रामबहादुर बुढा
स्थान परिचय
वि.सं. २०७४ मा स्थानीय तह पुनः संरचना गर्दा साविकको रुकुम जिल्ला दुई जिल्लामा विभाजित भए – रुकुम (पूर्व) र रुकुुम (पश्चिम) । यस लेखमा केवल अविभाजितकालीन रुकुम जिल्लाको कम्युनिस्ट इतिहासको मात्र चर्चा गरिने छ । स्थानीयको भनाइलाई मान्य हो भने रुकुमकोटमा रुक्मिणी नाम गरेकी देवीको मन्दिर छ । उनकै नामबाट रुकुमकोटको नामाकरण भएको र रुक्मिणी शब्दको अप्रभंश भई यस जिल्लाको नाम रुकुम नाम रहन गएको मानिन्छ ।
साविकको रुकुम जिल्ला मध्यकालीन समयमा रुकुमकोट, मुसिकोट, बाँफिकोट, पालाकोट, गोतामकोट र जहारीकोट नामक विभिन्न साना साना टाकुरे राज्यहरू थिए । ऐतिहासिक तथ्यहरूका अनुसार पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानलाई बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा अघि बढाउने क्रममा बाईसे राज्यहरूः रुकुमकोट, पालाकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट कोटजहारी नेपालमा गाभिए । वि.सं.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा रुकुम जिल्लाले एक अलग जिल्लाको रूपमा मान्यता पाएको थियो । रुकुम जिल्लामा विविध, जातजाति, भाषाभाषी, संस्कृति भएका समुदायहरुको बस्ति रहेको छ । यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । जिल्लाको पुरानो सदरमुकाम रुकुमकोटमा थियो । वि.सं. २०३० सालमा रुकुमकोटवाट जिल्लाको सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सारियो ।आजभोलि यसलाई खलंगा मुसिकोट भन्ने गरिन्छ ।(खबरईरा )
कामी बुढाको संघर्षको कथा
रुकुम जिल्लामा कम्युनिस्ट आन्दोलनको इतिहास कामी बुढाको सङ्घर्षको कथाबाट सुरु हुन्छ।जानकारका अनुसार भारतीय सेनाबाट विद्रोह गरी २००७ सालको क्रान्तिमा सहभागी बन्न नेपाल आएका बुढा निरन्तर क्रान्तिमा लागेका थिए । २००७ सालको ‘दिल्ली सम्झौता धोका हो’ भन्दै पश्चिम नेपालमा उनले सशस्त्र क्रान्ति थालनी गरेका थिए । उनी कम्युनिस्ट पार्टीसँग आबद्ध रहेर सङ्गठन निर्माण, छापामार प्रशिक्षण दिँदै ग्रामीण सङ्घर्ष गर्दागर्दै हुम्ला पुगेको बेला गिरफ्तार भएका थिए । रुकुम चौखावाङ (हाल मुसीकोट नगरपालिका खर्सुपानी)मा १९७८ सालमा जन्मिएका बुढा मगर बाबु खिन्तु बुढा र आमा मङ्गली बुढाको सुपुत्रका रुपमा जन्मिएका थिए । नेपाल फर्किएपछि २००७ सालको आन्दोलनमा भैरहवा क्षेत्रमा डा केआई सिंहको नेतृत्वको मुक्ति सेनामा सहभागी बने । सत्ता त फेरियो, तर राजनीतिक, आर्थिक र सामाजिक कुनै परिवर्तन नहुने भएपछि कामी बुढा कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगे । नेकपाको केन्द्रीय नेतृत्व सितको सल्लाह अनुसार नै क्रियाशील भए । किसान आन्दोलनमार्फत विद्रोहको नेतृत्व गर्दै प्यूठान, सल्यान, दैलेख, जुम्ला र हुम्ला पुगे । वास्तविक नाम कामी बुढा भए पनि उनको भारतीय सेनामा कमानसिंह बुढा, दैलेखमा धनबहादुर चन्द र जुम्ला–हुम्लामा शेरसिंह र धनबहादुर शाही भनेर चिनिएका थिए । विद्रोह फैलिँदै गयो, तब २००९ कात्तिकमा हुम्लामा उनको समूहलाई गिरफ्तार गरी जुम्लाको सदरमुकाम चौभानमा पु¥याइयो । उनीसँगै जुम्ला–चौभान ल्याइनेमा १९ जना बन्दी थिए । अन्यलाई सामान्यजन भनेर छाडे पनि कामी बुढा र भवानीप्रसाद शर्मा अधिकारी भने जेल चलान भए । राजनीतिक विद्रोह कर्णाली प्रदेशभरि नै फैलिएको थियो । गिरफ्तार भएपछि सबै क्रियाकलापको जिम्मेवार आफू नै हुँ भनेर बुढाले सम्पूर्ण जिम्मा लिए । तत्कालीन नेकपा (एकता केन्द्र)को रुकुम जिल्ला समितिको बैठकमा पार्टी सचिव एवम् जनमोर्चाका तत्कालीन सांसद खड्गबहादुर बुढाको प्रस्ताव र नेताद्वय मोहन वैद्य र रामबहादुर थापाको उपस्थितिमा बुढालाई सहिद घोषणा गर्ने निर्णय भएको थियो । (मल्ल, २०७४)
जहान, ३ वर्षकी छोरी, भाइ बहिनीलाई छोडी क्रान्तिको सिपाही कामी बुढाले घरबाट विदा लिएका थिए । “खास कम्युनिस्टको प्रचार गर्ने म नै हुँ” भनेर प्रहरीमा बयान दिएका थिए । २०११ सालमा कामी बुढालाई हत्या गरिएको थियो । (सुदर्शन, २०६५)
२०२२ सालमा दाङका बासुदेव गौतमले रुकुमको त्रिभुवन जनता मावि खलंगामा पढाउँथे । र प्यूठानका रामकुमार शर्माले भलाक्चाको जनकल्याण निमाविका शिक्षक थिए । प्यूठान र दाङबाट रुकुम आएका शिक्षकहरुको रुकुममा वामपन्थी संगठन र विचार पैmलाउनमा विशेष योगदान पु¥याएका छन् । २०२२ सालमा मुसिकोटको सेरीगाउँमा (हालः मुसिकोट न.पा. वडा नं. ५) मा नेकपाको एउटा सेल कमिटी बनेको थियो । त्यो सेल कमिटीमा चार जना थिए । स्कन्द शर्मा, डिल्लीबहादुर मल्ल, धु्रवजंग मल्ल र दामोदर शर्मा । जसको सेक्रेटरी स्कन्द शर्मा भए । उता २०२२ सालमै रुकुमको भलाक्चामा पनि सेल कमिटी बनेको थियो जसमा श्रीकुमार पुन, घमण्ड बहादुर पुन, पदमबहादुर पुन र प्यूठानबाट आएका शिक्षक रामकुमार शर्मा थिए । जिल्लाव्यापी संगठनहरु बन्दै गए ।
२०२९ सालमा भलाक्चाको खर्चिबाङ भन्ने जङ्गलमा चौतराको काँडामा झण्डा झुण्डाएर जिल्ला कमिटी गठन गरिएको थियो । त्यस जिल्ला कमिटीको सेक्रेटरीमा ताराप्रसाद घर्ती भए भने सदस्यहरु चन्द्रबहादुर पुन, घमण्डबहादुर पुन र देवीलाल गौतम लगायत रहेका थिए। त्यसबेला माओको रेडबुक लिएर ताराप्रसाद घर्ती मगरको अगुवाइमा वितरण गर्ने काम भएको थियो । (गौतम, २०७६) त्यसबेला सम्म पुष्पलालधार चौम धार मनमोहन धार भन्ने छुट्टिएको थिएन । भेला पछि नै रुकुम जिल्लामा भूमिगत रुपमा संगठनहरू गर्दै जाने काम भयो । सदस्यता वितरणहरू गर्ने कामहरु भयो । टोखाबाङको कर्मचारीको घटना महत्वपूर्ण छ । वन अधिकृत घोडामा चढेर आएका थिए । उनले धेरै घुस खाएका छन् भन्ने थियो । २०३१ सालमा झुलखेतमा घोडाबाट खसालेर खड्गबहादुर बुढाको नेतृत्वमा उनलाई कारबाही गर्ने काम भएको थियो।
चौमधार
२०३१ सालमा बनारसमा सम्पन्न नेकपाको चौथो महाधिवेशनमा हिराचन्द्र मल्लले रुकुमबाट प्रतिनिधित्व गरेका थिए । (सुदर्शन) विद्यार्थी जीवन प्यूठानमा विताएकाले उनी प्यूठानदेखि नै कम्युनिस्ट थिए । (गौतम, २०७६) २०३४ सालमा रुकुमको मुसिकोटमा ९ जनाले नेकपा (न्यूक्लियस चौम धार) पक्षको जिल्ला कमिटी गठन गरेका थिए। जसमा तीनजना प्युठानी शिक्षकहरू र छ जना रुकुमेलीहरू थिए। मस्तबहादुर श्रेष्ठ (खलंगा) देवीलाल गौतम (मुसिकोट), खड्ग बहादुर पुन (रुकुम), पदम पुन भलाक्चा, चन्द्रबहादुर पुन (भलाक्चा), श्रीकुमार पुन (भलक्चा), प्यूठानबाट गएका शिक्षकहरु मोहन गिरी, विश्वेश्वर पोख्रेल, विद्याधर थापा) ले नेकपाको रुकुम जिल्ला संगठन समिति बनाए । ती ९ जना नै त्यस कमिटीमा थिए । त्यस कमिटीको सेक्रेटरी…… बने । त्यही कमिटीको भित्री योजनामा अ.नेरा.स्व.वि.यु. (छैठौं सम्मेलन पक्षधर) को समिति जिल्लाका विभिन्न विद्यालयमा बनेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको २०३६ सालमा हेटौंडामा सम्पन्न भएको प्रथम राष्ट्रिय सम्मेलनमा रुकुमबाट मोहन गिरीले प्रतिनिधित्व गरेका थिए । (गिरी, २०८१,पृ.९)
२०३८ सालको पंचायती चुनावमा नेकपाको जिल्ला कमिटी नेता ताराप्रसाद घर्ती जिल्ला पंचायतको सभापतिमा निर्वाचित भएका थिए । पाटीृको नीति नहुँदा नहुँदै चुनावमा लागेकाले जिल्ला पार्टी नै पंचायती चुृनावमा लागेकाले केन्द्रले रुकुमको जिल्ला पार्टी विघटन गरेको थियो ।
२०३९ सालमा बालकृष्ण केसीको नेतृत्वमा जिल्ला कमिटी बन्यो। निर्वाचनमा उठेका सदस्यहरूलाई पनि कारबाही फुकुवा भएर पुन कमिटीमा आबद्ध गरिए । जनार्दन शर्मा, मस्तबहादुर श्रेष्ठ, बुद्धिप्रसाद शर्मा, पूर्ण बहादुर घर्ती, लोकेन्द्र बिष्ट लगायत त्यस कमिटीमा रहेका थिए । २०४० सालमा गोरखपुरमा भएको राष्ट्रिय सम्मेलन रुकुमबाट खड्ग बहादुर बुढाले प्रतिनिधित्व गरेका थिए । २०४१ सालमा भारतको अयोध्यामा सम्पन्न नेकपा (मशाल)को पाँचौं महाधिवेशनमा रुकुमबाट खड्गबहादुर बुढा, मस्तबहादुर श्रेष्ठ र देवीलाल गौतमले प्रतिनिधित्व गरेका थिए । २०४२ सालमा पार्टी विभाजन हुँदा पाँचौं महाधिवेशनका तीनै जना प्रतिनिधि मोटो मशालतर्फ समाहित भए । केही सीमित संगठन मात्र पातलो मसालतर्फ लागे । २०४६ सालमा बहुदल आइसकेपछि विश्वेश्वर प्रसाद पोखरेल संयुक्त जनमोर्चा नेपालको रुकुमको तत्कालीन नेकपा एकता केन्द्रको चुनावी वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बनेका थिए जसमा सचिव देवीलाल गौतम थिए ।
माले –एमाले धार
२०४४ साल मङ्सिर ५ गते नेकपा माले रुकुम जिल्लाको पहिलो कमिटी गठन भएको थियो। जसको सचिव हस्तबहादुर केसी ,सदस्यहरू वीरभान पुरी, बलबहादुर केसी, नन्दराम रिजाल, देवी सिंह खड्का, बालक केसी, बालाराम जैसी र पूर्णबहादुर केसी थिए । केन्द्रीयस्तरमा २०४७ पौष २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)का बीचमा पार्टी एकीकरण भई नेकपा (एमाले) गठन भएपछि रुकुम जिल्लामा २०४७फागुन १२ गते नेकपा (एमाले) रुकुम जिल्ला संगठन समिति गठन भएको थियो।जसको सचिव हस्तबहादुर केसी र उपसचिव लाल शर्मा थिए। सदस्यहरूमा वीरभान पुरी,चुडामणि गौतम, बलबहादुर केसी, नन्दराम रिजाल,टिकाराम उपाध्याय,केशव शाह चिन्तामणि दाहाल,बिमल पुनमगर भिममान घर्ती मगर। अमृत नेपाली तहबिल नेपाली, मोहनबुढा तीर्थ बुढा मगर सहित १३ जना थिए। (के.सी. २०८३)
पुष्पलाल धारः यस धारमा ऋषि गौतम लगायत केही व्यक्ति थिए । जो पछि एमालेमा समाहित भए ।प्यूठानबाट शिक्षकको रुपमा रुकुम गएका टिकाराम रिजालले इस धारको प्रचार प्रसार गर्नमा योगदान पु¥याएका हुुन ।
बाहिरी जिल्लाबाट आएका शिक्षक,कर्मचारी र स्थानीय
दंगाली शिक्षक बासुदेव गौतमको रुकुममा राजनीतिक योगदानबारे अगाडि उल्लेख भइसकेको छ । तत्कालको समयमा शीतल मावि चौरजहारीमा प्र.अ. डिल्लीराज खनाल, नारायण शर्मा, डिल्ली अधिकारी, अमर गिरी, नरबहादुर अधिकारी लगायतका दंगाली शिक्षकहरूको रुकुममा संगठन निर्माणमा उल्लेखनीय योगदान छ। रुकुमको जनवर्गीय संगठनमा हेमन्त प्रकाश ओली, शशी कार्की , लोकेन्द्र बिष्ट, हिराचन्द्र मल्ल, यदु गौतम, जनार्दन शर्मा (गौतम), रुकुमकोटका नरबहादुर मल्ल, भूपेन्द्र मल्ल, शारदा गौतम, कृष्ण रेग्मी, मस्तबहादुर बिष्ट, पूर्ण घर्ती, दलबहादुर कार्की, कृष्णविक्रम शाह, हरिजंग शाह, पूर्ण मल्ल, विजय मल्ल, शेरबहादुर शाह, पोखर शाह, टेकबहादुर थापा, नरेन्द्र जंग शाह, रमेश शाह, मोहन कृष्ण श्रेष्ठ लगायतका विद्यार्थीहरुको पनि जनवर्गीय संगठन निर्माणमा महत्वपूर्ण योगदान छ। भेटेनरीमा कार्यरत कर्मचारी लीला पुन,भूपेन्द्र मल्ल,अर्घाखाँची घर भएका स्वास्थ्य चौकीमा कर्मचारी विष्णु चुदाली लगायतको योगदान पनि मूल्याङ्कन योग्य छ। तत्कालको स्थितिमा पूर्ण घर्ती , भूपेन्द्र मल्ल, मस्तबहादुर बिष्ट, लीला पुन लगायतले जनवादी गीतका माध्यमबाट जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सञ्चालन गरेपछि यसले जिल्लामा पार्टीको पक्षमा माहोल खडा गरेको थियो ।(गिरी, २०८१) धनुषाबाट कर्मचारीको रूपमा रुकुम पुगेका रोशन जनकपुरी पनि रुकुमको राजनीतिक माहोलमा कम्युनिस्ट आन्दोलनबाट प्रभावित भए र पछि माओवादी आन्दोलनमा पनि सक्रिय भए । बाहिरी जिल्लाबाट गएका व्यक्तिहरूमा विश्वेश्वर प्रसाद पोखरेल, जो प्युठानका थिए , योगदान उत्तिकै कदर योग्य छ। विश्वेश्वर प्रसाद पोख्रेल पहिले शिक्षक भएर रुकुम गएका थिए । उनले रुकुमका हिराचन्द्रसँग मितेरी नाता समेत जोडेर रुकुममा संगठन विस्तार गर्नमा भूमिका खेलेका थिए । पछि रुकुममै व्यापार व्यवसाय समेत गरेर बसे र २०४६ सालको जनआन्दोलन पछि संयुक्त जनमोर्चा नेपाल रुकुमको अध्यक्ष भई काम गरे। जनयुद्ध सुरु भइसकेपछि उनी माओवादी जनयुद्धमा सहभागी भए र रुकुममा उनले सहादत समेत प्राप्त गरे। पञ्चायतकालमा प्युठानबाट रुकुममा पहिले जेटिए र पछि शिक्षक भएर गएका मोहन गिरीलाई प्रहरीले आधिरातमा हिरासतबाट उनलाई सल्यान जिल्लाको जंगलमा लगेर छाडी जिल्लाबाट निष्कासन समेत गरेको थियो । (गिरी, २०८१ )
नेकपा (एकताकेन्द्र)
२०४७ मा केन्द्रमा नेकपा (मशाल), नेकपा (चौम),सर्वहारा श्रमिक संगठन, नेकपा(विद्रोही मसाल) र नेकपा (जनमुखी) मिलेर नेकपा (एकताकेन्द्र) बनेपछि रुकुम जिल्लामा पनि नेकपा (एकताकेन्द्र) गठन भयो । अन्य पक्षभन्दा पनि रुकुममा नेकपा (मशाल) नै त्यहाँको चल्तापुर्जा पार्टी भएकाले त्यसलाई नेकपा (एकताकेन्द्र)मा रुपान्तरण गर्ने काम भएको थियो ।
राष्ट्रिय एकता महाधिवेशन पूर्व रुकुम जिल्लामा २०४८ मा नेकपा (एकताकेन्द्र) को प्रथम जिल्ला सम्मेलन भएको थियो । जिल्ला सम्मेलनका लागि लोकेन्द्र बिष्ट (का. पाषाण) र जनार्दन शर्मा(क. एटम) ले संयुक्त रुपमा तयार पारेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन जिल्ला सम्मेलनले पारित गरेको थियो । सिंगो पार्टीमा कार्यदिशा (पार्टी लाइन) बारे अन्तरसंघर्ष थियो । अल्पकालीन सशस्त्र विद्रोह कि दीर्घकालीन जनयुद्ध भन्ने दुईलाइन संघर्षमा रुकुम जिल्लाले एकमतले दीर्घकालीन जनयुद्धको लाइनलाई समर्थन गरेको थियो । एकता महाधिवेशनमा ४ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक पठाइएको थियो । जिल्ला सम्मेलनले का. भेरी (खड्कबहादुर बुढा) सेक्रेटरीको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन गरेको थियो । २०४९ कार्तिक १४ र १५ गते बसेको सातौं पूर्ण बैठकले लोकेन्द्र बिष्ट (का पाषाण) सेक्रेटरी बनाएको थियो । २०५१ श्रावण ५ को १६ औं बैठकले हेमन्त प्रकाश ओली (का.सुदर्शन)लाई सेक्रेटरी चयन गरेको थियो । (सुदर्शन, २०६५, पृ. १०)
जनयुद्धकालः
रुकुम जिल्लामा कम्युनिस्ट आन्दोलनको मशाल धार, एकताकेन्द्र र माओवादी धार मूख्य धार रह्यो । सांगठनिक र जनआधारका हिसावले नेकपा (माओवादी) को बलियो क्षेत्र भएकाले यस जिल्लामा जनयुद्धको राम्रै प्रभाव रह्यो । रुकुममा २०५२ फागुन १ गते राडीको प्रहरी चौकी आक्रमणगरी जनयुद्धको थालनी गरिएको थियो । जनयुद्धकालमा रुकुमकोटको इलाका प्रहरी कार्यालय, महतको इलाका प्रहरी कार्यालय, तकको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गरिएका थिए । महतको इलाका प्रहरी कार्यालयबाट प्रहरी अधिकारी ठूले राईलाई अपहरण गरिएको थियो ।पछि ठूले राईलाई रिहा गरिएको थियो । नेकपा (माओवादी) को इतिहासमा रुकुमको लाभाङको पि.वि.को बैठक र २०६२ को चुनवाङ बैठक ऐतिहासिक बैठकहरु हुन् । (घर्ति, २०८३) जनयुद्धमा रुकुमबाट ठूलो संख्यामा सहादत प्राप्त गरे । जनयुद्धकालमा ५५६ जनाले शहादत प्राप्त गरेका थिए । (गौतम, २०७६)
बहुदल पछि नेकपा (एमाले)
२०४८ वैशाख १४ र १५ गते नेकपा(एमाले) रुकुमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको थियो । त्यस जिल्ला सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय नेता युवराज ज्ञवानीले गरेका थिए । प्रथम सम्मेलनबाट हस्तबहादुर के.सी. सेक्रेटरी भएका थिए । २०५२ मंसिर १ गते एमालेका तत्कालीन महासचिव माधव नेपाल रुकुमको सदरमुकाम खलंगा आएका थिए । खुलारुपमा सभा र आन्तरिक रुपमा कार्यकर्ता प्रशिक्षण भएको थियो । २०५३ साल वैशाख १र २ गते एमाले रुकुमको दोस्रो जिल्ला सम्मेलन भएको थियो । सम्मेलनको उद्घाटन एमालेका केन्द्रीय नेता केपी शर्मा ओलीले गरेका थिए । केन्द्रबाट विद्या भण्डारी र राधिका शाक्य पनि त्यस सम्मेलनमा पुगेका थिए । माओवादी जनयुद्धमा जाने भएपछि रुकुमका नेताहरु यदुमणि गौतम र ताराप्रसाद घर्ती एमालेमा प्रवेश गरेका थिए । माधव नेपाल २०५२ मंसिरमा रुकुम गएका बेला उनीहरु एमालेमा प्रवेश गरेका थिए ।
२०५४ मा एमाले विभाजन हुँदा यदुमणि गौतमहरु एमालेमै रहे भने हस्तबहादुर के.सी. लगायत नेकपा (मा.ले.) मा आबद्ध भए । २०५२ फागुन ६ गते एमाले नेता तत्कालीन पर्यटनमन्त्री भीम रावलले रुकुमको मुसिकोट सल्लेको एयरपोर्ट उद्घाटन गरेका थिए । (के.सी., २०८३) एमाले रुकुमको लागि पीडादायी घटना थियो–यदुमणि गौतमको हत्या । माओवादी जनयुद्धको विरुद्धमा प्रतिक्रियावादी सत्तालाई सुराकी गरेको अभियोगमा माओवादी कार्यकर्ताहरुबाट यदुको हत्या भएको थियो ।
भोटको राजनीति
२०३८ सालमा ताराप्रसाद घर्तीलाई जिल्ला पंचायतको सभापतिमा जिताउन भूमिका खेलेको र उक्त पंचायती चुनावमा भाग लिनु पार्टी नीति विपरीत भएको भनी जिल्ला पार्टी नै विघटन गर्नु परेको सन्दर्भ अगाडि नै उल्लेख भइसकेको छ ।
२०४८ को निर्वाचनलाई तत्कालीन नेकपा (एकताकेन्द्र)ले संयुक्त जनमोर्चा नेपालको नामबाट उपयोग गरेको थियो । रुकुमबाट संजमोका खड्कबहादुर बुढा संसद सदस्य निर्वाचित भएका थिए ।संजमोका अर्का उम्मेदवार जनार्दन शर्मा पराजित भएका रथए । २०५१ सालको मध्यावधि निर्वाचन नेकपा (माओवादी)ले बहिष्कार गरेकाले रुकुमको दुवै सिट नेपाली कांग्रेसले विजय गरेको थियो । एमालेले २०४८ मा रुकुम क्षेत्र नं. १ बाट हस्तबहादुर के.सी. र २ नं. क्षेत्रबाट भक्तबहादुर के.सी. उम्मेलदवार खडा गरेको थियो । २०५६ मा नेकपा (मा.ले.) ले रुकुम क्षेत्र नं. १ बाट हरिकृष्ण गौतम र क्षेत्र नं. २ बाट विद्यापति रिजाललाई उम्मेदवार बनाएको थियो । २०५६ मै एमालेले क्षेत्र नं. १ बाट नन्दलाल शर्मा र क्षेत्र नं. २ बाट तीर्था गौतमलाई उम्मेदवार बनाएको थियो । एमालेको तीर्था गौतमले निर्वाचन जितेकी थिइन । पति यदुमणिको हत्यापछि जनताको सहानुभूतिकै कारण उनले चुनाव जितिन् भन्ने भनाई छ । २०५६ को निर्वाचन पनि तत्कालीन नेकपा (माओवादी)ले बहिष्कार गरेको थियो । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा रुकुमका दुवै सिट नेकपा (माओवादी) ले विजय प्राप्त गरेको थियो । नेकपा (मसाल)ले राष्टिय जनमोर्चाका तर्फबाट विभिन्न चुनावमा शत्रुुध्न श्रेष्ठ, गिरी बुढा लगायतलाई उम्मेदवार बनाएको थियो ।
मसाल धार
रुकुमका पुराना पिंढी प्रायः मोटो मशालतिर आबद्ध भए पनि अर्घाखाँचीका भेषबहादुर के.सी., रुकुम गएर गिरीप्रसाद बुढा लगायतका युवाहरुलाई मसालको युवा संघमा आबद्ध गरे । नेपालगञ्जमा अध्ययन गरेका रामप्रकाशपुरी,पाल्पा अध्ययन गरेका शत्रुधन श्रेष्ठ मसालमा सक्रिय भए । नेकपा (मसाल) ले २०५६ मा सञ्चालन गरेको किसान मार्च तत्कालीन साँसद हरी आचार्य लगायतको नेतृत्वमा रुकुम जिल्लामा पनि सञ्चालन भएको थियो । मसालको इतिहासमा उल्लेख गर्नु पर्ने घटनामा शत्रुध्न श्रेष्ठ माओवादीको जनसरकारको नियम अटेरी गरेको भनी ३ महिना अपहरणमा परेका थिए । ( बुढा,२०८३)
सन्दर्भ
खबरईरा २०७३ भाद्र ७
गिरि,मोहन, (२०८१),आफूले आफैलाई फर्केर हेर्दा, मिस्समास्स संग्रह, प्रकाशकः ओम प्रकाश गिरी
मल्ल, रमेश, (२०७४, जेष्ठ ९ ), इतिहासको सम्मान : कामी बुढालाई शहीद घोषणा,रातो पाटी
सुदर्शन (२०६५), एक्काइसौं शताब्दीको विचारधारात्मक छलाङ्ग, जनदिशा प्रकाशन
अन्तर्वार्ता
गिरिप्रसाद बुढा । २०८३ जेष्ठ ५ गते
देवीलाल गौतम।२०७६ भाद्र २३ गते
पूर्ण घर्ती । २०८३ जेष्ठ १२ गते
हस्तबहादुर के.सी.। २०८३जेष्ठ २ गते

