कमरेडको डेरी

-मनु वि.क.
रुद्र क्रान्तिकारी बताउने कम्युनिष्टको सदस्य हो । गाउँमा उनलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका सदस्य हुन् भनेर सबैले चिनेका छन् । गाउँमा हाइ हुकुम राम्रै छ । पञ्चायतकालमा उनको बाउ सामन्त थिए । सामन्त बाउको छोरा पञ्चायतकाल सकिँने बित्तिकै कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । रुद्र कम्युनिष्ट भयो भनेर त्यो बेला राम्रै चर्चा भएको थियो ।
कम्युनिष्ट किन भयौ त रुद्र भनेर ?पाका नेपाली कांग्रेसका नेताहरुले सोच्दा रुद्रले ठूलो छाती बनाउँदै जवाफ फर्काएका थिए –“हेर्नुस ,कम्युनिष्ट भनेका गरिब दुःखीको पार्टी हो ? गरिबदुःखीको पार्टी भएकाले म गरिब दुःखीको पार्टीमा लाँगे । नेपाली कांग्रेस त धनी सामन्तहरुको पार्टी हो । कम्युनिष्टहरु धनी गरिब मान्दैनन् ,जातिपाती मान्दैनन् । यो समाजमा जातिपाती मान्दासम्म धनी गरिब रहँदासम्म सुख आउँदैन । कम्युनिष्टले जनतालाई सुख ल्याउन चाहेको छ । त्यही भएर कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ । राम्रा काम गर्ने भएका कारण सदस्यता लिएको हुँ ।
रुद्रको जवाफ सुनिसकेपछि कांग्रेसहरुले भन्ने गर्थे “शासन फेरिएसँगै फेरिन पनि जान्नु पर्दछ । फलाना फलाना कांग्रेस थिए ,उनीहरु राजा महेन्द्रको शासन आए पछि उतै गए । महेन्द्रको गाना गाउँदै हिँडे । महेन्द्रको पक्षमा ताली बजाउँदै हिँडे र सेवा सुविधा सबै लिए र राजाको विश्वास पात्र भए । यसरी नजिक हुन सकेकोमा उनीहरुले कति कति सेवा सुविधा प्राप्त गरे । फलानाले राजाको विरोध नगरेर खुरु खुरु राजाले जे भनेका छन् उही माने पछि उनको छोराले समेत बडो राम्रो सरकारी नियुक्ति खाए । सबै परिवारको अवस्था राम्रो बनाए । जान्न पर्छ जान्न । अहिले पञ्चायत गए पनि कांग्रेस आएको छ, हामीले जे भन्छौं त्यही गर्न सक्ने अवस्थामा छौं सकेको ठाउँमा हामीले तिमीलाई सहयोग गर्न तयार छौं । छोराछोरीलाई जेभने त्यही बनाउन हामी तयार छौं । गाउँका निकायहरुमा अवसर आउने वित्तकै तिम्रो नै भागमा पु¥याउने छौं ।” यो सबै कुरा गरेर कांग्रेस पक्षधरहरुले नफकाएका पनि होइनन् तर रुद्र कम्युनिष्ट नै बन्ने ।
कम्युनिष्ट बनेपछि कांग्रेस पक्षधरहरुले रुद्रलाई खासै वास्ता गरेनन् । कम्युनिष्टहरुका नेता कार्यकर्ताहरु बेला बेलामा आउने र जाने गर्दथे । रुद्र पार्टीको काम भन्दै कहिले घरबाट टाढा जाने गर्दथे । रुद्र जिल्ला स्तरको नेता बने । जिल्ला स्तरको नेता भने पनि उनी सँधै पार्टीको कामकोलागि हिड्ने गर्दथे । श्रीमान पार्टीको काममा जाँदा श्रीमतीको टाउकामा घर परिवारको सबै जिम्मा आउने भयो । घर परिवारको जिम्मा टाउकामा बोकेर पनि श्रीमतीले आफुलाई पार्टीको काममा पठाएकामा रुद्र अति खुशी हुने गर्दथे। रुद्रले लामो समयसम्म जिल्लाको निकै टाढा टाढाको जिम्मा लिएर संगठनको काम पार्टीको काम अर्थात जनता जगाउने काम गर्दथे । जिल्लामा नाम चलेको नेतामा कहलिएका रुद्रलाई सबैले राम्रो मान्दथे ।
रुद्रले लामो समयसम्म पार्टीको कामलाई जिल्लाको आफ्नो गाउँ भन्दा बाहिर बसेर सम्पन्न गरेका थिए । रुद्रलाई पार्टीले आफ्नै गाउँमा संगठनको आधार बनाउनु पर्छ भनेर गाउँ कै जिम्मा दिएर पठाए । गाउँको जिम्मा दिए पछि उनी एक हिसाबले खुशी पनि भए । लामो समयसम्म श्रीमती केटाकेटी घर परिवारको सुख दुःखमा साथ सहयोग गर्न नपाएकामा थोरै मात्रामा भए पनि घरमा कामको मद्दत गर्न पनि पाइने भयो । घर परिवारसँग सँगै बस्न पनि पाइने भयो भनेर रुद्र खुशी भए। दिएको जिम्मेवारी लिएर गाउँमा आए । गाउँमा आएपछि रुद्रले गाउँका मानिसहरुलाई संगठित गर्ने कोशिस गरे । संगठन गर्न सजिलो थिए । सबै कांग्रेसी प्रभावमा परेका थिए । त्यही पनि रुद्रले संगठनको कामलाई अगाडि बढाउन सक्दो मिहनेत गरे । उनलाई श्रीमतीले पनि सकेको सहयोग त पहिला पनि गरेकै थिईन् । अहिले गाउँको जिम्मा लिएर आएपछि पनि गरि नै रहिन् ।
दिनहरु बित्दै जान थाले रुद्र गाउँमा आएकाले जिल्लादेखि केन्द्रका नेताहरु आउने जाने गर्न थाले घर पनि जिल्ला कार्यालय जस्तै हुन थाल्यो । जिल्लाका कार्यक्रम केन्द्रका कार्यक्रम सबै सम्पन्न गर्न रुद्रले सकेको मिहेनत गर्न थाले । सबै राम्रै हुँदै गयो । पार्टीले उत्पादनको कामलाई पनि अगाडि बढाउने कुरा ल्यायो पार्टीको निर्देशन मान्ने कुरा भयो । नेता कार्यकर्ताहरु उत्पादनमा जोडिने भने पछि रुद्रले जीवनको आधाउधी समय पार्टीको झोला बोकेर सकाएका थिए । पार्टीको काममा हिँड्दा हिँड्दै उत्पादन के गर्ने भन्ने उनलाई खासै भेउ पनि थिएन । एक दिन साँझमा केटाकेटी सबै सुतिसकेपछि रुद्रले श्रीमतीसँग पार्टीको निर्णयको विषयमा सुनाए । “पार्टीले उत्पादनमा जोड दिएको छ । के गर्ने होला ? मैले पनि केही काम गरेर पार्टीलाई पनि मद्दत गर्ने र पार्टीलाई योगदान दिने कुरा छ । यो के काम गर्ने होला लक्ष्मी ? (रुद्रकी श्रीमतीको नाम लक्ष्मी हो) भन्दै श्रीमतीसँग सल्लाह मागे । रुद्रको कुरा सुनेर श्रीमती अलमलमा परिन् । उनी अलमलमा परेको देखेर रुद्रले फेरी कुरा राखे –“यो ठाउँ भनेको जातीय हिसाबले पनि क्षेत्री बाहुन बस्ने ठाउँ हो । कामी दमै त एक दुइ घर मात्रै हो । यो ठाउँमा असली तरिकाले चल्ने व्यवसाय भनेको दूधको डेरी हो । गाउँमा दूध पनि राम्रै संकलन हुन्छ, त्यसकारण दूधको डेरी राख्न पाए राम्रो हुने मलाई लागेको छ ।”रुद्रले श्रीमतीसँग भने । श्रीमतीले भनिन् “तपाइँका कुरा त ठीकै हुन् तर लगानी कति लाग्ने हो ? लगानी कहाँबाट आउने हो ? कसले गर्ने हो ? हामीसँग लगानी लगाउने रकमको अभाव छ ।” श्रीमतीको कुरा सुनेपछि रुद्र गम्भीर भए । यतिबेलासम्म कुनै व्यवहारिक कुरामा ध्यान नदिए पनि पुगेका रुद्रले साँच्चिकै के कसरी रकमको व्यवस्था गर्ने भन्नेमा सोचमग्न हुन पुगे । अहिलेलाई यसो उसो गरेर पार्टीका साथीहरुको साथ सहयोगबाट सानो घरजस्तो ट्याङ्की बनाउने र त्यसैमा सानो चिस्यान राखेर डेरी सँचालन गर्ने सोचाइ श्रीमतीलाई सुनाए । रुद्रको त्यो कुरा श्रीमतीलाई पनि ठीकै लाग्यो । दिनहरु बिते । रुद्र जिल्लामा पार्टी कार्यालयमा गएर जिल्लाको नेतालाई आफ्नो योजना सुनाए । रुद्रको योजना ठीकै मानेर नेताले सहमति जनाए । रुद्रले पार्टीका अन्य साथीहरुलाई डेरी संचालनकोलागि सहयोग गरिदिन पनि अनुरोध गरे । जिल्लाको नेताले काममा साथ सहयोग गर्नकोलागि भन्दै तीन जना कार्यकर्ताहरुलाई पठाए । राम नेपाली, हिरा विश्वकर्मा,श्याम दर्जीलाई खटाउँदा राम्रो हुने ठान्यो । तर एक पटक उनीहरुसँग सल्लाह गर्नु पर्छ भने पछि रुद्र त्यहाँबाट घरतिर हिँडे । घरमा आएर रुद्रले साथीहरु आउने कुरा श्रीमतीलाई सुनाए । श्रीमती खुशी नै भइन् ।
जिल्ला नेताले राम नेपाली,हिरा विश्वकर्मा,श्याम दर्जीसँग सोधे । उनीहरु अलमल अलमल गर्दै नेताको मुखमा हेरिरहे । नेताले के हुन्छ भन्दै सोध्न थाले र भने “तपाइँहरुको यस्तो बनाउने क्षमता छ । कमरेड रुद्रलाई अफ्ठ्यारो परेको छ । त्यहाँ पार्टीको कामलाई व्यवस्थित बनाउनु पर्ने छ । त्यसकोलागि यो सबै मिलाउनकोलागि तपाइँहरुको आवश्यक छ । तीनै जना अत्यन्तै गम्भीर भएर सोचेर जवाफ फर्काए –“हामीले घरमा सल्लाह गर्छौं।” नेताले जवाफ फर्काए “हुन्छ छिटो निर्णय गर्नु ।” नेता अलि पर पुगेको बेलामा उनीहरु एकआपसमा कुरा गरे–“नेताले त राम्रै कुरा गरे” राम नेपाली ,हिरा विश्वकर्माले श्याम दर्जीसँग भने “नेताले भने पछि नेताको कुरा नमानेर के गर्ने ? पार्टीको निर्देशन मान्नु प¥यो । नेताको निर्देशन नमाने भोलिको राजनीतिको पनि कुरा छ ।” श्याम दर्जीले मुण्टो हल्लाए । राम नेपाली र हिरा विश्वकर्माले पार्टीले भनेकाले जानु नै प¥यो भन्ने कुरा गरे । श्याम दर्जीले एकचोटी श्रीमतीसँग सोधेर आउनु पर्छ भने । जे होस सबैको सहमति जस्तो भएर आ– आफ्नो घरतिर लागे । राम नेपाली र हिरा विश्वकर्माले घरमा कुनै कुरा नै नगर्ने मनशाय गराए । पार्टीको काम जसरी भए पनि सम्पन्न गर्नु पर्छ भन्ने ठाने । तर श्याम दर्जीले भने घरमा पुगेर साँझ सुत्ने बेलामा श्रीमतीसँग पार्टीको योजनाको कुरा यसरी खुरुरु सुनाए –“ हेर बुढी रुद्र भन्ने हाम्रो नेता छन् नि, उनले दूध डेरी राख्दैछन् रे उनको गाउँमा । हामीलाई डेरी बनाउनकोलागि सहयोग गर्न जान भनेर जिल्लाका नेताले भन्नु भएको छ । हिरा,राम र मलाई केही दिनकोलागि त्यहाँ जान पर्ने भएको छ । म अब आज मात्रै यहाँ आएको अब केही दिन नआउने गरी काममा जानु पर्ने छ ।” श्यामको बुढीले भनिन् “कुरा त ठिकै हो, तर अहिले फकाएर डेरी बनाउन लगाउने तर पछि दूध छोइन्छ भनेर हिँड्ने होलान् केरे ! जान त जानुस् ,मैले कहाँ कहिले रोकेको छुर ? पार्टीको काम भन्दै हिँडेको यत्रो समय भयो तर केही हुन सकेको हैन ।” बुढीको कुरालाई श्यामले नकार्दै भने “त्यस्तो हुँदैन । पार्टीको नेताबाट किन त्यस्तो हुन्छर ? पहिलादेखि नै उनी त्यस्तो खालको छैनन् ।”
भोलिपल्ट श्याम, राम र हिरा भेट भएर रुद्रको घरतिर जाने सल्लाह गरे, जिल्लामा पनि पार्टीका नेतालाई सुनाए ।उनीहरु रुद्रको घरतिर लागे । बिहान हिँडेको दिउँसोतिर मात्रै रुद्रको घरतिर उनीहरु पुगे । त्यहाँ पुग्दा रुद्र र रुद्रकी श्रीमती काममा लागिरहेका थिए । जिल्लाबाट खटिएर आएका नेताहरु भनेर रुद्रकी बुढीले उनीहरुलाई बस्न ओछ्याउने गुन्द्री दिँदै भनिन् “नमस्ते, लौ यता बस्नुस् ।” उनीहरु नमस्ते फर्काउँदै बिछ्याउन दिएको गुन्द्रीमा बसे । रुद्रले पानी तिर्खा लागेको होला साथीहरुलाई चिसो पानी दिनु भन्दै श्रीमती लक्ष्मीलाई अह्राए । रुद्रले दूध डेरी खोल्दैछन् रे भन्ने गाउँमा हरर फैलियो । श्याम ,राम र हिराले सकेको मिहेनत गरेर सबै काठ, माटो ढुङ्गाको जोहो गरेर डेरी राख्न मिल्ने सानो सानो ट्याङ्की बनाउने सल्लाह गरे । पछि उनीहरुले फेरी थपे त्यहाँ त मानिस बस्ने पनि केही सानो ठाउँ बनाउन पर्छ भन्दै सल्लाह गरे । उनीहरुको सल्लाह अनुसार यसो एक जना बसेर दूध डेरी राख्न मिल्ने संरचना बनाइदिए । श्यामले रुद्र र उनकी श्रीमती नभएको मौका छोपेर हिरा र रामलाई सुनाए –“ए साथी हो ,सुन्नुस् त रुद्रको डेरी बनाउने कुरा सुनाउँदा त मेरो बुढीले रुद्रले दूध छोइन्छ भनेर हिँड्ने होलान् पो भनेकी थिइ त ।” हिरा र रामले कुरा सुनेर भने “के रे ? ए हामीले त सुनाएनौं । तिमी त कस्तो पार्टीका कुरा पनि बुढीलाई सुनाउने पो रहेछौ ।”श्यामले भने –“ घरमा त भनेर हिँड्नु प¥यो नि ! नत्र त कता गए के गरे भनेर चिन्तित हुन्छन् नि ! त्यही भन्ने क्रममा सुनाएको ।” श्यामको स्पष्टीकरणको शैलीको कुरा सुनेर राम र हिराले भने “ठीकै छ ।”
उनीहरु बोल्दाबोल्दै रुद्र र उनकी श्रीमती त्यहाँ आइपुगे । उनीहरुले कुरा रोके । रुद्रले खाजा खाऔं साथीहरु भन्दै भने । रुद्रकी श्रीमतीले खाजा दिइन् । काम करिब करिब सकियो । सानो सानो ट्याङकी दुइदिनमा नै बन्यो । सबैको श्रमले डेरी ट्याङ्की उभियो । भित्री सजावटको र मिलावटको काम बाँकी नै थियो । श्याम , राम र हिराले गर्नु पर्ने काम करिब करिब सकियो । उनीहरु सबेरै विदावारी भएर हिँड्ने निधो गरे । रुद्रले हुन्छ साथीहरु भन्दै विदाइको हात हल्लाए ।उनीहरुले ल्याएको झोला बोकेर आफ्नो घरतिर लागे ।
भोलिपल्ट जिल्ला नेताकहाँ गएर हिरा, श्याम र रामले कामको सबै विवरण सुनाए । रुद्रले आन्तरिक सजावट गर्ने र दूध चिस्यान बनाउने कार्य रुद्रले नै गर्नुहुन्छ होला भन्दै विस्तृत विवरण पेश गरे ।उनीहरुलाई राम्रो काम भयो भन्दै जिल्ला नेताले प्रसंशा गरे । यता श्याम, राम र हिरा पार्टीको अन्य काममा खटिन थाले । पार्टीले खटाएको काममा पसिना बगाउन थाले । उता रुद्रको डेरीमा दूध संकलन हुँदै गयो । दूध र दूध जन्य परिकारहरु पनि बन्दै गए । गाउँमा दूध संकलन केन्द्र खुलेपछि सबैलाई सजिलो भयो । रुद्रकी श्रीमती पनि सोहीकाममा लाग्न थालिन् । रुद्रले पनि दूध डेरीमा काममा सहयोग गर्दै जान थाले । रुद्रले पार्टीको कामको साथ साथमा दूध डेरीको काम गर्न थाले ।अलिकता समय पाउने वित्तिकै रुद्र डेरीको काममा लाग्न थाले । रुद्रको डेरी खुलेसँगै गाउँमा सानातिना होटेलहरु पनि खुल्न थाले । डेरीको चर्चा जिल्ला स्तरसम्म हुन थाल्यो । श्याम,राम र हिराको पार्टीले खटाएर आफुहरुले डेरी बनाएको सम्झना मनभरि रहिरह्यो । कामको जिम्मा अन्यत्र परेकाले त्यो क्षेत्रमा जान सम्भव भएन ।
डेरी खुलेको केही वर्षपछि श्यामलाई पार्टीले रुद्रको क्षेत्रमा काम गर्न भन्दै खटायो । श्याम रुद्रकोमा जान पाउँदा खुशी हुँदै जाने निधो गरे । घरबाट रुद्रकोमा जान विदा लिएर गए । रुद्रको घरनजिक पुगे । रुद्रको घरनजिकै पुगेर रुद्रलाई भेटे । रुद्रको पहिलाभन्दा आर्थिक अवस्था सुध्रिएको पाए । उनलाई मनमा खुशी नै लाग्यो । आफूले सहयोग गरेर बनाएको डेरीबाट रुद्रको घरमा राम्रो भएकोमा श्यामको मनमा खुशी लाग्नु स्वभाविक नै थियो । रुद्रले श्यामलाई डेरीमा लगेनन् । रुद्रले श्यामलाई आफ्नो घरमा पनि लगेनन् । रुद्रले श्यामलाई घरमा नलगेर डेरी नजिकै सानो होटेलमा लगेर पार्टी गतिविधिबारे कुरा गरे । रुद्रले कालो चिया मगाएर दुवै जनाले एक एक कप कालो चिया समाए । रुद्रकी श्रीमती दूध बेच्नमा मस्त र व्यस्त थिइन् । रुद्रले भने –“डेरीमा निकै व्यस्त हुुनु पर्छ, म र श्रीमती यसमा धेरै खट्नु पर्छ । म अहिले पार्टीको काममा खट्न त्यति सक्दिन्न । अहिले केही हुन सक्ने अवस्था छैन । पार्टीले तपाइँलाई यो क्षेत्रमा अहिले नखटाएको भए हुने । यहाँ डेरीमा पनि अलि त्यस्तै छ । जातपातको कुरा पनि बुढा पुरानामा आइहाल्ने । मलाई त खास केही छैन ।” कालो चियाको अन्तिम घुट्को लिँदै गर्दा श्यामको मनमा चिसो पस्यो । “ए रुद्र के भए ? रुद्र साँच्चि कै बिग्रन थालेका हुन् ? के रुद्रको वर्ग परिवर्तन