काठमाडौं । अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । उक्त निर्णय डिसेम्बर १०,२०२५ मा लिइएको हो ।
प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताए।
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ ।
हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ ।
प्रधानमन्त्री एन्टोनीले भनेका छन्,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो ।”
यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन् । जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ । नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिवाना लाग्नेछ ।
अस्ट्रेलिया १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बनेको छ । बुधबारदेखि यो नयाँ कानुन लागु गरेसँगै अस्ट्रेलियाको नाममा यो रेकर्ड बनेको हो ।
कम्पनीहरूले उमेर पत्ता लगाउन विभिन्न तरिकाहरू प्रयोग गर्ने बताएका छन् । यसमा प्रयोगकर्ताको व्यवहारबाट उमेर अनुमान गर्ने , सेल्फीको आधारमा उमेर अनुमान गर्ने, साथै अपलोड गरिएका परिचय पत्र वा लिङ्क गरिएका बैँक अकाउन्ट विवरणहरू चेकजाँच गर्ने लगायत छन् । सामाजिक सञ्जाल व्यवसायहरूको लागि, प्रयोगकर्ता सङ्ख्या स्थिर हुँदै गएको र प्लेटफर्महरूमा खर्च हुने समय घट्दै गएको अवस्थामा यो कानुनको कार्यान्वयनले संरचनात्मक स्थिरताको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

