मध्यपूर्वमा फेरि भयानक युद्ध ः विश्व नै गम्भीर संकटको चपेटामा 

लोकनारायण सुवेदी
गएको २८ फेब्रुअरीका दिन अमेरिका र इज्रायलले संयुक्तरुपमा ईरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्ध अस्वीकार्य र अवाञ्छित जनधनको ठूलो क्षति पछि केही दिन थामिदा विश्वलाई ठूलो राहत मिलेको अनुभव हुँदै थियो । तर पश्चिम एशियामा साम्राज्यवादले आफ्नो चरित्र र स्वाभाव अनुसार युद्ध विराम तोडेर अर्को चरणको भीषण युद्ध शुरु गरेको छ । ६० दिनको भनिएको युद्ध विराम भंग भएको छ । अमेरिका र ईरानका पछिल्ला बयानबाजीहरुलाई ध्यान दिने हो भने कुन बेला फेरि युद्ध भड्किने हो भन्ने सन्त्रास सर्वत्र छाएको थियो । गएको शनिबार राती ईरानका १४० स्थानमा हमला गरियो । त्यसको तत्कालीन निहुँ थियो ईरानले साईप्रसको झण्डाभएको जहाजमाथि हमला गरेर युद्ध विराम तोडेपछि यो आक्रमण गरेको हो । अमेरिकाको यो विशाल हमला पछि ईरानले पनि युद्धको प्रतिरोध स्वरुप कुवेत, बहराईन समेत अमेरिकी सैन्य अखडाहरुलाई तारो बनाएर प्रतिहमला गर्न थाल्यो । त्यसपछि ईरानको ‘इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स’(आईआरजीसी)ले चेतावनी पनि दिइसकेको छ कि यदि अमेरिकाले थप अरु हमला गरेको खण्डमा ईरानले त्यसको कडाभन्दा प्रतिरोध गर्नेछ । ईरानले के पनि दाबी गरेको छ भने उसको नौसेनाले एउटा यस्तो मालबहक जहाजलाई चेतावनी दिएको थियो कि जुन ईरानको तर्फबाट निर्धारित सुरक्षित मार्ग थियो त्यसको बिपरीत अर्को मार्गबाट हिडेको हुनाले उसमाथि गोली चलाइएको थियो । अमेरिकाको तर्फबाट भएको हमलाको विरुद्ध प्रतिरोध गर्नुकासाथै एक पटक फेरि ईरानले हर्मुज जलडमरु मध्यमार्गलाई बन्द गरिदिएको छ ।
मोहम्मद बागर गालिबाफ जो ईरानी संसदका सभमुख हुन्, ले एक्समा पठाएको पोष्टमा भनेका छन् –‘एकतर्फी सम्झौताको काल अब समाप्त भइसकेको छ । हामीले तपाईलाई भनेका थियौ कि आफ्नो कुरामा अडिग रहनु होला अन्यथा परिणाम भोग्न तयार हुनु होला । त्यो सत्य कुरा अब सामुमा आएको छ’ ।उनले अमेरिकासँग भएको सम्झौताको पाँचौ बूँदाको स्क्रिनशटको शेयर पनि त्यसमा गरेका छन् । जसमा लेखिएको छ कि सम्झौतमा हस्ताक्षर गरिसके पछि ईरानले ६० दिनसम्म कुनै असुली या कर नलिइकन ब्यापारिक जाहाजहरुलाई फारसको खाडीबाट ओमनको खाडीसम्म सुरक्षित निस्कन दिनेछ । तर अब ईरानले प्रष्ट भनिसकेको छ कि ‘अर्को आदेश नभएसम्म हर्मुज जलडमरुमध्य बन्द रहनेछ’ ।ईरानका विदेशमन्त्री अब्बस अरागाचीले त अमेरिकामाथि युद्ध बिराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भनेका छन् कि अमेरिकाले ईरानलाई डलरमा कच्चा तेल बेच्ने जुन छुट दिएको थियो, त्यसलाई अचानक समाप्त गरिदियो । अरागाचीले सोशियल मिडियामा लेखेका छन् कि ‘सम्झौता त्यतिबेला मात्र लागु हुन्छ जतिबेला दुबै पक्षले त्यसको पालना गर्दछन्’ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि दाबी गर्दै भनेका छन् कि ईरानले उनको हत्याको षडयन्त्र रचिरहेको छ । उनले सामाजिक सञ्चार माध्यममा लेखेका छन कि ‘यदि ईरानले उनका विरुद्ध कुनै कारबाही गर्यो भने अमेरिकाले तुरुन्तै त्यसको जबाफ दिनेछ । उनले थप भनेका छन् ‘ईरानको लागि १००० मिसाईलहरु तयार छन् र आवश्यक परे हजारौ अरु मिसाइलहरु दागिनेछ’ । उनले के पनि फेरि दोहोर्याए भने अमेरिका युद्ध बिराम समाप्त भएको मान्दछ तर वार्ताको बाटो पूर्णरुपले बन्द भने गरिएको छैन । यस प्रकारका अर्थहीन बयानबाजी ट्रम्पले शुरुको दिनदेखि नै गर्दै आएका हुन् । जब अमेरिका र इज्रायलले ईरानमाथि हमला शुरु गरेका थिए, त्यतिबेला पनि अमेरिकाले ईरानको तर्फबाट खतरा रहेको कुरा उठाएका थिए । ईरानमाथि परमाणु बम बनाएको षडयन्त्रमूलक आरोप त अमेरिकाले बारम्बार लगाउने नै गरेको छ । जस्तो किमिसलले ईरानमाथि हमलाका नयाँ नयाँ बहानाको खोजी अमेरिकाले गर्ने गर्दछ त्यसबाटै स्पष्ट हुन्छ कि उसको चासो र चिन्ता विश्व शान्तिप्रति कत्ति पनि छैन । बरु उसको हात हतियारको कारोबारी बजार भने फल्ने फुल्ने गर्दै आएको छ ।युद्धको कारण शेयर बजारमा उथलपुथल जारी रहन्छ र तेलको मूल्यको मुनाफाखोरीको मौका ट्रम्पलाई मिलिरहन्छ । उनको यथार्थ दिलचस्पी र चासो यति नै मात्र हो ।
गएको हप्ता जतिबेला अमेरिकाद्वारा हत्या गरिएका ईरानी सर्वोच्च नेता खामेनाईको सम्मानमा शोक सभाहरु भइरहेका थिए र उनको अन्तिम संस्कार गर्ने कार्यक्रम चलिरहेको थियो त्यतिबेला डोनाल्ड ट्रम्पले एकदमै अवाञ्छित वयान दिएका थिए कि उनले चाहे भने कर्यौ ईरानी अधिकारीहरुलाई एकै चिहान हुने गरी मार्न सक्छन् । गत २८ फेब्रुअरीका दिन अमेरिका र इज्रायलको संयुक्त हमलामा नै ईरानी सर्बोच्च नेता खामेनाई सहीत उनका कतिपय परिजनहरुसँगै हत्या गरेको थियो । अमेरिका र इज्रायलालाई भ्रम थियो कि खोमेनाईलाई खत्तम गरेपछि उनीहरुले ईरानलाई आफ्नो कब्जामा लिनेछन् । तर ईरानले पूरै सक्षमता र सबलताकासथ अमेरिका विरुद्ध लड्दै रह्यो । त्यसपछि मात्रै बाध्य भएर ट्रम्पले  सम्झौता गर्न राजी हुनु परेको थियो ।
 यद्यपि त्यतिबेला इज्रायलका प्रधानमन्त्री नेतन्याहू यसका लागि तयार देखिदैनथे । गाजाको साथै लेबनान र ईरान दुवै ठाउमा इज्रायलको कुदृष्टि पर्दै आएको छ । आफ्नो हमलालाई जायज ठहराउनका निम्ति नेतन्याहूले आत्मरक्षको मनोमानी सिद्धान्त प्रतिपादन गर्दै आएका छन् । तर अन्तर्राष्ट्रिय न्यायालयले जब उनलाई युद्ध अपराधी ठहरायो त्यस्तो बेलामा उनले गर्ने कुनै पनि तर्कमाथि विश्वास गर्न  कठिन भएको स्थिति छ । डोनाल्ड ट्रम्पको लागि घरेलु स्थिति पनि निकै कठिनाईपूर्ण रहेको देखिन्थ्यो । ईरान युद्धका विरुद्ध जोडदाररुपमा  खडा भए पछि उनी सम्मmौता गर्न तयार भएका हुन् । तर यति चाँडै ट्रम्प त्यस बाटोबाट विचलित भइसकेका छन् भने त्यसको पछाडि कुनै ठूलो दबाब या कुनै दुरभि–सन्धिले काम गरिरहेको हुनसक्छ भन्ने मान्न पनि सकिन्छ । ईरानलाई यस युद्धमा दोषी देख्ने प्रवृत्तिवालाहरुले कुन कुरालाई देख्दैनन् भने पहिलो हमला ईरानको तर्फबाट भएकै थिएन त्यसो गर्ने मनसुवा पनि प्रकट गरेको थिएन । तर उसमाथि युद्ध थोपरिन्छ भने त निश्चय नै त्यसको प्रतिरोध गर्नु उसको कत्र्तव्य नै बन्दछ । यस पटक पनि उसले त्यसै गरेको छ । तर ईरानको छिमेकी तर अमेरिकाको सहयोगीकोरुपमा चिनिदै आएको साऊदी अरबको तर्फबाट जारी गरिएको बयानमा के भनिएको छ भने ईरानको तर्फबाट अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र, अर्गनईजेशन अफ इस्लामिक कोपरेशनको चार्टर र छिमेक सम्वन्धका नियमहरु उल्लंघन गरिरहेको छ । यसको सवुत प्रमाण व्यापारिक जहाजहरुमाथि ईरानको पटक पटकको हमलाहरु हुन् जसले जहाज आउने जाने ‘नेभिगेशन’को सुरक्षा र तिनको स्वतन्त्रतामाथि खतरा पैदा हुने गर्दछ । ईरानमाथि यसरी औंला उठाउने साऊदी अरबलाई यो कुरा देखापरिरहेको छैन कि अमेरिका र इज्रायलले कत्ति धेरै अन्तर्राष्ट्रिय नियमहरु, कानुनहरु र अभिसन्धिहरुको ठाडै उल्लंघन गर्ने गर्दै आएका छन् र गरिरहेकाछन् । तिनलाई कसैले किन औंला ठड्याउँँदैन र कानुनको दायरामा ल्याउँदैन ।
अर्को एउटा उल्लेखनीय पक्ष के छ भने पाकिस्तानले पुनः ईरानसँग कुराकानी गरेको छ र शान्तिको पहल गर्न जोड दिएको देखिँदैछ । यस अघिको युद्ध विराम पनि पाकिस्तान कै मध्यस्थताको कारणले सम्भव भएको थियो । त्यसले विश्व पटल मै पाकिस्तानको प्रतिष्ठा पनि बढेको बताइन्छ । यता भारतीय सत्ता पक्ष भने त्यो सम्भावित शान्ति वार्ताको पहला आफ्नो हातबाट फुत्केको र ईरानसँगको हजारौं साल पुरानो सम्वन्धलाई उच्चाई दिन नसकेको चर्चा भइरहेको छ ।
यसरी अहिले दोश्रो पटक युद्धका कारणले हर्मुज जलडमरु बन्द हुनु र अमेरिकाको ईरानमाथिको नयाँ हमलाले कुन कुराको संकेत दिइरहेको छ भने ईरान र अमेरिकाका बीच चाँडै कुनै कूटनीतिक समाधान निस्कने छाँट छैन । युद्ध अझ बढ्दै जाँदा यसको असर केवल पश्चिम एशियामा मात्र पर्नजाने होइन र त्यत्तिमै सीमित हुने होइन, यसले त सारा विश्व तेल बजार, सामुद्रिक व्यापार र विश्व अर्थव्यवस्थामा नै गम्भीर र ढाड भाच्ने असर पुग्न सक्छ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित