काठमाडौं । सर्वोच्च अदालतले गगन नेतृत्वको कांग्रसलाई वैधानिकता दिएको छ । ८ महिनादेखि चलिरहेको कांग्रेसको आन्तरिक विवाद वैशाख ४ गते राति सर्वोच्च अदालतले कानुनी रूपमै टुंगो लगाइदिएको हो । यसले पार्टी भित्र नेतृत्व परिवर्तनका लागि गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले उठाएको जोखिमको पनि अब वैधानिक अनुमोदन भएको छ ।जेनजी आन्दोलनपछि शेरबहादुर देउवाको नेतृत्वमाथि व्यापक प्रश्न उठेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले पार्टीभित्र विद्रोहको सुरुवात गरेका थिए ।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ। गत २०८२ पौषको अन्त्यमा गगन –विश्व प्रकाश समूहले काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरेको थियो । २०१४ सालमा पनि विशेष महाधिवेशन गरेर बि.पि. लाई नेतृत्वमा ल्याइएको थियो ।
गगन –विश्व प्रकाश समूहको कदमलाई निर्वाचन आयोगले समेत वैधानिकता दिएको थियो ।तर, आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू सर्वोच्च अदालत गए । यो बीचमा फागुन २१ मा भएको चुनावमा चाहिँ विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वकै हस्ताक्षरबाट टिकट लिएर देउवा समूहका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा उत्रिए । गगन – विश्व प्रकाश पक्षले सर्वोच्चको यस फैसलालाई स्वागत गर्दै अब कांग्रेस एक ढिक्का हुने भनेका छन् भने पूर्णबहादुर खड्कालगायतका नेताहरूले यसलाई अनपेक्षित भनेका छन् । सर्वोच्चको फैसलाले मात्र कांग्रेस को एकता हुन नसक्ने , केही कांग्रेसहरु संस्थापनबाट बाहिरिने बताइन्छ ।

