–प्रा.डा. सुरेन्द्र के.सी, राजनीतिक विश्लेषक
० शुरुमा, म यहाँको स्वास्थ्य अवस्था जान्न चाहन्छु ?
–अहिले मेरो स्वास्थ्य ठीक छ । मैले केही वर्ष पहिले क्यान्सरको उपचार गरेको थिएँ । दिल्लीको राजीव गान्धी अस्पतालमा हरेक वर्ष एक पटक फलो अपमा जान्छु ।
० प्राध्यापन पेशाबाट निवृत्त भएपछि यहाँको दिनचर्या कसरी चलिरहेको छ ?
–म अहिले सोसल मिडियामा धेरै समय बिताउने गरेको छु । दुईवटा युट्युवलाई मैले एक दिन बिराएर पालैपालो अन्तर्वार्ता दिन्छु । अरु दुईवटा युटयुवलाई हप्तामा १/१ पटक अन्तर्वार्ता दिन्छु । भइपरी आउने युट्युव वा अन्य संचारमाध्यमको लागि एउटालाई समय छुट्टाएको छु । माउण्टेन टेलिभिजनमा एउटा कार्यक्रम आफै चलाउँछु । त्यसरी हरेक दिन ३ देखि ५ वटा टक शोमा व्यस्त हुन्छु । सार्वजनिक कार्यक्रममा पनि जान्छु । यसरी मेरा दिन बितिरहेका छन् ।
० यहाँ लगातार युटयुवमा आउनुहुन्छ । युट्युवमा यहाँकै लगानी हो कि अर्काको युटयुव हो ?
–कसरी मेरो हुनु ? ! जसरी मैले हाँकलाई अन्तर्वार्ता दिंदैछु । त्यस्तै हो । मैले कहाँबाट लगानी गर्नु ?
० हैन, मैले के सुनेको थिएँ भने, ती यु ट्युवहरुमा स्वयं सुरेन्द्र के.सी.को लगानी छ ?
– त्यो तपाई मध्ययुगिन मान्छेको सोंचाई हो । एउटा क्यामेरालाई नै अढाई लाख पर्छ, मैले त्यत्रो लगानी कहाँबाट लिने ?
० त्यसो भए युट्युवमा सुरेन्द्र केसीको लगानी भन्ने कुरा झुठो हो ?
– कसरी सम्भव छ, भन्नुस् त (झमक्क रिसाउँदै) पत्रिकाहरुमा पार्टीकरण भयो । मिडियामा पार्टीकरण भयो । म जस्ता पार्टी बाहिरका मान्छेका लेख छापिएन । मिडियामा बजाइएन । तपाईहरु जस्ताको कुकर्मले देश बिग्रिएको छ । हामी जस्ता मान्छेहरु प्रति तपाईहरु वाइयस हुनुहुन्छ ।
० तपाईले नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा विद्यावारिधी गर्नुभयो । विद्यावारिधी गर्नका लागि त तमाम विषय थिए होला तर कम्युनिस्ट पार्टीको इतिहास नै छान्नुको कारण के थियो ? कुन चीजले त्यस विषयमा विद्यावारिधी गर्न तपाईलाई प्रेरित ग¥यो ?
–त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्दा म अनेरास्ववियुको कार्यकर्ता थिएँ २०३५ तिर । म शिक्षण सेवामा लागे । यस्तो सेवामा लागेको व्यक्ति राजनीति गर्नु हुन्न भन्ने मेरो दृष्टिकोण बन्यो । तर राजनीति गर्दा मैले जे सोच्दथे, त्यो अधुरो काम कसरी पूरा गर्ने होला भन्ने मलाई लाग्थ्यो । राजनीतिक क्षेत्रबाट गर्न नसकेको काम यसरी अनुसन्धानबाट भए पनि पूरा गरौं भन्ने मलाई लाग्यो । त्यसरी मैले मेरो विद्यावारिधीको विषय नेकपाको इतिहास छानेको हुँ । यी आफूलाई कम्युनिस्ट बताउनेहरुको कर्म –कुकर्मबारे लेखें भने मेरो विद्यार्थी जीवनको राजनीतिक कार्यको अधुरोपना पूरा हुन्छ भन्ने लाग्यो ।
०यहाँको विद्यावारिधीको शोधपत्र नेकपा स्थापना २००६ देखि २०१९ सम्म अर्थात् अविभाजितकालीन नेकपाको इतिहास माथि हो । त्यसपछि नेकपाको इतिहास भाग २,३,४ जे जति तपाईका पुस्तक छन्, ती विद्यावारिधीका अतिरिक्त अध्ययन हुन् । शोधपत्र प्रकाशित भइसकेपछि, शोधपत्रमा राख्नुपर्ने विषय पहिलै थाहा भएको भए मेरो शोधपत्रमा राख्ने थिए नि भन्ने कुनै त्यस्तो विषय वा सन्दर्भ छैन ?
–त्यस्तो छैन । तर मैले मेरो विद्यावारिधीको शोधपत्रमा जुन निश्कर्ष निकालेको छु । मेरो निश्कर्ष अनुसार नै यहाँको वाम आन्दोलनको स्थिति संचालन भएको अगाडि बढेको देख्दा मेरो निश्कर्ष ठीकै रहेछ भन्ने मैले अहिले ठान्दछु ।
० कम्युनिस्ट आन्दोलन भनेको त अन्तर्राष्ट्रिय आन्दोलन पनि हो । यस्तो अन्तर्राष्ट्रिय महत्वको विषयलाई अंग्रेजी भाषामा पनि छपाउन पाए हुन्थ्यो भन्ने यहाँलाई लाग्दैन ?
–तयार भइसक्यो । नेकपाको इतिहास, २००६ देखि १९ सम्म भाग १, २०१९ देखि २०४९ सम्म भाग २, २०४९ दवेखि २०६५ सम्म भाग ३ र २०६२ दवेखि २०८२ सम्म भाग ४, मेरो अध्ययन हो । यसरी समयको खण्ड खण्ड छुट्टाएर मैले अध्ययन गरेको छु । भाग ४ प्रेसमा छ । बजारमा छिटै आउँदैछ । ती ४ वटै खण्डलाई अंग्रेजी रुपान्तरण गरेर पनि ल्याइँदैछ । भन्ने शीर्षकमा त्यो पुस्तक आउँदैछ । २०८२ पछिको कम्युनिस्ट आन्दोलनको इतिहास तपाईहरु आउँदो पुस्ताका साथीहरुले लेख्नुस् । त्यस सम्बन्धमा मैले लगभग छुट्टी लिइसकेको छु । मेरो जीवनमा मैले यत्ति गरें । बाँकी काम तपाईहरु नयाँ पुस्ताका साथीहरुले गर्ने हो ।
० यहाँले जिन्दगीमा प्रशस्तै अनुसन्धान गर्नुभयो । तपाई अनुसन्धान निर्देशक भएर गराएका काम अर्थात् तपाईकै भाषामा भन्नुपर्दा “तपाईका केटाहरु”–केही नोटेवल, प्लिज ।
–मैले एम.ए.लाई करिब १० जनाको थेसिस गाइड गरें हुँला । पि.एच.डि.लाई ४ जना जतिलाई गाइड गरें । बेदुराम भूसालको जनताको बहुदलीय जनवाद सम्बन्धी विद्यावारिधीको शोधपत्र मैले हेरेको थिएँ । शशिधर भण्डारीको एमएको शोधपत्र “अखिल भारत नेपाली एकता समाजको इतिहास” पनि मैले हरेको थिएँ ।
० यहाँले “नेपालको कुटनीतिक इतिहास” पुस्तक लेख्नु भएको छ । विश्वविद्यालयमा पनि यो विषय पढाउनु भयो । कुटनीतिक इतिहासको एउटा प्राध्यापक को नजरमा आजको नेपालको कुटनीतिक व्यवहारको अवस्था के छ ?
– कुटनीतिक व्यवहार (Diplomatic Practice) नेपालको कमजोर छ । हाम्रो विदेश नीतिको मार्गदर्शक सिद्धान्त कमजोर भएको वा उपेक्षा गरिएको मैले पाउँछु । एक चीन नीति, समदुरीय सिद्धान्त, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र, विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र –यी नेपालको विदेश नीतिका मार्गदर्शन हुन् । तर ती कुराहरुमा नेपाल चुक्दै गइरहेको छ । युक्रेन मामला आयो भने हामी युक्रेनका पक्षमा छौं भन्ने । पछिल्लो कालमा जेनजी विद्रोहका बेला टि.ओ.वि.भनेर उफ्रने यस्ता कुराले हाम्रो कुटनीतिक व्यवहारलाई कमजोर बनाउँदै लगेको छ ।
.० सन् २०१५ मा भारतीय प्र.म. मोदी चीन भ्रमण जाँदा मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङका बीचमा नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने सम्झौता भएको थियो । त्यसपछि नेपालले पटकपटक दुवै देशलाई कुटनीतिक नोट पठाउँदै आएको छ । उनीहरुले लिपुलेक प्रयोग गर्ने भनिरहेका छन् । ठूला देशहरुको नेपाल हेपाईमा पर्दै गएको हो ?
–सन् २०११ सालदेखिनै त्यसबारे(लिपुलेकबाट व्यापारगर्ने बारे) कुरा हुन थालेको भन्ने भनाई छ । महाकाली सन्धि गर्दा महाकाली सन्धिको उद्भवको टुंगो गर्नुपर्ने थियो, त्यसबेला त्यसबारेमा ध्यान दिइएन । २०७२ सालमा नयाँ संविधान बनाउँदा नेपालको नक्सा अनुसूची ३ मा निशाना छाप राखिएको छ । पछि संविधान संशोधन गरेर मात्र हामीले चुच्चे नक्सा भन्न थालेका छौं । हाम्रो कुटनीतिक कमजोरी भएको छ ।
० कालापानी, लिपुलेक क्षेत्रमा पहिले १९६२ तिर अप्ठ्यारो परेको बेला बास माग्यो, अहिले बास बसेको घर नै मेरो हो भन्न थाल्यो । छिमेकी बेइमान रहेछ भन्छन् त ?
–बेइमानलाई बैठक कोठामा मात्र राख्ने हो । बेडरुपममा लान हुने थिएन । बेडरुमसम्मै लाने कुटनीतिक कमजोरी हाम्रो भयो नि ।
० त्यसो भए समाधानको उपाय के त ?
– उपाय भनेको कुटनीतिक माध्यमको प्रयोग हो । कुटनीतिक माध्यम टे«क १ को प्रयोग , टे«क–२ को प्रयोग गर्नु प¥यो । ( नोट – टे«क १ भनेका औेपचारिक र सरकार टु सरकार वार्ता र टे«क–२ भनेको अनौपचारिक र निजी स्तरको वार्ता ) । ज्ञान र बुद्धिको प्रयोग गर्नु प¥यो । यहाँ मेन पावरको दलाललाई राजदुत बनाइन्छ । त्यस्तैलाई लगेर परराष्ट्र मन्त्री बनाइन्छ । अध्ययनशीलता सक्किँदै गएको छ । अनि तपाई देश गुम्यो भन्नु हुन्छ–यस्तो भएपछि देश गुम्दैन ?
० लिपुलेकको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने अर्को भनाई पनि छ नि ?
–यसलाई अन्तर्राष्ट्रियकरण गर्ने क्षमता छ र नेपालको ? एउटा धमिजा काण्डको मुद्दा त हामी लड्न सकेनौं । त्यो त्यति धेरै महंगो हुन्छ । तपाई दुई पक्षीय मामला कुन चाहिं अन्तर्राष्ट्रिय अदालतमा लैजानु हुन्छ ।
० अन्तर्राष्ट्रियकरण भन्नाले संयुक्त राष्ट्र संघ जस्ता फोरममा लिपुलेक मुद्दा उठ्नु प¥यो भनेको ?
–त्यो ल्याकत नेपालले राख्छ र ? २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाउँदा यो नाकाबन्दी हो सम्म हामी भन्न सकेनौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रकाशमान सिंह गएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले प्रकाशमानलाई सोधेका थिए–What is goiung there ? (त्यहाँ नेपाल के भइरहेको छ ?” Nothing is there, All right. नेपालमा केही भएको छैन, सबै ठीक छ भने । यहाँ नाकाबन्दी लागिरहेको छ ।
Right Man – Right Place हुनुप¥यो । नेपालमा किन यस्तो भयो भनेर समीक्षा गर्नुप¥यो । इतिहास पढ्नु प¥यो । कुन पृष्ठभूमिका कालापानीमा भारतीय सैनिक राखियो ? कसले राख्यो ? २०७२ साल असार १ गते परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको भनाई भनेर नयाँ पत्रिकामा छापिएको थियो । महेन्द्र पाण्डे त्यतिबेला बहालवाला परराष्ट्रमन्त्री थिए । पाण्डेले भनेको कुरा “राजा महेन्द्रले सुन सित कालापानी बेचिसकेका छन् ।” नयाँ पत्रिकामा छापियो । मैले पनि “कुटनीतिक इतिहास” मा त्यो स्रोतलाई प्रयोग गरें । पछि म महेन्द्र पाण्डेसित एउटै मञ्चमा वक्ता भएँ । नयाँ पत्रिकाले यस्तो लेखेको छ, तर्पाहरु त्यसै ठूला गर्नुहुन्छ भनेर पाण्डेको भनाईलाई मैले उद्धृत गरे । म पछि पाण्डे बोल्ने पालो थियो । पाण्डेले भने, “मैले त्यसो भनेकै होइन । त्यो त नयाँ पत्रिकाले सिर्जना गरेको हो ।” म छक्क परें । पत्रकारले त्यस्तो काम गर्नु हुन्छ । उता मैले मेरो रचनामा स्रोतको रुपमा प्रयोग गरिसके। म छक्क परें । म नयाँ पत्रिकाको ग्राहक बन्न बन्द गरिदिएँ ।
० बालेन शाह प्रधानमन्त्री भइसकेपपिछ भारत भ्रमणमा जाने वा नजाने बारेमा जिगजाग जिगजाग भइरहेको छ नि ?
– के अन्यौलता किन पालिरहनु प¥यो र । भ्रमणको योजना छ–भने गर्ने । छैन भने हामी अहिले भारत भ्रमणको योजना छैन भनिदिने । हामी त्यही कुरा बोकेर हिंड्छै। । २ वर्षसम्म नजाने रे भन्ने सुनियो । भारतको परराष्ट्र सचिव यहाँ आउने रे भन्ने सुनियो । अमेरिकी प्रतिनिधिलाई भेट दिएनन् भन्ने पनि आयो । यस्तो अस्पष्टता किन पाल्ने ? भ्रमण जाने हो जाने, नजाने भए नजाने । आफ्ना कुरा प्रष्ट राख्नु पर्दछ ।
० ई्.पि.जि.प्रतिवेदन त अलपत्र प¥यो पनि है ?
–त्यो अब गौण कुरा भयो । मैले सुनेको ई.पि.जि. भित्रकै व्यक्तिले लिक गरेपछि भारतले प्रतिवेदन बुझ्न अस्वीकार ग¥यो रे । प्रकाशमा ल्याए भइहाल्यो नि, भेषबहादुर, निलाम्बर उनीहरुले सार्वजनिक गरे भइहाल्यो नि । मोलतोल गरेर जागिर खाने, ई।पि।जी।मा बसेका मान्छे राजदुत भएर जाने । उनीहरु मोलतोल गर्ने, त्यसको जवाफ मन्त्रीले दिनुपर्ने–यो नमिल्दो कुरा भएको छ । हामीमा निष्ठा, प्रतिबद्धता पनि चाहियो नि ?
० ई.पि.जी. प्रतिवेदनमा १९५० को सन्धि पुनमूल्यांकन गर्नुपर्दछ भनेकाले मोदीले प्रतिवेदन बुझ्न नमानेको भनिन्छ त ?
–त्यो सबै प्रोपोगाण्ड हो ।के छ बाहिर ल्याउनुप¥यो नि !
० गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनलाई कसरी हेर्नुहुन्छ ?
–पुराना राजनीतिक दलहरूको कुकर्मको परिणाम गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन हो ।
० सरकारद्वारा सुकुम्बासीहरूलाई उठिबास लगाइएको छ । उनीहरूको समस्याको समाधान कसरी गर्नुपर्ने हो भन्ने लाग्छ तपाईलाई ?
–जमिन अतिक्रमण निकै नै भएको थियो। यसको व्यवस्थापन त हुनैपर्छ। सुकुम्बासी भन्छ करोडौंको सम्पत्तिको मालिक छ। एकजना सुकुम्बासी व्यक्तिको सात बिघा जमिन रहेछ रे भन्नेसम्म सुने। तर यसको अर्थ सबै हुकुमबासी हुन् सबै गलत मान्छे हुन् भन्ने होइन । त्यहाँ अप्ठ्यारोमा परेका, विभिन्न कारणले दुःख मर्कामा परेका मान्छेहरु पनि छन् । वास्तविक सुकुम्बासीहरूलाई आहत नपुग्ने गरी राहत उपलब्ध गराइनुपर्दछ। हुकुमबासीहरूबाट क्षतिपूर्ति लिनुपर्दछ। रास्वपाकै कैयौं सांसदहरु जमिन अतिक्रमण गरेर बसेका रहेछन्। त्यस्ताहरुबाट क्षतिपूर्ति भराइनु पर्दछ । मनपरी भयो । धेरै नै मनपरि भयो। यसको नियमन हुन जरुरी छ र उपयुक्त ढंगले सुकुम्बासीहरुको व्यवस्थापन गरिनुपर्दछ । यसलाई राजनीतिक स्वार्थ सिद्ध गर्ने माध्यम बनाइनु हुँदैन।
० यहाँ इतिहास विषयको शिक्षक र विद्यार्थी हुनुहुन्छ। तपाईंले जीवनमा लामो समयसम्म विश्वविद्यालयमा इतिहास विषयको प्राध्यापन गर्नु भयो । नेपालको इतिहास सम्बन्धी विषयमा जे पाठ्यक्रमहरु छन् , त्यसप्रति सन्तुष्ट हुनुहुन्छ ?
–छैन । मलाई विश्वविद्यालयमा नेतृत्वदायी जिम्मेवारी दिनुपर्यो, मैले इतिहास विषयमा केही राम्रो काम गर्छु भनेर भन्दा कहिल्यै पनि मलाई जिम्मेवारी दिइएन। पार्टीको कार्यकर्ता बन्न सकिएन त्यसकारणले मैले जिम्मेवारी पाएन ।
० नेपालको इतिहास विषयमा पाठ्यक्रममा के सुधार गरिनुपर्दछ ?
–नेपालमा इतिहास विषयमा पाठ्यक्रममा वंशीय इतिहास छ। तर नेपालको प्री इतिहास ( प्रि –हिस्टोरी) छैन । सोशल हिस्ट्री(सामाजिक इतिहास)को पनि राम्रोसँग पढाइ भएको छैन। मानवशास्त्र र समाजशास्त्रमा त्यस सम्बन्धमा केही मेहनत भएको छ । इतिहास विभागबाट त्यो काम पनि हुन सकेको छैन । त्यसकारण म जोड दिएर भन्छु कि नेपालको सामाजिक इतिहास चाहिँ पढाउन जरुरी छ ।बाहुनहरू बनारसबाट आएका हुन् जनजातिहरु ह्वांगहोबाट आएका हुन् भनेर त भएन नि ।
० तपाईँ नेपाल इतिहास सङ्घको पनि अध्यक्ष हुनुहुन्थ्यो नि !
–तर त्यो दुई वर्ष पहिलेको कुरा हो र यो नेपाल इतिहास संघको काम भनेको इतिहाससँग सम्बन्धित प्राध्यापकहरूको हक अधिकार सम्बन्धी कुरा गर्ने संस्था हो।
० तपाईँले त लोकसेवाका विद्यार्थीहरुलाई पनि पढाउँदै हुनुहुन्थ्यो ?
– मैले लोकसेवा आयोगको परीक्षामा जाने विद्यार्थीहरूलाई पढाउँथे। मैले लोकसेवा आयोगमा सुरुमा पढाए । सबै पार्टीका मान्छेहरु त्यहाँभरिए। त्यसपछि उनीहरुले मलाई विस्थापित गरे । सेना र प्रहरीहरूलाई पनि पढाउने काम गरे। तर अहिले लोकसेवाका विद्यार्थीहरूलाई पढाउने गरेको छैन।
०इलाम क्याम्पसबाट डोटी क्याम्पसमा सरुवा हुने बेलामा यहाँको सरुवा त्यति प्रिय भएन भन्ने सुनियो ?
–हामी नेपालीहरूको ताल त्यही त हो नि। अरुलाई अप्ठ्यारोमा पार्न पाएपछि रमाउने । मलाई कालोमोसो घस्न खोजेको रहेछ । कालोमोसो घस्न खोजेकाहरुले सकेनन् तर जसले मलाई कालोमोसो घस्न खोजेको थियो ऊ पछि कालोमोसो घसाईमा परेछ । त्यसमा मेरो षड्यन्त्र लुकेको छ भन्न भ्याइयो तर त्यसमा मेरो कुनै हात थिएन ।
० यहाँले गोर्खा भर्तीको बारेमा पनि अनुसन्धान गर्नुभयो , त्यसबारे ?
–गोर्खा भर्तीका बारेमा लेख्ने लेखकहरूले हामी नेपालीहरू बहादुर हौँ भन्दै गोर्खा भर्तीको गौरव गाथा गाउने काम मात्र गरे तर मैले गोर्खा भर्ती भित्र लुकेका दुख, पीडा, अन्याय र विभेदहरूलाई उत्खनन गर्ने काम गरेको छु।
० अध्ययन र प्रकाशन सम्बन्धी आगामी योजना के छ?
–मैले नेकपाको इतिहासको चारवटा खण्डका बारेमा माथि नै प्रकाश पारिसके। अब नेकपाको इतिहास सँग सम्बन्धित दस्तावेजहरूको दुईवटा संग्रह मेरा प्रकाशित भइसकेका छन् र अब दस्तावेज संग्रहको भाग ३,४ र ५ तीन खण्ड प्रकाशित गर्ने तयारीमा पनि म लागिरहेको छु। ०००

