काठमाडौं । मे १९, १८९० मा जन्मिएका हो चि मिन्हलाई भियतनामका राष्ट्रपिता तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलनका महान् नेता मानिन्छ। उहाँकै नेतृत्वमा भियतनामले फ्रान्सेली उपनिवेशवाद र विदेशी हस्तक्षेपविरुद्ध लामो संघर्ष गरेको थियो। जन्म दिवसका अवसरमा राजधानी हानोईस्थित हो चि मिन्ह समाधिस्थलमा भियतनामका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्च सरकारी अधिकारीहरूले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यस्तै, हो चि मिन्ह सिटीसहित देशभर सांस्कृतिक कार्यक्रम, प्रदर्शनी, पुस्तक मेला तथा खेलकुद गतिविधि आयोजना गरिएको छ। विभिन्न स्थानमा उहाँको जीवन, विचार र योगदानबारे विशेष प्रदर्शनीसमेत राखिएको छ। भियतनामी जनताले हो चि मिन्हलाई राष्ट्रिय एकता, स्वतन्त्रता र समाजवादी आन्दोलनका प्रतीकका रूपमा सम्मान गर्दै आएका छन्। उहाँको जन्म दिवसलाई भियतनाममा राष्ट्रिय गौरव र प्रेरणाको दिनका रूपमा मनाइने गरिन्छ।

