सुकुम्बासी आन्दोलनले वैचारिक नेतृत्वको माग गरेको छ : महासचिव गजुरेल

जेष्ठ–२७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल ‘गौरव’ले अहिले चलिरहेको सुकुम्बासी आन्दोलनले वैचारिक नेतृत्वको माग गरेको छ भन्नुभएको छ । तीन किसान संगठनहरुले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गजुरेलले सो कुरा बताउनुभएको हो। गजुरेलले भन्नुभयो , “नेपालमा धेरै खालका किसान संगठनहरू छन्। तर ती किसान संगठनहरूले आन्दोलनको वैचारिक नेतृत्व गर्न सक्दैनन् । क्रान्तिकारी विचार बोकेका कम्युनिस्ट पार्टी सम्बद्ध किसान संगठनहरूले मात्र सुकुम्बासी आन्दोलनको सही ढंगले वैचारिक नेतृत्व गर्न सक्दछन् । प्रतिक्रियावादी र अवसरवादी पार्टी सम्बद्ध किसान संगठनहरुले वा सुकुम्बासी संगठनहरुले सुकुम्बासी आन्दोलनको वैचारिक नेतृत्व गर्न सक्दैनन् । ” गजुरेलले सुकुम्बासी आन्दोलनलाई अगाडि बढाउनका लागि एकताको आवश्यकता औल्याउँदै तीन किसान संगठनहरूबीच भएको सहकार्यलाई सकारात्मक पहलकदमी भन्दै यो एकतालाई अरु व्यापक रुपमा विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । देशमा सुकुम्बासीहरूमाथि यति धेरै दमन, विस्थापन र अत्याचार भइरहँदा पनि संसदमा सुकुम्बासीका समस्याहरू माथि आवाज नउठेको,  सांसदहरुले कुरा नउठाएको प्रति इंगित गर्दै गजुरेलले उनीहरूले सुकुम्बासीका समस्या समाधान गर्न नसक्ने  प्रष्ट पार्नुभयो ।उहाँले जनताहरू साम्राज्यवादी र पुँजीवादीहरूको दुईवटा शब्द लोकतन्त्र र समाजवादबाट भ्रममा परेको पनि बताउनुभयो। भेनेजुएलाका राष्ट्रपति दम्पतिलाई अपहरण गरेर अमेरिकाले लगेको कुरालाई इंगित गर्दै गजुरेलले त्यसलाई लोकतन्त्रको रक्षाका लागि दाबी गरेका छन् भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, “यदि ट्रम्पलाई कुनै पनि देशको राष्ट्रपति हुन मन लाग्यो भने जुनसुकै पनि बेला उनी जुनसुकै पनि देशको राष्ट्रपति आफूलाई घोषणा गर्न सक्ने भए ।  त्यो उनको  लोकतन्त्र हो ।”   संविधानमा लेखिएको समाजवादउन्मुख  शब्दलाई जथाभावी रुपमा अर्थ लगाउने काम भइरहेको छ – गजुरेलको भनाई थियो । संसारमा र नेपालमा पनि  अत्याचार भइरहँदाखेरि पनि जनताहरू बिहान जोत्न  जाँदै गरेको गोरु जस्तै लुरुलुरु मानिरहेका छन् ।  ती सबै अन्याय अत्याचारमा पनि आफ्नो आवाज उठाउन नसकेका, सङ्घर्षशील बन्न नसकेका जनतालाई संघर्षमा तान्नका लागि, क्रान्तिकारी आन्दोलनमा ल्याउनका लागि क्रान्तिकारी विचार चाहिन्छ र क्रान्तिकारी विचार बोकेको संगठन चाहिन्छ –गजुरेलको थप कथन थियो ।

सीपी गजुरेल ‘गौरव’

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संघ नेपालका अध्यक्ष सीताराम तामाङले अन्तरक्रियामा छलफलका लागि “सुकुम्बासी –अव्यवस्थित बसोबासी माथि सरकारको दमन नीति र निकास” विषयक अवधारणा–पत्र प्रस्तुत गर्नु भएको थियो ।

सीताराम तामाङ

उक्त कार्यक्रममा बोल्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले वर्तमान अमेरिकी साम्राज्यवादको कठपुतली  बालेन सरकारले सुकुम्बासीहरू माथि दमन गर्दाखेरि पनि सुकुम्बासी आन्दोलन उठ्न नसक्नुमा दुईवटा कारण छन् भन्नुभयो । एक,आफूलाई कम्युनिस्ट पार्टी बताउने पार्टीहरू नैतिक पतन र भ्रष्ट भइसकेकाले ती सुकुम्बासीका आन्दोलनलाई उठाउन नसक्ने स्थितिमा पुगेका छन् र दुई , जो क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू छन् उनीहरूको सांगठनिक शक्ति अत्यन्त कमजोर भएको छ। पुरीले थप्नुभयो, “ त्यसकारणले  जो क्रान्तिकारी शक्तिहरु छन् उनीहरुले  सुकुम्बासीहरूको बीचमा  संघर्षको मुद्दालाई  लिएर जानुपर्छ । ” पुरीले सुकुम्बासीहरू माथि दमन –उत्पीडन भएको कुरा  पञ्चायतकालमा पनि सुनेकै हो। बहुदल आइसकेपछि पनि सुनेकै हो। संघर्षको विकल्प र संघर्षको उठान कसरी गर्न सकिन्छ भन्ने तिर नै हाम्रो मुख्य ध्यान हुनुपर्छ भन्नुभयो ।

लोकनारायण सुवेदी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले किसानहरूको समस्या समाधान नभएकाले अहिले यो सुकुम्बासीको समस्या आएको प्रष्ट पार्नुभयो । उहाँले २००८ सालमा नै कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठले नयाँ जनवादी क्रान्तिबाट मात्र किसानहरूको समस्या समाधान हुने कुरा औल्याउनु भएको थियो । पटकपटक आफूलाई वामपन्थी भन्नेहरु सरकारमा गए तर उनीहरुले किसानका समस्याहरू समाधानतिर कहिल्यै पनि ध्यान दिएनन् । सुवेदीले किसान र सुकुम्बासीहरूको समस्या समाधानका लागि नयाँ जनवादी व्यवस्था स्थापना हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो।

भैरवराज रेग्मी

रामप्रकाश पुरी

कार्यक्रममा आफ्नो विचार राख्दै योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बालेन सरकार वर्गीय दृष्टिकोणले नै सुकुम्बासीहरूप्रति पूर्वाग्रही भएकाले सुकुम्बासीहरूको उठिबास लगाएको हो भन्नुभयो। उहाँले भन्नुभयो, “महानगरपालिकाको मेयर हुँदा नै उनले सुकुम्बासीमाथि जाई लागेका थिए । त्यतिबेला उनी त्यसमा असफल भए ।त्यतिबेलाको पूर्वाग्रह साँधेर प्रधानमन्त्री बन्दा बित्तिकै पहिलो काम सुरक्षा बल लगाएर, डोजर प्रयोग गरेर सुकुम्बासीबासी हटाउने, उनीहरुलाई बिल्लीबाठ पार्ने काम गरेका हुन् ।  उनको गलत वर्गीय दृष्टिकोणका कारणले नै सुकुम्बासीमाथि जाइ लागेका हुन्।”

डा. डिल्लीराज खनाल

पूर्व सांसद तथा अर्थशास्त्री डा. डिल्लीराज खनालले भूमि समस्या समाधान नगरिएका कारणले नै सुकुम्बासी समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँले समाजमा विभिन्न प्रकारका असमानताहरू रहेको स्पष्ट गर्दै उपभोगमा आधारित असमानता, आयमा आधारित असमानता, सम्पत्तिको स्वामित्वमा आधारित असमानता जस्ता विभिन्न असमानताहरुबाट सुकुम्बासीहरु पीडित भएको स्पष्ट गर्नुभयो र वर्तमान बालेन सरकारले सुकुम्बासीहरूको समस्या समाधान गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले उसको नीति तथा कार्यक्रम र बजेटमा नवउदारवादी नीति अपनाएको छ ।” नवउदारवादबाट सुकुम्बासीहरूको समस्या समाधान हुन नसक्ने अर्थशास्त्री खनालको भनाई थियो। खनालले नेपालमा विद्यमान कर प्रणालीले नै बिचौलियातन्त्रलाई मलजल गरिरहेको पनि स्पष्ट गर्नुभयो।

दिपेन्द्रबहादुर क्षेत्री

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधिको तर्फबाट बोल्दै इन्द्र राउतले बालेन सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू माथि निर्मम दमन गरेको स्पष्ट गर्नुभयो।सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू माथि शत्रु राष्ट्र माथि जाइ लागे जस्तै गरी दमनमा उत्रिएको उहाँले बताउनुभयो । राउतले अगाडि भन्नुभयो,“ सेना, प्रहरी , सशस्त्र प्रहरी, जासुसी संस्था, दमनमा उतारियो नै, त्यसबाहेक मनोवैज्ञानिक रुपले एकैचोटी सकइबर हमला पनि  गरियो। भारतमा मोदीको मिडियालाई गोदी मिडिया भने झैं नेपालमा बालेनको पालेन मिडिया भन्ने गरिन्छ । नेपालमा त्यसबाट उनीहरुमाथि अत्यन्त दुर्व्यवहार मानौं सुकुम्बासीहरु भनेका त मानव नै होइनन् जस्तो गरी उनीहरु दमनमा र उत्रिए ” राउतले सुकुम्बासी समस्या समाधानका लागि नयाँ जनवादी क्रान्ति नै हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो तर यही व्यवस्थाभित्र पनि समस्या समाधानका लागि संघर्ष उठान गर्नका निम्ति केही सुझावहरू पनि आयोजकहरुलाई दिनुभयो ।  जसमा छरिएर रहेका विभिन्न सुकुम्बासी संगठन र आन्दोलनहरुलाई एकत्रित गर्नेतिर ध्यान दिनुपर्ने उहाँको भनाइ थियो र स्वतन्त्र सुकुम्बासी संगठनको रुपमा काम गर्दै आएको राष्ट्रिय सुकुम्बासी मोर्चा, विभिन्न  एनजिओको रुपमा काम गरिरहेका सुकुम्बासी संस्थाहरू र उपत्यकाभन्दा बाहिर काम गरिरहेका विभिन्न सुकुम्बासी संगठन, आन्दोलनहरू सबैलाई यही तीनवटा संगठनले बृहत प्रकारको एउटा अन्तरक्रिया गरेर विषयवस्तुलाई संगठित गर्ने काम गरोस् भन्ने सुझाव दिनुभयो ।

इन्द्र राउत

अखिल नेपाल किसान महासङ्घका संयोजक बलदेव चौधरीले संविधानमा जनता सार्वभौमसत्ताको मालिक हुन् भन्ने लिपिबद्ध भएकाले आवास, जनताको मौलिक हक रहेको सरकारले हेक्का राख्नुपर्ने बताउनुभयो । जनताको बाँच्न पाउने हक कसैले खोस्न नसक्ने स्पष्ट पार्दै उहाँले संविधानमा व्यवस्था भएको समाजवादोन्मुख मुलुकको सट्टा व्यक्तिगत उन्नतितर्फ वर्तमान सरकार अघि बढिरहेको धारणा राख्नुभयो । संविधानमा उल्लेख भएका अधिकारको सूची तीनै तहका सरकारले समुचित प्रकारले उपयोग नगरेकाले अहिले देशमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या गम्भीर रहेको धारणा राख्नुभयो । र, जारी आन्दोलनमा आफ्नो संगठन पनि सँगै रहेको स्पष्ट पार्नुभयो ।

बलदेव चौधरी

राजन साह तेली

कार्यक्रममा हाउसबाट सुकुम्वासीहरू पवन गुरुङ र लघुमाया गोलेले सुकुम्बासीको पक्षमा अन्तरक्रिया कार्यक्रम राखेको भन्दै सुकुम्बासीहरुको मुक्तिको संघर्षमा पूर्ण रुपले आवद्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

लघुमाया गोले

पवन गुरुङ

क्रान्तिकारी किसान महासंघ नेपाल , अखिल नेपाल प्रगतिशील किसान संगठन र अखिल नेपाल किसान महासंघ (अप्फा)  अन्तरक्रियाका आयोजक रहेका  थिए । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको सञ्चालन तथा अखिल नेपाल प्रगतिशील किसान सङ्घका महासचिव राजन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित जनसमुदायलाई क्रान्तिकारी किसान महासङ्घका महासचिव धनेश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

फोटो :जय दाहाल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित