संसारका मजदुर एक हौं ! रजि नं २१६७/२०२२ नेपाली एकता जिन्दावाद !
अखिल भारत नेपाली एकता समाजमा सङ्गठित बनौं !
नवौं अखिल भारत सम्मेलन सफल पार्न पञ्जावको जालन्धर जाऔं !
अपील
आदरणीय न्याय प्रेमी जनसमुदायहरू,
भारतका विभिन्न सहरहरूमा विभिन्न प्रकारका पेशा–व्यवसायमा कार्यरत लाखौंलाख नेपालीहरूको साझा सङ्गठन अखिल भारत नेपाली एकता समाज आफ्नो ऐतिहासिक नवौं अखिल भारत सम्मेलन १९–२१ फरबरी २०२७ सम्म भारतको पन्जाब राज्यमा अवस्थित जालन्धर सहरमा हुन गइरहेको खुसीको खबर तपाईंहरू समक्ष लिएर आउन पाउँदा हामी अत्यन्तै हर्षित महसुस गरिरहेका छौं ।
आदरणीय एकता प्रेमी जनसमुदायहरू,
यहाँहरू सबैलाई सर्वविदितै छ अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना ७ नोभेम्बर १९७९ देखि भारतस्थित नेपालीहरूका बिचमा आइपर्ने विभिन्न प्रकारका बाधा र अडचनहरूका विरूद्ध अविचलित एवं अनवरत रूपमा अभिभावकीय भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको सङ्गठन हो । त्यसका साथै देशभित्र राष्ट्रियता जनतन्त्र र जन–जीविकाको पक्षमा चल्ने हरेक आन्दोलनलाई ऐक्यवद्ता जनाउँदै आर्थिक नैतिक तथा भौतिक रूपमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको इतिहास साक्षी छ । तर विडम्बना इतिहासको विभिन्न कालखण्डमा धेरै ठुलो त्याग र बलिदानबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व तथा जनताको मौलिक अधिकारहरू आफूलाई प्रजातान्त्रिक र समाजवादी भन्ने संसदवादी प्रमुख पार्टीहरूले सत्ता, शक्ति र दम्भका भरमा व्यक्तिगत, गुटगत र दलगत निहित स्वार्थ पूरा गर्नको लागि सरकार मार्फत् संविधानको दुरूपयोग गरेका कारण जनस्तरमा अन्तर्विरोधले विस्फोटक रूप लिन पुग्यो । त्यसैको जगमा गत वर्ष २०८२ भाद्र २३ र २४ को आन्दोलन र त्यसबाट स्थापित सुशीला कार्कीको सरकार त्यसपछिको निर्वाचनबाट बनेको बालेन शाहको नेतृत्वको सरकारको सय दिनको परिणामलाई हेर्दा आज देश गम्भीर सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।
गरिब सुकुम्वासी जनताका झुप्रा छाप्रामा विना सूचना डोजर चलाएर विचलित पारिदिएको छ । साना खुद्रा व्यापार व्यवसायीहरूको सम्पत्ति जफत गरी विस्थापित गरिएको छ । विद्यार्थी मजदुर आदि वर्गको सङ्गठित हुने मौलिक अधिकारबाट वञ्चित गरिएको छ । देशको प्रधानमन्त्रीले सार्वभौम अधिकार सम्पन्न संसद्को गरिमामय रोष्टमबाट ’भारतले नेपालको भूमि मात्र मिचेको छैन नेपालले पनि भारतको भूमि मिचेको छ’ जस्ता राष्ट्रघाती अभिव्यक्ति दिइन्छ । चीन नीति विरूद्ध दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिनुले अनेकौं आशङ्काहरू पैदा भएका छन् । सरकारले आफ्नो अनुकूल संसदीय मर्यादा विपरीत अध्यादेश मार्फत कानुन फेरबदल गर्ने काम गरेको छ । यी सबै राष्ट्रघाती क्रियाकलापको बारेमा बोल्ने राष्ट्रवादी पार्टी सङ्घ संस्थाहरूलाई झुटा मुद्दा, धरपकड र यातना दिने गरेको छ । यसले के बताउँछ भने सरकारले आफ्नो सत्ता टिकाउन फासिवादी तरिकाले शासन गर्न खोजेको छ । आज देशको सार्वभौमिकता, राष्ट्रियता, अखण्डता र स्वाधीनता धरापमा परेको छ । त्यसकारण आज देश विदेशमा बस्ने सबै प्रकारका देशभक्त राष्ट्र प्रेमी नेपाली जनता एकताबद्ध भएर सरकारका राम्रा नराम्रा विषयहरूलाई गुण दोषको आधारमा खबरदारी गर्न पर्ने आवश्यकता बनेको छ ।
आदरणीय सङ्घर्षशील साथीहरू,
आज सरकारको गैरजिम्मेवारपूर्ण नीति, कार्यक्रम, व्यवहार र क्रियाकलापका कारण देशभित्र जन आक्रोश असन्तुष्टि र अराजकता बढ्दो छ । सरकारको असंलग्न परराष्ट्र नीति विरूद्ध गतिविधिका कारण अन्तर्राष्ट्रियस्तरको सम्बन्ध पनि बिग्रिँदै गइरहेको छ जसको कारण विदेशमा बस्ने नेपालीहरूलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर परिरहेको छ । आज भारतमा विभिन्न प्रकारका पेशा व्यवसायमा कार्यरत लाखौं लाख नेपालीहरूलाई भारतको केन्द्रीय सरकार वा राज्य सरकारहरू र निजी संघ संस्था व्यक्तिहरूले भारत नेपाल बिच भएको १९५० को शान्ति तथा मैत्री सन्धिको मर्म र भावना अनुसार सहज परिस्थिति बनाई दुवै देशका जनता बिचको सम्बन्धलाई सुमधुर बनाउनुको सट्टा फर्जी आधार कार्डका नाममा केही अराजक र असामाजिक तत्वहरूको गैरकानुनी अपराधका कारण सर्वसाधारण नेपालीहरूलाई अनावश्यक दुःख, सास्ती, मानसिक यातना, डरत्रास असुरक्षितको वातावरण सृजना गरिएको छ । विविध प्रकारका समस्याहरू समाधानको लागि सम्बन्धित निकायसँग वार्ता, संवाद छलफलबाट निकास निकाल्नुपर्दछ र हाम्रो सङ्गठन उक्त विषयमा सदैव प्रयत्नशील रहँदै आइरहेको छ । अन्तमा अहिलेको बस्तुगत अवस्थाले सृजना गरिएको नयाँ चुनौती र सम्भावनाहरू बिच घनिभूत छलफल र निकासको लागि हाम्रो गौरवशाली सङ्गठनको गरिमामय नवौं अखिल भारत सम्मेलन भव्य रूपमा सम्पन्न पार्नको लागि विगतका वर्षहरूमा जस्तो आर्थिक, नैतिक, भौतिक रूपमा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।
अखिल भारत नेपाली एकता समाज
नवौं अखिल भारत सम्मेलन तयारी समिति

