संकीर्णवादी, व्यक्तिवादी, एकलकाटे, पदलोलुप र महत्वकांक्षी चरित्रले कम्युनिस्ट आन्दोलन कमजोर भएको छ

–नन्दन अर्याल, वयोवृद्ध वामपन्थी नेता
नन्दन अर्याल पुरानो पुस्ताको वामपन्थी नेता मध्ये एक हुनुहुन्छ । उहाँको जन्म वि.सं. १९८९ चैत्र १४ गते बारा जिल्लाको कलैया नजिकै वघवन गाउँमा भएको थियो । बुबा विष्णु प्रसाद उपाध्याय र आमा प्रेमकुमारी उपाध्यायको कोखबाट नन्दन अर्यालको जन्म भएको थियो । बुबा–आमाका ३ छोरा २ छोरी मध्ये उहाँ जेठो छोरा हो ।
२०१२ मसालमा महोत्तरीको शान्तिदेवी घिमिरे सित उहाँको विवाह भएको थियो । उहाँका १ छोरा शुशिल र दुई छोरी ललिता र विना हुुनुहुन्छ ।
उहाँ हुने खाने धनाढ्य परिवारमा जन्मिएको भए पनि शोषित पीडित वर्गको पार्टी र त्यसको दर्शनलाई पछ्याइरहनु भयो जीवनभर । ९४ वर्षको उमेरमा पनि उहाँलाई माक्र्सवाद प्रति गहिरो विश्वास छ । उहाँको लागि सुखद कुरा के छ भने उहाँको जीवन संगीनि शान्तिदेवी अझै साथमा हुनुहुन्छ र नन्दन भन्दा तुलनात्मक रुपले स्वस्थ पनि हुुनुहुन्छ ।नन्दन अर्याल बाराको वघवन र भक्तपुरको जडिबुटीमा आलोपालो बस्दै आउनुभएको छ ।
० अर्याल ब्राम्हण परिवारमा जन्मिएको तपाई । तपाईको परिवार कहिले, कसरी यहाँ बाराको बघवन आइपुग्यो ?
–पृथ्वीनारायण शाहका ससुराली मकवानपुरका सेनवंशी राजाका ब्राम्हण थिए मेरा पुर्खाहरु । सेन वंशी राजाले मकवानपुरमा हाम्रा पुर्खाहरुलाई ४ गाउँ विर्ता दिएका रहेछन् ।
० यहाँको शिक्षा दीक्षाको प्रारम्भ कसरी भयो ?
भारतबाट कायस्थहरु बाराका गाउँ गाउँमा पढाउन आउँथे । मेरा पिताजीहरुले पनि यहाँ बाराको वघवन गाउँको टोलका केटाकेटीलाई पढाउनका लागि भारतबाट आएका शिक्षक राख्नु भएको थियो । उहाँबाट नै हामीले प्रारम्भिक शिक्षा लिएका थियौं । त्यसपछि म बनारस पढ्न गएको थिएँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नाताले मेरो भाञ्जा दाइ हुन्ुहुन्छ । कृष्णजीका दाजु बटुक लगायतले भारतको बनारसमा पढेका थियौं ।
० राजनीतिप्रति कसरी आकर्षण भयो ?
कृष्णप्रसाद भट्टराईका दाजु बटुक प्रसाद भट्टराईले बनारसबाट “युगबाणी” पत्रिका प्रकाशित गर्नु हुन्थ्यो । त्यो पत्रिकामा राणाको विरोध र प्रजातन्त्रको पक्षपोषण गरेर समाचार र लेखहरु प्रकाशित हुन्थे । मैले युगवाणी पढ्थे । वनारसको माहौलले मलाई राजनीति प्रति चासो बढायो । २००७ सालको राणा विरोधी आन्दोलनका बेलामा १७÷१८ वर्षको युवा थिएँ । देशमा चलेको राणा विरोधी आन्दोलनले पनि ममा राजनीतिक चेतनाको विकास ग¥यो ।
० राणा विरुद्धको आन्दोलनका बारेमा तपाईलाई के सम्झना छ ?
–मेरो आफ्नै काका श्याम प्रसादले विराटनगरका कोइराला परिवारकी छोरी विवाह गर्नु भएको थियो । २००७ सालमा कांग्रेसको राणाको बीचमा दोहोरो गोली हानाहान भयो । मेरो काका श्यामप्रसाद पनि त्यो युद्धमा सामेल हुनुभयो । त्यतिबेला विराटनगरमा वडा हाकिम उत्तम शमसेर थिए । उनले सेनालाई गोली हान्न निर्देशन दिए । कांग्रेसहरुले पनि राणाको सेनामाथि हमला गरे । मेरो काका श्यामप्रसाद भागेर जोगवनी मनमोहन अधिकारीका बुबा रामचन्द्र अधिकारीलाई भेट्न जानु भएको थियो । रामचन्द्र अधिकारीले मेरा काका श्याम प्रसादसित भनेको सुनेको थिएँ, “मेरो छोरा घर न घाटको, यता न उताको हुने भो, कम्युनिस्ट पार्टीमा लाग्यो ।”
०तपाईका नाता, सम्बन्ध सबै कांग्रेस रहेछन् । कसरी कम्युनिस्ट बन्नुभयो ?
– समाजमा रहेको अन्याय, विभेद, शोषणबाट मुुिक्तका लागि कांग्रेसले लिएको बाटोबाट सम्भव छैन भन्ने मलाई लाग्यो । त्यसका निम्ति उपयुक्त सिद्धान्त कम्युनिस्ट सिद्धान्त हो, माक्र्सवाद हो भन्ने चेतनाको विकास म मा भयो । त्यसैले गर्दा परिवार, इष्टमित्रले जति सुकै हेला होचो गरे पनि, घरबाट निस्कनु परे पनि म कम्युनिस्ट पार्टीमा आबद्ध भएँ ।
० तपाईले कम्युनिस्ट पार्टीको सदस्यता कहिले प्राप्त गर्नु भयो ?
वि.सं. २००९ सालमा श्यामप्रसाद शर्माले मलाई नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गर्नु भएको हो । उहाँ लेखक तथा साहित्यकार हुनुहुन्थ्यो ।
० बारा जिल्ला किसान आन्दोलनले पनि प्रख्यात जिल्ला हो । त्यसबारे सुनाउनु होस् न ।
२०१८ साल भन्दा पहिले रौतहट जिल्लाको कटहरीया, बलरामपुर, मर्जादपुर, भसेढवा, कर्कच, पर्साको वीरगञ्ज सबै बारा जिल्लामा नै पर्दथे ।
२००९ साल र २०११ सालमा दुईपटक ठूलो किसान आन्दोलन चल्यो । त्यतिबेला किसान आन्दोलनको नारा थिएः
क) बटैया हक (मोही हक) –कायम करो ।
ख) मननवाका माग –पूरा करो ।
ग) मदत भकारी –कायम करो ।
घ) पक्का चार किलो–मजदुरी दोे । मजदुर किसानलाई जम्मा ३ किलो धान दिने चलन थियो । किसान संघले ४ किलो धान ज्याला माग राखेको थियो ।
ङ) जमिनको –बटवारा करो ।
(जमिनको हदबन्दी गर्ने माग राखिएको थियो । )
च) जिसका जोत उसका पोत !
छ) किसानहरुलाई चर्को व्याज लिन पाइँदैन ।
ज) किसान संघले उठाएको नारामा सिंगै जिल्लाभरीका किसानहरु एक ठाउँमा आए । किसान आन्दोलन सशक्त ढंगले अगाडि बढ्यो ।
२००९ सालको किसान आन्दोलनबाट हरिहर यादव र बद्रिदास बाबा जेल परेका थिए । उनीहरुलाई ९ महिना जेल राखिएको थियो ।
२०११ सालको किसान आनदोलनमा बारा जिल्ला गढहलका साहु हृदय नारायण तेलीको घर घेरा हालेका थिए किसानहरुले । वडा हाकिम दुर्गादत्त वीरगन्जबाट आएर साहु हृदयनारायणको घर घेरा हाली नाराबाजी गरिरहेका किसानहरुलाई गिरफ्तार गर्न आदेश दिए। आन्दोलनकारीहरुलाई गिरफ्तार गर्न थाले पछि सुरक्षाकर्मी र आन्दोलनकारीहरुका बीचमा झडप भयो । प्रहरी मिलेट्रीले चलाएको गोलीबाट एक जना आन्दोलनकारी मुखिलाल ढले । केही प्रहरीहरु साहुको संरक्षणमा लागे भने केही प्रहरी लिएर वडा हाकिम दुर्गादत्त त्यहाँबाट वीरगन्ज तिर भागे । त्यस आन्दोलनबाट मधु सिंह (बरेवा), नन्दन अर्याल (वघवन), हरदयलाल महतो कोइरी (कटहरिया), देवनारायण साह कलवार (वघवन), रामव्रीज खाँ थारु (सिसवा), कारी राउत अहिर (गढहल), बन्सी राउत अहिर (गढहल), नन्दकिशोर चौधरी (गढहल) लाई प्रहरीले गिरफ्तार ग¥यो । १÷२ दिन वीरगन्ज राखेर हामी ८ जनालाई नख्खु जेल ल्यायो । हामी ९ महिना नख्खु जेलमा बसेका थियौं । मैले अगाडि नै भने २०११ सालको त्यस किसान आन्दोलनमा बारा जिल्ला वकुलरका मुखिलाल महतो कोइरीले सहादत प्राप्त गरेका थिए ।
० बारा जिल्लाको प्रारम्भिक कम्युनिस्ट आन्दोलनको कुरा गर्नुपर्दा के भन्नुहुन्छ ?
–२००८ सालतिर कचरुवाका हरिहर यादव र बद्रि साधुले कम्युनिस्ट पार्टीको नेता तुलसीलाल अमात्यसित मिलेर काम गर्न थालेका थिए । उता वीरगन्जपितर मदनमणि दीक्षित, महेशमणि दीक्षित, गोपाल गौतम, धनुषचन्द्र गौतम, नन्दन अर्याल सहित मिलेर काम गर्न थालिएको थियो ।
० २०१० सालको नेकपाको प्रथम महाधिवेशनबारे जानकारी छ कि ?
–भूमिगत रुपमा काठमाडौंमा सम्पन्न भएको हो । तर त्यसबारे मैले जानकारी पाएन ।
० २०१४ को नेकपाको दोस्रो महाधिवेशनबारे के थाहा छ ?
–यही बारा जिल्लाको कलैया, वरेवाका मधु सिंह दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुभएको थियो । पंचायत शुरु भएपछि राजनीतिमा उहाँ निश्क्रिय हुनु भयो । शिक्षक भएर काम गर्नु भयो ।
० २०१५ सालको प्रथम निर्वाचन बारे ?
– तत्कालीन बार जिल्लाको कटहरिया (हाल रौतहट जिल्ला) को हरदयाल महतो कोइरी र रौतहटकै शेख फरमानले कम्युनिस्ट पार्टीका तर्फबाट निर्वाचन जितेका थिए ।
० पंचायतकालमा तपाई नेकपा (मानान्धर समूह) मा आवद्ध हुनुभयो । के, कसरी त्यस पार्टीमा लाग्नुभयो ?
–विश्व कम्युनिस्ट आन्दोलनमा रुस र चीनको बीचमा विवाद थियो । यता नेपाली कम्युनिस्टहरुमा पुष्पलाल र तुलसीलालको बीचमा गहिरो मतभेद थियो । त्यसबेला म मा एक प्रकारको विचलन (डेभिएशन) आयो । म मा निरासा आयो । त्यसरी निरासा हुनु गल्ती थियो । म नेकपा (मानान्धर समूह) मा आबद्ध भएँ । त्यति मात्र होइन म २०४८ मा मानान्धर समूहबाट २०४८ र २०५१ मा निर्वाचन पनि लडे ।
० तर जे भएपनि पछिल्लो अवधिमा तपाई नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई बलियो बनाउनु पर्दछ भन्ने विचारमा नै हुनुहुन्छ नि ?
– हो, म नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई सवल बनाउनु पर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाएर जानु पर्दछ भन्ने पक्षमा नै छु । त्यही भएर म माओवादी जनयुद्धको समयमा माओवादीलाई सहयोग गरें । म आफै बन्दुक बोकेर हिंडेन तर माओवादीमा म समाहित भएँ । तर मैले जीवनमा धेरै धोका खाएँ । मातृका यादव आएर मलाई भने दाजु प्रचण्डले आत्मसमर्पण ग¥यो, गद्दारी ग¥यो, नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दियो । उनको कुरा सुनेर म मातृकाको पार्टीमा लागें । जनयुद्ध पूरा भएको छैन । हामी यसलाई अगाडि बढाउँछौं भनेर भने । यति लडाकु तयार पार्ने, उति लडाकु तयार पार्ने, टे«निङ गर्ने, उनले गफ लगाए । प्रचण्ड बाहुनले त धोका नै दियो । यो मधेशी उत्पीडित समुदायको व्यक्ति हो, धोका दिन्न कि भन्ने लागेको थियो । केही समयपछि नहुने रहेछ प्रचण्डकै पार्टीमा फर्किनु पर्छ भन्न थाले । अव यो पनि काम लागेन भनेर मातृकालाई छाडि दिएँ । ४ वर्ष मातृकाको पार्टीमा काम गरेर छाडें । विप्लवले क्रान्तिको तयारी गर्ने भने । युवा मान्छे हुन् केही गर्छन् भनेर विप्लवको पार्टीमा लागें । जब ओलीसँग वार्ता गर्ने, जनमत संग्रहबाट समाजवाद आउँछ भन्न थाले । धत्, जनमत संग्रहबाट पनि कही समाजवाद आउँछ, यो अर्को धोका हो भनेर विप्वललाई पनि छाडि दिएँ । म यत्तिकै बसिरहेको थिएँ । वैज्ञानिक समाजवादी पार्टी, अर्थात् आहुतिका पाटीृका मदन प्रभात आउनुभयो र मलाई यसमा लागौं भन्नुभयो । मैले त्यति सजिलै मानेको थिएन । एक्लै बस्नु भन्दा तुलनात्मक रुपले सही पार्टी जुन हो त्यसमा लाग्नु पर्दछ भनेर उहाँले भन्नुभयो । म लागें । अहिले म आहुतिको पार्टीको केन्द्रीय सल्लाहकार छु । पुँजीवादको विरोध गर्ने सन्दर्भमा आहुतिका कुरा ठीकै छन् । उहाँले अलि बढी जातीय कुरा गर्नुहुन्छ । मैले वर्गीय कुरालाई बढी जोड दिनुपर्दछ भन्छु । पार्टी एकीकरणका बेलामा मशालका कर्ण थापा र ईश्वर ढुंगेल पनि आउनु भएको थियो । तपाई हामी सबैको अभिभावक हुनुहुन्छ । सँगै काम गरौं । हाम्रो तीन पार्टीका बीचमा पार्टी एकता हुन थालेको छ भन्नुभएको थियो । यता र उता गरिरहनु राम्रो हुन्न तपाईहरुप्रति मेरो सद्भाव छँदै छ । राम्रो गर्नुस् । राम्रो कामलाई मेरो सहयोग समर्थन रहन्छ भनेको थिएँ ।
०विप्लवको पार्टीमा छँदा पनि प्रहरी गिरफ्तारीमा पर्नुभयो, हैन ?
–हो । यहाँ कैलालीको बरियापुरमा गड्याङग रातिमा वम विस्फोट भयो । सिमराका सबै पत्रिकाले वम विस्फोट भएको खबर लेखे । मलाई र अर्का एक जना बुढाहरुलाई प्रहरीले पक्रिएर लग्यो ।
प्रहरी अफिसरले वम पड्किएको थाहा भयो ? भनेर सोधे । मैले थाहा भयो ? कसरी थाहा पाउनुभयो ? भनेर फेरि सोधे । रातिमा गड्याङ पड्कियो अनि वाम पड्कियो भन्ने थाहा पाएँ । ध्वंसात्मक कार्यको किन समर्थन गरेको भन्थे ? मैले भने भारतमा महात्मागान्धीको हत्या गर्ने नाथुराम गोड्सेलाई समर्थन गर्ने कैयौं बुद्धिजीवीहरु छन् । उनीहरुले बोलेका छन् । लेखेका छन् । बोलेकै वा लेखेकै आधारमा उनीहरुलाई गिरफ्तार गर्ने, मुद्दा लाउने गरिएको हुन्न । माओवादी वा अरु क्रान्तिकारी वा विप्लवको सशस्त्र संघर्षलाई समर्थन गर्न पाइन्छ । अहिले पनि हिटलरलाई समर्थन गर्ने मान्छे छन् । उनीहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने गरिन्न । मैले यस्तै जवाफ दिएँ । प्रहरी अफिसरले तपाई जस्ता पाका मान्छेले समाजमा अशान्ति फैलाउने कार्यलाई सहयोग समर्थन गर्नु भएन भन्थे ।
मैले भने– संसारभरीका विश्वविद्यालयहरुमा अहिले माक्र्सवाद पढाई हुन्छ । माक्र्सवाद वर्गसंघर्षको सिद्धान्त हो । सक्नुहुन्छ भने माक्र्सवाद पढाउन बन्द गर्नुस् । म वर्गसंघर्षमा विश्वास गर्छु । त्यसपछि यो बुढासँग कुरा गरिरहनु बेकार छ, छाड्दे भने अनि सोधपुछ गरेर मलाई छाडिदिए ।
० तपाई साहित्यमा पनि रुची राख्नुहुन्छ, हो ?
–मलाई साहित्यमा रुची छ । भोजपुरी भाषामा “ भोजपुरिया माटी” भन्ने पत्रिका वीरगन्जबाट प्रकाशित हुन्छ । त्यसमा मैले कविताहरु लेखेको छु । कुनै बेला श्यामप्रसाद शर्माले “चिनियाँ समाजको वर्ग विश्लेषण” नेपालीमा उत्था गर्नु भएको थिया । मैले त्यसलाई भोजपुरी भाषामा उत्था गरेका थिएँ । भोजपुरी भाषामा कुनै बेला मैले लेखेको थिएँः
“उत्तरमे रुस चीन
वहा ना वा कोही दीन
स्वर्गका सुख वहाँ !” मैले भोजपुरी भाषामा लेखेका साहित्यबारे प्रज्ञा प्रतिष्ठानका पुस्तकमा पनि चर्चा गरिएका छन् ।
० तपाईले नक्ससलाइट आन्दोलनबारे पनि केही जानकारी राख्नुभयो ?
–नक्सलाइटका नेता विनोद मिश्र नै मलाई भेट्न मेरो घर वधवनमा आउनु भएको थियो । पारी विहारको पिपरा भन्ने गाउँमा नक्सलाइटहरुको ठूलो सेल्टर थियो । कामरेड गम्भीरा तेलीद्वारा त्यो क्षेत्रको आन्दोलनको नेतृत्व गरेकी थिइन । विहारमा भारत सरकारले आन्दोलनमाथि चर्को दमन गरेपछि नक्सलाइटहरु वारी नेपालतिर आएर सेल्टर लिएका थिए । कतिपय नक्सलाइटहरु नेपाल पसेर वीरगन्जमा रिक्सा चलाएर पनि बसेका थिए ।
० नेपाली कम्युनिस्ट आन्दोलन के कति कारणले कमजोर भयो ?
–नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका संकीर्णवादी, व्यक्तिवादी, एकलकाँटे चरित्र, पदलोलुपता, महत्वकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । यी कमजोरीहरुलाई हटाएर कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्नुपर्दछ ।
० माक्र्सवाद असफल भयो भनेर संसारभरी हल्ला चलिरहेको छ । यो उमेरमा पनि तपाईलाई माक्र्सवादप्रति विश्वास छ ?
–द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद माक्र्सवादी दर्शन हुन् । माक्र्सवादी दर्शन कदापि असफल हुन सक्दैन । यो विज्ञान हो ।
० तपाईलाई ईश्वर, स्वर्ग, नर्कमा विश्वास छैन ?
–मैले पुजापाठ भन्ने गरेको छैन । मलाई स्वर्ग, ईश्वरमा धर्ममा विश्वास छैन । ती भनेका शोषक वर्गको जनता झुक्याउने माध्यम मात्र हुन् ।
कम्युनिस्ट पार्टीमा लागेको र परम्परागत धार्मिक संस्कार नमानेकाले मेरा बाबाले घरबाट निस्की भन्नुभयो । म मर्दानी (धोती) ओढेर घरबाट निस्किए । आमाको मन हो । आमाले घर आइज भनेर भन्नुभयो । दुई महिना पछि घर फर्किए । अहिले पनि मलाई भौतिकवादमा विश्वास छ ।
० अन्त्यमा हाँक साप्ताहिक मार्फत् भन्नु केही छ कि ?
–कुरा मात्र गरेर हुँदैन । जनताको बीचमा गएर संगठन गरेर जनताका मुद्दा उठाएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्दछ । मेरो त अन्तिम समय आइसक्यो ।
मैले त बाँच्दासम्म इमान्दारीपूर्वक, स्वस्थ भावनाले आन्दोलनमा काम गर्नुस् भनेर सल्लाह सुझाव दिन मात्र सक्छु । अव आउने नयाँ पुस्ताले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु होला । सानो गल्ती गर्दा वित्तिकै पार्टीबाट फ्याँकी हाल्ने, निजी स्वार्थलाई मात्र हेर्ने, त्याग गर्न तयार नहुने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर भएको छ । कर्ण थापा मेरो परम मित्र हुनुहुन्छ । कर्णजी र ईश्वरजी मलाई भेटन आउनु भएको थियो । उहाँहरुप्रति मेरो सम्मान नै छ । मोहनविक्रम जी र मोहन वैद्य जी दुवै प्रति मेरो सम्मान छ । भैरव रेग्मीजी पनि मलाई भेट्न आइरहनु हुन्छ ।
म त के सल्लाह दिन्छु भने नम्र भएर, धैर्य भएर, हरेक कुराको सही मूल्यांकन गरेर, वस्तुवादी ढंगले आत्मसमीक्षा गरी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन मेरो सल्लाह छ ।
आहुति जीले मेरो दाँत झरेको देखेर दाँत राख्नुस् भन्नुहुन्थ्यो । म ९४ वर्षको भइसकें । किशोर युवा कालको अनुभव गरियो । दाँत झ¥यो, म नक्कली दाँत राख्दैन । जीवनमा धेरै कुराको अनुभव गरियो । मलाई “बुढा पा” को पनि अनुभव गर्न दिनुस भनेको थिएँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित