–एलेम मुन्जुर
छापामार कमाण्डर, टर्की कम्युनिस्ट पार्टी –माक्र्सवादी लेनिनवादी, टिक्को
० सबैभन्दा पहिले यहाँलाई स्वागत छ, के तपाईं आफ्नो परिचय दिन सक्नुहुन्छ ?
–नमस्ते। मेरो नाम एलेम मुन्जुर हो। म टिक्कोको एक कमाण्डर हुँ। (नोटः टिक्को भनेको टर्की कम्युनिस्ट पार्टी मालेको सैन्य संगठन हो । यो सन् १९७२ मा स्थापना भएको थियो ।) मार्च प्रतिरोध र नरसंहारको महिना हो। सर्वप्रथम, म सम्मानपूर्वक हालेप्चे, क्वामिस्लो, बेयाजित, गाजी र उमरानिएमा आफ्नो ज्यान गुमाउने सबैलाई सम्झन्छु। हामी मार्च ३० मा किजिल्डेरेमा अमर भएका माहिर चायन र उहाँका साथीहरूलाई पनि सम्झिरहेका छौं। गत हप्ता हामीले मार्च ८ मनायौं। विश्वभरका महिला र LGBTI मानिसहरूले सडकहरू भरिए। तिनीहरूले पितृसत्तात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गरे । हामी यो इच्छाशक्तिलाई सलाम गर्छौं। ढिलो भए पनि, हामी सबै महिला र LGBTI मानिसहरूलाई मार्च ८ को लागि बधाई दिन्छौं। न्यू रोज (इरानी क्यालेण्डर अनुसारको नयाँ वर्ष) सबै मध्यपूर्वी मानिसहरूको लागि प्रतिरोधको उत्सव हो, विशेषतः कुर्दिशहरूको लागि।
० तपाईंको पार्टीको दोस्रो महाधिवेशनमा, तपाईंहरुले साम्राज्यवादीहरू युद्धको तयारीमा रहेको औंल्याउनुभयो र युद्धको यो खतरा विरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकतालाई पूर्व कर्तव्यको रूपमा व्यक्त गर्नुभयो। पहिले रूस मार्फत युक्रेनको कब्जा, त्यसपछि प्यालेस्टाइन, लेबनान र इरानमा इजरायली आक्रमणहरू, जहाँ उनीहरूले अक्टोबर ७ को आक्रमणलाई बहानाको रूपमा प्रयोग गरे र अन्तमा इरान विरुद्ध अमेरिका–इजरायली आक्रमणहरू भइरहेका छन् । यी घटनाक्रमलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
– तपाईंले भन्नुभएझैं, हाम्रो पार्टीको दोस्रो महाधिवेशनका दस्ताबेजहरुमा विशेष गरी साम्राज्यवादी–पूँजीवादी प्रणालीको अवस्थाको बारेमा विस्तृत व्याख्या गरिएको छ । (नोटः उक्त पार्टीको दोस्रो महाधिवेशन २०२४ को गर्मीयाममा भएको थियो ।) राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाको बारेमा दस्तावेजले हाम्रो लागि, साथै अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र विश्वका जनताको लागि धेरै स्पष्ट दृष्टिकोण दिएको छ। साम्राज्यवादी–पूँजीवादी प्रणाली २००८ मा आएको संकटसँगै बाँचिरहेको छ, यस कारणले गर्दा, तिनीहरूले क्षेत्रीय युद्धहरूमा बढी ध्यान केन्द्रित गरे। तर यी क्षेत्रीय युद्धहरूले साम्राज्यवादी –पूँजीवादी प्रणालीको संकटको समाधान ल्याएनन्। यस प्रक्रियामा, दुई समूहहरू निर्माण भए, एकातिर अमेरिका–इङ्ग्ल्याण्ड र युरोपेली संघ, अर्कोतिर चीन र रूस। आज हामी युक्रेनमा युद्धको सामना गरिरहेका छौं, साथै यी दुई समूहहरू बीचको प्रतिस्पर्धाको परिणामस्वरूप इरान, लेबनान र प्यालेस्टाइनमा आक्रमणहरू भइरहेका छन् । यो चीन विरुद्ध अमेरिकी साम्राज्यवादको ‘सुरक्षात्मक’ आक्रमण हो । चीन अहिले बजार प्रतिस्पर्धामा “नयाँ र युवा” साम्राज्यवादी शक्तिको रूपमा देखा परेको छ । यस उद्देश्यका लागि, अमेरिकी साम्राज्यवादले मध्य पूर्वमा इजरायली यहूदीवादलाई आफ्नो अग्रणी आधारको रूपमा प्रयोग गरिरहेको छ र यी आक्रमणहरूको एउटा कारण इजरायली यहूदीवादको सुरक्षालाई सुदृढ पार्नु हो। इरान विरुद्धको आक्रमणलाई यसरी बुझ्नुपर्छ। इरानी मोल्ला शासन एक प्रतिक्रियावादी शासन हो। अवश्य पनि, इरानी मोल्ला–शासनबाट इरानी जनताको लागि शोषणबाट मुक्ति, स्वतन्त्रता र लोकतन्त्र प्राप्त हुन्न। तर यसबेला अमेरिकाले प्रचार गरिरहेको छ कि उनीहरूले इरानी जनताको लागि प्रजातन्त्र ल्याउन यी आक्रमणहरू सुरु गरेका थिए, जुन ठूलो झूट हो। अमेरिकी आक्रमणको प्रतिक्रियामा, इरानमा, राष्ट्रवाद र अन्धराष्ट्रवाद हुर्किरहेको छ । केही वर्ष पहिले, इरानले चिनियाँ साम्राज्यवादसँग देशको भूमिगत स्रोतहरूको बारेमा दीर्घकालीन सम्झौता ग¥यो, जुन सम्झौतालाई उनीहरूले जनतालाई लुकाए। यो गोप्य सम्झौताले इरानी जनता, क्रान्तिकारीहरू र प्रगतिवादीहरूमा ठूलो प्रतिक्रिया निम्त्यायो।
०यस अवस्थामा, वर्तमान युद्धको मूल्याङ्कन कसरी गर्नुपर्छ ?
–यो विषय स्पष्ट गर्न आवश्यक छ, यो युद्ध एक अन्यायपूर्ण र प्रतिक्रियावादी युद्ध हो। मैले भनेझैं, यो अन्यायपूर्ण र प्रतिक्रियावादी युद्ध श्रमिक वर्ग र श्रमजीवी जनताको हितमा छैन, न त अमेरिकामा न त इरानमा। यो युद्ध अमेरिकी प्रभुत्वलाई फेरि बलियो बनाउनको लागि हो। इरान भित्र “ठूलो र सानो शैतान” को प्रचार प्रयोग गरेर शैतानवाद र राष्ट्रवादलाई बलियो बनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “व्यक्तिगत इच्छा” र “व्यापारी” अडान बारे भनाइहरू निश्चित रूपमा सत्य होइनन्। ट्रम्प कारण होइनन्, उनी परिणाम हुन्। अमेरिकी साम्राज्यवादले “अमेरिकालाई फेरि महान बनाउनुहोस्” भन्ने दृष्टिकोण मार्फत आफ्नो प्रभुत्वको कमजोरीलाई लुकाउन प्रयास गर्दछ, ट्रम्प जस्ता व्यक्तित्वहरू यसका प्रतिनिधि हुन्। इरानी र अमेरिकी सर्वहारा वर्गका लागि मात्र होइन, तर सम्पूर्ण अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र विश्वका जनताका लागि यो युद्धको अर्थ भोकमरी, गरिबी र उनीहरूको अधिकारमाथि लुट हो। हामीले दोस्रो महाधिवेशनको दस्तावेजमा औंल्याएझैं, यो युद्धलाई विभाजनको तेस्रो साम्राज्यवादी युद्धको तयारीको अंशको रूपमा हेर्नुपर्छ। त्यसैले अवश्य पनि, यस प्रकारको प्रतिक्रियावादी र अन्यायपूर्ण विभाजनकारी युद्धको विरुद्धमा आफूलाई संगठित गर्नु र प्रगतिशील, क्रान्तिकारी र न्यायपूर्ण युद्धहरूले स्थान लिनु आवश्यक छ। अन्यायपूर्ण र प्रतिक्रियावादी युद्धहरूको विरुद्धमा केवल नारामा मात्र हुनु हुँदैन, यसको अर्थ हातमा हतियार लिएरै लड्नु पर्छ ।
०के तपाईंले उल्लेख गर्नुभएको तेस्रो साम्राज्यवादी विभाजनको युद्धको लागि अन्य संकेतहरू छन्?
–अवश्य पनि। सुरुमा, म युक्रेन र रूस बीच चार वर्षदेखि जारी युद्धको उदाहरण दिन सक्छु। यो कब्जा युद्ध साम्राज्यवादी शक्तिहरू बीचको विरोधाभास र द्वन्द्वबाट स्वतन्त्र छैन। यस कारणले गर्दा यस विषयमा म अनगिन्ती उदाहरणहरू दिन सक्छु। तर, हाम्रो विचारमा विभाजनको नयाँ युद्धको तयारीको लागि सबैभन्दा ठूलो संकेत भनेको क्रान्तिकारी र प्रगतिशील संगठनहरू र विपक्षी आन्दोलनहरू, कम्युनिस्ट संगठनहरू, विभिन्न राष्ट्रिय आन्दोलनहरू, साथै विभिन्न राज्यहरूको लक्ष्य हो, तिनीहरु साम्राज्यवादी र क्षेत्रीय प्रतिक्रियावादी शक्तिहरूको नियन्त्रणमा छैनन् । तिनीहरू साम्राज्यवादी र क्षेत्रीय प्रतिक्रियावादी शक्तिहरुका स्वार्थमा खतरा देखिएका छन् ।
यो स्पष्ट छ कि समाजवाद अहिले पनि साम्राज्यवादी–पूँजीवादी व्यवस्थाको सबैभन्दा ठूलो डर हो। आज पनि कुनै प्रजातान्त्रिक जनशक्ति वा समाजवादी राज्य छैन, जुन दुवै साम्राज्यवादी–पूँजीवादी व्यवस्थाको महत्वपूर्ण अनुभव र विकल्प हुन्। तर अझै पनि, साम्राज्यवादीरपूँजीवादी व्यवस्थाको एक मात्र विकल्प विरुद्ध आक्रमणहरू जारी छन्। विशेष गरी बुर्जुवा विचारधाराहरूले माक्र्सवाद–लेनिनवाद–माओवाद विरुद्ध आक्रमणको नयाँ लहर सुरु गरे।आक्रमणहरू वैचारिक क्षेत्रमा मात्र सीमित छैनन्, सैन्य क्षेत्रमा यी आक्रमणहरू भौतिक सफायाका रुपमा आएका छन् । यस सन्दर्भमा फिलिपिन्सको कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको नयाँ जन सेना विरुद्ध फिलिपिन्समा मृत्युदण्ड आक्रमणको रूपमा सैन्य आक्रमणहरू छन्। साथै भारतमा, जहाँ प्रतिक्रियावादी भारतीय राज्यले भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनमुक्ति छापामार सेनामाथि गम्भीर आक्रमणहरू सुरु गर्यो। भारतीय राज्यको “कागार अपरेशन” मा, हामीले धेरै महत्वपूर्ण कार्यकर्ता र लडाकुहरू गुमायौं, कामरेड बसवराजु गुमायौं। तर हामीलाई थाहा छ र हामीलाई कुनै शंका छैन कि भारतीय राज्यको यी आक्रमणहरू बाहेक, भारतको क्रान्ति फेरि आफ्नो खुट्टामा उभिनेछ, पहिलेभन्दा पनि बलियो हुनेछ र विगतमा जस्तै अगाडि बढ्नेछ। किनभने इतिहास अगाडि बढ्न रोकिएको छैन। हामी हाम्रा साथीहरूलाई अभिवादन गर्दैछौं, जो अन्तर्राष्ट्रिय सर्वहारा वर्गको रातो झण्डा फहराएर सम्मानका साथ अमर भएका थिए, हामी उनीहरूको संघर्षको अगाडि सम्मानका साथ शीर निहुराउँछौं ।
निश्चित रूपमा सफाया गर्ने, निमिट्यान्न पार्ने कार्य यी आक्रमणहरू अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सबैभन्दा अग्रणी दस्ता कम्युनिष्ट पार्टीहरू विरुद्ध मात्र निर्देशित छैनन्। साथै, साम्राज्यवादी शक्तिहरूको नियन्त्रणमा नभएको कुनै पनि संगठन वा संरचना यी आक्रमणहरूको निशाना बनेका छन् । सबैभन्दा महत्त्वपूर्ण उदाहरणहरू मध्ये अक्टोबर ७ बाट अक्सा तुफान अपरेशनको बहानामा प्यालेस्टिनी जनताको प्रतिरोध विरुद्ध गरिएको आक्रमण एउटा हो। साम्राज्यवादी र यहूदी प्रचारले प्यालेस्टिनी राष्ट्रिय आन्दोलनको प्रतिरोधलाई अवैध बनाउन हमासलाई अगाडि राख्यो। तिनीहरूले यस बारे धेरै प्रचार गरे। तर यी कालो प्रचारको बावजुद, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग प्यालेस्टिनी जनताको संघर्षको साथमा उभियो।
लेबनानमा, हिज्बुल्लाहमाथि निशाना बनाइएका आक्रमणहरू जारी छन्। हिज्बुल्लाहमाथिका आक्रमणहरू, साथै इरानमाथिका आक्रमणहरूलाई एकअर्कासँग समानान्तर रूपमा हेर्नु आवश्यक छ। कुर्दिश राष्ट्रिय आन्दोलनलाई विघटन गर्न र निशस्त्रीकरण गर्नका लागि गम्भीर आक्रमण जारी छ । यी आक्रमणहरू मुख्यतया रोजाभामा सुरु भए । (नोटः सिरियाको उत्तर–पूर्वी क्षेत्रमा रहेको एक स्वायत्त क्षेत्रलाई रोजाभा भनिन्छ) रोजाभा एउटा महत्त्वपूर्ण उदाहरण हो, किनकि त्यहाँ जनता, महिला र विभिन्न राष्ट्रियता र जातीयताका लागि लोकतान्त्रिक उपलब्धिहरू प्राप्त भएका थिए। रोजाभा क्रान्तिको अनुभव साम्राज्यवादी र क्षेत्रीय प्रतिक्रियावादी शक्तिहरूको हितमा नभएकोले, तिनीहरूले सलाफीवादी, जिहादी संगठनलाई सत्तामा ल्याए। यस मार्फत तिनीहरू रोजाभा क्रान्तिको उपलब्धिहरू मेटाउन चाहन्छन्।
०ठ्याक्कै यसै बारेमा म केही सोध्न चाहन्छु। तपाईंको पार्टीको नेतृत्वमा टिक्को लडाकुहरूको रूपमा तपाईंले रोजाभाको युद्धमा भाग लिनुभयो। सिरियामा प्रक्रियाको अन्तिम चरणमा, तिनीहरूले भने कि HTS र स्व–प्रशासन बीचको सम्झौता बलियो भयो। रोजाभामा घटेका हालैका घटनाक्रमहरूको तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?
