समाजको अध्ययन गरेर साहित्य सिर्जना गर्न सल्लाह दिन्छु

–नरेश शाक्य, लेखक तथा साहित्यकार
नरेश शाक्य नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्णयोगदान पुराएका व्यक्तित्व हुनुहुन्छ । उहाँले साहित्यिक लेखन मार्फत् पनि नेपाली प्रगतिशील साहित्यको सेवा गर्दै आउनु भएको छ । उहाँका १) नरेश शाक्य (निरजका ) का कविता र गीतहरु (२) परिवेश (३) अन्धकारको वृत्तचित्र (४) क्यानभाषमा कविता (५) सुस्केराको अन्तव्र्यथा (६) सम्बोधी (७) घामका पाइला (८) दुर्घटित सपनाहरु (९) आकाश चुम्न खोज्दा (१०) एउटा फर्जी घोषणाको विरुद्ध (११) एउटा नदीको आत्म कथ्य लगायतका कविता र गीत संग्रहहरु प्रकाशित छन् ।
उहाँ २००३ साल मंसिर १० गते वुवा गंगाप्रसाद शाक्य र आमा जगतकुमारी शाक्यको कोखबाट जन्मनु भएको थियो । उहाँको जन्मस्थान सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. नं. ३ हो । बुबा–आमाका र भाई छोराहरु मध्ये उहाँ कान्छो भाई हुनुहुन्छ । उहाँका दाजुहरु जेठा लाल प्रसाद शाक्य, माहिलो टिकाराज र साहिलो कृष्ण प्रसाद हुनुहुन्छ । उहाँका ३ दिदी जेठी सूर्य कुमारी, माहिली सकुन्तला र कान्छी शुशिला हुनुहुन्छ ।
शाक्यले धरानमा विद्यार्थी जीवन व्यतित गरिरहँदा धरानबजारमा वामपन्थी राजनीतिको राम्रै प्रभाव थियो । त्यसप्रकारको राजनीतिक माहोलमा शाक्य पनि वामपन्थी राजनीतितर्फ आकर्षित हुनुभयो । विद्यार्थी जीवनपछि उहाँ तेह्रथुमको आठराईको एक स्कूलमा शिक्षकको रुपमा कार्यरत हुनुुभयो । उहाँ आठराईमा शिक्षक छँदा पूर्वी तराईको झापामा “किसान विद्रोह” चल्दै थियो । झापा विद्रोहको पक्षधर भएको आरोपमा प्रहरी प्रशासनले शाक्यलाई वारेन्ट जारी ग¥यो । उहाँ तेह्रथुमबाट फरार हुनु भयो ।
विराटनगरका भरतमोहन अधिकारी झापा विद्रोहका पक्षधर हुनुहुन्थेन । तर नरेश शाक्यको जीवन रक्षा गर्नु एउटा कर्तव्य ठानेर नरेश शाक्यलाई अधिकारीले सिराहा पठाइदिनु भयो । सिराहामा जय गोविन्द साह, विष्णुलाल वाइबा, कष्णलाल वाइबा लगायतका न्यूक्लियस चौम धारका साथीहरु थिए । नरेश शाक्य सिराहको गोलबजार क्षेत्र र त्यस वरपर करिव २ वर्षसम्म स्थानीय विद्यार्थीहरुलाई पढाउँदै बस्नु भयो । प्यूठानमा केही समय शिक्षक भएपछि–शिक्षक पेशा छाडेर नेकपा (मोहनविक्रम–निर्मल लामा पक्ष) को हेडक्वाटर बनारसमा पनि बस्नु भयो । यसपटक हाँक साप्ताहिकले नरेश शाक्य सित कुराकानी गरेको छ ।
० आजभोलि यहाँको दिनचर्चा कसरी चलिरहेको छ ?
–अहिले म अलि विमारी छु । सुगर, ग्यास्ट्रिकको विमारी छु । मेरी दिदी सकुन्तलाकी छोरी (मेरी भान्जी शिला) को घरमा यही काठमाडौंको तारकेश्वर न.पा. वडा नं. ४. शेषमति नदीको किनारमा (गोंगबु भन्दा उत्तरतर्फ) भान्जीको घरमा बसिरहेको छु । मेरो जीवन निकै कष्ठपूर्ण ढंगले बित्दै आएको हो । अहिले म प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य छु। आजीवन सदस्य भएकाले करिब ५० हजार रुपैयाँ प्रतिष्ठानले मासिक रुपमा उपलब्ध गराउँछ । त्यसबाट मलाई जीवन चलाउन सजिलो भएको छ ।
० अहिले के लेख्दै हुनुहुन्छ ?
–म कविताहरु लेख्छु, तर म आजभोलि खासै नियमित लेख्दैन । मुड चलेको बेला कविता लेख्छु ।
० लेखक, साहित्यकार बन्न चाहने नयाँ पुस्तालाई के सल्लाह दिनुहुन्छ ?
–लेख्नु भन्दा पहिले राम्रोसँग, मिहेनतपूर्वक समाजको अध्ययन गर्नुस् र लेख्नुस् भन्ने सल्लाह दिन्छु ।
० तपाई कसरी वाम आन्दोलन प्रति प्रभावित हुनुभयो ?
– मैले शिक्षा निकेतन निमावि (रत्न रोड धरान) मा कक्षा ७ मा अध्ययन गरें । धरानकै पब्लिक माविमा कक्षा १० सम्म अध्ययन गरें । महेन्द्र कलेजधरानबाट वि.ए.सम्म अध्ययन गरें । मेरा ती दिनहरु, विद्यार्थी जीवनमा धरान वामपन्थीहरुको अखडा थियो । महेन्द्र कलेजमा स्ववियु निर्वाचनमा म साहित्य सचिव समेत विजयी भएको थिएँ ।
० विद्यार्थी संगठनमा काम गर्दा थप अनुभव के छ ?
–म २०२० सालमा नेपाल राष्ट्रि विद्यार्थी फेडेरेशन (ने.रा.वि.फे.) को सदस्य थिएँ । विद्यार्थीकालमा प्रगतिशील गीत, कविता सिर्जना गर्ने, नाटकहरु मञ्चन गर्ने कार्य हुन्थे। कम्युनिस्ट भनेको अन्याय र विभेदको विरोधमा संघर्ष गर्ने पार्टी हो भन्ने गरिन्थ्यो । ती सबै गतिविधिले मलाई प्रभाव पा¥यो त्यतिबेलै ।
० शिक्षण पेशाको अनुभव ?
–धरानमा अंग्रेजी विषयमा वि.ए. गरेपछि तेह्रथुमको मूलपानी आठराई त्रिमोहन हाइस्कूलमा शिक्षक बन्न गएँ । राजा त्रिभुवन र मोहन शमशेरको नाम जोडेर त्रिमोहन स्कूलको नाम राखिएको थियो । २०२५ देखि २०२८ सम्म मैले लगातार तीन वर्ष पढाएँ । त्यसपछि धरान घर फर्किएँ । २०३० सालतिर सिराहा आएर पढाउने काम गरें । २०३२ सालमा प्यूठानको बागदुलास्थित जनता हाइस्कूलमा पढाएँ । म विमारी पनि भएँ । ०६२÷०६३ को आन्दोलन ताका ललितपुरको महालक्ष्मी थानको डिलाइट ईङलिस बोर्डिङ स्कूलमा पढाउँदै थिएँ । मेरो पटकपटक विमारी बल्झिरहने अवस्था भयो । बालविद्या मावि ग्वार्कोमा पनि पढाएँ ।
० शिक्षण पेशामा स्थायित्व वा निरन्तरता किन भएन ?
–विभिन्न कारणले मेरो शिक्षण पेशामा स्थायित्व हुन सकेन । जतिबेला झापा विद्रोह हुँदै थियो – २८साल तिर । त्यतिखेर म तेह्रथुममा पढाउँथे । मैले भनिहाले मूलपानीको त्रिमोहन माविमा । त्यतिखेर नेकपाको जिल्ला कमिटी बनेको थियो । सेक्रेटरी मित्रलाल सुवेदी हुनुहुन्थ्यो । सदस्यहरुमा सूर्य कन्दङवा म नरेश शाक्य,खड्गबहादुर आङवाङ, मानबहादुर राई, रामबहादुर तुम्बाहाम्फे, चन्द्रमान कन्दङवा थियौं । केपी ओली पनि आठराई पुगेका थिए ।
हामीले आठराईको चोकमा नारा जुलुश गरियो । झापा विद्रोह सामन्तवाद विरुद्धको संघर्ष हो भन्यौं । हाम्रो गतिविधि थाहा पाएर सरकारले वारेन्ट जारी ग¥यो । म पढाउन छाडेर धरान घर आएर भूमिगत भएँ । साथीहरुको सल्लाहले २०३० सालतिर सिराहा पुगें । जय गोविन्द साह, विष्णु वाइवा, काजिलाल लामा, जगन्नाथ साह, सूर्यमान लामा, इन्द्रलाल लामा,महेन्द्र लामा–यिनै साथीहरुको संगतमा करीव २ वर्ष बिताएँ । कजनाहा स्कूलमा पढाएँ पनि । टोलमा केटाकेटीहरुलाइ पढाउँथे । तर म सिराहामा एक ठाउँमा बसेन । ठाउँ फेर्दै बस्नु प¥यो । साथीहरुको सल्लाहले २०३२ मा प्यूठान बाग्दुलाको जनता हाइस्कूलमा पढाउन पुगें । त्यहाँ मैले जम्मा ६ महिना पढाएँ । हेडमास्टर बेगमबहादुर के.सी., शिक्षक गेहराज शर्मा, वेगमकी श्रीमती पुतला सबै सम्झनामा छन् । जि.शि. अ.ले मेरो नाम, गाउँ ठाउँ, प्रमाणपत्र माग्न थाल्यो । अनि म प्यूठान पनि छोडेर नेकपा (चौम) को हेडक्वाटर भारतको बनारस पुगें ।
० हिरासत जेलको अनुभव ?
–म केही समय बनारसमा नेकपा (चौ.म.धार) को हेडक्वाटरमा बसें । मोहनविक्रम र निर्मल लामाले तपाई आफ्नै क्षेत्रमा जानुस् भन्नुभयो। मोहनजीले तपाई साहित्यमा रुची राख्ने भएकाले दार्जलिङका साहित्यकारहरुसित सम्पर्क गर्न भन्नुभएको थियो । चौथो महाधिवेशनका दस्तावेज र पार्टीका अन्य सामाग्री, रसियन क्रान्तिका अन्य कितावहरु मसँग थिएँ । बनारसबाट म रेलमा दार्जलिङतिर जाँदै गर्दा झापा–मोरङ भन्दा पर भारतको गलजलिया भन्ने ठाउँमा शंका गरेर भारतीय प्रहरीले पक्राउ ग¥यो। किसनगञ्ज कारागारमा ७ महिना २२ दिन बसें । नेपालबाट कुनै साथीहरु सम्पर्कमा आएनन् । जानकारी पनि भएन । भारतमा नक्सलाइट आन्दोलन चल्दै थियो । नक्सलाइटहरु अभय मल्लिकसँग हिरासतमै भोट भेट भएको थियो। हामी चारुका मान्छे हौं भन्थे । हिरासतबाट रिहा भएपछि दार्जलिङको खर्साङ पुगे, जहाँ मेरो भतिजी र भतिजी ज्वाई दुर्गा प्रसादको घर थियो । दार्जलिङको खसाङमा म ६ महिनासम्म ज्यामी काम गरेर बसें ।
० २०४६ पछिका दिन कस्ता रहे ?
–अनेकौं दुःख, पीडाहरुमै जीवन बिताउनु प¥यो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उनका स्वकीय सचिव सुवर्ण श्रेष्ठले उपचारार्थ मलाई बोलाई पठाए । मलाई मैतीदेवीमा कोठा ल्याएर राखिदिए । त्यतिबेलै मैले कीर्तिपुरको उज्जवल शिशु निकेतन स्कूलमा पढाएको थिएँ । ललितपुरको लुभुको बालकुञ्ज माविमा ३ महिना पढाएँ । फेरि मेरो दिमागको रोग बल्झिएपछि पढाउन छाडें । ६÷७ वर्ष ललितपुर खुमलटारको “मामा सेकुवा कर्नर” मा काम गरे । मेरो दिमागको समस्या भएपछि म वेपत्ता भएछु । अन्तमा मेरा भान्जभान्जीले ल्याएर उपचार गरी राखे ।
० तपाई कसरी दिमागको विमारी हुनुभयो ?
–२०३६ सालको जनमत संग्रहका बेलादेखि मलाई यो समस्या भयो । उपचारबाट सन्चो हुने फेरि विमार बल्झिने, फेरि सन्चो हुने यस्तै भइरह्यो ।
० नेपालका वामपन्थी पार्टीहरुलाई के सल्लाह दिनुहुन्छ ?
– वामपन्थीहरु आपसमा झगडा गर्ने भन्दा पनि सकभर पार्टी एकता गर्ने, पार्टी एकता हुन नसक्नेहरुका बीचमा पनि मिल्ने । बुँदामा सहकार्य गरेर जाने कार्यशैलीको विकास गर्नुपर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित