ओखलढुंगा जिल्लामा कम्युनिस्ट आन्दोलनः संक्षिप्त ऐतिहासिक रुपरेखा

.रामबहादुर बुढा

स्थान परिचयः
२०१८ साल भन्दा पहिले अहिलेको सोलुखुम्बु जिल्ला पूरै, ओखलढुंगा जिल्ला पुरै र साप्सु खोला भन्दा पश्चिमको खोटाङ जिल्लाको भूभागलाई पूर्व ३ नं. ओखलढुंगा भनिन्थ्यो । २०१८ सालमा पूर्व ३ नं. लाई सोलुखुम्बु, ओखलढुंगा र खोटाङ ३ जिल्लामा विभाजन गरिएको थियो । (भट्टराई, २०८३)

मल्लकालको समयमा राजा लक्ष्मी नरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई पूर्वतर्फ पठाएका थिए । काजी भीम मल्लको निर्देशनमा त्यहाँका स्थानीय किराँतहरुलाई लखेटेर उनका सेनाहरुले घरको धान ल्याई ठूलो ओखल जस्तो ढुंगामा धानकुटी चामलको भात खाएका थिए । त्यस ढुंगालाई अहिले पनि संरक्षण गरेर राखिएको छ । त्यही ऐतिहासिक ढुंगाबाट त्यस जिल्लाको नाम ओखलढुंगा रहन गएको जनविश्वास छ । (जिल्ला वस्तुगत विवरण–२०८०)

टिम्बुरबोटे काण्ड
यो काण्ड नेपाली कांग्रेसको इतिहाससँग जोडिएको घटना हो तर ओखलढुंगा जिल्लाको राजनीतिक इतिहासमा टिम्बुरबोटे काण्ड विर्सनै नमिल्ने घटना हो । २०३१ सालमा कप्तान यज्ञबहादुर थापाको सैन्य नेतृत्व र महेश कोमोर्चा (सुनुवार) को राजनीतिक नेतृत्वमा पंचायती व्यवस्थाको विरुद्धमा २०३१ सालमा हालको सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं. ११ मा पर्ने कँणेनी जंगलको ओडारमा सेल्टर वनाई ओखलढुंगास्थित सेनाको विष्णु दल गुल्म कब्जा गर्ने योजना सहित सैन्य तालिम गरिरहेका बेला पंचायती सेनाको हेलिकोप्टरले वम हानी हत्या गरेको थियो । यज्ञ बहादुर थापा भाग्न सफल भए, १२ जना घटनास्थलमै मरे । भाग्दाभाग्दै करिव २२ जना मरे । सो घटनालाई टिम्बुरबोट काण्ड भनिन्छ । (निरौला र भट्टराई २०८३) कप्तान यज्ञबहादुर थापालाई पछि सैनिक कमाण्डर रुक्मांगत कटुवालको अगुवाईमा पक्राउ गर्न सफल भए । पंचायतले यज्ञबहादुर थापालाई जेल सरुवाको बहाना गरी हत्या गरेको थियो ।

नेकपाको स्थापना
२०११ सालमा नारायण बहादुर गुरुङ सेक्रेटरी रहेको र सदस्यहरु वमप्रसाद निरौला, विष्णुहरी अधिकारी, पदमबहादुर श्रेष्ठ र दीपबहादुर श्रेष्ठ सदस्यहरु रहेको नेकपा ओखलढुंगा जिल्ला संगठन समिति बनेको थियो । (खतिवडा २०८३) २०१४ सालमा नेकपाका पि.वि.एम. तुल्सीलाल अमात्यले किसान संगठन बनाउन र तत्कालीन योङ कम्युनिस्ट लिगका महासचिव हिरण्यलाल श्रेष्ठ योङ कम्युनिस्ट लिगको कामले ओखलढुंगा गएका थिए ।

०१७ को फौजीकाण्ड
०१७ सालमा राजा महेन्द्रको फौजीकाण्ड पछि नेकपा ओखलढुंगाका जिल्ला समिति विघटन कै अवस्थामा पुग्यो । (भट्टराई २०८३)

रायमाझी धार 
०१७ सालमा राजाको फौजी कदमका बेला नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझी रुसमा थिए । उनी रुसबाट फर्किएपछि २०१७ को अन्त्यमा भएको पार्टीको दरभंगा प्लेनममा गएका थिए । रायमाझीको स्पष्टै रुपमा राजावादी धार थियो । ओखलढुंगा जिल्लामा रायमाझीको राजनीतिक लाइनलाई समर्थन गर्ने कार्य दीपबहादुर श्रेष्ठ र नारायण बहादुर गुरुङ लगायतले गरेका थिए । (भट्टराई, २०८३)

तेस्रो महाधिवेशन पक्षधर
ओखलढुंगा जिल्लामा रायमाझी धारलाई अस्वीकार गर्ने र २०१९ सालमा पुष्पलाल र तुल्सीलालहरुको पहलमा बनारसमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनलाई विष्णुहरी अधिकारी, लालबहादुर मगर, बमबहादुर परियार, भक्तबहादुर गिरी लगायतले समर्थन गरेका थिए । (भट्टराई–२०८३)

पुष्पलाल धार 
पुष्पलाल पक्षको भारतको गोखरपुरमा सम्पन्न नेकपाको तेस्रो राष्ट्रिय सम्मेलनलाई ओखलढुंगा जिल्लामा विष्णुहरि अधिकारी र लालबहादुर मगर लगायतले समर्थन गरेका थिए । नेकपा (पुष्पलाल समूह) को २०२७ सालमा ओखलढुंगा जिल्ला भेला भएको थियो । त्यस भेलाबाट सचिव विष्णुहरी अधिकारी, सदस्यहरु लोककृष्ण भट्टराई, भक्तिलाल गिरी, ईश्वरी प्रसाद उपाध्याय, अजिरमान राई, लालबहादुर मगर, पूर्ण तामाङ जिल्ला कमिटीमा बसेका थिए । २०२९ सालमा विष्णुहरि अधिकारी शिक्षक भएकाले धेरै सक्रिय बन्न नसक्ने भएकाले लोककृष्ण भट्टराई सचिव बनेका थिए । (भट्टराई, २०८३)

चौमधार 
२०३२ सालमा नेकपा (चौम समूह) को समर्थक विद्यार्थीहरुले रुम्जाटार लगायतका स्थानहरुमा प्रगतिशील नाटक प्रदर्शन गरेका थिए ।२०३८मा ओखलढुंगामा नेकपा (चौम समूह) का युनिटहरु बनेको थियो । जसमा डि.आर.पोख्रेल, अजिरमान राई, तिलक गुरुङ, नारायण काजी श्रेष्ठ त्यस युनिटहरुमा नेतृत्व गरेका थिए । अजिरमान राई पुष्पलाल समूहबाट चौम समूहमा प्रवेश गरेका थिए । २०४० मा पार्टी विभाजित हुँदा जिल्लाका करिब सबै नेता  लामा पक्ष अर्थात् नेकपा (चौम) मा सामेल भए । २०४३ मा निर्मल लामाको उपस्थितिमा ओखलढुङ्गा नेकपाको जिल्ला सगठन समिति बनेको थियो । जिल्ला सचिव डि.आर. पोखरेल भए । २०४७ मा नेकपा (एकताकेन्द्र) बन्ने प्रक्रियामा सामेल नभई डि.आर. पोखरेल पार्टीबाट बाहिरिएका थिए । मशाल र मसालको स्थिति यो जिल्लामा नगन्य अबस्था थियो । पछि जनयुद्धका बेला माओवादी विस्तारित भयो । (पोखरेल,२०८३)

माले धार
२०३९ सालमा नेकपा (मा.ले) ओखलढुंगा जिल्ला संगठन समिति पहिलो पटक गठन भएको थियो । ५ सदस्यीय जिल्ला संगठन समितिको सेक्रेटरी रत्नप्रसाद जोशी (जो काभ्रेबाट जागीरका सिलसिलामा ओखलढुंगा पुगेका थिए ।) सदस्यहरु पेशल खतिवडा (हर्कपुर ओखलढुंगा), भूपप्रसाद धमला (गुङनाम, ओखलढुंगा), चक्रबहादुर कटुवाल (कुईभिर, ओखलढुंगा) र गोविन्द कटुवाल (अँधेरी, ओखलढुगा) थिए । त्यस कमिटिले जिल्लामा ३ वटा इलाका समिति र केही सेल कमिटीहरु बनाएको थियो । २०४२ सालमा पेशल खतिवडा पार्टीको ओखलढुंगा जिल्ला पार्टी सेक्रेटरी बनेका थिए । (खतिवडा २०८३)

०४६ को जनआन्दोलन
जनआन्दोलन संचालनका लागि एकातिर ओखलढुंगा जिल्लामा वाममोर्चाको गठन भएका थियो भने अर्कोतर्फ काठमाडौंमा पनि ओखलढुंगेहरुको वाममोर्चा बनेको थियो । (भट्टराई र खतिवडा)

एमाले विभाजन
२०५४ मा एमाले विभाजन हुँदा यस जिल्लाका किशोर अधिकारी, भुवन पौडेल, छविलाल अधिकारी एमालेमै रहे भने पेशल खतिवडा, लोककृष्ण भट्टराई लगायत जिल्लाका बहुमत सदस्यहरु मालेतिर आबद्ध भए । २०५८ मा वामदेव गौतम एमालेका फर्किदा पेशल खतिवडा भने नेकपा (एकताकेन्द्र मसाल) तर्फ लागे । पछि उनी नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीमा सामेल भए ।

एमाले धार
२०४७ सालमा ओखलढुंगा जिल्लामा माले र माक्र्सवादीका बीचमा पार्टी एकीकरण गर्दा नेकपा (वर्मा समूह) को पूरै जिल्ला कमिटी पनि एकता प्रक्रियामा सहभागी बन्यो । नेकपा (एमाले) को पहिलो जिल्ला अधिवेशन (२०४८) बाट प्रेमनारायण प्रेमी, दोस्रो जिल्ला अधिवेशन (२०५० फागुन ६–७) बाट किशोर अधिकारी, तेस्रो जिल्ला अधिवेशन (२०५३ पौष १२–१३) बाट पेशल खतिवडा, चौथो जिल्ला अधिवेशन (२०५५ कार्तिक २८–२९) बाट किशोर अधिकारी) ,पाँचौं जिल्ला अधिवेशन (२०६० चैत्र) बाट यज्ञबहादुर सुनुवार, छैठौं जिल्ला अधिवेशन (२०६५ असोज ३ -कार्तिक १) बाट यज्ञराज सुनुवार सचिव भएका थिए । सातां जिल्ला अधिवेशन (२०६६ पौष) बाट यज्ञराज सुनुवार नै अध्यक्ष, आठौं अधिवेशन (२०७०) बाट पनि यज्ञराज सुनुवार नै अध्यक्ष र नवौं जिल्ला अधिवेशन (२०७२) बाट मोहन कुमार श्रेष्ठ अध्यक्ष बनेका थिए । (श्रेष्ठ २०८३)

नेकपा (माओवादी) धार
केन्द्रमा नेकपा (एकताकेन्द्र) विभाजित भएपछि एउटा नेकपा (एकताकेन्द्र) नेकपा (माओवादी) मा रुपान्तरित भयो । २०५१ सालमा ३ सदस्यीय नेकपा (माओवादी) ओखलढुंगा जिल्ला संगठन समिति बनेको थियो । जसमा सेक्रेटरी ओमकुमार सुवेदी (पोकली गाविस), सदस्यहरु पुष्कर गौतम (पोकली) र तेजबहादुर भुजेल (घोराखेरी) थिए । जनयुद्ध सुरु भएपछि ओमकुमार सुवेदी स्वतन्त्र भए, तेजबहादुर भुजेल गाउँ छाडेर भागे तर पछि फर्केर गाउँ आएका बेला भुजेललाई सेनाले हत्या ग¥यो । जिल्ला कमिटी विघटन भए जस्तै थियो । २०५४ सालतिर नेकपा (माओवादी) ले ओखलढुंगा जिल्ला, सोलुखुम्बु जिल्ला, रामेछापको तामाकोशी पूर्व, दोलखा जिल्ला सबै मिलाएर एउटा जिल्ला कमिटी बनायो । त्यस जिल्ला कमिटीको सेक्रेटरी गंगा कार्की, सदस्यहरु पुष्कर गौतम र पछि विस्तारै बालकृष्ण ढुंगेल, केशवहरी ढुंगेल, देवी खड्का थपिए । त्यसमा काभ्रे र सिन्धुपाल्चोकका युवाहरु पनि थपिए । त्यस कमिटीको इन्चार्ज अग्नि सापकोटा बने । कम्पनीस्तरको सैन्य संरचना बन्यो । त्यस जिल्लामा वालपेन्टिङ, पर्चा, पोस्टरिङ, फटाहाहरुलाई कार्वाहीका गतिविधि बढ्दै गए । उज्ज्न श्रेष्ठ (पोकली) माओवादीको जनकार्वाहीमा परी मारिएको घटना सबैभन्दा बढी चर्चामा रह्यो । २०५० मंसिरमा माओवादीका पुष्कर गौतम, केशवहरी ढुंगेल, गीता ढुंगेल, अनिता घिमिरेले पार्टी परित्याग गरे । (गौतम, २०८३)

भोटको राजनीति

२०१५ सालको संसदीय चुनावमा नेकपाका तर्फबाट ओखलढुंगामा नारायणबहादुर गुरुङलाई पार्टीले उम्मेदवार बनाएको थियो तर पार्टीले दिएको टिकट समयमै नपुगेकाले स्वयं नारायणबहादुर गुरुङ नै पानी धाराको टुटी चिन्ह लिएर स्वतन्त्र उम्मेदवार उठेका थिए । स्वतन्त्र उम्मेदवार भएपनि उनी पार्टीका आधिकारिक उम्मेदवार थिए ।(भट्टराई र खतिवडा)

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

यस जिल्लाका रुद्र फुयाँल, सचिन कार्की, तेन्जी शेर्पा, बालकृष्ण राई लगायत यस पार्टीमा नेतृत्व गरिरहेका छन् ।

सन्दर्भ

–जिल्ला वस्तुगत विवरण–२०८०

अन्तर्वार्ता
लोककृष्ण भट्टराई, २०८३-०४-५
पेशल खतिवडा, २०८३-४-५
डि.आर. पोखरेल, २०८३-४-५
पुष्कर गौतम २०८३-४-२
कृष्णप्रसाद निरौला २०८३-२-२२
मोहन कुमार श्रेष्ठ २०८३-२-२०

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित