मानव जातिको विकास र शारीरिक बनावट

 

(छोटो र लामो नाक कसरी बने ?)

– देबेन्द्र बस्याल, जापान

नेपाल एक बहुजातीय, बहुभाषिक ,बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । यति सानो देशमा कसरी यति धेरै भाषा, धर्म, सँस्कृति र जातजातिहरुको निर्माण हुन गयो ? कसरी यस खालको परिस्थिति बन्दै गयो ? तर कतिपय ठूला देशहरुमा धेरै जनसंख्या भएपनि किन एउटै खालको भाषा र सँस्कृतिको विकास भएको छ? अनि विभिन्न जात जातिहरूमा किन र कसरी लामो र छोटो नाकको विकास भयो ? के जातजाति र नाकको आकारले मानवीय एकतामा असर गर्छ ? यो लेखमा यही विषय माथि छलफल गरिने छ ।

धेरै लेखक, साहित्यकार, इतिहासकार तथा बौद्धिक जमातले विभिन्न समय र कालखण्डमा विविध जातजातिको विषयमा लेख– रचना तयार गर्नु भएको छ तर ती लेख रचनाहरुले समाजमा कतिपयले राम्रो प्रभाव पारेका छन भने कतिपयका लेख –रचनाले समाजमा नकरात्मक परिणाम दिएका छन् । कुनै पनि जातजातिले आफ्नो जातजातिको बारेमा जान्न खोज्नु, थापाउने प्रयत्न गर्नु नराम्रो होइन तर त्यस प्रकारको, खोज र जिज्ञासाले समाज र मानव विकासमा नकरात्मक असर ल्याउनु निश्चित रुपमा राम्रो हुँदैहोईन । त्यसैले तथ्यहरुका आधारमा सत्य पत्तालगाएर तयार गरिएका लेख रचनाले नै सही र सकरात्मक परिणाम ल्याउन सक्छन भन्ने कुरामा हामीले आषा र विश्वास गर्नु पर्छ । यदि हामीले विषय वस्तुको गाँठी कुरा पहिल्याउने प्रयत्न गरीयो भने पक्कै पनि रचना तथा हाम्रो खोज उत्कृष्ठ बन्न सक्छ र त्यसले हामी र हाम्रो समाज विकासमा राम्रो भूमिका खेल्न सक्छ त्यसकारण हामीले यहाँ वैज्ञानिक तथ्यहरुका आधारमा मानव जातिको उत्पत्ति, भाषाको विकास तथा जात जातिको जन्म र नाकको आकारको निर्माणका विषयमा विस्तृत अध्यायन गर्ने छौं ।

आजभोली जमना पहिलाको जस्तो छैन, समय धेरै छिटोछिटो अघि बढिरहेको छ । सबैका हात हातमा स्मार्ट फोनहरु उपलब्ध छन । चाहेको खण्डमा उनीहरुले इमेल, इन्टरनेट तथा एआईको माध्यमबाट संसार र मानवको बारेमा विस्तृत अध्ययन गर्न सक्छन् । आज भन्दा सात लाख वर्ष, तीन लाख साठी हजार वर्ष, एकलाख पचारहजार वर्ष र एकलाख बीस हजार वर्ष पहिला सबै मानवहरुको उत्पत्ति अफ्रिकाको केन्या, नाइजेरीयामा भएको थियो भन्ने कुरा आजसम्मका वैज्ञानिकहरुका अध्यायन र अनुसन्धानले देखाएको छ । लाखौं वर्ष पहिला अफ्रिका महादेश र एसिया महादेश एकआपसमा जोडिएका थिए । हो, त्यही समयमा कतिपय मानवहरु अफ्रिकामा खडरी, भोकमोरी, आदी समस्याका कारण त्यहाँबाट हिंड्न शुरु गरे । मानिसहरु हिड्दै हिड्दै अहिलेको अरब हुँदै भारत आईपुगे । भारतको सिन्धुघाँटी, गुजराततिरबाट केही मानिसहरु कुवेत, इरान हुँदै युरोपतीर लागे भने कतिपय मानिसहरु भारतको केरला हुँदै तिब्त, चिन, रसिया, जापान, फिलिपिनतिर लागे । र धेरै पछि पन्ध्र,बीसहजार वर्ष पहिले हिमयुगको समयमा रसियाको आलस्का हुँदै मानिसहरू अमेका पुगे । हामीलाई थाहा छ कि पन्द्रौं शताब्दी सन् १४९२ मा क्रिष्टोफर कोलम्बस युरोपबाट पहिला अमेरीका पुगेको थिए । त्यतिवेला त्यहाँ मानवहरु थिए । आज तिनै कोलंबसलाई अमेरीका पत्तालगाएको श्रेय जान्छ । यसरी विभिन्न समयमा मानिसहरु अफ्रिकामा पैदा भएर हिंडेरै संसारभरी फैलिन सफल भए ।

