शालिकराम भण्डारी
क्रान्तिकारी सिद्धान्तविना क्रान्ति सम्भव हुँदैन । माक्र्सवाद क्रान्तिकारी सिद्धान्त भएकोले त्यसको प्रयोग सर्वप्रथम रुसमा गरियो , माक्र्सवाद भन्छ – देशको स्थिति अनुसार गर । त्यसबेला रुसमा औद्योगिक क्रान्ति शुरु भएको थियो । इटली ,बेलायत ,फ्रान्स र जर्मनी पछि रुसको नम्बर आउँथ्यो । यहाँ पनि शामन्तवादी उत्पादन पद्दति फालेर पूँजीवादी उत्पादन पद्दतिले जरा गाडेको थियो । गरी खाने वर्ग सर्वहारा वर्ग बलियो हुँदै थियो त्यसैले रसियन सामाजिक जनतान्त्रिक मजदुर वर्गका नेता भि .आइ. लेनिनको व्यवहार त्यही अनुसार सञ्चालित भयो । अक्टुवर १९१७ मा सर्वहारा वर्गको क्रान्तिले माक्र्सवादमा धेरै आयम थप्यो । त्यसपछि मात्र रसियन सामाजिक मजदुर वर्गको पाटी को नाम बदलेर रसियन कम्युनिष्ट पार्टी बोल्सेविक राखिएको हो। किनकि रसियन क्रान्तिमा सबै तहका मजदुर वर्गलाई त्यसबेला गोलबन्द गर्न आवश्यक थियो । माक्र्सवादी सिद्धान्त व्यवहारमा प्रयोग गर्दा लेनिनले धेरै नयाँ विषय, सिद्धान्त थपेका छन् । माक्र्सवादलाई अरु विकासको चरणमा पु¥याएका छन् । माक्र्स जुन बेला जीवित थिए ,पूँजी ग्रन्थ लेख्दै थिए । युरोप,अमेरिकामा अर्थव्यवस्था प्रतिस्पर्धात्मक थियो । लेनिनले एउटा नया खोज गरे कि अहिलेको संघर्ष पुँजीवाद र सर्वहाराबीच मात्र छैन यसले रुप फेरिसक्यो । त्यो नयाँ रुप साम्राज्यवाद र सर्वहारा वर्गको बीचको क्रान्तिपछि त्यसलाई बचाइ राख्न सर्वहाराको अधिनायकत्व प्रयोग गर्नु । जसरी आफ्ना व्यवस्था सुरक्षित राख्न सामन्तवादी, पुँजीवादी सयौं वर्षदेखि यो व्यवहार गर्दै आएका थिए । त्यहाँ अल्पसंख्यक बढीमा १५ प्रतिशतको राज थियो, जनतान्त्रिक अधिकार यीनैलाई मात्र थियो । बहुसंख्यक जनताको अधिकार खोसिएको हुन्थ्यो । सर्वत्र अल्पसंख्याको नियन्त्रण । माक्र्सवाद लेनिनवादले यो सिद्धान्त र व्यवहारको अन्तरलाई उन्निसौं शताब्दीको अन्त, बिसौं शताब्दीको पहिलो खण्डमा आएर मात्र छुटाइ दिएको हो । सिद्धात अनुरुप व्यवहार गर्दा लक्ष्यमा पुगिएकै हो ।
पूर्वी युरोपमा साम्राज्यवादी सिद्धान्तको निमित्त व्यवहार गर्नै आँट गरियो तर माथिबाट थोपरीएको वर्ग संघर्षको सिद्धान्त प्रयोग नहुँदा बीचैमा तुहियो । त्यहाँ सिद्धान्त र व्यवहारमा तालमेल हुन सकेन । ती देशको राजनैतिक आर्थिक व्यवस्थालाई जनवाद , जनगणतन्त्र भनिन्थ्यो । स्टालिनको अवसान पछि रुसमा संशोधनवादीहरु आक्रामक भए । ख्रुश्चेववादीहरुको उदयले समाजवादी सिद्धान्त पतन तिर गयो ।
सुस्त सुस्त एक पछि अर्को गरेर पूर्वी युरोपका देशहरु साम्राज्यवादी शिविरमा तानिए । रुस र पूर्वी युरोपको कम्युनिष्ट आन्दोलनको इतिहास यही हो । रुसले लिएको साम्राज्यवाद सँगको मितेरी गाठो अहिले उसैको लागि बाधक भएको छ । रुसले समाजवाद परित्याग नगरेको भए वर्तमन विश्वको अवस्थामा उज्यालोपन आउँथ्यो र रुस पनि साना ठूला देशहरुको आशाको केन्द्र हुन्थ्यो । रुसी कम्युनिष्ट पार्टीको माक्र्सवाद लेनिनवाद विरोधी धोकादारी व्यवहारले विश्व कम्युनिष्ट आन्दोलन आक्रामक अवस्थाबाट रक्षात्मक स्थितिमा पुगेको छ । अमेरिकी नेतृत्वको साम्राज्यवादी अन्य देशका आन्तरिक समस्यामा हस्तक्षेप गर्न तिनका सार्वभौम अखण्डता ,स्वाधिनताा अपहरण गर्न ती देशलाई उपनिवेश, अर्ध उपनिवेशमा परिणत गर्न प्रयत्न गरिरहेकाछन् । त्यो प्रयास असफल हुन्थ्यो , ती साम्राज्यवादी देशहरुको शक्ति धेरै कमजोर हुन्थ्यो , रुसी कम्युनिष्ट पार्टीको त्यो व्यवहारको परिणामको प्रतिकुल रह्यो । चीनमा लामो संघर्ष पछि नयाँ जनवादी जनगणतन्त्रको अठिलो सत्ता स्थापना भयो । यो क्रान्ति माले सिद्धान्तको आधारमा त्यहाँको कम्युनिष्ट पार्टी र त्यहाँका नेता माओत्सेतुङको नेतृत्वले सम्पन्न गरेको हो । एकाधिकारवादी साम्राज्यवादीहरुको व्यवहारलाई परास्त गरेको हो । कम्युनिष्ट आन्दोलनमा केही धक्का लागेपनि त्यो सिद्धान्त र व्यवहारको उचाइले साम्राज्यवादीहरुको शिर त्यति ठाडो हुन सकेको छैन । मालेमाको हतियारले विध्वंशकारीको मनपरि व्यवहारलाई रोकेको छ,उन्निस सय वर्षसम्म दासवादी सामन्ती पुँजीवादी विश्वलाई मान्छेलाई टोक्ने किटाणुबाट मूक्त गरी बहुसंख्यक मान्छे मान्छेमा भेदभाव रहित समानता , मान्छेले मान्छेलाई शोषण दमन गर्दै आएको प्रवृति अन्त्य भएको छ । समाजलाई यस्तो सैद्धान्तिक हतियार दिने व्यक्ति माक्र्स, ऐङ्गेल्स ,लेनिन, स्टालिन र माओ नै हुन् । यी शिखर व्यक्तित्व पछि सिद्धान्तमा केही कमजोरी आएको छ । मालेमा प्रति गलत व्याख्या भइरहेको छ । माओको निधन पछि चिनीया क्रान्तिले केही मोड बदलेको छ । अहिलेको वर्तमान चीनले साम्राज्यवाद विरुद्ध लड्न आँट गरिरहेको छैन । जसको लागि माओले जीवन समर्पण गरेका थिए । उसले निजी पुँजीलाई पनि आफ्नो अर्थतन्त्रमा खेल्न प्रसस्त मौका दिएको छ ।उसको नीति संघर्ष भन्दा समन्वयमा अगाडि बढेको छ । नेपाल लगायत संसारका कम्युनिष्टहरुले यो सत्य तथ्यलाई देखाएनन् भने नयाँ जनवाद ,समाजवादको व्याख्या गर्नु व्यर्थ वकवास मात्र हुने छ । पूँजीवादको शरणमा जान आत्तुरी गरेको ठहर्नेछ । सर्वहारा, किसान तथा अन्य वर्गका पनि शोषित पीडित वर्गको पार्टीभएको दावी गर्नु व्यवहारमा पुँजीवाद भक्त भएको छर्लङग देखिने छ । लेनिन र मोओको नेतृत्वमा सञ्चालित कम्युनिष्ट पार्टीहरु वाहेक अन्य देशका कम्युनिष्ट पार्टीहरु विभाजित हुँदै जानुको मतलव माक्र्सवादी,समाजवादी सिद्धान्त विमुख हुनाले मात्र हो । तर पनि विभिन्न देशमा क्रान्तिकारी पार्टीहरु गठित भएका छन् । यी फिलिङगाहरुले सम्पूर्ण जंगलमा आगो लगाउने कहिले कुन केही प्रतिक्षा गर्नै पर्छ । आगो लगाउने क्रान्तिकारीहरुले आगो निभाउने प्रतिक्रान्तिकारी विरुद्ध भयङकर युद्ध गर्नै पर्छ । चीन पनि जनमैत्री हुने हो । वर्तमान चीनको पार्टीले व्यवहारमा परिवर्तन गर्न हिचकिचाउनु हुन्न । मालेमा सिद्धान्तको बाटो परित्याग गर्नु हुन्न । सबै पीडित वर्ग र विश्व सर्वहारा वर्गको आशाको केन्द्र हुन अगाडि बढ्न पर्छ । चीनमा धेरै जस्तो नेताहरु भन्न लागेका छन् –मालेमा अब समय सुहाउने रहेन ।यसमा संशोधन गर्न पर्छ । तर त्यही चीनमा अर्कोतिर मालेमाहरु दिन प्रतिदिन बढ्दै छन् ।
मालेमा कम्युनिष्ट नेपालमा पनि जन्म्यो । संस्थापक नेता पुस्पलाल थिए । देशभर यसको प्रभाव विस्तारित भयो । मध्ययम वर्ग, निम्न मध्ययम वर्ग, युवाहरु, उमेर पुगेका र विद्यार्थीहरु प्रशस्त भर्ना भए । सामन्तवादी पुँजीवादी पार्टीहरु विरुद्ध लडेर नयाँ जनवाद ,समाजवाद ल्याउने छौं भनेर देशमा उत्साहपूर्ण वातावरण बन्यो । त्यसबेला नेपालमा वंशीय सामन्तवादी शासन व्यवस्था प्रवल थियो । २००७ सालको पूँजीवादी उपलब्धी पनि प्रवल शक्तिशाली निरंकुश सामन्ती शाह राजाले छिनेपछि कम्युनिष्ट पार्टी र पुँजीवादी कांग्रेस पार्टीलाई संघर्षमा उत्रिन परेको थियो । कम्युनिष्ट पार्टीहरुमा विभाजन भयो । माक्र्सवादी सिद्धान्त विहीनहरु पार्टी छोडेर गए । १) राजातिर लागे २) कोर कांग्रेसमा भर्ना भए ।३) नामधारी कम्युनिष्टहरु संघर्ष गर्दा सर्वहारा दृष्टिकोण त्यागेर कांग्रेस एजेण्डामा राजनीति गरेका छन् । स्वदेशी ,विदेशी धनसम्पत्तिमा रमाएका छन् । ४) बाँकी देशमा सच्चा इमान्दार मालेमा कम्युनिष्टहरु क्रान्तिको जिम्मेवारी लिएर कार्यक्रम सञ्चालन गर्दैछन् । नयाँ जनवादी क्रान्तिकोलागि जनयुद्ध शुरु गरेकाहरु माथिका कारणले गर्दा एउटा ठूलो भाग पूँजीवादी संसदबाट नै समाजवाद प्राप्त गर्न कम्मर कसेका छन् । जुन संसारमा असफल भैसकेको छ । जनयुद्धमा केही कुतत्वहरु प्रवेश गरेका थिए । जनयुद्ध सकियो । तिनी पनि सकिए । एकजना युद्धमा उपकमाण्डरले भनेका थिए कम्युनिष्ट सिद्धान्त अब बरवाद भयो । यसको आवश्यकता छैन त्यस्ता अवसरवादीहरुलाई किन प्रगतिशील भन्ने ?
अन्त्यमा, यहाँ मालेमा सिद्धान्त अनुसार व्यवहार गएन । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद ,वर्गसंघर्षको सिद्धान्त उचित ढंगले प्रयोग भएन । कतै सिद्धान्तलाई बढी जोड दिइयो । व्यवहार सिमित रह्यो । कतै व्यवहारमा मात्र संगठन जोड गरियो । सिद्धान्तमा पकड भएन ।सर्वहारा वर्गको पार्टी बनाउन ख्याल गरिएन । सिद्धान्ततः पुँजीवादी व्यवहार, छलफलमा नयाँ जनवादी हुने गरेका छन् । यसैले सिद्धान्त र व्यवहारको तालमेल नभै क्रान्ति सम्भव हुँदैन ।
२०८२ ÷५÷१८