भएको हो ? अब रुद्र रुद्र भन्दै यहाँ आउनुको के अर्थ ? श्यामको मनमा कुरा खेल्यो । बिर्सिसकेको डेरी बनाउन जाँनुभन्दा अघिल्लो रात श्रीमतीले भनेको कुरा झल्याँस्स मनमा आयो । श्यामले कल्पना गरे –मेरी बुढीले त्यो दिन, त्यो कुरा कसरी गरेकी होली ? अहिले त यिनले यस्तै पो गरे ।” श्यामको मनमा कुरा खेल्यो । चियाको कप उठाएर लैजाने मान्छे आए । रुद्रले कालो चियाको पैसा तिरे । रुद्र र श्याम त्यहाँबाट हिडे ।
अब कपमा चिया रित्तिइसकेको थियो । रुद्र भने आत्तिइरहेको मनोदशामा देखिएर भनेँ “म आफै जिल्लामा आउँछु । अब रात पनि पर्न थालिसक्यो । बाटो टाढा छ,यहाँ अहिले केही काम हुँदैन। तपाइँ जानुहोस् ,पछि कार्यक्रम बनाउँला ।” रुद्रको कुरा सुनेर श्यामले के जवाफ दिने ? अब आफुलाई त्यहाँको वस्तुस्थितिबारे खासै केही थाहा छैन । आफु एक्लै पार्टीको काममा हिँड्न गाह्रो छ । उनी रुद्रले भनेको खुरु खुरु मानेर घरतिर बाटो लागे । छुट्टिने बेलामा श्यामले रुद्रलाई भने–“म्याडमसँग भेट भए पनि कुरा गर्न पाइएन, मत हिँड्नु प¥यो ।” रुद्रले जवाफ फर्काए “त्यसमा केही चिन्ता लिनु पर्दैन ,उनलाई त्यति धेरै चासो पनि छैन ।”
बाटोभरि श्यामको मनमा अनेक कुराहरु खेल्यो । “हैन रुद्रले हामीले डेरी बनाइदिएको कसरी भूलेका ? के हाम्रो मेहनत त्यसैकोलागि थियो ? त्यत्रो टाढाबाट गएको साथीलाई के कालो चिया मगाएर बसेको होला ? डेरीमा लगेर मज्जाले दही ,दूध जे छ दिएको भए पनि त हुने ! तर उनले भित्री मनको कुरा बोले नि ! ‘बुढा पुरानामा जातपातको कुरा आइहाल्ने !’ हो बल्ल रुद्रलाई बुझ्न पाइयो । यति पछि भए पनि उनलाई बुझ्ने अवसर प्राप्त भयो, नत्र त हामी सबैलाई कति समयसम्म रुद्र, रुद्र, भन्दै बस्नु पर्दथ्यो । अब त असली रुप देखियो । गैर क्रान्तिकारी मान्छेलाई क्रान्तिकारी हो भन्दै कति दिनसम्म बस्नु पर्ने थियो ! मलाई नराम्रै गरे तर यिनलाई त बुझियो ।” श्यामको मनमा खासै उज्यालो छाएन । घरमा पुगेर श्रीमतीसँग कुरा भयो । श्रीमतीले किन चाँडै आएको भन्दै सोधिन् । श्यामले निन्याउरो मुख लगाउँदै भने– “काम भएन ।” श्रीमतीले सम्झाउने पारामा भनिन् –“पीर नमान्नु ,अब पार्टीको काम यस्तै हो,सँधै एकै नास हुँदैन ।” भोलिपल्ट श्याम पार्टी कार्यालयमा पुगेर सबै सुनाए । उनको कुरा सुनेर जिल्ला नेता दंग परे । राम र हिराले भने डेरीको ट्याङ्की बनाउने बेलामा श्यामले सुनाएको श्यामको श्रीमतीको कुरा सम्झिइरहे । श्यामले आफ्नो कुरा स्पष्टताको साथ भने “समाजमा विभेद र असमानता कायमै छ । समाज परिवर्तन गर्न अझै बाँकी नै छ ।” जिल्ला नेता सहित राम र हिराले श्यामको कुरामा सहमति जनाए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित