भारत–चीन सीमा वार्तामा लिपुलेकको मुद्दाको नेपालीहरुलाई चासो
काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीबीच भाद्र ९ गते बेइजिङमा भारत–चीन सीमा विवादबारे २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता हुँदैछ। वार्तामा सीमा स्थिरता, तनाव न्यूनीकरण तथा दुई देशबीचको सम्बन्ध सुधारलगायत विषयमा छलफल भएको बताइएको छ ।चीन र भारतले सीमा विवाद नयूनीकरण गर्न सन् २००३ मा दुई देश बीच सीमा संयन्त्र बनाएका थिए ।
भारत र चीनले लिपुलेक हुँदै सीमा व्यापार तथा अन्य गतिविधि अघि बढाउने विषयमा गरेको सहमतिप्रति नेपालले आपत्ति जनाउँदै आएको छ । नेपालले आफ्नो संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भूभागका रूपमा दाबी गर्दै आएको छ।
नेपालले नेपाली भूमिमा नेपाललाई बेवास्ता गरी भारत–चीनबीच हुने कुनै पनि सहमति स्वीकार्य छैनभन्ने मान्यता राख्दै आएको छ ।
सन् २०१५ मा चीन भ्रमण गएका बेला लिपुलेक नाका भारत र चीनले ‘तिर्थाटन, व्यापार र पर्यटन’ को कार्य गर्ने सहमति गरेका थिए । उक्त भ्रमण भन्दा अगाडि मोदीले नेपाल भ्रमण गरी नेपालसित नेपाल–भारत सीमाका बारेमा अध्ययनका लागि संयन्त्र बनाउने सहमति गरेका थिए । त्यस संयन्त्रको बैठक र त्यसका प्रतिवेदन आउनु कता हो कता नेपालसितको सहमति उल्लंघन गरेर चीनसित नेपालको सार्वभौमिकतामा आँच आउने अर्को सहमति गर्न पुग्ने मोदीको व्यवहार अत्यन्त बेइमानीपूर्ण छ ।
गत २०८२ भाद्र २ र ३ गते चिनियाँ विदेशमन्त्री बाङ्गयीको भारत भ्रमणका क्रममा लिपुलेक नाका प्रयोग गर्ने नै सहमति गरिएको थियो । नेपालले पटकपटक दुवै देश भारत र चीनलाई त्यसबारे कुटनीतिक नोट पठाउँदै आएको छ । तर भारत र चीन दुवैले त्यसप्रति बेवास्ता गर्दै आएका छन् । २०८३ वैशाखमा नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने ५०० जना भारतीय नागरिकको लागि सार्वजनिक अनलाइन निवेदन भारत सरकारले आह्वान गरेको थियो ।
गत श्रावण १६गते भारत र चीनको सहमतिमा नेपाली भूमि लिपुलेक भएर १६ जना भारतीय व्यापारी र ४ जना सहयोगी सहित २० जनालाई तिब्बत व्यापार गर्न गएका थिए ।
वाङ्यीको यस भ्रमणमा भारत र चीनको सीमाबारे छलफल हुँदा लिपुलेक नाकाबारे कुरा भयो वा भएन भन्नेबारे नेपाली देशभक्तहरुमा आम चासो उत्पन्न भएको छ । डोवलले आगामी सेप्टेम्बर १२ र १३ मा भारतमा हुने व्रिक्स समिटमा चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको उपस्थितिबारे समेत सल्लाह गरेका छन् ।

