पुराना दिनको सम्झना गर्दै वृद्ध वामपन्थी नेता सिद्धिलाल सिंह

रामबहादुर बुढा, काठमाडौँ। वृद्ध वामपन्थी नेता सिद्धिलाल सिंहलाई भेट्ने इच्छा धेरै पुरानो हो। उहाँ नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेताहरू मध्ये एक हुनुहुन्छ । खासगरी २०२८ सालमा गठन भएको न्युक्लियसको सदस्य भएकाले उहाँ सँग भेट्ने मेरो ईच्छा थियो । मोहनविक्रम सिंह, मनमोहन अधिकारी, निर्मल लामा लगायतका नेताहरु जेलबाट निस्किएपछि नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नका लागि सुरुवात गरिएको केन्द्रीय न्युक्लियसमा सिद्धिलाल सिंह पनि हुनुहुन्थ्यो। त्यही भएर उहाँलाई भेट्नको निम्ति कुनै समय मैले कमल कोइराला सित सम्पर्क नम्बर लिएको थिएँ । कोइराला पनि न्युक्लियसकै सदस्यहरू मध्ये एक हुनुहुन्थ्यो । कमल कोइराला पोहोर साल
१७ चैत २०८१ मा वितेर जानू भयो । सिद्धिलाल सिंहलाई सम्पर्क अभावका कारण लामो समयसम्म उहाँलाई भेट्न सकिएन तर पछि विद्यार्थी नेता सुभाश जिसीले सिद्धिलाल सिंहका छोराको सम्पर्क नम्बर उपलब्ध गराएपछि मेरा लागि सिद्धिलाल सिंहलाई भेट्न सम्भव भयो । सिद्धिलाल सिंहका छोराले पनि भेट्ने अवसर मिलाईदिनु भयो ।

नयाँ बानेश्वरबाट शङ्खमूल तर्फ लागेपछि बागमतीमा पैदल यात्रु, साइकल र बाइकहरू मात्र हिँड्ने एउटा पुल आउँछ । पुल पार गरेर २०० मिटर जति अगाडि ललितपुरतर्फ गएपछि सिद्धिलाल सिंहको घर आइपुग्दछ। सिद्धिलाल सिंहलाई सहयोग गर्नको निमित्त २२ वर्षदेखि त्यही घरमा काम गर्दै आउनुभएकी एउटी भक्तपुरकि महिलाले सिद्धिलाल सँग कुरा गर्न सहजीकरण गरिदिनु भयो ।

सिद्धिलाल सिंह विक्रम सम्वत १९९२ साल वैशाख १० गते ललितपुरको कोल्खुमा जन्मनुभएको थियो। पिता सिद्धिविर सिंह र आमा आशामायाको कोखमा उहाँ जन्मनुभएको थियो। उहाँ यतिबेला ९० वर्षको उमेर पार गरिसक्नुभएको छ । जीवनका धेरै उकाली ओरालीहरु पार गरिसक्नुभएका सिद्धिलाल सिंहसँग अधिकांश कुराहरु सम्झनामा छैनन् । पछिल्ला र नयाँ कुराहरू त उहाँले झनै सम्झनु हुन्न । धेरै पहिलेका पुराना पुराना कुराहरु मात्रै उहाँका केही सम्झनामा छन्। यहाँसम्म कि २०२८ सालमा गठन गरिएको र आफै आबद्ध भएको न्युक्लियसको बारेमा पनि उहाँलाई सम्झना छैन ।

तपाईँले कम्युनिस्ट पार्टीको सदस्यता कहिले प्राप्त गर्नुभयो भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो २००९ सालमा पुष्पलाल श्रेष्ठबाट पार्टी सदस्यता प्राप्त गरेको हुँ। त्यसरी कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको साल भने उहाँले अझैसम्म बिर्सिनुभएको छैन। सिद्धिलाल सिंहको विगतलाई सम्झाउने उहाँका योगदानहरूलाई स्मरण गराउने दराजभरि राखिएका धुलाका कणले लटपटिएका अङ्ग्रेजी भाषाका करिव १५ वटा लेनिनका
भोलुम ,केही लेनिन संकलित नेपाली भाषामा अनुदित रचना, माओका रचना र केही एमालेका दस्तावेजहरु दराजमा थन्किएका छन् । सिद्धिलाल सिंहलाई विभिन्न संघसंस्थाहरुले सम्मान गर्दा दिएका सम्मानपत्रहरू र सम्मान बोर्डहरू केही दराज भित्र केही दराज माथि राखिएका छन् । ती पुस्तक, ती दस्तावेज र ती सम्मान पत्रले सिद्धिलाल सिंहको विगतलाई बोलिरहे जस्तो लाग्छ। तर अब ती पुस्तकहरु पढ्न सक्ने र पुराना पत्रिका, किताबहरू पल्टाएर हेर्ने, आफ्नै विगतलाई फर्केर हेर्ने , किताबका पाना पल्टाएर रमाउने दिनहरु पनि सिद्धिलालको जीवनबाट टाढा भैसकेकोछ ।

ठूला ठूला बोर्ड साइजका कदरपत्रहरूमा त्यहाँ सिद्धिलाल सिंहको जीवनका मुख्य मुख्य घटनाहरु राखिएका छन् । ००९ सालमा पार्टी सदस्यता प्राप्त गरेको ,२०४८ साल र २०५१ सालमा ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट सांसद बनेको, २०७० सालमा संविधानसभाको सदस्य बनेको र २०७१ सालदेखि राजनीतिक जीवनबाट अवकाश लिएका मुख्य मुख्य जीवनका घटनाहरु कदरपत्रहरूमा उल्लेख गरिएका छन्।

मलाई सिद्धिलाल सिंहका पुराना दिनहरू अझै खोतल्न मन लाग्यो। कतिपय पुराना कुराहरु उहाँका मानस पटलबाट मेटिएका रहेनछन् । सिद्धिलाल सिंहको मानसपटलबाट धेरै मानिसहरूको स्मरण हटिसके पनि केही मानिसहरू भने अझै पनि मानस पटलमा रहेछन् । नरबहादुर,काइलाबा र तुलसीलाललाई उहाँले धेरै पटक सम्झनुभयो । केही समय छोटो समय नै म त्यहाँ बस्दाखेरि उहाँले नरबहादुर, काइलाबा र तुलसीलालको धेरै पटक नाम लिनु भयो । पटक पटक “गना वाने गना चोने, गना वाने गना चोने” अर्थात “ कहाँ जाने कहाँ बस्ने ” भन्दै उहाँले पुरानो चर्चित नेवारी गीत पनि गाउनु भयो । उहाँले आफू अङ्ग्रेजी, हिन्दी, नेपाली,नेवारी भाषामा धारावाहिक भाषण गर्न सक्ने समेत बताउनु भयो। यसबाट उहाँले त्यही किसिमका भाषाहरुमा ज्ञान राख्नु हुने रहेछ भन्ने बुझ्रन सकिन्छ ।

एकैछिनको बसाइमा उहाँले आफू खेलाडी पनि हुँ भन्न भ्याउनु भयो । सबैले मलाई लडाकु भन्थे । मलाई केही नगर्दासम्म केही गर्दिन तर जब कसैले मलाई केही ग¥यो भने म छोड्ने वाला पनि हैन भनेर बुढेसकालमा पनि उमङ्गिनु भयो । आफूले जेलमा बसेको जेल जीवनको पनि केही सम्झना गर्नु भयो । नखु जेलमा बसेको जेलमा बस्दाखेरिका कुराहरु पनि उहाँले सम्झन भ्याउनु भयो। यो उमेरमा पनि उहाँको स्वर मिठै लाग्यो र पुराना दिन सम्झिदै जाँदाखेरि एउटा हिन्दी फिल्मि गीत पनि उहाँले सम्झन भ्याउनु भयो “ कभि कभि मेरे दिलमे खयाल आता हैं ” । आफू बच्चा हुँदाखेरि कुमेश्वरमा पौडी खेल्थ्यौ भनेर सम्झनुभयो। काइलाबा मङ्गल बजारमा राजनीति गर्थे , राम्रो भाषण दिन्थ्यो भन्दै काइलाबालाई सम्झिनु भयो । मोहनविक्रम सिंहलाई पनि सम्झिनु भयो – उहिले बनारसमा अफिसमा माथिल्लो तलामा बसेर लेखिरहन्थे। अस्ति पनि भेट्न आएका थिए । मानिस जति बुढो हुन्छ, त्यति नै केटाकेटी बन्छ भन्छन् । नुहाउन नमान्दा नुहाएर माधव नेपाललाई भेट्न जाने भनेर फकाउनु पर्दो रहेछ । समय धेरै नलिइकन म विदा भएँ सिद्धिलाल सिंहको निवासबाट ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित