यो संसदीय व्यवस्थाबाट शहीद तथा बेपत्ता परिवारका समस्या समाधान हुनेवाला छैन

दिनेश शर्मा , पोलिटव्यूरो सदस्य, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

० आज हामी बेपत्ता पारिएका व्यक्तिहरूको स्मृति दिवसमा छौं।तपाईँ पनि जनयुद्धमा बेपत्ता पारिएका व्यक्तिको परिवारको सदस्य हो।नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएको २० वर्ष पुग्दा समेत पनि बेपत्ता योद्धाहरुले किन न्याय नपाएका होलान् ?

–बेपत्ता परिवारहरूले न्याय नपाउनुको कारण राज्य सत्ता प्रतिक्रियावादी हुनु हो। प्रतिक्रियावादी राज्य सत्तालाई आमूल परिवर्तन गरेर जनताको व्यवस्था ल्याउने भनेर जनयुद्धको सुरुवात गरिएको थियो। उहाँहरु (प्रचण्डहरु) सितै हमी आन्दोलनमा लाग्यौँ , जनयुद्धमा सहभागी भयौँ । हाम्रा परिवारका सदस्यहरू बेपत्ता भए । कैयौं नेपाली जनताका छोराछोरीले सहादत प्राप्त गरे तर हामीले सोचेजस्तो व्यवस्था प्राप्त हुन सकेन ।जनयुद्ध र ६२ – ६३ को जनआन्दोलन पछि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। यो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था भनेको पनि आखिरमा बुर्जुवा व्यवस्था नै हो। यो पनि प्रतिक्रियावादी व्यवस्था नै हो र यो व्यवस्थाबाट सहिद तथा बेपत्ता परिवारले न्याय पाउन सक्दैनन् भन्ने हामीलाई लाग्छ। शहीद र बेपत्ता योद्धाहरूको सपना पूरा भएकै छैन । जहिले त्यो व्यवस्था लिन सफल हुन्छौं त्यतिबेला नै शहीद र बेपत्ता योद्धाका परिवारहरूले पनि न्याय पाउनेछन्। जति पनि यो व्यवस्थाभित्रका विभिन्न राजनीतिक दलहरु छन् , यो व्यवस्थाभित्रका राजनीतिक दलहरुले न्याय दिँदैनन् भन्ने कुरा मलाई लाग्छ।

० शहीद र बेपत्ता योद्धाहरूले न्याय नपाउनुको कारण पार्टी तथा नेताका आफ्ना विभिन्न स्वार्थका कारणले , व्यक्तिगत वा गुटगत स्वार्थका कारणले होइन र ? विभिन्न पार्टी समूहहरुमा तपाईहरु पनि छिन्नभिन्न हुनुभयो। त्यसकारणले गर्दाखेरि पनि त सहिद तथा बेपत्ता योद्धाहरुले न्याय पाएनन् नि त ?

–हामीले पार्टी फुटाएका होइनौं। जसले जनताको व्यवस्था लिनको निम्ति संघर्ष गरेका छौं भनेका थिए तर तिनीहरुले बाटो बदलेर यही व्यवस्थालाई बलियो बनाउँछु भनेका छन् । उनीहरुले पार्टी फुटालेका हुन् । हामीले चलाएको वर्गीय आन्दोलन अहिले पनि जारी छ। त्यो आन्दोलनले सफलता नपाउँदा सम्म जनताले न्याय पाउँदैनन् र सहिद तथा बेपत्ता योद्धाहरुलाई पनि न्याय मिल्दैन ।

० मोहन वैद्य किरणले ९७ जना सांसदहरूलाई लिएर पार्टी फुटाएको हो नि ? त्यो फुटको जिम्मा तपाईहरु पनि होइन र ?
– तपाईँले भनेजस्तो सांसदहरु अलगभएका हुन् । । तर त्यो पार्टी फुटाउनमा हामी जिम्मेवार छैनौ । पार्टी फुटालेर हामी सत्तामा पनि गएनौँ। सरकारमा पनि गएनौँ। जो प्रतिक्रियावादी सत्तामा गए बाटो बदलेर गए , उनीहरु फुटपरस्त हुन् । हामी आफ्नो अडानमा हाम्रो मिसनमा अडिक छौँ। र त्यसका निम्ति हामी काम गरिरहेका छौ।जसले विचार बदल्यो उसले पार्टी फुटाल्यो ।

० विचारका हिसाबले तपाईँहरू सही हुनुहोला तर संख्यात्मक हिसाबले एकदमै थोरै हुनुहुन्छ। प्रचण्डले कम्युनिस्ट एकता नगरी सम्भवै छैन भनिसकेका छन्। अब तपाईं के गर्नुहुन्छ ?

–उहाँहरुले त कम्युनिष्ट सिद्धान्त छोडिसक्नुभयो। जो कम्युनिष्ट नै होइन ऊ सित कसरी पार्टी एकता हुन्छ ?

० त्यसो भए प्रचण्ड कम्युनिष्ट होइनन् ?
–कहाँ हो त नि ! होइनन् नि । कम्युनिस्टले त सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ। गरिब गुरुवाको हक अधिकारको कुरा गर्छ। त्यो कम्युनिस्ट हो। हामीमा दार्शनिक रुपमा नै फरक भयौँ। उहाँले पुँजीवादी दर्शन बोकेर हिँडिसक्नुभयो भने कसरी कम्युनिस्ट हुनुभयो त बुर्जुवा संसदभित्रबाट सबै कुरा पूरा गर्छु भनेर पुँजीवादी दर्शन बोकेर हिँडिसकेपछि वहाँ कसरी कम्युनिस्ट हुनु भयो

० कुनैबेला तपाईँहरूले पनि त चुनाव उपयोग गरेको हो नि । विप्लवले पनि यस्तै कुरा गर्नुहुन्थ्यो । चुनावमा आइसक्नुभयो । जनताले देखाइदिए ।
–उपयोग गर्ने भन्ने कुरा २०४८ सालमा पनि हामीले चुनाव उपयोग गरेका थियौं । तर पिि५ जनयु४मा गयौ‌ । चुनाव उपयोगगर्ने कुरा एउटा कुरा हो। तर यही संसदमा गएर यही व्यवस्थाभित्रै बस्छु र यही व्यवस्था बलियो बनाउँछु भन्ने कुरा कुरा हो। त्यसकारणले गर्दाखेरि उपयोग गर्ने कुरा र यही व्यवस्थामा बिलिन हुने कुरा फरक छ।

० प्रचण्डले एकता गर्न भनेको ठाउँमा मोहन वैद्ध किरणको पार्टी एकता हुन्छ कि हुँदैन ?
–किनभने दार्शनिक रुपले नै हामी फरकफरक भयौँ। त्यसकारणले गर्दा हाम्रो पार्टी एकता हुँदैन।

० किन हुँदैन तपाईँहरू सधैँ एक्लै बस्ने ?

–भनिहाले नि , दार्शनिक रुपले नै फरक छ। बाटो नै फरक छ भने पार्टी एकता कसरी हुन्छ

० तपाईँहरूको बाटो के हो? नेपाल बनाउने हो कि बिगार्ने हो ?
हाम्रो बाटो स्पष्ट छ नि नयाँ जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद लागु गर्ने र साम्यवादमा जाने हाम्रो बाटो हो ।

० तपाईंको पार्टीमा सबै सकिए बुढा खाडा मात्रै बाँकी हुनुहुन्छ खै कसरी सक्नुहुन्छ क्रान्ति गर्न ?
–क्रान्तिकारी आन्दोलनमा लाग्नका निम्ति उमेरले छेक्दैन र उमेर महत्वपूर्ण कुरा होइन। कार्ल माक्र्स बुढेसकाल सम्म क्रान्तिकारी आन्दोलनको निम्ति लागिरहेकै थिए । माओ  जीवनको अन्तिम समयसम्म क्रान्तिकारी आन्दोलनमा प्रतिबद्ध थिए ।  सिद्धान्त महत्त्वपूर्ण कुरा हो, विचार महत्त्वपूर्ण कुरा हो।जसले क्रान्तिकारी विचार  बोकेको छ, त्यसले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्छ र त्यो क्रान्तिकारी आन्दोलनलाई निष्कर्षमा पुर्याउँछ ।

० द्वन्दकालका समस्याहरूलाई अहिले बालेन्द्र शाहको सरकारले पूरा गर्छु भनेको छ,  के पूरा गर्लान् ?
–असम्भव । पुरै असम्भव  । बालेन्द्र शाहबाट त्यो काम हुन सक्दैन ।

० हैन, कस्तो असम्भव भन्नुहुन्छ ?उहाँले त आफ्नो नीति तथा कार्यक्रममा द्वन्दकालका समस्या समाधान गर्छु भनि सक्नु भयो त ? 
– फेरि पनि भन्छु, उहाँबाट त्यो काम हुन सक्दैन , छ महिनापछि भेटेर फेरि कुरा गर्नुहोला द्वन्दकालका समस्याहरू समाधान हुन्छन् कि हुन्नन् भन्ने कुरा दृष्टिकोणमाथि भर पर्दछ। बालेन्द्र शाह कुन दृष्टिकोण बोकेर आएका छन् , यही प्रतिक्रियावादी व्यवस्थालाई संरक्षण गर्ने गरिकन उनी यहाँ आएका छन्। र हिजोका संसदवादी पार्टीहरु भन्दा पनि अझ अगाडि बढेर साम्राज्यवादको सेवा गर्नका निम्ति जनयुद्धकालीन समस्या जनयुद्धकालीन समस्या समाधान हुन्छ भन्ने कुरा त्यो बेकारको कुरा हो। हुन नसकिने कुरा हो।

० नेपाली जनताले बालेन्द्र शाहको पार्टीलाई दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएका छन्। अनि उहाँले नगरेर अनि तपाईँले गर्नुहुन्छ त सर?  

–यस्ता दुई तिहाई त धेरैपटक आयो नि। कुनैबेला नेपाली कांग्रेसको पनि दुई तिहाईको सरकार थियो। कुनै बेला एमाले र माके मिलेर बनेको नेकपा (नेकपा) को पनि दुईतिहाइको सरकार थियो। दुई तिहाईको कुरा छोड्दिनुस्। यो संसदीय व्यवस्थामा दुई तिहाई वा   सामान्य बहुमत जे जति मत ल्याए पनि समस्या समाधान गर्दैनन ।

० २०– २२ वर्षसम्म पनि द्वन्दकालका समस्याहरु समाधान नभएको बेलामा सरकारले गर्छु भन्दाखेरि त अब त्यसलाई समर्थन गर्नु नै उपयुक्त होला नि त।
–मैले भनिसकेको छु सहिद तथा बेपत्ता परिवारहरूले यही संसदीय व्यवस्थाबाट हाम्रा समस्या समाधान हुन्छन् भन्नु नै व्यर्थ हो। र हामीलाई विश्वास छैन यो संसदीय व्यवस्था नै गलत भएकाले बालेन शाह होस् वा अर्को कुनै शाह आए पनि समस्याको समाधान हुनेवाला छैन।

( नोट : दिनेश शर्मा सितको यो अन्तरवार्ता २०८३ जेष्ठ ७ गते यति खबरले प्रशारण गरेको थियो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित