दशैं सम्बन्धी दृष्टिकोण

काठमाण्डौ । २०८२ सालको दशैंको टीका असोज १६गते सम्पन्न भएको छ । सामान्यतया दशैं हिन्दुधर्म र हिन्दुसंस्कृतिसँग जोडिएको पर्व मानिन्छ तर दशैंमा टीका लगाउने प्रचलन नेपालीहरुको बेग्लै मौलिक संस्कृति हो । पहाडमा विभिन्न जात जातिका मानिसहरुले दशैंमा टीका लगाउँदछन् तर तराइँका मधेशी समुदायहरु जो हिन्दु छन् उनीहरुले दशैंमा टीका र जमरा लगाउँदैनन् । जसरी भारतमा हिन्दुहरुले दशैंमा टीका र जमरा लगाउँदैनन् । तराइँमा आदिवासी थारुहरुको पनि ठूलो संख्या छ उनीहरुले दशैं मनाउँदछन् । तर टीका र जमरा लगाउँदैनन् । पछिल्लो अवधिमा पहाडिया संस्कृतिको प्रभाव भएका ठाउँमा कतै कतै थारुहरुले पनि दशैंमा टीका लगाएको पाइन्छ । अनौठो कुरा त के छ भने पोखराका कतिपय मुश्लिम समुदायहरुले पनि दशैंमा टीका लगाउँछन् । तामाङहरुले आफ्नो चाड ल्होसार हो भन्दै दशैं मनाउन छोडेका छन् तर आफूलाई बौद्ध मार्गी बताउँदा बताउँदै पनि अहिले पनि कैंयौं तामाङहरुले दशैंमा टीका लगाउँदछन् । नेपालका कैंयौं आदिवासीहरुले दशैंमा सेतो टीका लगाउँछन् ,रातो लगाउँदैनन्

दशैंमा टीका र जमरा लगाउनु हिन्दुहरुको मात्र पर्व भएको भए संसारकै सबैभन्दा धेरै हिन्दुहरु बस्ने भारतमा भारतीय हिन्दुहरुले किन दशैं टीका लगाउँदैनन् ? यो नेपालीहरुको दशैंमा टीका लगाउनु नेपालीहरुको मौलिक संस्कृति हो भन्ने कुरा स्पष्ट छ । त्यही कुरा तिहारमा चेलीबेटीबाट दाजुुभाइलाई टीका लगाउने कुरा पनि सत्य हो ।

कम्युनिष्ट आन्दोलनमा दशैंमा टीका लगाउन हुन्छ कि हुँदैन भन्ने बारेमा लामो समयदेखि छलफल चल्दै आइरहेको छ । माओवादी जनयुद्धको समयमा टीका लगाउने कुराप्रति युद्धमा हिँडेका नेता कार्यकर्तालाई वास्ता भएन । शान्तिप्रक्रियामा आएपछि दशैं तिहारमा टीका लगाउन थालेका छन् । कैंयौले टीका लगाउँदैनन् । एउटै पार्टीभित्र पनि फरक फरक दृष्टिकोण रहने गरेको छ । नेकपा – मसाल)ले २०६९ सालमा पार्टी केन्द्रीय समितिबाटै परित गरेर कार्यकर्ताको आचार संहिता प्रकाशित गरेको थियो । आचार संहितामा पार्टी सदस्यहरुले दशैंमा अध्यात्मिक चिन्तनसँग जोडिएको र धर्मसँग प्रत्यक्ष सम्बन्धित कार्यहरु जस्तै पूजापाठ गर्ने बोका ,कुुखुरा लिएर मन्दिरमा बलि दिने र बोका कुखरा बोकेर जाने काम गर्नु हुँदैन तर सामाजिक सम्बन्धको विषय भएको हुँदा टीका लगाउन हुन्छ भनी लेखिएको थियो ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको २०८१ फागुनमा सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले सोही प्रकृति कै आचारसंहिता पारित गरेको छ ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयोजक हिरामणि दुुःखीले दशैंमा टीका लगाउन छोडेको २०५२ साल देखि नै हो । त्यसबारे वहाँ भन्नुहुन्छ “दशैं संस्कृति भनेको आध्यात्मिक संस्कृति हो र धर्मसित जोडिएकोे इश्वरवादी चिन्तन हो । भौतिकवादी हुनुको नाताले मैले दशैंमा टीका लगाउँदैन । तिहारमा पनि लगाउँदिन बुुबा आमाको काजक्रिया पनि गरिएन ।दशैंपर्व मातृसत्तात्मक समाजमा कृषि पेसासँग पनि जोडिएको छ । खेतीबाली भित्र्याएपछि परिवार र इष्ट्रमित्र जम्मा भएर खुशीयाली मनाउने सन्दर्भमा दशैंपर्व शुरुभएको हुनुपर्छ तर शासकहरुले त्यसमा धर्म र अध्यात्म जोडिदिए ।”
दशैंको फुर्सदिलो समयमा दुःखीले चितवनका नारायण शर्मा विपिनले संकलन गरेको चितवनका शहिदहरुको विवरणसम्बन्धी पुस्तकलाई पढेर मद्दत गर्दैछु र मेरो समालोचना सम्बन्धी पुस्तक तयार गर्दैछु भन्नुभयो ।

वाम नेता तथा लेखक सीताराम तामाङले आफू बौद्धमार्गी समुदायबाट हुुँदा दशैं पनि नमनाउने र टीका पनि नलगाउने गरेको बताए । कैंयौं बौद्धमार्गी तामाङहरुले पनि दशैंमा टीका लगाउँछन् नि भन्ने कुरा राख्दा तामाङले भन्नुुभयो बज्रयानी सम्प्रदायका बौद्धमार्गीहरुले दशैंमा टीका लगाउने बताउनुभयो ।तामाङले भन्नुभयो“दशैं भनेको गोरखा राज्यको पर्व हो । दशैंमा राजाले सिपाहीहरुलाई खुशी पार्न मनाउन थालिएको पर्व हो । सिपाहीहरु खस र मगरहरु थिए ।गोरखाको राजाले गोरखाबाट अस्टमीमा फूलपाती लिएर काठमाण्डौं आउँछ । हर्ष बढाइ गर्छ, नवमीका दिन राँगो, बोका काटेर सिपाहीलाई मासु खुवाउँछ र दशमीका दिन सिपाहीहरुलाई दक्षिणा दिएर खुशी पारेर युद्धमा जाउ भन्छ । गोरखा राज्यले अन्य समुदायमा लादेको पर्व हो । ”तामाङले दशैंको बेलामा नेपालको राजनीतिमा भारतको गुप्ताकालदेखि अहिलेको जेनजी आन्दोलनसम्म के कति विदेशीहस्तक्षेप भए भनेर टिपोट गर्दै अध्ययन गर्दै गरेको बताउनुभयो ।

अर्का पुराना वामपन्थी नेता असारे काकाले २०३६ सालदेखि नै दशैंमा टीका लगाउन छोडेको बताउनुभयो । किन टीका लगाउन छोड्नुभयो भन्ने प्रश्नको जवाफमा काकाले भन्नुभयो ।“त्यसको पृष्ठभूमि हेर्नु पर्छ । दशैंमा नवदूुर्गा भवानीले रक्षा गरुन भनेर निधारमा टीका लगाइन्छ रावण मारेर राम खुशीभएको अवसरका दशैंको खुशीयाली मनाइन्छ । दूर्गाले रक्षा गर्ने कुराको पनि विश्वास छैन । रावण मेरो शत्रु पनि होइन । रामले जितेको खुशीयालीमा म किन खुशीहुने ? त्यही भएर मैले मेरो आमालाई पनि सम्झाएको थिएँ ,भलै मेरा सन्तानहरुलाई मैले सम्झाउन सकिन । अर्का वाम बुद्धिजिवी तथा लेखक श्याम श्रेष्ठले दशैंमा वा अघिपछि कहिल्यै पनि कहीँ कतै पूजापाठमा संलग्न नभएको बताउँनुुहुन्छ । तर कसैले टीका लगाइ्िदन खोज्दा इन्कार नगरेको बताउनुहुन्छ । कसैको आग्रहलाई सिधै अस्वीकार गर्नु असभ्य तरिका हुने हुँदा आफूले टीका लगाउने गरेको बताउनुहुन्छ । यो दशैंको बेलामा अहिलेको विश्व चर्चित पुस्तक“गन , इन्सेक्ट एण्ड स्टील”नाम गरेको पुस्तक अध्ययन गर्ने गरेको बताउनुहुन्छ ।
लेखक गोपीरमण उपाध्यायले भन्नुभयो “चाड तीन किसिमले मनाइन्छ १)कुनै उपलब्धी हासिल भएको खुशीयालीमा २) आफ्ना अग्रज वा पूर्खाहरुको संस्मरणमा र ३) राष्ट्रको निर्माण भएपछिको सन्दर्भमा ।सामन्ती समाजमा राजा महाराजाहरुले आफ्नो खुशीयालीमा दशैं पर्व मनाउन लगाएको कुुुुरा गर्नेहो भने त आधुुनिक समाजमा दशैं पर्वको खास अर्थ छैन तर समाजमा वल्लो घर पल्लो घर सबैले टीका लगाउँछन् सबैको संस्कृतिको रुपमा यो विकास भएको हुँदा अस्वीकार पनि गर्न सकिन्न । ”
एउटै पार्टी ,समाज, एउटै परिवार भित्र पनि दशैंमा वा तिहारमा टीका लगाउँन हुन्छ र हुन्न भन्ने बारेमा लामो समयदेखि छलफल चल्दै आइरहेको छ ।यस्ता संस्कृतिजन्य कुराहरुलाई एकले अर्कोको विचार र तर्कलाई सम्मान गर्दै, एउटा वैज्ञानिक निश्कर्षमा पुगिने छ भन्ने आशा सहित मैत्रीपूर्ण ढंगले छलफल गर्दै अगाडि बढ्नु नै उपयुक्त हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित