नरेन्द्रबहादुर थापा
आज मिति २०८२ साल मंसिर २४ गते तदनुसार डिसेम्बर १०,सन् २०२५ हो । डिसेम्बर १०, केवल क्यालेन्डरको एउटा दिन मात्र होइन, मानव सभ्यताले आफ्नो अस्तित्वलाई नै सुरक्षित राख्न गरेको महान संघर्षको प्रतिबिम्ब हो। संयुक्त राष्ट्र संघले सन् १९४८ मा सार्वजनिक मानव अधिकार घोषणा(पत्र पारित गरेको दिन हो आज । यो घोषणापत्रले संसारका सबै मानिस जन्मजात स्वतन्त्र र समान छन् भन्ने ऐतिहासिक सत्यलाई कानुनी, नैतिक र राजनीतिक तहमा स्थापित गरिदियो । त्यसैले अन्तर्राष्ट्रिय मानव दिवस मान्नु भनेको मानवको सम्मान, स्वाधीनताको रक्षा र न्यायको खोजीलाई पुनः प्रतिज्ञा गर्नु हो।
मानव अधिकार केवल कानुनी शब्द होइन जीवन चल्ने आधार हो । मानव अधिकार भनेको राज्य( समाजले दिन चाह्यो भने मात्र पाउने सुविधा होइन , यो त मानव भएर जन्मिएको कारणले स्वतस् प्राप्त हुने मौलिक अधिकार हो । स्वतन्त्रता, अभिव्यक्ति, समानता, न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित जीवन, गरिमा र समान अवसर पाउने हक मानव अधिकार हो ।
समाजमा असमानता, भेदभाव, हिंसा, शोषण र अन्याय हुँदा पहिलो चोट मानव अधिकारमाथि पर्छ । त्यसैले मानव अधिकारको सम्मानबिना लोकतन्त्र केवल औपचारिकता, र विकास केवल भ्रम हुन्छ।
नेपालको सन्दर्भमा मानव अधिकारका उपलब्धि पनि छन्, चुनौती अझै ठूलो छ ।नेपालले संविधानमा विस्तृत रूपमा मानव अधिकारलाई मान्यता दिएको छ। सर्वसाधारणलाई शिक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, अभिव्यक्ति स्वतन्त्रतादेखि समान पहिचान र अवसरसम्मका अधिकार सुनिश्चित गरिएका छन् । तर दण्डविहीनता, हिंसा, भ्रष्टाचार, गरिबी र बेरोजगारी, महिला, बालबालिका, दलित, आदिवासी, श्रमिक र सीमान्तकृत समुदायमाथिको भेदभाव, अभिव्यक्ति र प्रेस स्वतन्त्रतामा देखिने दबाब, वैदेशिक रोजगारमा शोषण, सुरक्षा एजेन्सीको दुरुपयोग, समाजमा फैलिँदो असहिष्णुता( यी सबैले मानव अधिकारको आधारभूत संरचनालाई कमजोर बनाइरहेका छन् । अधिकार कागजमा सीमित हुँदा त्यो अधिकार होइन, केवल आश्वासन मात्र हुन्छ ।
विश्व परिदृश्यमा अधिकारको पवित्रता युद्ध र दमनले चुनौतीमा रहेको देखिन्छ ।आज विश्वका विविध क्षेत्र युद्ध, द्वन्द साम्राज्यवादी दमन, आर्थिक नाकाबन्दी, जातीय विभेद, धार्मिक कट्टरता र शरणार्थी संकटबाट प्रभावित छन्।
दुःखद तथ्य( मानवअधिकारको उदय भएको ७६ वर्षपछि पनि मानिसलाई घर(देश छाड्न बाध्य बनाउने युद्धहरू रोकिन सकेका छैनन् ।अभिव्यक्तिको स्वतन्त्रता धेरै देशमा अपराध जस्तै व्यवहार भइरहेको छ । महिला अधिकारको हिंसा अझै उच्च छ । पत्रकार मानव अधिकारकर्मी र सामाजिक अभियन्ताहरु जोखिममा छन्।
यसले विश्व मानव अधिकारको यात्रा अझै कठिन छ भन्ने तथ्य प्रमाणित गर्दछ ।
किन आवश्यक छ मानव अधिकारको निरन्तर रक्षा ? किनभने –अधिकारको ग्यारेन्टीबिना सुरक्षा हुन्नःन्याय बिना शान्ति सम्भव छैन, गरिमा बिना मानवता अधुरो हुन्छ। मानव अधिकारको रक्षा राज्य, समाज र नागरिक तीनैको साझा दायित्व हो। केवल कानुन बनाएर हुन्छ भन्ने सोच अब पुरानो भइसकेको छ । अब आवश्यक छ( कार्यान्वयन, प्रतिबद्धता, निगरानी र उत्तरदायित्व ।
अब हाम्रो प्रतिज्ञा भनेको अधिकार( सम्बद्ध समाज निर्माण हो ।अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले हामीलाई तीनवटा प्रमुख सन्देश दिन्छ(
१. मानवलाई मानवकै रूपमा सम्मान गर ।
२.अधिकार खोस्ने राज्य वा शक्ति केन्द्रसँग प्रश्न गर। ३. अन्याय देख्दा चुप्प नबस, आवाज उठाउ ।
मानव अधिकार केवल पाठ्यपुस्तकको विषय होइनस यो त हाम्रो दैनिक जीवन, हाम्रो समाज, हाम्रो भविष्य र हाम्रो राष्ट्रको आत्मा हो।
अन्त्यमा
अधिकार सुरक्षित रहेको समाज मात्र सुन्दर, सभ्य र समृद्ध हुन सक्छ । डिसेम्बर १० को यो विशेष दिन हामी सबैले मनन गरौं –अधिकार थिचिँदा अन्याय बढ्छ ,अधिकार उठ्दा समाज बन्छ , मानव अधिकारको सम्मान गरौं , न्यायपूर्ण समतामूलक र मानव( केन्द्रित समाज निर्माण गरौं । धन्यवाद।
मिति ः२०८२ मंसिर २४ गते

