कार्ल माक्र्स
दार्शनिकहरुले विचारको सिर्जना गर्दछन्, कविले कविता रच्दछन्, पादरीले धर्मोपदेश दिन्छन्, प्रोफेसरले कार्य निर्देशिका तयार पार्दछन् , इत्यादि । अपराधीले अपराध जन्माउँछन् । यदि हामीले उत्पादनको यस अन्तिम शाखा र सम्पूर्ण समाजको बीचमा विद्यमान सम्बन्धबारे गढेर सोच्ने हो भने कतिपय पूर्वाग्रहहरुबाट मुक्तिपाउन सकिन्छ । अपराधीले अपराध मात्रै होइन फौजदारी कानुनलाई पनि जन्माउँदछ र त्यसै कारणले ती प्रोफेसरहरुलाई पनि, जो फौजदारी कानुनबारे लेक्चर दिन्छन् र यसको साथसाथै त्यस अपरिहार्य कार्यनिर्देशिकाको पनि सिर्जना गर्दछ, जसको माध्यमबाट त्यसै प्रोफेसरले आफ्ना लेक्चरहरुलाई “वस्तुको” रुपमा बजारमा ल्याउँदछ । यसले राष्ट्रिय सम्पदाको वृद्धि गराउँदछ र त्यस व्यक्तिगत तृप्तिको भावनाको त कुरै नगरौं, जुन यस्तो कार्य निर्देशिकाले सुयोग्य प्रत्यक्षदर्शी प्रोफेसर रोसेर महोदयको भनाई अनुसार स्वयं त्यसको जन्मदातालाई प्रदान गर्दछ ।
यति मात्रै होइन, अपराधीले सम्पूर्ण पुलिस र फौजदारी न्याय व्यवस्था, जासुसहरु,न्यायाधीशहरु, जल्लादहरु, अभिनिर्णायक मण्डलीका सदस्यहरु, आदिका पूरै समूहको सिर्जना गर्दछ र यी सबै विभिन्न पेशाहरुले, जसमध्ये प्रत्येकले सामाजिक श्रम विभाजनको निश्चित प्रवर्गको प्रतिनिधित्व गर्दछ, मानव आत्माका विविध क्षमताको विकास गर्दछन्, नयाँ नयाँ आवश्यकताहरु र तिनको परिपूर्तिका नयाँनयाँ तरिकाहरुको आविष्कार गर्दछन् । केवल यन्त्रले मात्रै पनि अति विलक्षण यान्त्रिक आविष्कारहरुलाई जन्माएको छ र ती औजारहरुको उत्पादनमा कैयौं नामुद शिल्पकारहरुलाई प्रयोग गरेको छ ।
अपराधीले अवस्थाअनुसार कहिले नैतिक शिक्षादायी त कहिले दुःखदायी प्रभाव पार्दछ, र यस प्रकारले जनताको नैतिक तथा सौन्दर्यात्मक भावना जगाएर निश्चित “सेवा” प्रदान गर्दछ । अपराधीले फौजदारी कानुनसम्बन्धी कार्यनिर्देशिका मात्रै होइन, दण्डसंहिता मात्रै होइन, साथै यस क्षेत्रका विधायकहरुको मात्रै होइन, अझ कला, ललित साहित्य, उपन्यासहरु, दुःखान्तक रचनाहरुको समेत सिर्जना गर्दछ । यसको उदाहरण म्युल्नेरको (दोष) र शिलेरको (डाँकाहरु) मात्रै होइन सोफोक्लिसको (इडिपस) र शेक्सपियरको (रिचर्ड तृतीय) पनि हुन् । अपराधी बुुर्जुवा जीवनको नीरसता, प्रतिदिनको शान्त प्रवाह खलबल्याउँदछ । यस प्रकारले उसले त्यस जीवनलाई गतिरोधबाट बताउँदछ र त्यस्तो उत्तेजना र गतिशीलतालाई जन्म दिन्छ, जसविना प्रतियोगिताको प्रेरणा पनि कुण्ठित हुन्थ्यो होला । यसप्रकारले त्यसले उत्पादन शक्तिहरुलाई अगाडि बढाउँदछ । अपराधले एकातिर, श्रमबजारलाई अतिरिक्त जनसंख्याको कुनै हिस्साबाट मुक्त तुल्याउँदछ र यसप्रकारले मजदुरहरुका बीचको प्रतिस्पर्धालाई कुनै मात्रामा घटाउँदछ, वेतनलाई निश्चित न्यूनतम सीमाभन्दा तल झर्नबाट कुनै हदसम्म रोक्दछ भने अर्कोतिर, अपराधको विरुद्ध संघर्षले अतिरिक्त जनसंख्याको कुनै अर्को हिस्सालाई व्यस्त तुल्याएको हुन्छ । यस प्रकार अपराधी त्यस स्वाभाविक “प्रतिभाहरुको” रुपमा हाम्रो अगाडि आउँछ, जसले सही सन्तुलन कायम राख्दछ र “उपयोगी” पेशाहरुको पूरै श्रृंखलाको लागि ढोका खोल्दछ ।
उत्पादनशक्तिहरुको विकासमा अपराधीले कस्तो प्रभाव पार्दछ भन्ने कुरा अति विस्तारपूर्वक वर्णन गर्न सकिन्छ । यदि चोरै नभैदिएको भए ताला आफ्नो वर्तमान परिष्कृत अवस्थामा पुग्न सक्थ्यो होला ? जालीनोट बनाउने मानिसहरु नभइदिएका भए कागजी नोट तयार पार्ने कामले आजको परिष्कृत रुप लिन सक्थ्यो होला र ? बेपारमा ठग्ने काम नभइदिएको भए सामान्य बेपारको क्षेत्रमा माइक्रोस्कोपले प्रवेश गर्न पाउँथ्यो होला र (हेर्नोस् बबेज)? प्रयोगात्मक रसायनशास्त्र आफ्नो सफलताको लागि इमानदार उत्पादकहरुको उत्साहप्रति जति आभारी छ त्यत्तिकै नक्कली सामान र यस्तो सामान फेला पार्ने प्रयासप्रति छैन र ? सम्पत्तिमाथि प्रहार गर्ने नयाँनयाँ साधनहरुलाई जन्माउँदछ र यसप्रकारले त्यो त्यसै मात्रामा उत्पादनको वृद्धिमा सहायक बन्दछ, जुन मात्रामा हड्तालहरु मेसिनहरुको आविष्कारको लागि सहायक बन्दछन् । अनि निजी अपराधको क्षेत्रलाई एकातिर पन्छाउने हो भने राष्ट्रिय अपराधबेगर अन्तर्राष्ट्रिय बजारको कहिल्यै प्रार्दुभाव हुन सक्थ्यो होला ? के यस्ता अपराधहरुविना स्वयं राष्ट्रहरु समेत पनि जन्मन्थे होलान् र ? अनि के एडमको पालोदेखि नै पापवृक्ष नै ज्ञानवृक्ष पनि बनेको होइन र ?
मान्देभिलले आफ्नो कृति (माहुरीको कथा १७०५) मा हरसम्भव पेशा उत्पादक हुन्छ भन्ने कुरा सावित गरिसकेका छन्् र यस सम्पूर्ण तर्कलाई उनले प्रस्तुत उदाहरणमा व्यक्त गरेका छन्–
“जुन कुरालाई हामी यस संसारमा नैतिक तथा भौतिक दुष्कर्म भन्दछौं, त्यो त्यस्तो महान् सिद्धान्त हो, जसले हामीलाई सामाजिक प्राणी बनाएको छ र जुन विना कुनै अपवाद सबै पेसाहरु तथा व्यवसायहरुको सुदृढ आधार, जीवन्त शक्ति एवं अवलम्वन बनेको ,यहाँ हामीले समस्त कला तथा विज्ञानको वास्तविक स्रोत खोज्नुपर्छ , ठीक त्यसबेला, जब दुष्कर्म लोप हुन्छ, समाज पनि पूर्णतः नष्ट नै नभए पनि भ्रष्ट चाहिं अवश्य हुनेछ ।अन्तर मात्र के छ भने बुर्जुवा समाजका कुपमण्डुक प्रशंसकहरको तुलनामा मान्देभिल कता हो कता बढी साहसी र इमान्दार थिए ।
नाम परिचय
१) म्युल्नेर, आदोल्फ (१७७४–१८२९)– जर्मन लेखक तथा आलोचक
२) शिलेर, फिडरिक (१७५९–१८०५) –जर्मन कवि
३) मान्देमिल, वेर्नार दे (१६७०–१७३३) –बेलायतका नैतिकतावादी लेखक तथा व्यंग्यकार

