भक्तपुरमा ‘शब्द रोपाइँ’ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ८१औँ संस्करण अन्तर्गत असार १५  को उपलक्ष तथा २१३औँ भानु जयन्तीको अवसरमा एभरेष्ट इङ्गलिश स्कूल, भक्तपुरमा असार २७ ‘शब्द रोपाइँ’ कार्यक्रम सम्पन्न भएको छ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै कविता वाचन गरिएको थियो। कार्यक्रममा वरिष्ठ तथा नवोदित स्रष्टाले राष्ट्र, समाज, जीवन, प्रकृति र समसामयिक विषयमा आधारित कविता प्रस्तुत गरेका थिए।
एभरेष्ट इङ्गलिश स्कूलका विद्यार्थीहरूले पनि आफ्ना सिर्जना तथा छन्द कविता वाचन गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। प्रस्तुत कवितामाथि समीक्षक कृष्ण बाउसेले संक्षिप्त टिप्पणी गरेका थिए भने धनेश राजोपाध्यायले ‘दही–चिउरा संस्कृतिको आयाम’ विषयमा विचार राखेका थिए।
कार्यक्रमको अन्त्यमा एभरेष्ट इङ्गलिश स्कूल र समीक्षक कृष्ण बाउसेलाई कदरपत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित