– श्याम के.सी, ७ नम्बर व्यूरो सचिव तथा केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
० बालेन सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई होल्डिङ सेन्टरबाट निस्किनका निम्ति अल्टिमेटम दिइरहेको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले त्यसको विरोध गरिरहेको छ । सधैंभरि होल्डिङ सेन्टरमा राखिरहन सम्भव नहोला । तर तपाईंको पार्टीले विरोध गरिरहेको छ किन ?
– हामीले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई होल्डिङ सेन्टरमा राखिरहनु पर्छ भनेकै छैनौ । उनीरुको बस्ने बासको र खाने गासको सुनिस्चित गरेर मात्र उनीहरुलाई त्यहाँबाट निकाल भनेका छौं । सरकारले सुकुम्बासी बस्ती भत्काएर उनीहरुलाई होल्डिङ सेन्टरमा लग्यो । उनीहरुको बासको व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट लखेटेर विचल्ली पार्दै छ । त्यसो गर्न पाइँदैन भनेर हामीले विरोध गरेका हौं । यो सरकार सुकुम्बासी, उत्पीडित किसान, मजदुरको पक्षमा काम गर्ने सरकार होइन भनेर हामीले यसअघि भन्दै आइराखेका थियौं । त्यो कुरा सरकारको व्यवहारबाट पुष्टि भएको छ ।
गरिबी हटाउने होइन कि गरिब हटाउने नीति लिएर यिनीहरु अगाडि बढिरहेको देखिन्छ । त्यसो हुँदाखेरि यिनीहरुले किसानहरुलाई राहत दिने कुरो मजदुरहरु, उत्पीडित जाति जनजातिहरूका हकहितको लागि काम गर्दैनन् । शिक्षा र स्वास्थ्य जस्ता आधारभूतआबश्यकताको विषयमा कर लगाएर विदेशी ऋण तिर्ने नीति लिएकाछन् । उदारीकरणको नाममा गरिब, निमुखाहरुलाई उठिबास लगाउँदैछन् । सुकुम्बासीहरुलाई विना व्यवस्थापन होल्डिङ सेन्टरबाट हटाउनु सरकारको नालायकीपन हो , यिनीहरूको असक्षमता हो, घोर जनविरोधी कार्य हो ।
० सरकारले त होल्डिङ सेन्टरबाट विस्थापित गरेर व्यवस्थापन गर्छु भनेकै छ त ?
– व्यवस्थापन गर्छु भनेर मात्र भएन नि । खै त व्यवस्थापन गरेको ? बरु दमन गरेको छ ।होल्डिङ सेन्टरमा बसेका डम्बर तामाङलाई अस्पताल लैजान्छुभनेर प्रहरीहरुले हिरासतमा लगेर मुद्दा लगाए । असह्य पीडा खप्न नसकि केहीले आत्महत्या गरे । केटाकेटीहरुको पढाई बिग्रिएको छ । विमारी र बुढाबुढीले उपचार पाएका छैनन् । संविधानले आबासलाई जनताको मौलिक अधिकार भनेको छ । तर सरकारले जनताको त्यो मौलिक अधिकार खोसिरहेको छ ।
० काठमाडौँमा विस्थापित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको सम्बन्धमा आफूलाई संसदवादी बताउने र आफुलाई कम्युनिष्ट भन्ने नेपाली कम्युनिस्ट पार्टी ,एमाले किन सडकमा आएर संघर्ष गर्न नसकेका होलान् ? क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क्रान्तिकारी धाराका पार्टीहरु मात्रै आन्दोलनमा गएको देखिन्छ । अन्य पार्टीहरु किन संघर्षमा नगएका होलान् ?
–मुख्यतया राजनीतिक पार्टीहरूको आआफ्नै वर्ग चरित्र हुन्छ। जस्तो कि कांग्रेसको कुरै गर्नु परेन । नेपाली काँग्रेस सामन्त , दलाल तथा नोकरशाही पुँजीपति वर्गको पार्टी हो। ऊ कहिलै पनि सर्वहारा ,सुकुम्बासीको पक्षमा हुँदैन । राप्रपा प्रतिगामीहरुको पार्टी हो । वर्गीयरुपले ऊ पनि किसान, मजदुरको पक्षधर होइन। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले वर्गीय धरातल गुमाइसकेकाछन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सुकुम्बासी , किसानहरूको पक्षमा आवाज नउठाउने कुरोलाई हामीले अन्यथा मान्नु पर्दैन । हामीले शोषित पीडित वर्गको राजनीति गरिरहेका छौं । त्यही भएर त हामीले सुकुम्बासीका समस्या , उनीहरु माथि भइरहेका उत्पीडनका विरुद्ध संघर्ष चलाइरहेका छौं ।
० बालेन सरकारले सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्यो । अनि आ.व ०८२ –०८३ को बजेट पनि पेश गर्यो तर राष्ट्रिय महत्वको ठोस योजना केही पनि देखिएन नि?
– यो सरकार गठनको सबै प्रक्रियालाई हेर्ने हो भने उनीहरुले यो देशलाई विकास गर्ने छाँटकाँट थिएन , छैन । भ्रष्टाचारको विरोध गर्ने नाममा यिनीहरु सत्तामा आए । देशको विकास गर्नेबारे ठोस योजनाहरू यिनीहरुसित हिजो थिएन र आज पनि छैन। राजनीतिक सोचाइ भएका मानिस रास्वपामा जम्मा भएका छैनन्। विभिन्न पार्टीबाट व्यक्तिगत स्वार्थ पूरा गर्न नपाएर अवसरको खोजीमा हिंडेका व्यक्तिहरु ,अनि विभिन्न पार्टीमा लाभ लिइरहेका तर अझ ठूलो स्वार्थ पूरा गर्ने ध्ययले जम्मा भएका व्यक्तिहरु ,विदेशी शक्ति केन्द्रले उचालेका मान्छेहरु जम्मा भएको स्वार्थ समूहहरुको जमघट नै रास्वपा भन्ने पार्टी हो । त्यस्ता सँग देश बनाउने भिजन नहुनु स्वभाविक हो । उद्योग धन्धा कलकारखाना खोल्ने, रोजगारी श्रृजना गर्ने कुनै योजना यो सरकारको छैन । बरु विदेशी माल भित्राउने र केवल देशलाई उपभोक्ताहरुको देश बनाउँदै छ । यो सरकार कसरी बैदेशिक रोजगारमा जानेहरुको संख्या बढाउन सकिन्छ भनेर लागिरहेको छ । । राष्ट्रिय गौरवका योजना बढाउने कुरा त धेरै परको कुरा हो ।
० तपाईँ राजनीतिक आन्दोलनमा कसरी जोडिनुभयो ?
– मलाई सानै उमेर देखि समाजमा रहेका समस्याहरु, गरीबी, अभाव, अन्याय,शोषणबाट कसरी छुट्कारा पाउन सकिन्छ होला भन्ने कुराहरू मनमा खेलिरहन्थ्यो । अध्ययन गर्दै जाँदा यो त राजनीतिक विषयवस्तु रहेछ भन्ने बुझियो । यदि देशमा राजनीतिक व्यवस्था सही भयो भने मात्रै ती समस्याका समाधान हुन्छन, देशले सही गति लिन्छभन्ने कुराको ज्ञान भयो । कम्युनिष्ट पार्टी नै समस्या समाधानको माध्यम हो भन्ने ठानियो र राजनैतिक आन्दोलनमा जोडिएँ ।
० सबभन्दा पहिले तपाईँ पार्टीको कुन संगठनमा आबद्ध हुनुभयो ?
– २०५४ सालमा नेकपा (माओवादी) को ललितपुर जिल्लाको झरुवारासी गाविस स्तरीय विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी) र जनमिलिसियामा आबद्ध भई मेरो साँगठनिक यात्रा सुरु भएको हो । नेकपा (माओवादी) को स्थानीय नेता पुरुषोत्तम बिष्टले मलाई संगठनमा लाग्न प्रेरित गर्नु भएको थियो ।
० जनयुद्ध कालमा तपाईं विद्यार्थी संगठन र जनमिलिसियामा काम गर्नुभएको रहेछ। त्यसबेला तपाईहरुको भूमिका के हुन्थ्यो ?
–त्यतिबेला हामीले जनवादी शिक्षाको पक्षमा विद्यार्थीहरुको बीचमा प्रचारप्रसार गर्ने, स्थानीय समस्याहरूलाई केन्द्रीकृत गरेर पार्टी च्यानललाई जानकारी गराउने, जनवादी साँस्कृतिकर्मीहरुका गीत र संगीतहरु जनताका घर दैलोमा पुर्याउने काम हामीले गर्दथ्यौं । भूमिगतरुपमा पार्टीका पर्चा जनता समक्ष पुराउने काम गरिन्थ्यो ।
०माओवादी र सात दलको बीचमा १२ बुँदे समझदारी भएर ०६२ – ०६३ को जनआन्दोलन भएको थियो। त्यस जनआन्दोलनमा तपाईँ कहाँ हुनुहुन्थ्यो र केही भूमिका पनि थियो कि ?
– म त्यतिबेला ललितपुरमै थिएँ । ०६२ – ०६३ को जनआन्दोलनमा सुरुमा आन्दोलनकारीहरु थोरै हुन्थे । विस्तारै आन्दोलन बृहत बन्दै गयो । सात राजनीतिक दलको कार्यक्रममा सहभागी भएर आन्दोलनमा सहभागी हुने काम गरियो। ती कार्यक्रमहरुमा पनि सङ्घर्षलाई जोड दिने कार्यक्रम गरिन्थ्यो।
०माओवादी खुला भएपछि तपाईँको सांगठनिक भूमिका के रह्यो ?
–तत्कालीन अवस्थामा म केही समय विद्यार्थीको जिल्ला कमिटीमै रहेर काम गरे। ललितपुरमा वाइसीएल नेपाल र विद्यार्थी संगठनमा रहेरै काम गर्ने काम गरें ।
०एकीकृत नेकपा (माओवादी) मा भएको अन्तरविरोधमा तपाईँ वैद्यले नेतृत्व गरेको नेकपा – माओवादीमा आबद्ध हुनुभयो। त्यो अन्तरविरोध के थियो ?
– मुख्य कुरो क्रान्तिकारी संघर्षको निर्धारक तत्व भनेको पार्टीको कार्यदिशा हो । त्यतिबेला शान्ति प्रक्रियामा आइसकेपछि एकीकृत नेकपा माओवादीले लोकतान्त्रिक गणतन्त्रलाई कार्यनीतिक विषय बनाउनुपर्ने थियो तर यसैलाई नै रणनीति बनाएर संसदीय आहालमा तत्कालीन एनेकपा माओवादी डुबेपछि नेपालमा जनवादी क्रान्ति अधुरै रहने भएकाले अधुरो क्रान्ति पूरा गर्न विचारधारात्मक संघर्ष गर्दै मोहन वैद्यको नेतृत्वमा नेकपा –माओवादीको जन्म भयो ।
०मोहन वैद्यले नेतृत्व गरेको नेकपा – माओवादीमा आबद्ध भएपछि तपाईं कुन भूमिकामा रहनुभयो ?
–नेकपा – माओवादीमा आबद्ध भइसकेपछि म ललितपुर जिल्लाको पार्टी कार्यालय सचिव भएर काम गरें । पार्टीबाट विप्लवजीहरूको बहिर्गमन भएपछि पनि म ललितपुर जिल्लाको पार्टीकार्यालय सचिव नै रहें । बादलहरू पार्टीबाट बहिर्गमन भएपछि ललितपुरको सेक्रेटरी भएर काम गरें ।
० तपाईँ अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ७ नम्बर ब्युरोको सचिव भएर काम गरिरहनु भएको छ । कार्यक्रमहरू कसरी अगाडि बढिरहेका छन् ?
– यस ब्युरो अन्तर्गत छवटा जिल्लाहरू पर्छन् – कास्की, तनहुँ, लमजुङ, गोर्खा, स्याङ्जा र मनाङ। यी जिल्लाहरुमा क्रान्तिकारी आन्दोलनलाई व्यवस्थित गर्ने तर्फ हामी क्रियाशील छौं । यहाँका मान्छेहरूको मुख्य पेशा कृषि हो । त्यस बाहेक विदेशमा मजदुरी गर्न गएका छन् । केही सरकारी जागीरमा छन् । यहाँको वस्तुगत स्थितिलाई अध्ययन गर्दै रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माक्र्सवाद ,लेनिनवाद,माओवादलाई सैद्धान्तिक रूपमा जनताको बीचमा लैजाने प्रयत्न गरिरहेका छौं । सांगठनिक रूपमा पनि जनवर्गीय संगठनहरू निर्माण गर्दै अगाडि बढ्ने प्रयत्नमा छौँ।
० कम्युनिष्ट आन्दोलनको भविष्य छैन भनेर प्रचार पनि भइरहेको छ तर यस्तो अवस्थामा तपाईहरु आन्दोलनको लागि कटिबद्ध भएर लागिरहनुभएको छ , किन ?
–कम्युनिस्ट आन्दोलनको भविष्य छैन भन्नेहरु खासमा कम्युनिज्म र कम्युनिस्ट आन्दोलन नबुझेका मानिसहरु हुन् । समाज र राजनीतिलाई सही र वस्तुनिष्ठ बनाउनको लागि माक्र्सवादको अपरिहार्यता छ । दोस्रो विश्वयुद्धपछि संसारभर समाजवादी आन्दोलनको लहर चलेको थियो। कम्युनिस्टहरूको विश्वव्यापी रूपमा बढ्दो प्रभाव र समाजवादी निर्माणको आन्दोलनलाई तुहाउनका निम्ति साम्राज्यवादले विभिन्न प्रकारका वितण्डतावादी विचारहरू अगाडि सार्यो। उदाहरणका लागि उत्तर आधुनिकतावादी विचार, नव उदारवादी अर्थनीतिको विकास, लोक कल्याणकारी राज्यको अवधारणा ,इतिहास मरिसक्यो विचारधाराको अन्त्य भयो जस्ता वितण्डतावादी विचारधारालाई प्रचारप्रसार गर्ने काम गर्यो र अहिले पनि त्यस प्रकारका विचारहरुलाई व्यापक प्रचार गर्ने काम हुँदै आएका छन् । यस्ता विचारहरूको भ्रमजालमा परेर मानिसहरूले कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेका हुनसक्छन् । माक्र्सवाद भनेको एउटा विज्ञान हो। यदि यो विचारलाई सही र वस्तुनिष्ठढंगले जनताको बीचमा प्रचारप्रसार गर्दै गयौँ भने ती गलत र जनविरोधी अवस्तुवादी विचारहरु स्वतःखारेज हुँदै जानेछन् । माक्र्सवादीहरु विजय हुँदै जाने छन् ।
० तपाईँहरू निरन्तर आन्दोलनमा हुनुहुन्छ तर सफल हुन सकिरहनु भएको छैन , किन ?
–अवश्य पनि हामी निरन्तर आन्दोलनमा छौँ। परिवर्तन अवस्यमभावी छ। कतिपय आन्दोलनहरू झ्वाट्ट एकैचोटि भएजस्तो देखिन्छ। तर आन्दोलनको सफलताको बिन्दुमा पुग्न त्यसले कैयौँ उतारचढावहरू र कैयौँ प्रक्रियाहरू पार गरेको हुन्छ। नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले पनि अनेकौं प्रकारका धोकाधडीहरू पार गर्दै अगाडि बढिरहेको छ। हामीलाई विश्वास छ कि सच्चा कम्युनिस्ट आन्दोलनको विजय एकदिन अवश्य हुन्छ।
विज्ञानमा पनि र व्यवहारिक जीवनमा पनि तपाईंले देख्नुहुन्छ कि राइट दाजुभाइले पहिलोपटक विमान उडाएका थिए। तर राइट दाजुभाइ भन्दा पहिला धेरैजना व्यक्तिले धेरै पटक विमान उडाउनको निम्ति प्रयास गरेका थिए। लियो नार्दो दा भिन्चीले विमान उडाउने कल्पना गरेका थिए तर उनले त विमान उडाएनन् ।आखिर विमान उडाउन राइट दाजुभाइको समय आउनुपर्यो ।वैज्ञानिक थोमस एल्भा एडिसनलाई बिजुलीको बल्ब बनाउन ९९९औ पटक असफल हुनुपरेको थियो। पटकपटकको असफलतापछि उनले बिजुलीको बल्ब निर्माण गर्न सफल भएका थिए। त्यस्तै विज्ञानमा आधारित माक्र्सवादी आन्दोलन वा कम्युनिस्ट पनि पटकपटकको असफलतापछि एकपटक अवश्य सफल भएरै छाड्छ।
० अन्त्यमा केही छ कि ?
माक्र्सवाद विरोधी गतिविधिले व्यापकता पाइरहेको वर्तमान अवस्थामा अविचलित रही क्रान्तिकारी आन्दोलनको श्रृजना गर्न दृढतापूर्वक लागि पर्न आम नेपाली जनतालाई अनुरोध गर्न चाहान्छु । 000

