काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अर्थ विभागको आयोजनामा घट्टेकुलो स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा अर्थ सम्मेलनको उद्घाटन भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले मैन बत्ती बालेर सम्मेलनको उद्घाटन गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथिले पार्टी जीवनमा सिद्धान्त,राजनीति पछि अर्थ निकै महत्वपूर्ण हुने बताउँदै सबै कार्यक्रमहरु अर्थसँग जोडिने उल्लेख गर्नु भयो । अहिले देशको राजनैतिक अवस्थालाई हेर्दा क्रान्तिकारी कम्युनिष्टलाई खतराको घण्टी बजेको बताउनु भयो । अर्थ सम्मेलन गर्नु पार्टीलाई अग्रगामी परिवर्तनको पक्षमा अगाडि बढाउन सहज होस भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो । आर्थिक सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय भाईचारा सम्बन्ध जति धेरैं विकास गर्न सक्यौँ त्यही आधारमा क्रान्तिको आधार तयार गर्न सकिने महासचिवको भनाइ रहेको थियो । आर्थिक मामिलामा माक्र्स एंगेल्स लेनिन माओले जे जसरी जोड दिनु भएको छ । त्यसलाई गम्भीरतापूर्वक लिँदै हामीले यो सम्मेलन आयोजना गरेको जनाउनु भयो र सम्मेलन सफलताको शुभ कामना व्यक्त गर्नुभयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले कम्युनिष्टहरुको मुख्य उद्देश्य व्यक्तिगत सम्पत्तिको सामुहिकीकरण गर्ने हो तर पनि सामुहिकीकरणमा ध्यान नदिँदा पार्टी जीवनमा आर्थिक समस्याहरु खडा भएको बताउँदै त्यसको अन्त्य गर्न सदस्यहरुले ध्यान दिनु पर्ने र सम्मेलनमा सोच्नुपर्ने उल्लेख गर्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसले पार्टी र क्रान्तिकालागि संगठनात्मक तथा आर्थिक अनुशासन महत्वपूर्ण हुने बताउँदै पार्टीमा आर्थिक अनुशासनलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्नु भयो । अर्का स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले आर्थिक सबलीकरणमा पार्टी सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो । स्थायी समिति सदस्य कृष्णराज पौडेलले आर्थिक रुपमा सबल र सक्षम पार्टी निर्माणकोलागि कार्यकर्ताहरुमा सही दृष्टिकोणको आवश्यकता रहेको औंल्याउनु भयो । वहाँले क्रान्तिकारी पार्टी चलाउने पार्टी सदस्यहरुले नै हो भन्ने विचार व्यक्त गर्नु भयो । अर्थ विभागका सदस्य पुस्कर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अर्थ विभागका प्रमुख सिताराम तामाङ र स्वागत मन्तव्य अर्थ विभागका सदस्य अमीर महर्जनको रहेको थियो । आर्थिक सम्मेलनको बन्दसत्र भोलिसम्म चल्ने आयोजकले जनाएको छ ।


