अपत्य शर्मा
आज विश्वमा पृथ्वीको बढ्दो तापक्रमले गर्दा अतिवृष्टि, लामा खडेरी, बाढी, पहिरो, विभिन्न खाले भाइरसजन्य घातक रोगहरु, ठूलठूला डढेलाहरुले वनजंगल तथा त्यहाँ रहेका लाखांै जीवजन्तुको विनास भइरहेछ । खोलानालामा पानीका स्रोतहरु सुक्दै गएका छन् । पानीको मुख्य स्रोत भनेको पहाडी मुलुकहरुका लागि हिमाली भेगका हिमालहरुमा हिउँ पर्न छाडेपछि पानीका स्रोत पनि सुक्छ र मुरुभूमिकरण हुन्छ । हिउँ पग्लिन थालेपछि हिमतालहरु फुट्ने र त्यसले ल्याउने बाढी पहिरो र ठूलो जनधनको विनास पनि नेपालले र अन्य मुलुकहरुले पनि भोग्दैछन् । पृथ्वीको तापक्रम बढ्नुमा हरित ग्याँस उत्सर्जन गर्नु हो । कार्वन उत्सर्जन मुख्य रुपमा जीवाश्म इन्धन कोइला, तेल र प्राकृतिक ग्याँसको जलनबाट हुन्छ, यतिमा मात्र सीमित नभएर औद्योगिक प्रक्रियाहरु र वन जंगल विनास हो । नेपाल जलवायु परिवर्तनमा ०.०२ प्रतिशत मात्र जिम्मेवार छ तर केही स्रोतहरुले ०.१ प्रतिशतसम्म मान्छन् । तर जलवायु परिवर्तनको प्रभाव भने नेपालमा व्यापक रुपले पार्दै गएको छ । कुनै जिल्लामा ठूलो भारी वर्षा हुन्छ भने कैयौं जिल्लामा खडेरी हुन थालेका छन् र नेपालका सेता हिमालहरु काला पहाडहरुमा परिणत हुँदै गएका छन् । तर पनि नेपालले २०४५ मा नेट जिरो उत्सर्जन र २०५० मा नकारात्मक उत्सर्जनको लक्ष्य राखेको छ । नेपालका प्रतिक्रियावादी शासकहरुले जे जति प्रतिबद्धता प्रकट गर्छन् ती सबै कागजमा मात्र सीमित हुन्छन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरुमा साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरु र विकासोन्मुख मुलुकहरुले आ–आफ्ना ग्रीन हाउस उत्सर्जन कम गर्ने बाचा गरे पनि सो पूरा गरेका छैनन् । यदि पूरा गरेका भए पृथ्वीको तापक्रम घट्ने थियो ।
पृथ्वीको तापक्रम बढ्ने कारक तत्वहरुः
(१) पृथ्वीको जलवायु परिवर्तनका लागि जैविक प्रक्रिया (वायोस्फेयर)र भूगर्भिक प्रक्रिया (जियोलजिकल प्रोसेसेज) जिम्मेवार छन् ।
२) वायुमण्डलमा रहेको अक्सिजन (०२) को मुख्य स्रोत प्रकाश संस्लेषण प्रक्रिया हो । यसले कसरी काम गर्छ भने बोटविरुवा, लेउ, कायनोव्याक्टेरियाले सूर्यको प्रकाश प्रयोग गरेर पानी (एचटुओ) र कार्वनडाइअक्साइड (सिओटु) लाई ग्लुकोज र अक्सिजनमा परिणत गर्छन् । अरबौं वर्षदेखि जीवहरुले वायुमण्डलमा अक्सिजन थप्दै आएका छन् । यसकारण आज हामीले श्वास फेर्न सक्ने वायुमण्डल बनेको हो । स्मरणीय छः जमिनका विरुवाहरुले भन्दा बढी अक्सिजन समुद्रमा पाइने सुक्ष्म जीवहरुले उत्पादन गर्छन् । (जेसाइकन)
३) थालनीमा ज्वालामुखिबाट जलवाष्प, कार्वन डाइअक्साइड, नाइट्रोजन र केही मात्रामा अमोनिया निस्किएका थिए । स्थिरीकरण हुन ती ग्याँसहरु चिसो भएर महासागर बने र नाइट्रोजन वायुमण्डलमा स्थिर ग्याँसको रुपमा रह्यो ।
३) गुरुत्वाकर्षण शक्तिले गर्दा वायुमण्डललाई पृथ्वीमै रोकेर राख्न सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि गुरुत्वाकर्षण नभएको भए वायुमण्डलका ग्याँसका अणुहरु अन्तरिक्षमा उडेर जान्थे ।
ओजन तह र सौर्य विकिरण (स्ट्रेटोस्फेर)लाई समताप मण्डल भनिन्छ, जसले ओजोन तह (ओ ३) ले सूर्यबाट आउने हानिकारक परावैजनी विकिरणलाई रोक्छ । यो तह सूर्यको प्रकाश र अक्सिजनको रासायनिक प्रक्रियाबाट बनेको हो, जसले पृथ्वीमा जीवन सुरक्षित राख्छ । पृथ्वीको वायुमण्डललाई पाँच तहमा बाँडिएको छ । (क) ट्रापोस्फियर पृथ्वीको सतहदेखि करिब ८ देखि १५ किमीसम्म हुन्छ, जहाँ हाम्रा दैनिक मौसम परिवर्तन हुन्छन् । (ख) त्यसपछि स्ट्राटोस्फियर ५० किमिसम्म फैलिएको हुन्छ, जहाँ ओजोन परत पनि हुन्छ । (ग) त्यसपछि मेसोस्फियर करिब ८५ किलोमिटरसम्म फैलिएको हुन्छ जुन ठाउँमा तापमान घट्छ । (घ) थर्मोस्फियर करिव ५०० किमिसम्म हुन्छ जहाँ तापमान अत्यधिक हुन्छ । (ङ) अन्त्यमा एक्सोस्फियर हुन्छ जसले बाह्य अन्तरिक्षसँग जोड्छ । एक्सोस्फियर एकदमै फराकिलो र क्रमशः कम घनत्व भएको क्षेत्र हो, जहाँ वायुमण्डल अन्त्यमा बाह्य अन्तरिक्षसँग जोडिन्छ ।
जलवायु परिवर्तनसम्बन्धी अवधारणा वैज्ञानिक रुपमा १९ औं शताब्दीको अन्त्यतिर विशेष गरी १८५०–६० को दशकदेखि थाहा पर्न थाल्यो । त्यसपछि २० आंै शताब्दीमा आएर विभिन्न अनुसन्धानहरुले यसका थप प्रमाणहरु पेश गरे । त्यसपछि १९८०÷९० को दशकमा जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय रुपमा पनि ठूलो चुनौतीका रुपमा मान्न थालियो र विभिन्न देशहरु संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरु र वैज्ञानिकहरुले यसको रोकथामका लागि कदम चाल्न दबाब पनि दिन थाले । संयुक्त राष्ट्रसंघले यस विषयमा पहिलो पटक १९९२ मा रियो डिजेनेरियोमा भएको पृथ्वी सम्मेलनमा औपचारिक रुपमा उठायो र जलवायु परिवर्तनलाई वैश्विक प्राथमिकता बनाउन अनुरोध गरियो । त्यसपछि हरेक वर्ष कोप सम्मेलनहरु हुँदै आएका छन् ।
ब्राजिलको रियोडिजेनेयोमा भएको वैश्विक सम्मेलनले दुई मुख्य सन्धि पास ग¥यो जसमा जैविक विविधताको सन्धि ५ जुन १९९२ मा हस्ताक्षर भयो र २९ डिसेम्बर १९९३ मा लागु भयो । जबकि जलवायु परिवर्तनको सन्धि ५ जुन १९९२ मा हस्ताक्षर भयो र २१ मार्च १९९४ मा लागु भयो । रियो सम्मेलनको आयोजना (युएनएफसिसि) जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिद्वारा भएको थियो । युएनएफसिसिको सर्वोच्च निर्णय गर्ने निकाय नै कोप (पक्ष राष्ट्रहरु) को सम्मेलन हो । यसमा हरेक वर्ष जम्मा भएर जलवायु परिवर्तनको सामना गर्न के कस्ता काम भए, त्यसको समीक्षा गर्छन् र अगाडिको नीति बनाउँछन् । कोप एउटा यस्तो मञ्च हो जहाँ क्योटो प्रोटोकल र पेरिस सम्झौता जस्ता महत्वपूर्ण जलवायु सम्झौताहरु भएका छन् । नेपालले हरेक वर्ष हुने कोप सम्मेलनमा सक्रियतापूर्वक भाग लिंदै आफ्नो देशको तर्फबाट जलवायु वित्त (क्लाइमेट फाइनान्स) अनुकूलन क्षति तथा नोक्सानीका विषयहरु उठाउने गरेको छ ।
पृथ्वीलाई धेरै तात्नबाट जोगाउन भएका सम्मेलनहरुमा जापानको क्योटो १९९७ मा भएको कोप ३ सम्मेलनले विशेष महत्व राख्छ । त्यस सम्मेलनले औद्योगिक देशहरुलाई आफ्नो ग्रीन हाउस ग्याँस उत्सर्जन कटौती गर्न बाध्य बनायो । क्योटो सम्मेलनपछि भएको अर्को पेरिस कोप सम्झौता २०१५ मा भएको थियो जसले विश्वका देशहरुलाई पहिलो पटक एक साझा र कानुनीरुपले बाध्यकारी लक्ष्यहरुमा लाग्ने बनायो । यसले तापक्रम वृद्धिलाई २ डिग्री सेल्सियस भन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखेको थियो र सहभागी देशहरुलाई उनीहरुका राष्ट्रिय योजनाहरु प्रस्तुत गरेर नियमित रुपमा प्रगति देखाउन आग्रह गरेको थियो । तर पूर्ण रुपले कसैले पनि पूरा नगरे तापनि धेरै मुलुकहरुले आफ्नो राष्ट्रिय रुपमा निर्धारण गरिएका योगदानहरु (एनडिसिएस) प्रस्तुत गर्ने गरेका छन् र पारदर्शिताका लागि प्रणालीहरु पनि अघि बढाएका छन् । तर पनि वास्तविक उत्सर्जन कटौती भने अझै कम छ । सहभागी देशहरुलाई अझ सशक्त कदमहरु चाल्ने लक्ष्यहरु उच्च बनाउन र नियमित रुपमा प्रगति रेखदेख गर्न भनिएको छ । यसकारण पेरिस सम्झौता एउटा दीर्घकालीन प्रयासका रुपमा रहेको छ तापनि साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरु नै पृथ्वीको तापक्रम वृद्धिका लागि जिम्मेवार छन् ।
पृथ्वीको तापक्रम कम गर्न जिम्मेवार देशहरुले विकासशील देशहरुलाई विशेष सहयोगको आवश्यकता छ । विकसित पुँजीवादी मुलुकहरु र साम्राज्यवादी मुलुकले प्रत्येक वर्ष विकासशील मुलुकहरुलाई अनुकूलन कार्यक्रमहरु संचालन गर्न १०० विलियन अमेरिकी डलर उठाउने प्रतिबद्धता व्यक्त गरेतापनि साम्राज्यवादी अमेरिका पछि हटेको छ । जबकि धनी मुलुकहरुलाई कम घातक असर परेको छ भने विकासोन्मुख गरिब देशहरुमा बढी घातक असर परेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पृथ्वीको तापक्रम बढेको अस्वीकार गर्दै विल्कुलै झुटो हल्ला भनेका छन् ।
पृथ्वीलाई ताप्नबाट जोगाउन विश्वका सरोकार राख्ने मुलुकहरु वार्षिक जमघट गरेर छलफल र योजनाहरु बनाउन दत्तचित्तले लागेका छन् । कोपको वार्षिकी कोप ३० ब्राजिलको बेलेममा नोभेम्बर १० देखि २१ सम्म भयो । ब्राजिलको बेलेम अमेजनको मुटुमा भएको थियो । यस सम्मेलनमा जैविक विविधता र जंगलको बारेमा केन्द्रित थियो । अब कोप ३१ नोभेम्बर ९ देखि २० सम्म २०२६ मा टुर्कीको एनाटालियामा हुनेछ ।
माइक्रो सफ्ट (विलगेट) ले पृथ्वीबाट कार्वन हटाउने कार्यक्रम अनुसार वायुमण्डलबाट कार्वनडाइअक्साइड (सिओटु) हटाउनुको मुख्य उद्देश्य जलवायु परिवर्तनको सामना गरेर विश्वको तापक्रम वृद्धिलाई रोक्नु हो । माइक्रोसफ्टले २०२६ सम्म आइपुग्दा यो कार्यलाई अझ तीब्र बनाएको छ । यसको उद्देश्य कार्वनउत्सर्जन कम गर्नु मात्र नभएर वातावरणबाट बढी कार्वन हटाएर कार्वन नेगेटिभ बन्नु हो । माइक्रासफ्टले २०३० सम्ममा आफ्नो कार्वन फुट प्रिन्ट भन्दा बढी कार्वन वातावरणबाट हटाउने र २०५० सम्ममा १९७५ मा स्थापना भएदेखि गरेका सबै ऐतिहासिक कार्वनउत्सर्जन हटाउने प्रतिबद्धता जनाएको छ । यस्तो निर्णय किन ग¥यो भने कम्पनीले आपूmले विगतमा गरेको प्रदुषणको जिम्मेवारी लिंदै वातावरण सुधार्न यो साहसी निर्णय लिएको बताइन्छ । वातावरणमा कार्वनडाइअक्साइडको मात्रा बढ्दा पृथ्वी तातिरहेको छ । यसले समुद्री सतह, बाढी पहिरो खडेरी जस्ता प्रकोप बढाउने र पारिस्थितिक प्रणाली (इकोसिस्टम) नष्ट गर्ने खतरा छ । प्रविधि कम्पनी भएकाले सर्भर र डाटा सेन्टरहरु संचालन गर्दा हुने कार्वन उत्सर्जनलाई शुन्यमा पु¥याउन गाह्रो छ । त्यसैले हटाउन नसकिएका कार्वनलाई हटाउन प्रविधि र प्राकृतिक उपायहरु प्रयोग गरिन्छ ।
कार्वनलाई हटाउने तरिकाः
माइक्रोसफ्टले कार्वन हटाउन विभिन्न प्रविधि र प्रकृतिको सहारा लिन्छ ः
(१) इन्जिनियरिङ समाधान अन्तर्गत सिधै हावाबाट कार्वन तात्ने र वायो इनर्जी प्रयोग गरेर (सिओ२) लाई जमिन मुनि भण्डारण गर्ने प्रविधि ।
२) प्रकृतिमा आधारित समाधान अन्तर्गत रुख रोप्ने, माटोको गुणस्तर सुधार्ने र बायोचारको प्रयोग । बायोचार भनेको वनस्पति या जैविक पदार्थलाई अक्सिजनको अभावमा उच्च तापक्रममा जलाएर बनाइएको एक किसिमको अंगार वा कोइला हो । यो माटोको उर्वराशक्ति बढाउने र उत्पादन बढाउने दिगो उपाय हो । तर यो मल नभएर माटोको गुणस्तर सुधार्ने एक प्रकारको पदार्थ हो । यो बनाउन वनस्पति, घाँसपात वा गोवरलाई कम अक्सिजनमा ४००–८०० डिग्री सेल्सियसमा जलाएर बनाइन्छ । यसको के फाइदा हुन्छ भने माटोमा पानी र पोषक तत्व धारण गर्ने क्षमता बढाउँछ, माटोको भौतिक र रासायनिक गुणस्तर सुधार्छ र उत्पादकत्व बढाउँछ ।
पृथ्वीलाई तात्नबाट जोगाउन पेट्रोलियम पदार्थको प्रयोग हटाउनु अत्यावश्यक भए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेट्रोलियम पदार्थको प्रयोग हटाउने होइन बढाउने पक्षमा रहेकाले कार्वनडाइअक्साइड हटाउने प्रयासमा नकारात्मक प्रभाव स्वतः पर्छ । तर पनि स्वीस कम्पनीले क्लाइमवर्कसद्वारा वायुमण्डलबाट सोझै कार्वनडाइअक्साइड (सिओटु) हटाउने प्रविधि विकास गरेको छ । यो स्विस कम्पनी हो, जसले वातावरण जोगाउन ऐतिहासिक र अपरिहार्य कार्वन उत्सर्जन हटाउने काम गर्छ । (विएनपिपरिवास)
क्लाइमवर्कस प्रविधि र कार्य पद्धतिः
(१) प्रविधि ः क्लाइमवर्कसको मेसिनहरुले हावा तान्छन् र त्यसमा भएको कार्वनडाइअक्साइडलाई विशेष फिल्टर प्रयोग गरेर छुट्याउँछन् ।
(२) भण्डारण ः छुट्याइएको सिओटु लाई पानीसँग मिसाएर जमिनमुनि पठाइन्छ, जहाँ यो कालो ढुंगामा परिणत हुन्छ ।
३) उर्जाः यो प्रक्रियाको लागि नवीकरणीय उर्जा वा फोहोर ताप (वास्ट हिट) को प्रयोग गरिन्छ । अवश्य पनि यो प्रविधि ज्यादै महंगो छ र विवादास्पद छ ।
४) स्थानः कम्पनीले आइसल्याण्डमा ममथ जस्ता ठूला प्लान्टहरु संचालन गरिरहेको छ । (युट्व क्लिमवक्र्स) महत्व र फाइदाहरुः नेट जिरो सन् २०५० सम्ममा प्राप्त गर्न यो प्रविधि महत्वपूर्ण मानिन्छ ।
स्थायी रुपमा हटाउने काम कसरी गर्छ भने भण्डारण गरेको सिओटुलाई स्थायी रुपमा पानी मुनि र जमिनमुनि राख्छ । जुन पछि सारो कालो चट्टानमा फेरिन्छ । उपरोक्त विवरणले के प्रष्ट हुन्छ भने साम्राज्यवादी अमेरिका जलवायु परिवर्तनको पक्षमा नभए पनि विकसित पुँजीवादी मुलुकहरु जो पृथ्वीको तापक्रम कम गर्ने पक्षमा छन् उनीहरुले तापक्रम कम गर्ने पक्षमा छन् उनीहरुले तापक्रम घटाउन विशेष प्रयास र योगदान गर्नेछन् । सफलता वा असफलता भविष्यको गर्भमा छ ।

