ।
३) नुवाकोटबाट एकजना चिने जानेकै व्यक्तिले मलाई खबर दिएकि एकजना छिमेकीको बोकाले अर्को छिमेकीको वारीमा गएर वाली खाएछ । बारीको मालिकले हंसियाले बोकाको कान च्वाट्टै काटेर पोलेर खायो । पछि ती व्यक्ति मेरै कार्यालयमा आएर भने–“सर ! बोकाको कान काटेको हो तर कान पोलेर खाएको हैन ।” मैले फेरि समाचार लेखिदिएँ–“बोकाको कान काटेको हो, कान पोलेर खाएको होइन !”
४) २०४१ मा सिन्धुपाल्चोकमा पिस्कर काण्ड भयो । बागमतीको अञ्चलाधिश कार्यालय रत्नपार्कमा थियो । पिस्कर काण्डकाबारेमा बुझ्न भनेर काठमाडौंबाट अञ्चलाधिशले पत्रकारको ठूलै टोली पठाउने भए । त्यो टोलीमा म पनि परें । अञ्चलाधिशले सिन्धुपाल्चोकको सिडिओलाई पत्रकारहरुलाई खानपिनको राम्रो व्यवस्थागर्नु भनेर निर्देशन दिएका रहेछन् । सिडिओले लामो साँघुमा पत्रकारहरुलाई खानपिनको व्यवस्था गरेको रहेछन् । अधिकांश पत्रकारहरु त्यही दारुपानीमा भूलें । नयाँ किरणका रमेश खड्का म, सहित तीनजना पत्रकार उनीहरुलाई छाडेर माथि पिस्करगाउँमा निस्कियौं । गाउँमा घटनाबारे सोधी खोजी गर्दै गयौं । प्रहरीको डि.एस.पी.ले के गर्न खोजेको भने, अलि हप्कीदप्की गर्लान्जस्तो गरेका थिए । हामी अञ्चलाधीसले पठाएका पत्रकार भनेपछि समान्य अवस्थामा आए । पिस्कर घटनामा मरेका मान्छेहरुलाई कहाँ पुरिएको छ देखाउनुस भन्यौं । घटनास्थल देखाउन भन्यौं । उनीहरुले देखाए । घटना विभत्स थियो । मरेको लास घिसारेको रगत बगेको देखिन्थ्यो । पिस्करबाट फर्किएपछि मैले हामी यसरी यसरी यहाँ पुग्यौं । जनताले यसरी घटनाको विवरण सुनाए । घटनास्थलको अवस्था हामी पुग्दा यस्तो थियो भनेर लामै लेख बनाएँ । मेरो त्यो लेख धेरैले पढेका थिए । गृह प्रशासनबाट धम्की समेत आयो ।
५) बहुदल पुनस्र्थापना पछिको पहिलो चुनावमा २०४८ मा पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ काठमाडौं–४ बागबजार क्षेत्रबाट निर्वाचनमा उम्मेदवार बनेका थिए । मरिचमान आफैले पर्चा बाँड्दै आएको उनको फोटोसहित व्यानर न्यूज बनाइदिएँ । लगत्तै सन्ध्याकालीनमै कामगर्ने अर्का पत्रकारले “मरिचमानले पैसा बाँडेर भोट किने” भनेर समाचार ल्याए । त्यो पनि सन्ध्याकालीनमा छापियो । गुण्डा टाइपका २०÷२५ जना केटाहरु सन्ध्याकालीनको कार्यालयमा आएर उधुम गरे । टेबुल ठटाए । मलाई पिट्छन् किजस्तै गरे । मैले मरिचमानको त्यति ठूलो समाचार पनि छापिदिएको छु । भाईहरुले त्यो नहेर्ने तपाईहरु नकारात्मक मात्र हेर्ने भनेर सुस्त बोलें । आधा घण्टासम्म उनीहरु कराएँ, उफ्रिएँ । म हाँस्दै बसिरहें । कराउँदा कराउँदा थाकेपछि अन्त्यमा जाउँ दाई नास्ता खान भन्न थाले । म जान्न भनेर उम्किए । उनीहरु नजिकै होटेलमा पसे । रक्सी खाएपछि यिनीहरु निहुँ खोज्न यहीं आउँछन् भनेर म कार्यालय बन्द गरेर हिंडे । उनीहरुसँग पछिसम्म पनि हेलो हाई भई रह्यो । जीवनमा यस्ता कैयौं स्मरणीय घटनाहरु छन् ।
० पत्रकारिता गर्दा प्रतिगमनकाल र जनयुद्धकालको पनि त घटनाहरु स्मरणीय छन, होला नि ?
– छन् । भक्तपुर सल्लाघारीमा मेरो घरमा एक दिन राती अचानक डे«स लगाएका मिलेट्री आए । त्यही टिम मध्येको एक जनाले नमस्ते केशव सर भन्यो । मैले पहिले यही तपाईको पत्रिका सन्ध्याकालीन बेचेर हिंड्थे । अहिले यता सेनामा भर्ति भएको छु भने । त्यसपछि उनीहरुले खानतलासी गरेनन् । यदि पूरै खानतलासी गरेको भए, माक्र्सवादी किताव मसँग थिएँ । खतम पार्ने रहेछन् भन्ने लाग्यो ।
–काभ्रेको लामीडाँडामा प्रहरी र माओवादी भीडन्तमा दुवै पक्ष मरेभन्ने समाचार आयो । हामीलाई काभ्रेबाट सूचना दिने मान्छे थिए । विहान ८ बजे समाचार आयो । दिउँसो १२ बजे सन्ध्याकालीनले त्यो छाप्यो । प्रदिप शमसेर जवरा आइजिपी थिए । यता हामीले समाचार छापिसक्यौं । उता प्रहरी हेडक्वाटरलाई दरवारले खै घटनाको रिपोर्ट भनेर ताकेता गरेको रहेछ । प्रहरीले चिफ सापले बोलाउनु भाछ भनेपछि म वाइक लिएर गएँ । ड्युटीमा बसेको प्रहरीले गेट खोलेर चिफ साफले बोलाएर आएको भनेपछि हस्याङफस्याङगर्दै मलाई कार्यालयमा पु¥याएँ । प्रहरीले भन्दा पहिले सूचना पाएकोमा उनीहरुले आश्चर्य ब्यक्त गरे । अबदेखि समाचार भेरिफाई गरेर मात्र छाप्नु भन्ने उनीहरुको भनाई थियो ।
० तपाई कसरी कम्युनिष्ट आन्दोलनसँग जोडिनु भयो ?
– म विद्यार्थीकालदेखि नै कम्युनिष्ट आन्दोलनसँग जोडिएको हुँ । रामेछापको गौरीशंकर माविमा सी.पी. गजुरेल सरले पढाउनु हुन्थ्यो । म पनि त्यही पढ्थें । पञ्चायत विरोधी गतिविधि गरेपछि शिक्षक विद्यार्थी सबैलाई स्कूलबाट निकालिदिए । त्यसपछि हामी सिन्धुलीको कमला मावि गयौं । त्यसरी सुरुदेखि नै म चौथो महाधिवेशन धारमा जोडिएको हुँ ।
० चौम विभाजनको कथा पनि तपाईलाई थाहा छ ?
– पुष्पकमलका काकाका छोरा नारायण दाहाल, जो अहिले राष्ट्रियसभाको अध्यक्ष छन्, सित म २०३४ देखि २०३६ सम्म भक्तपुरको सानो ठिमी क्याम्पसमा पढ्दा निकै नजिकका साथी थियौं । क्याम्पसमा विभिन्न माग राखेर आन्दोलन चल्यो । सानो ठिमी शिक्षा क्याम्पसका विद्यार्थीहरुले रामपुर गएर वि.एस.एजी. पढ्न पाउनुपर्दछ, क्याम्पस अगाडिको बाटो पिच हुनुपर्दछ लगायतका माग राखेका थिए । ती माग पूरा पनि भए । त्यतिबेला ती माग पूरा गराउन म लगायतका साथीहरु आमरण अनसन बसेका थियौं । म ५ दिनमा बेहोस् भएछु । वीर अस्पताल लगिएछ । भिटामिनको सुई “डेक्स्टोज सुई” दिइएछ । मलाई गान्धीवादी प्रकारको आन्दोलनमा लागेको भनेर कार्वाहीगर्ने चुनौती पनि दिइयो । लिलामणि अखिल (छैठौं) को केन्द्रीय अध्यक्षहुँदा म पनि केन्द्रीय सदस्य थिएँ । एउटा मुद्दामा बुटवल गएँ । जहाँ कृष्ण धमलासँग भेट भयो । उनले पार्टी फुटिसकेको छ । गोरखपुर जाउँ भने । हामी गोरखपुर गइयो । पहिले मोहनविक्रमलाई भेटियो । त्यसपछि निर्मल लामाजीलाई भेट्दा उहाँहरुले पार्टी फुट्दैन भन्नु हुन्थ्यो तर फुट्यो । ०८० पछि सीपी सरले आफ्नो पार्टीमा जोडिनु पर्छ भन्नुभयो । फेरि म पार्टीमा जोडिएँ ।
० तपाईका लेखहरुमा राष्ट्रिय स्वाधीनताको कुरा उठाउनु हुन्छ । देशको स्वाधीनता खतरामा पर्दै गएको हो र ?
–सिक्किमलाई भारतले खाएको घटना हामीले देखेकै छ । २०३९ सालमा भारतले सिक्किम खाएको बेला म विद्यार्थीको टिम लिएर दार्जिलिङतिर घुम्न जाँदा सिक्किम पुगेको थिएँ । भारतले सिक्किम आफूमा विलय गरिसक्दा पनि स्थानीय जनतालाई थाहा थिएन । सिक्किमका राजा (चोग्याल) की श्रीमती अमेरिकन थिइन् । रानी हुन आएकी, राजतन्त्र नै सकिएपछि श्रीमतीले पनि छाडेर गइन । पछि राजाले दिल्ली गएर इन्दिरा गान्धीलाई भेट्न खोज्दा पनि उनले भेट्न पाएनन् । कति दुःखद कुरा छ ? नेपाल अहिले संकटमा छ । यहाँका दलका नेताका कारण संकटमा छ । भारतमा गएर प्र.म. मोदीलाई भेटनुभन्दा पहिले नेताहरुले भारतीय सरकारको सुरक्षा सल्ल्लाहकार अजित डोवललाई भेटेर मात्र मोदीलाई भेट्छन् ।
० नेपालमा राजतन्त्र र हिन्दुराज्य फर्काउने राजावादीहरुको आन्दोलनलाई भारतको संस्थापन पक्षले सहयोग गरेको छ भन्ने भनाईप्रति तपाई के भन्नु हुन्छ ?
–मलाई राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापना हुन्छभन्ने लाग्दैन । राजतन्त्र पुनस्र्थापना ग¥यो भने राजाले फेरि उही आफ्ना “राजा” पारा निकाल्न थाल्छन्, भारतलाई टेर्न छाड्छन् । राजाभन्दा त भारतले आफ्नो स्वार्थ पूरागर्न यी दलका नेताबाटै सजिलो हुन्छ । यो कुरा सत्य हो । यहाँका राजावादीहरुसित युपिका मुख्यमन्त्री योगी आदित्यनाथसित गहिरो सम्बन्ध छ । गहिरो सम्बन्ध हुनुको अर्थ राजतन्त्र पुनस्र्थापनामा योगदान गर्छ नै भन्ने छैन ।
० वामपन्थी आन्दोलन र सच्चा कम्युनिष्ट आन्दोलनलाई टेवा पुग्नेगरी मिडिया क्षेत्रको प्रयोग सम्बन्धमा तपाईको भनाई के छ ?
– आजको आवश्यकता भनेको खोजी पत्रकारिता हो । यदि समाजका सत्यतथ्य कुराहरु बाहिर ल्याउने होभने हाल सत्ता र शक्तिमा रहेकाहरु नाङ्गिने अवस्था आउँछ । ०४६ को परिवर्तन अघिसम्म कम्युनिष्ट पार्टीहरुले सञ्चारमा ठूलो महत्व दिएका थिए । पार्टी पत्रकारिता समेत हुन्थ्यो । विचारोत्तेजक लेख र टिप्पणीहरु छापिन्थे । आज त्यो स्थिति छैन । आजको अवस्थामा प्रविधिका कारण पार्टीको ५० प्रतिशत काम मिडिया मार्फत गर्न÷गराउन सकिन्छ । सबैले यसतर्फ ध्यान दिन आवश्यक छ ।
० पत्रकारिता क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई तपाईको सल्लाह के छ ?
–पत्रकारिता ज्यादै जिम्मेवार र बौद्धिक क्षेत्र हो । यसलाई ब्ल्याकमेल गर्ने माध्यम ठान्नेहरु धेरै टिक्न सक्दैनन् । त्यसैले पत्रकारिताको सही अभ्यास गर्ने सवालमा नयाँ पुस्ताले बढी ध्यान दिनु पर्दछ । देश र जनताप्रति जिम्मेवार भएर कलम चलाउनु नै पत्रकारिताको धर्म हो । यो कुरालाई सबैले बुझ्नु आवश्यक छ ।
० धुजा धुजा भएको क्रान्तिकारी आन्दोलनलाई बलियो बनाउने उपाय के देख्नु हुन्छ ?
–नेपालको कम्युनिष्ट आन्दोलन पुनसंयोजन हुन आवश्यक छ । कतिपयलाई साम्राज्यवादीहरुले प्रयोग गरेका छन् । नेपालमा भैरहेको विदेशी हस्तक्षेप र नेपालमा रहेका उनीहरुका दलालको भण्डाफोरलाई तीब्र बनाउने होभने नेपालको कम्युनिष्ट आन्दोलन फेरि सही बाटोमा आउँछ ।
० हाँक साप्ताहिक मार्फत भन्नु पर्ने थप केही छ कि ?
–हाँक साप्ताहिकप्रति मेरो शुरुदेखि नै ज्यादै सद्भाव र चासो छ । यसका संस्थापकसँगको सामिप्यताले पनि मलाई त्यस्तो भएको हुनसक्छ । हाँक साप्ताहिकले निर्भिकतापूर्बक शोषित पीडित नेपाली जनताको पक्षमा खरो ढंगले आफूलाई प्रस्तुत गरोस यही मेरो कामना छ ।