–
यो प्रश्नको उत्तर दिन, म अघिल्लो कुराबाटै अगाडि बढ्छु। अमेरिकाले एउटा निर्णय गर्यो र आफ्ना रणनीतिक सम्झौताहरू परिवर्तन गर्यो। रोजाभामाथि भएको पछिल्लो आक्रमणको लहरविरुद्ध केही प्रतिरोध भए पनि, मुख्य रूपमा SDF(सिरियन डेमोक्रेटिक फोर्सेस) ले सम्झौता र समझदारीको बाटो अपनायो। यही लाइनअनुसार उनीहरू बिस्तारै पछाडि हट्न थाले।
यस प्रक्रियामा, अरब कबीला (Clans)हरूले SDF को पक्षमा लडाइँ नगर्ने निर्णय गरे। त्यसपछि अग्रपंक्तिमा मुख्य रूपमा कुर्द शक्तिहरू मात्र बाँकी रहे।
पछाडि हट्ने नीति भए पनि, प्रतिरोध भने जारी रह्यो। तपाईंले अघि उल्लेख गर्नुभएझैँ, हामी यस प्रक्रियामा रोजाभाको प्रतिरोधमा सहभागी भयौँ, र यसअघि भएका संघर्षहरूमा पनि सहभागी भएका थियौँ। टर्कीका अन्य क्रान्तिकारी संगठनहरू पनि यस प्रक्रियामा सहभागी भए।
शहीद नुबार ओजान्यान आर्मेनियन बटालियन अग्रपंक्तिमा तैनाथ थियो। यी शक्तिहरू विशेष गरी राजधानी सहर हसेके र त्यसका वरिपरिका क्षेत्रमा सक्रिय थिए।
०तपाईंको पार्टी र सेनाको दृष्टिकोणबाट, तपाईं यो प्रक्रियालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
म भन्न सक्छु कि यो अवधि हाम्रो लागि कठिन छ। पहिले म निम्न कुरा व्यक्त गर्न सक्छु। हामी कमरेड इब्राहिम कायपक्कायाका अनुयायी हौं। यस अर्थमा, यदि पार्टी र जनताको हित एकअर्काको विरुद्धमा आउँछ भने, हामी जनताको पक्षमा छौं। यस प्रक्रियामा, विभिन्न परिस्थितिहरूमा, हामी यो सिद्धान्त पालना गर्छौं। अवश्य पनि हामी यस प्रक्रियामा धेरै आलोचकहरू फेला पार्न सक्छौं। युद्ध अवधिका सबै नकारात्मक पक्षहरू बाहेक, कुर्दिश राष्ट्रिय आन्दोलनले घोषणा गर्दछ कि तिनीहरूले ठोस लाभहरू आफ्नो हातमा लिन सक्छन्। तर समयले देखाउनेछ कि यी लाभहरूलाई बलियो बनाउन सकिन्छ कि सकिँदैन। हामीलाई थाहा छ कि रोजाभामा यी वर्तमान विकासहरू रोजाभाको सीमानामा सीमित छैनन्। एक वर्षभन्दा बढी समयदेखि अब्दुल्लाह ओकालानको नेतृत्वमा कुर्दिश राष्ट्रिय आन्दोलन टर्की गणराज्य ‘प्रक्रिया’ बाट गुज्रिरहेको छ।
० यदि मैले सही बुझेको भए , रोजाभामा भएका पछिल्ला घटनाक्रमहरू कुर्दिश राष्ट्रिय आन्दोलन र टर्की गणराज्य राज्य बीचको ‘प्रक्रिया’ सँग जोडिएका रहनेछन्। यस बिन्दुमा, के तपाईं टर्कीमा कुर्दिश राष्ट्रिय आन्दोलनको वर्तमान दृष्टिकोणको बारेमा केही भन्न सक्नुहुन्छ?
–हो। वास्तवमा, यो “प्रक्रिया” लाई कुर्दिश आन्दोलनको दृष्टिकोणको रूपमा मात्र भन्नु अपूर्ण हुनेछ। वास्तवमा अन्तर्वार्ताको सुरुमा मैले भनेको थिएँ, यी सबै विकासहरूलाई विभाजनको तेस्रो साम्राज्यवादी युद्धको तयारीको रूपमा हेर्नुपर्छ। साम्राज्यवादी शक्तिहरू संयुक्त राज्य अमेरिका, इङ्गल्याण्ड र युरोपेली संघ, साथै इजरायली यहुदीवाद र टर्की गणराज्य फासीवाद जस्ता क्षेत्रीय प्रतिक्रियावादी शक्तिहरूले गम्भीर तयारी गरिरहेका छन्। सम्पूर्ण प्रक्रिया त्यसैसँग जोडिएको छ। मैले पहिले भनेझैं, यो प्रक्रियाले फासीवादी टर्की गणराज्यको हस्तक्षेप मार्फत आफ्नो रूप लियो। पश्चिमी साम्राज्यवादीहरूले कोलानीलाई, जसले उनीहरूलाई सबैभन्दा बढी नाफाको वाचा गरेको थियो, सत्तामा ल्याए। यदि तपाईंलाई याद छ भने, अङ्ग्रेजी साम्राज्यवादीहरूले केही वर्षअघि कोलानीलाई तयार पारेको बताएका थिए। उनीहरूले कोलानीलाई सत्तामा ल्याउनुको एउटा कारण यो हो कि उनीहरूले रोजाभा क्रान्ति जस्ता संरचनाहरूलाई अनुमति दिँदैनन्, जहाँ जनताले महत्वपूर्ण लोकतान्त्रिक लाभहरू प्राप्त गरेका थिए। साम्राज्यवादीहरूले कुर्दिश राष्ट्रिय आन्दोलन र एचटीएस (Harmonized Tarrif Schedule) बीच छनौट गरेनन्, उनीहरूलाई अब कुर्दिश राष्ट्रिय आन्दोलनको आवश्यकता छैन। र यो स्वीकार गर्न आवश्यक छ कि टर्की गणतन्त्र राज्यले आफ्नो एक राजनीति र साम्राज्यवादीहरूको हितलाई सफलतापूर्वक संयोजन गर्न सक्छ।
रोजाभामा भएका घटनाक्रमहरू टर्की राज्य र कुर्दिश राष्ट्रिय आन्दोलनका नेता अब्दुल्लाह ओकालान बीचको चलिरहेको ‘प्रक्रिया’ सँग जोडिएको कुरा कुनै गोप्य कुरा होइन। एकातिर, यो प्रक्रियालाई कुर्दिश राष्ट्रिय आन्दोलन र अब्दुल्लाह ओकालानले ‘शान्ति र लोकतान्त्रिक समाधान प्रक्रिया’ जस्तै भनेका छन् तर हामीलाई थाहा भएअनुसार, फासीवादी टर्की राज्यले अन्य नीतिहरू पछ्याइरहेका छन्। परिषद्को प्रतिवेदनमा यो स्पष्ट थियो कि शत्रु अझै पनि ‘देशलाई आतंकवादबाट सफा गर्ने’ कुरा गरिरहेको छ । हामीलाई लाग्छ कि यो प्रक्रिया नैतिक तरिकाले गरिएको छैन । किनभने एकातिर अब्दुल्लाह ओकालान अझै पनि जेलमा छन्, यी परिस्थितिहरूमा जेलबाट पठाइएका प्रत्येक कथन र प्रत्येक जानकारीमाथि धेरै प्रश्न उठाइन्छ । अर्कोतर्फ, सुरुदेखि नै यो प्रक्रिया जनताको अगाडि खुला रूपमा गरिनुपर्छ । तर अझै पनि धेरै बुँदाहरू गोप्य र लुकाइएका छन् ।
हाम्रो पार्टीले पहिले नै यो ‘प्रक्रिया’ साथै अब्दुल्लाहको आह्वान र ‘प्रतिरूप’ लाई कसरी मूल्याङ्कन गर्दैछौं भनेर सार्वजनिक गरेको थियो। यस कारणले गर्दा मलाई लाग्छ यहाँ फेरि विस्तारमा जानु आवश्यक छैन। अब उनीहरूले अप्रिल महिनामा संविधानमा भएका केही परिवर्तनहरूको उल्लेख गरिरहेका छन्। उनीहरूले पश्चातापको कानून र यस्तै कुराहरूको उल्लेख गर्छन्। यो छलफलले फासीवादी टर्की गणतन्त्रको “भित्री मोर्चालाई सुदृढ पार्ने” राजनीतिलाई स्पष्ट रूपमा देखाउँछ, जबकि शान्ति कुनै विषय होइन। यसले स्पष्ट रूपमा देखाउँछ कि यो तयारीले जनता र जनता विरुद्ध उत्पीडन बढाइरहेको छ।
० अन्तमा, के तपाईं केही थप्न चाहनुहुन्छ?
–अर्को जुलाईमा, टर्कीमा नाटो शिखर सम्मेलन हुँदैछ। हामी सबै महिला, युवा,LGBTI जनता, कामदार, किसान र सबै उत्पीडित जनतालाई त्यो शिखर सम्मेलन विरुद्ध प्रतिरोध गर्न आह्वान गर्दैछौं।
र मैले पहिले नै भनेझैं, फासीवादी टर्की राज्यको शान्ति वा लोकतन्त्र जस्तो कुनै लक्ष्य छैन। यसको विपरीत, तिनीहरू सधैं भन्छन् कि यो प्रक्रिया ‘भित्री मोर्चालाई सुदृढ पार्ने’ बारे हो। टर्की राज्य मात्र होइन, सम्पूर्ण विश्वमा तयारीहरू छन्। जनताको प्राप्त अधिकारहरू विरुद्ध गम्भीर आक्रमणहरू छन्। र हाम्रो कर्तव्य भनेको यी आक्रमणहरू विरुद्धको तयारीलाई बलियो बनाउनु हो।
हाम्रो पार्टीले दोस्रो महाधिवेशनका दस्तावेजहरूमा औंल्याएझैं, हामीले फासीवाद विरोधी साम्राज्यवाद विरोधी एकाइहरू निर्माण गर्नुपर्छ र स्थान लिनुपर्छ। साथै हामीले अन्यायपूर्ण युद्धहरू विरुद्ध न्यायपूर्ण युद्धको लागि हाम्रो हतियार हातमा लिएर लड्नुपर्छ। प्रतिक्रियावादी शक्तिहरू, साथै साम्राज्यवादी–पूँजीवादी व्यवस्थाले आफ्ना सबै आक्रमणहरूलाई हामी र हाम्रा जनतालाई निशस्त्र बनाउन, सशस्त्र संघर्षमा जनताको विश्वास तोड्न निर्देशित गरिरहेका छन्, हामीले यसको विरुद्धमा उभिनु पर्ने आवश्यकता छ ।
यसैले, हामी युवाहरू र महिलाहरू, साथै विभिन्न जाति र विश्वासका हाम्रा सबै जनतालाई जनसेना भित्र आफूलाई संगठित गर्न र साम्राज्यवाद, दलाल पुँजीवाद, पितृसत्ता, सामन्तवाद, जातिवाद, अराजकतावाद र सबै प्रकारका प्रतिक्रिया विरुद्ध हातमा हतियार लिएर लड्न आह्वान गर्दछौं।
Link: www.tkpml.com/interview-with-a-gerilla-of-tkp-ml-tikko/?swcfpc=1