अब हामी लागौं मानिसहरुको नाक किन लामो र छोटो हुँदै गयो ? छाला किन कालो र सेतो भयो ? विभिन्न जातिहरू र भाषा सँस्कृतिको विकास कसरी भयो ? आदी विषयमा छलफल गरौं । जीव वैज्ञानिक डार्विनको एउटा सिद्धान्त छ नेचुरल सेलेक्शन । कुनै पनि जिव जन्तु लाखौं लाख वर्ष अर्थात लामो समयसम्म एउटै भूगोल र वातावरणमा रह्यो भने प्रकृतिले उनीहरुको ढाँचा निर्माण गर्दछ र त्यहींको वातावरणमा बाँच्न योग्य बनाउँछ । जस्तै पैदा हुँदा मासिको छाला अफ्रिकाको गर्मीमा कालो रंगको थियो । उनीहरुको नाक थेप्चो र चौडा थियो । अहिले पनि अफ्रिकामा रहेका मानीसहरुको रंग र नाक उस्तै नै छ । तर त्यहाँबाट हिंडेका मानिसहरु, कोही अरब, कोही, भारत, कोही, युरोप, कोही रसिया, कोहि अमेरीका त कोही चिन जापान पुगे । मानिसहरू जहाँ र जस्तो ठाउँमा पुगे त्यो ठाउँको लामो बसाईले उनीहरूको शारीरिक, मानसिक, भाषिक र बौद्धिक विकासमा निकै ठूला र पृथक परिवर्तन र विविधता उत्पन्न गरायो ।

जातिको निर्माण

जातिको निर्माणमा भूगोल, वंश र साझा संस्कृतिको भूमिका रहन्छ। भौगोलका साथै प्राचीन समयमा मानिसहरू साना–साना समूहमा अलग–अलग ठाउँमा जस्तैः पहाड, तराई वा उपत्यकामा बस्थे। एउटै भौगोलिक क्षेत्रमा लामो समय बस्दा उनीहरूको आफ्नै विशिष्ट रहनसहन र पहिचान बन्यो । साझा पहिचान जस्तो कि एउटै भाषा, वंश, धर्म र सँस्कृतिको विकास भयो र ती परम्परा मान्ने समूहहरूले आफूलाई एउटा छुट्टै जातिको रूपमा चिन्न थाले जस्तैः नेपालको सन्दर्भमा राई, लिम्बू, मगर, थारु त्यसैगरी संसारभरी यसरी नै जातजाति र भाषा सँस्कृतिको विकास हुँदै गयो आदि ।

भाषाको निर्माण

भाषाको विकास सम्पर्क र आवश्यकताका कारण भएको हो । अभिव्यक्तिको माध्यम हो भाषा, सुरुमा संकेतबाट सुरु भएको सञ्चार बिस्तारै ध्वनि र शब्दमा परिवर्तन भयो। समाजका सदस्यहरू बीच साझा बुझाइका लागि भाषाको विकास भयो। सुरुमा एउटै समूहमा आए पनि, मानिसहरू अलग–अलग ठाउँमा बाँडिएपछि उनीहरूको बोलीचालीमा भिन्नता आयो । भौगोलिक दूरी र हजारौं वर्षसम्म एक–अर्काबाट टाढा रहँदा, विभिन्न समूहले आफ्नै नयाँ शब्द र व्याकरण विकास गरे। यसले गर्दा मानव समाजमा सयौं आदिवासी भाषाहरू जन्मिए जस्तैः स्पेनिस, हिन्दी, अंग्रेजी, चाईनिज, जापानीज, फ्रेन्च र पोर्चुगिज भाषाहरू आदी । हामी नेपालको बारेमा भन्नु पर्दा नेपालका भाषाहरू मुख्यतया चार परिवारबाट आएका हुन– भारोपेली (जस्तैः नेपाली, मैथिली, भोजपुरी, थारु, बज्जिका,अवधी), भोट–बर्मेली (जस्तै तामाङ, नेवारी, मगर, गुरुङ, राई,लिम्बु,सुनुवार, शेर्पा ), अष्ट्रो एशियाली – सतार अर्थात सन्थाल र द्रविड –झाँगड। साँस्कृतिक परिवर्तन भूगोल र समयसँगै एउटै मूल भाषाबाट विभिन्न अपभ्रंश हुँदै नयाँ नयाँ भाषाहरू बने । जस्तै, संस्कृतबाट अपभ्रंश हुँदै हिन्दी, बंगाली र नेपाली भाषाको विकास भयो।अध्ययनको निष्कर्षमा, जात व्यवस्था कृत्रिम सामाजिक श्रेणीकरण हो भने जाति र भाषा प्राकृतिक रूपमा भूगोल र सामूहिक अनुभवबाट विकसित भएका पहिचान हुन ।

नाकको बनावट

मानवको नाक कतिपयको लामो, छोटो, च्याप्टो वा चुच्चो हुनुको मुख्य कारण भौगोलिक जलवायु र वंशानुगत अनुकूलन हो। हजारौँ वर्षसम्म फरक–फरक वातावरणमा बस्दा मानव शरीरले सास फेर्ने हावालाई शरीरको तापक्रमसँग मिलाउन नाकको आकार परिवर्तन गर्दै लग्यो । यसका मुख्य कारणहरूलाई यसरी वणर्न गर्न सकिन्छ जस्तै कि चिसो र सुख्खा जलवायु अर्थात चिसो ठाउँमा बस्ने मानिसहरूको नाक प्रायः लामो र साँघुरो हुन्छ । यसको मुख्य काम बाहिरको चिसो हावालाई फोक्सोसम्म पुग्नुअघि न्यानो र ओसिलो बनाउनु हो। लामो नाकको नलीले हावालाई न्यानो पार्न बढी समय र सतह प्रदान गर्छ । तातो र ओसिलो जलवायु तातो र आर्द्रता बढी भएको ठाउँमा बस्ने मानिसहरूको नाक प्रायः छोटो र चौडा हुन्छ । यस्तो वातावरणमा हावा पहिले नै न्यानो र ओसिलो हुने भएकाले नाकले धेरै कसरत गर्नु पर्दैन। चौडा नाकले सजिलै धेरै हावा भित्र पठाउन र शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ। वैज्ञानिक थम्प्सनले एउटा नियम प्रतिपादन गरेका थिए । सन् १८०० को अन्त्यतिर एन्थ्रोपोलोजिस्ट आर्थर थम्प्सनले यो तथ्य पत्ता लगाएका थिए कि मानिसको नाकको चौडाइ उनीहरू बसेको क्षेत्रको तापक्रम र आर्द्रतासँग प्रत्यक्ष सम्बन्धित हुन्छ । वंशानुगत गुण जलवायु बाहेक, आमाबाबुबाट आउने जीनले पनि नाकको आकार निर्धारण गर्छ । नाकको विकासमा विशेषगरी जीनहरूले नाकको डाँडीको चौडाइ र चुच्चोपन नियन्त्रण गर्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसैगरी सुन्दर पुरुष र सुन्दर नारी अर्थात यौन चयनले पनि कुनै समाजमा विशेष प्रकारको महत्व राख्ने हुँदा नाकलाई सुन्दर मानिने र त्यस्तै जोडी रोज्ने क्रम चल्दा पनि पुस्तान्तरण हुँदै जाँदा नाकको आकारमा भिन्नता आयो।

छालाको रंग

मानिसको छालाको रंग मुख्यतया  वातावरणमा भर पर्छ । घामको असर पनि हो जो मानिसहरू भूमध्यरेखा नजिकका तातो ठाउँमा बसे जस्तै मध्य र दक्षिण अमेरिका, उनीहरूको छाला सूर्यको हानिकारक पराबैंजनी किरणबाट बच्न गाढा वा कालो हुँदै गयो। जो मानिसहरू उत्तरतिरका चिसो र कम घाम लाग्ने ठाउँमा बसे, उनीहरूको छाला शरीरमा भिटामिन डी बनाउन सजिलो होस् भनेर गोरो वा हल्का भयो।

आज हामी मानव जाति एक आपसमा लडिरहेका छौं, एक आपसमा कालो, गोरो, राम्रो नराम्रो लामो नाक र छोटो नाक भाषा र सँस्कृतिको घमण्ड देखाएर एकआपसमा विभाजीत भएकाछौं तर वास्तवमा नाक, भाषा, शारीरिक बनावट र धर्म सँस्कृती भन्नेकुरा मानव सम्वन्ध भन्दा ठूला कुरा होईनन् । यी यावत कुराहरू त हामी संसारभरी राम्रो बासस्थान र दानापानीको खोजीमा डुल्दै हिंड्दा निर्माण भएका कुराहरू हुन । त्यसैले हामी नाक, छालाको रंग, भाषा सँस्कृति र धर्मको विषयमा मारामार र काटाकाट गर्नु सभ्य मानव जातिको धरातलमा उभिएर हेर्दा कुनै पनि हालतमा सहिय हुँदैन । आज हेर्नुहोस एउटा मानव जाति होईन कि जातभात, कालोगोरो, लामो नाक र छोटो नाक, भाषा र सँस्कृतिको विषयलाई लिएर लडिरहेका छौं । तर हामीलाई आषा र विश्वास छ मानव जातिको इतिहासको अध्ययन गरेपछि वास्तविकता बुझेपछि हामी पक्कै पनि एकआपसमा लड्न छाडेर संसार वदल्न लाग्ने छौं । यसैमा मानव जातिको हित लुकेको छ ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित